Comments Add Comment

म्युजिक भिडियो निर्माण : छैन कोरोनाको डर

कोरोनाको संक्रमण बढेपछि सरकारले पुनः विभिन्न क्षेत्रमा फेरि प्रतिबन्धात्मक व्यवस्थालागू गरेको छ । यसले  मनोरञ्जन क्षेत्रका धेरै विधामा प्रभाव पारेको छ ।

तर, कोरोनाको संक्रमणको दोस्रो लहरले म्युजिक भिडियो छायाँकनमा खासै असर गरेको छैन् । म्युजिक भिडियो निर्माणको क्रम उस्तै छ ।

उसो त लकडाउनकै समयमा फाट्टफुट्ट गीत रेकर्डिङ भएका थिए । लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो निर्माणले गति लियो । चलचित्र क्षेत्रका गतिविधि ठप्प रहँदा धेरै अभिनेता–अभिनेत्री म्युजिक भिडियोमा देखिए । अहिले पनि चलचित्रका धेरै कलाकारनिरन्तर म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

म्युजिक भिडियो निर्देशकहरूका अनुसार कोरोनाको दोस्रो लहरको त्रास बढिरहेपनि अहिलेसम्म छायाँकनमा असर परेको छैन् । सरकारले हरेक क्षेत्रमा कडाई गर्दै लगेसँगै अब भने यो क्षेत्रमा पनि असर पर्छ कि भन्ने चिन्ता उनीहरुमा बढेको छ ।

म्युजिक भिडियो निर्देशक काजिश श्रेष्ठ भन्छन्, ‘धमाधम काम भइरहेको छ । अहिलेसम्म कुनै प्रभाव देखिएको छैन ।’

उनी हिजोआज पनि ठूलै समूहमा काम भइरहेको बताउँछन् । ‘भीडभाडमै काम भइरहेको हुन्छ । कलाकारहरूमा पहिलेजस्तो त्रास देखिएको छैन्’, उनले अनलाइनखबरसँग भने ।

मोडल तथा निर्देशक शंकर बिसी पनि म्युजिक भिडियो छायाँकनमा प्रभाव परिनसकेको बताउँछन् ।

‘म्युजिक भिडियो छायाँकनका अहिलेसम्म असर परिसकेको छैन् । सामान्य अवजस्थामा जस्तै छायाँकन भइरहेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने भनिरहेको छ । विभिन्न क्षेत्रमा कडाई गर्दै लगेको छ । अब भने असर गर्छ कि भन्ने लागेको छ ।’

उनी कोरोनाका कारण म्युजिक भिडियो छायांकनमा टिमचाँही घटाएर काम गरेको बताउँछन् ।

मोडल अञ्जली अधिकारी म्युजिक भिडियो छायाँकनमा पहिलेझै ब्यस्त छिन् । उनी पनि कोरोनाको दोस्रो लहरको असर म्युजिक भिडियो छायाँकनमा परिनसकेको बताउँछिन् । भन्छिन्, ‘अहिलेसम्म त्यस्तो केही असर परेको छैन् ।’

कोरोनाकालमा म्युजिक भिडियोको बहार

कोरोनाकालमा म्युजिक भिडियोको बहार नै आयो । दैनिक ८–१० वटा म्युजिक भिडियो सार्वजनिक भए । मनोरञ्जनको अन्य क्षेत्र सुनसान भए पनि म्युजिक भिडियो निर्माणले चाँडै नै गति लियो ।

निर्देशकहरूका अनुसार, कोरोनाकालमा म्युजिक भिडियो निर्माणले रफ्तार लिनुका मुख्य दुई कारण छन् । पहिलो चलचित्रका गतिविधिहरू ठप्प रहेपछि त्यताका कलाकारहरूपनि म्युजिक भिडियोमा काम गर्न आए ।  दोस्रो, युट्युब च्यानल खोलेका कलाकारहरूले म्युजिक भिडियोमा लगानी गरे । निर्देशक शंकर बिसी पनि कोरोनाकालमा म्युजिक भिडियो निर्माणले रफ्तार लिनुमा उल्लेखित कारणहरू नै रहेको बताउँछन् ।

स्टेज कलाकार प्रभावित

लकडाउनसँगै रोकिएकागीत रेकर्डिङले चाँडै गति लियो । लकडाउन खुलेसँगै म्युजिक भिडियो छायाँकन धमाधम हुँदा कलाकारदेखि निर्देशक, प्राविधिकसम्म खाली बस्नु परेन् । तर, कोरोनाका कारण संगीत क्षेत्रमा सबैभन्दा बढी प्रभावित बने,स्टेजमा आश्रित गायक–गायिका ।

देश विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रम, मेला महोत्सवमा स्टेज तताउँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेर  आफूलाई राम्रो आम्दानी गर्दै आएका गायक–गायिकाको आम्दानी कोरोनाका कारण सुक्यो ।

लकडाउनको केही समयअघिदेखि नै बन्द स्टेज कार्यक्रम धेरै पछिसम्म संचालन हुन सकेनन् । अवस्था सामान्य बन्दै गएपछि फागुनदेखि फाट्टफुट्ट स्टेज कार्यक्रम हुन थाले । धेरै गायक–गायिकास्टेज कार्यक्रममा पुगेर प्रस्तुती दिए । लामो समयपछि आफूहरूको दैनिकी विस्तारै लयमा फर्किदै गर्दा उनीहरूले खुसीको आभाष गरे ।

तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै स्टेज कार्यक्रम फेरि प्रभावित बन्न पुगेका छन् । जसका कारण स्टेजमा आश्रित गायक–गायिकाहरू फेरि चिन्तामा पुगेका छन् ।

गतवर्षभरी स्टेज कार्यक्रमको आम्दानी गुमाएका स्टेजमा आश्रित गायक–गायिकालाई फेरि कोरोना महामारीले अर्को धक्का दिएको छ ।

लोकगायक खुमन अधिकारी विस्तारै लयमा फर्किदै गरेको अवस्थामा कोरोनाको दोस्रो लहरले चिन्तित बनाएको बताउँछन् ।

‘अब त कार्यक्रमहरूसुरु भए । पुरानो दैनिकीमा फर्कियौं भन्ने लाग्न थालेको थियो’, उनी भन्छन्, ‘थुप्रै स्टेज कार्यक्रम तय भएका थिए । फेरि कोरोनाको लहर आएपछि ति कार्यक्रम स्थगित हुन थाले । फेरि अन्योल थपिएको छ ।’

गायिका ज्योति मगर पनि अवस्था सामान्यतर्फ गएपछि थुप्रै स्टेज कार्यक्रममा पुगेकी थिइन् । थुप्रै कार्यक्रममा पुग्नुपर्ने थियो । ‘फेरि कार्यक्रम स्थगित हुँदै गए’, उनी भन्छिन्, ‘संगीत क्षेत्रमा सबैभन्दा बढी प्रभावित स्टेज कलाकार हुनुप¥यो ।’

देशभित्रकै स्टेज कार्यक्रमबारे अन्योलरहेको अवस्थामा विदेशका स्टेज कार्यक्रमबारे कल्पना नगरेको गायक–गायिकाहरू बताउँछन् ।

सचेत हुनुपर्छ

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर, म्युजिक भिडियो त्योभन्दा बढी व्यक्तिहरूकोजमघट हुन्छ । यसोगर्दा कतिपयलाई जोखिम बढेको महसुस हुने गरेको छ ।

निर्देशकहरू स्वयंम म्युजिक भिडियो छायाँकनमा जोखिमको महसुश गरिरहेको बताउँछन् । निर्देशक काजिश श्रेष्ठ म्युजिक भिडियो छायाँकनमा भीडभाड हुने गरेको बताउँदै सतकर्ता अपनाउन एकदमै जरुरी रहेको बताउँछन् ।

‘कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको छ । सरकारले छायाँकनमा कडाई नगरेपनि अब हामी आफै डराउनुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘कसरी सुरक्षित भएर काम गर्न सकिन्छ, सोँचिरहेका छौं ।’

मोडल अञ्जली अधिकारीभन्छिन्,‘कोरोना नसकिन्जेलसम्म सुरक्षित रहनुपर्छ । तर कामपनि गर्नुपर्ने वाध्यताहुनाले सतर्कता अपनाउँदै काम गर्नुको विकल्प छैन् ।’

गायिका ज्योति मगर कलाकारहरूले आफूलाई मानसिक रुपमा तयार राख्नुपर्ने बताउँछिन् । ‘गतवर्षकै प्रभाव सकिएको छैन् । एकवर्ष समस्या झेलिसकियो फेरिपनि झेलौंला भनेर एक किसिमले मानसिक रुपमा आफूलाई तयार राखेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment