Comments Add Comment

एप्पलको नयाँ प्रडक्ट: आइप्याडदेखि आइम्याकसम्म

अमेरिकी कम्पनी एप्पलले एकसाथ विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । नयाँ प्रडक्ट सार्वजनिक गर्ने आफ्नो वार्षिक वसन्तकालीन कार्यक्रमका क्रममा मंगलबार एप्पलले नयााँ आइप्याड प्रो देखि रंगीन आइम्याक्स लगायतका प्रडक्ट लञ्च गरेको हो ।

त्यस्तै एप्पलले वैजनी रंगको आइफोन देखि बहु प्रतिक्षित लोकेसन ट्रयाकर डिभाइस एयरट्याग पनि ल्याएको छ । उक्त कार्यक्रममा एप्पलले आफ्नो अपडेटेड संस्करणको एप्पल टीभी पनि सार्वजनिक गरेको छ ।

एप्पलले सार्वजनिक गरेका प्रडक्टहरु यस्ता छन्ः

नयाँ आइप्याड

अपेक्षा अनुरुप नै एप्पलले फास्ट प्रोसेसर तथा फाइभ जी सपोर्ट गर्ने अपडेटेड आइप्याड प्रो सार्वजनिक गर्यो । नयाँ आइप्याड प्रो मा बाहिरी मनिटरसँग कनेक्ट गर्नका लागि थन्डरबोल्ट पोर्ट देखि मिनी एलइडी डिस्प्ले रहेको छ ।

यो आइप्याडमा एप्पलले आफ्नो शक्तिशाली एम वान चिपको प्रयोग गरेको छ जसले आइप्याड प्रोमा उत्कृष्ट ग्राफिक्स देखि भिडियो इफेक्ट र अगमेन्टेड रियालिटी फिचरलाई समेत उत्कृष्ट बनाउने बताइएको छ ।

नयाँ आइप्याड प्रो को क्यामरामा सेन्टर स्टेज फिचर रहेको छ, जसले भिडियो कल तथा मिटिंगहरुमा सहभागी संख्याको आधारमा अटोमेटिक रुपमा जूम गर्नेछ । यो नयाँ आइप्याड प्रो को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ र अप्रिल ३० देखि अर्डर गर्न सकिनेछ ।

रंगीन आइम्याक

एप्पलले आफ्नो वसन्तकालीन समारोहमा पुनर्डिजाइनयुक्त आइम्याक सार्वजनिक गरेको छ । उक्त आइम्याकमा पनि एप्पलको आफ्नो एम वान चिप प्रयोग गरिएको छ । यो नयाँ चिपका कारण आइम्याकको आन्तरिक पाटपुर्जा घटेको छ, अर्थात् लजिक बोर्ड सानो पारिएको छ भने थर्मल सिस्टम फेरिएको छ ।

नयाँ आइम्याक जम्मा ११.५ मिलिमिटर मोटो छ । नयाँ चिपले यो आइम्याकलाई फास्ट बनाउनुका साथै मेसिन लर्निंगको स्पिडमा पनि वृद्धि गरेको छ । साथै आइम्याककै स्क्रिनमा विभिन्न आइफोन एपहरु समेत चलाउन सकिन्छ । यो आइम्याकमा २४ इन्चको ४.५ के डिस्प्ले रहेको छ, जसको १ करोड १३ लाख पिक्सेल क्षमता छ । एप्पलले आफ्नो नयाँ आइम्याक विभिन्न ७ वटा रंगमा ल्याएको छ ।

महामारीमा घरबाटै काम गरिरहेका प्रयोगकर्ताहरुलाई लक्षित गदै एप्पलले नयाँ आइम्याकमा क्यामराको गुणस्तरमा वृद्धि गरेको छ । क्यामरामा अटो ह्वाइट ब्यालेन्स देखि नोइन रिडक्सन र टोन म्यापिंग जस्ता फिचर छन् ।

आइम्याकको बाह्य किबोर्डमा टच आइडी बटन पनि राखिएको छ । नयाँ आइम्याक मध्ये सुरुवाती ४ रंगका म्याकको मूल्य १२९९ तोकिएको छ भने थप फिचर सहितका अन्य ३ रंगका आइम्याकको मूल्य १४९९ डलर तोकिएको छ । मे महिनाको दोश्रो हप्ताबाट यो आइम्याक बजारमा उपलब्ध हुने बताइएको छ ।

एयर ट्याग

एप्पलले अन्ततः आफ्नो बहुप्रतिक्षित लोकेसन ट्रयाकिंग उपकरणको रुपमा रहेको एयर ट्याग पनि सार्वजनिक गरेको छ । यो ब्लुटुथ लोकेटरले साँचो देखि पर्ससम्म तथा ल्यापटप देखि कारसम्म फेला पार्न सघाउनेछ ।

सानो, चेप्टो र गोलाकार यो उपकरणभित्र एउटा चिप्स हुनेछ । एयरट्याग कुनैपनि सामानसँग चिप्काएर राख्न सकिन्छ । एप्पलको फाइन्ड माइ नामक एपसँग कनेक्ट गरिसकेपछि यसले उक्त सामान कुन ठाउँमा छ भन्ने पत्ता लगाउन सकिन्छ । स्टिलबाट बनेको यो उपकरण पानी तथा धुलो प्रतिरोधी रहेको छ ।

Apple's new AirTag Bluetooth tracker

यसभित्र रहेको स्पिकरले आवाज निकाल्ने हुनाले पनि प्रयोगकर्तालाई आफ्ना सामान खोज्न सजिलो हुनेछ । यसमा एप्पलको यु वान चिप प्रयोग गरिएको छ । एयरट्यागको मूल्य एउटाको २९ डलर र चारवटाको ९९ डलर तोकिएको छ । अप्रिल ३० बाट यो बजारमा उपलब्ध हुने बताइएको छ । एयरट्याग लगेज ट्याग, कि रिंग्स लगायतको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

नयाँ एप्पल टिभी

एप्पलले आफ्नो नयाँ संस्करणको एप्पल टिभी फोर के र सिरी रिमोट पनि सार्वजनिक गरेको छ । नयाँ रिमोट शत प्रतिशत रिसाइकल गरिएको आल्मुनियमबाट बनाइएको हो ।

The redesigned Apple remote

आगामी अप्रिल ३० बाट उपलब्ध हुने एप्पल टिभीको ३२ जिबीको संस्करणको मूल्य १७९ डलर र ६४ जिबीवालाको मूल्य १९९ डलर रहेको छ ।

बैजनी रंगको आइफोन १२

एप्पलले आफ्नो वसन्त समारोहमा विद्यमान आइफोन १२ र आइफोन १२ मिनीलाई पर्पल रंगमा समेत पेश गरेको छ । ती दुई आइफोन हालसम्म निलो, हरियो, कालो, सेतो र रातो रंगमा मात्र उपलब्ध थिए ।

बैजनी रंगको आइफोन १२ र १२ मिनीको मूल्य ७९९ डलर तोकिएको छ भने अप्रिल ३० देखि बजारमा उपलब्ध हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment