Comments Add Comment

उपकुलपति क्षेत्री : पत्थरीका कारण देखेको डाक्टर बन्ने सपना

२१ चैत, पोखरा । डुकबहादुर क्षेत्रीको बेस्सरी पेट दुख्यो । गाउँमा एकातिर अन्धविश्वास व्याप्त थियो, अर्कोतिर उपचारका लागि जाने नजिक कुनै अस्पताल थिएन । त्यसबेला गाउँमै घरेलु पद्धतिबाट उपचार हुन्थ्यो ।

अर्घाखाँचीको तत्कालीन नुवाकोट गाविस निमडाँडाको निम्न मध्यम वर्गीय परिवारका डुकबहादुरलाई भने पाल्पाको अस्पताल पुर्‍याइयो । उपचारका लागि उनका बुबाले पाल्पाको मिसन अस्पतालमा भर्ना गरे ।

बिक्रम सम्वत २०१० र २० को दशकतिर ठाउँ ठाउँमा मिसन अस्पताल खुलेका थिए । त्यही क्रममा खुलेको मिसन अस्पतालले भन्यो, ‘डुकबहादुरको पिसाब थैलीमा पत्थरी छ, अप्रेसन गर्नुपर्छ ।’ उनका बुबाले अप्रेसनको प्रबन्ध मिलाए । अप्रेसनपछि डुकको पिसाब थैलीबाट पत्थर निकालियो ।

चुत्रावेशीको जनज्योति हाइस्कुलमा कक्षा ८ मा पढ्दै गरेका डुकबहादुरले प्रतिज्ञा गरे, ‘म एक दिन डाक्टर बन्नेछु ।’ त्यसो त गाउँ होस् या सहर, कसैले के बन्छस् भनेर सोधे, धेरैजसो साना विद्यार्थीले दिने उत्तरमध्ये ‘डाक्टर’ धेरैको जवाफ हो । डुकबहादुरले त प्रण नै गरे ।

२०१४ सालमा जन्मिएका क्षेत्रीले ५ कक्षासम्म गाउँकै महेन्द्र प्राथमिक विद्यालय पढे । अहिले सन्धिखर्क नगरपालिकामा पर्ने चुत्रावेंसीको जनज्योति हाइस्कुल पुगेर क्षेत्रीले एसएलसी पास गरे तर दोस्रो श्रेणीमा ।

डुकबहादुरले भने– डाक्टर पढ्ने भनेर त लागेँ तर पर्याप्त पैसा थिएन । दाइ भारतीय आर्मीमा थिए । चिठीको खाममा एक सय भारु पठाइदिएपछि मैले डाक्टर पढ्न थालेको थिएँ ।

‘यो बेला सेकेन्ड डिभिजन धेरै राम्रो मानिन्थ्यो । फस्ट डिभिजनमा पास हुने त एकदमै कम हुन्थे,’ डुकबहादुरले ती दिन सम्झिए, ‘एसएलसी पास हुनेबित्तिकै काठमाडौं गएँ । महाराजगञ्जको तत्कालीन इस्टिच्युट अफ मेडिसिनमा हेल्थ असिस्टेन्ट पढ्न भर्ना भइहालें ।’

डाक्टर बन्ने सपना मनमा थाती राखेर स्वास्थ्य सहायक बनेर डुकबहादुरले थुप्रै जिल्ला चाहारे । अर्घाखाँची, नवलपरासी, रुकुमलगायत जिल्लाका हेल्थपोस्ट इन्चार्जको जागिर खाए । तर पछि फर्केर उनी महाराजगञ्जकै शिक्षण अस्पतालबाट प्याथोलोजीमा एमबीबीएस पढ्न भर्ना भए ।

एमबीबीएस पास गरेपछि उनी बंगलादेश पुगे । प्याथोलोजीमा युनिभर्सिटी अफ ढाकाबाट एमडी पास गरेर सन् २००१ मा फर्किए । नेपाल फर्केलगत्तै उनले नाम निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गरे ।

‘डाक्टर पढ्ने भनेर त लागेँ तर पर्याप्त पैसा थिएन । दाइ भारतीय आर्मीमा थिए । चिठीको खाममा १ सय भारु पठाइदिएपछि मैले डाक्टर पढ्न थालेको थिएँ,’ डुकबहादुरले भने, ‘पछि नियमित छात्रवृत्ति पाएँ । ठूलो समस्या परेन ।’

आफैं बिरामी परेर अप्रेसन गर्दा डाक्टर बन्ने प्रण गरेका डुकबहादुर प्याथोलोजीका कुशल प्राध्यापक डाक्टर बने । सन् २००१ देखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा थालेका डुकबहादुरले अवकाश लिइसकेका छन् । पश्चिमाञ्चल अस्पतालबाट ११ औं तहमा प्रमुख प्याथोलोजिस्ट भएर भरतपुर अस्पतालमा सरुवा भएका क्षेत्रीले ४ वर्षअघि अवकाश लिएका थिए ।

अहिले तिनै डुकबहादुर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरे ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले उनलाई नियुक्त गरेका हुन् । समितिले १ नम्बरमा क्षेत्रीको नाम सिफारिस गरेको थियो ।
प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नाम २ नम्बरमा र प्रा. डा. भरतबहादुर कार्कीको ३ नम्बरमा नाम सिफारिस भएको थियो । उपकुलपति हुन १२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट छनोट भएका ३ जनाको नाम सिफारिस गरिएको थियो ।

डा. क्षेत्री एमाले नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग नजिक मानिन्छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बेला पनि क्षेत्रीले भूमिका खेलेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिष्ठानको सम्भाव्यता अध्ययनसम्बन्धी उच्चस्तरीय समितिमा क्षेत्रीलाई त्यसबेला पनि स्थानीय संयोजक बनाएका थिए ।

गत वर्षदेखि चिकित्सा शिक्षा अध्ययन सुरु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ शैक्षिक सत्रका लागि विधा र सिट संख्या थपिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गरिमा र मर्यादालाई अझैं उँचो बनाउने डा क्षेत्रीले प्रतिवद्धता व्यक्त गरे । ‘प्रतिष्ठानको उपकुलपति भएपछि के के गर्ने भनेर प्रपोजलमै हालेको छु,’ डा. क्षेत्रीले भने, ‘सबैको सल्लाहमा प्रतिष्ठानलाई अझै गर्विलो बनाउन मेरो भूमिका रहनेछ ।’

उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ । फागुन १६ गते प्राडा वुद्धिबहादुर थापाको कार्यकाल सकिएको थियो । अहिले उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै पदपूर्ति समिति अध्यक्ष छन् ।

गत वर्षदेखि चिकित्सा शिक्षा अध्ययन शुरु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ शैक्षिक सत्रका लागि विधा र सिट संख्या थपिएको छ । गत वर्ष ६ विधामा १७ सिट रहेकोमा यो वर्ष ७ विधामा २६ सिट चिकित्सा सेवा आयोगबाट स्वीकृत भएको छ ।

नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गरेपछि प्रतिष्ठानमा गत वर्षदेखि नै एमडी/एमएसको पढाइ शुरु भएको थियो । चिकित्सा शिक्षा स्नातकोत्तर तह एमडी/एमएसको दोस्रो ब्याचका लागि १ विधा र ९ सिट थप भएकोमा पढाइ शुरु हुने तयारीमा छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८० भित्र एमबीबीएसको पढाइ शुरु हुने भएको छ । एमबीबीएसको पढाइ शुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सम्मको समय सीमा दिएको र तोकिएकै समयमा त्यो पूरा गर्ने तयारी छ ।
एमबीबीएससँगै नर्सिङ, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज, डिएम र एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार बन्दै गरेको उनले बताए ।

२०१३ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा स्थापना भएर २०१९ सालमा यो अस्पताल नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । १५ शय्याबाट शुरु भएर गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आइपुग्दा अहिले ५ सय शय्या पुगेको छ । २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment