+
+

बैंकिङ क्षेत्रमा तरलता अभावको डर

रोयल आचार्य रोयल आचार्य
२०७७ चैत २४ गते १२:०२

२४ चैत, काठमाडौं । कोरोनाका बेला लगानी हुन नसकेको बैंकको रकम यतिबेला धमाधम लगानी हुनथालेसँगै लगानीयोग्य रकम अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ ।

२ महिना अघिसम्म २ खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा १५ अर्ब रुपैयाँ तरलता घटेको चैत १८सम्मको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार, होली पर्वको बिदा खुलेपछि पुनः लगानी हुने क्रम बढेर चैत १८सम्म तरलता ५० अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाएको उनले बताए ।

कोरोना महामारीका कारण लामो समय व्यापार-व्यवसाय ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थुपि्रएको थियो । कर्जा लगानी नभएर बैंकमा पैसा थुप्रिँदा अर्थतन्त्र चलायमान हुन सकेको थिएन । बैंकहरुले कर्जा लगानी गर्न नसकेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा रिभर्स रिपोमार्फत् ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल २ खर्ब ८३ अर्ब २९ करोड तरलता प्रशोचन गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो । गत वर्ष बैंकहरुमा अधिक तरलता हुनै नसकेर राष्ट्र बैंकले रिपोमार्फत् ९० अर्ब ७३ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६० अर्ब २८ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

अभाव होला त ?

तरलता अभाव हुन्छ नै भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था नरहेको प्रवक्ता ढकाल बताउँछन् । अहिले तरलता घटेकै आधारमा अभाव नै हुन्छ भन्न नसकिने उनको भनाइ छ । ‘अब सरकारी खर्च राम्रै होला’ उनले भने, ‘यसकारण पनि अहिले नै तरलता अभाव हुने अनुमान गर्न सकिँदैन ।’

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल पनि तरलता अभाव भइहाल्ने अवस्था नदेखिने बताउँछन् ।

कर्जाको माग बढेर बैंकहरुले राम्रै कर्जा लगानी गरिरहेपनि त्यस्तो खतरा नरहेको उनी बताउँछन् । ‘चैत मसान्तस्म्म त अभाव हुने सम्भावना छैन नै, त्यसपछि हुने सरकारी खर्चको अवस्थामा भरपर्छ’, अध्यक्ष दाहालले भने, ‘सरकारी खर्च राम्रै भयो भने समस्या हुँदैन ।’

कर्जा लगानीसंगै ब्याजदर थोरै बढेको उनले स्वीकार गरे । तर पहिलाको जस्तो १२-१३ प्रतिशत ब्याजदर पुग्ने सम्भावना नरहेको उनले बताए । तरलता अभाव हुन नदिन सरकारले समयमै खर्च गर्नपर्ने बताउँदै उनले भने, ‘उठाएको पैसा खर्च नगरी थुपि्रँदा समस्या हुन्छ ।’

‘डराइहाल्नु पर्ने अवस्था छैन’

पूर्ब बैंकर अनलराज भट्टराई पनि तरलताका विषयमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । छिमेकी मुलुकहरुमा कोरोना संक्रमण बढ्दै गएकाले तरलता व्यवस्थापनका विषयमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

भट्टराईको भनाइ जस्ताको तस्तैः

तुलनात्मक हिसाबले अहिले तरलता कम भएको छ । कोरोनाको बेला धेरै तरलता थुपि्रएको र अहिले निकै घटेकाले अभाव हुन्छ कि भन्न लागेको हो, तर अहिले हामी सामान्य समयमा आएका छौं । यत्तिको ठिकै छ, यो भन्दा तल गयो भने खतरा हो । अब सरकारले गर्ने पुँजीगत खर्च बढ्छ । त्यसबाट २०० देखि ३०० अर्बसम्म  निक्षेप बढ्छ ।

छिमेकी मुलुकहरुमा कोरोना बढिरहेको कारण तरलता व्यवस्थापनमा राष्ट्र बैंकले अलि बढी ध्यान दिन्छ नै । यसमा राष्ट्र बैंक सजग हुन्छ, बैंकको ब्याजदर बढिहाल्छ भन्ने लाग्दैन । चैत पनि आधा सकिसकेकाले ‘कम्फरटेबल’ नै हुने देख्छु ।

वैशाख पछि कर्जा जाने क्रम कम हुने भएकाले १ प्रतिशत प्रोभिजन राख्नु पर्छ । जेठमा ऋण दिदा २ महिनाको मात्रै ब्याज आउँछ । जेठ पछि ऋण दिदा बैंकहरुलाई फाइदा हुँदैन । राम्रो कर्जालाई पनि १ प्रतिशत खर्च छुट्याउनु पर्छ । १० प्रतिशत ब्याज लिदा आम्दानी ९ प्रतिशतमात्रै हुन आउँछ, किनकी १ प्रतिशत रकम असल कर्जालाई पनि प्रोभिजन गर्नुपर्छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?