Comments Add Comment

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल विजयी

२७ चैत, डोटी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पत्रकारहरुका बिभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेका रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्णले दुई सय ९२ भोट प्राप्त गरेका छन् ।

कैलालीको टिकापुरबाट पत्रकारितामा सक्रिय रावल यसअघि प्रदेश समितिका महासचिव हुन् । उनी प्रेस युनियन निकट हुन् ।

उपाध्यक्षमा डोटीका योगेन्द्र बलायरले ६ सय ६५ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्वन्द्वी कञ्चनपुरका लक्ष्मण तिवारीले तीन सय ६१ मत ल्याए ।

महासचिवमा कञ्चनपुरका रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कैलालीका शिवराज भट्टले चार सय २५ मत ल्याएका थिए ।

सचिवमा कैलालीका हरिप्रसाद जोशी ६ सय ६० मत सहित बिजयी भएका छन् । अर्का प्रत्यासी दार्चुलाका नरेन्द्रसिंह कार्कीले तीन सय ३७ मत प्राप्त गरे ।

यस्तै समावेशी सचिवमा दार्चुलाका प्रेम चुनाराले ६ सय ६६ मत ल्याउँदै बिजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर चदाराले तीन सय २१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा डडेल्धुराका राम धामी पाँच सय ४८ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी अछामका नरेशकुमार शाहीले दुई सय ८१ मत प्राप्त गरे । बलार, ठगुन्ना, जोशी, चुनारा र धामी रावल प्यानलबाट निर्वाचित भएका हुन् ।

महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।

कुन जिल्लामा कसको नेतृत्व ?

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बझाङ्गमा संयुक्त प्यानलका शैलेन्द्रवहादुर रोकाया नेतृत्वको टिम विजयी भएको छ । अछाममा खम्वु खत्री नेतृत्वको प्रेस युनियनको प्यानल विजयी भएको छ ।

बाजुरामा युनियन र ओली समूहबीच गठवन्धन भई युनियनका छक्क मल्ल नेतृत्वको प्यानल विजयी भएको छ ।

डोटीमा मोहन शाही नेतृत्वको एकल टिम बिजयी भएको छ । दार्चुलामा ओली समूहको चौतारीको टोली बिजयी भएको छ । यस्तै कैलालीमा स्वतन्त्र प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हिमाल जोशीको टोलीले बाजी मारेको छ । जोशी आस्थाका आधारमा युनियन निकट हुन् ।

कञ्चनपुरमा माधम धामी नेतृत्वको गठवन्धन समूह निर्वाचित भएको छ ।

रोचक रह्यो डडेल्धुराको निर्वाचन

डडेल्धुराको निर्वाचन रोचक रह्यो । युनियन नेतृत्वको गठवन्धनले युनियनका बरुण पनेरु नेतृत्वमा टिम तयार गरेको थियो । उक्त टिम आफूहरुलाई स्वीकार्य नभएको भन्दै यनियन इतर जिल्ला नेताहरुले विद्रोह गरे । उनीहरुले प्रेस चौतारी माधव–खनाल समूहका हिक्मत सिंह नेतृत्वमा नयाँ टिम बनाउँदै निर्वाचनमा गएका थिए । केन्द्रदेखिको गठवन्धनविरुद्ध लागेको भन्दै सिंहलाई कारवाही समेत भयो ।

तर चुनावी बाजी तिनै सिंहको प्यानलले मारेको छ । सिंहले गठबन्धनका आधिकारिक उम्मेद्वार पनेरुलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । उपाध्यक्ष, सहसचित, समावेशी सचिव र कोषाध्यक्ष पनि सिंह प्यानलकै विजयी भए ।

बैतडीमा भने सदस्यता विवादका कारण चुनाव हुन सकेन । नयाँ सदस्यता सिफारिस गर्ने क्रममा क्रियाशील पत्रकारहरुले नपाएको भन्दै एक समूहले निर्वाचन समितिको कार्यालयका कागजातहरु च्यात्दै तालाबन्दी समेत गरेको थियो । प्रदेश र केन्द्रको टिमलाई मतदान गर्ने तर जिल्ला नेतृत्वको निर्वाचन नगर्ने गरी सहमति भएपछि जिल्ला नेतृत्व चयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment