Comments Add Comment

कसरी टुट्छ बालबालिकाको विश्वास ?

एक प्रतिष्ठित अंग्रेजी पाक्षिक पत्रिकाको ‘पाठकको समस्या’ स्तम्भमा एक यस्तो समस्या लेखिएको थियो, ‘म आफ्ना आमाबुवालाई एकदमै सम्मान गर्छु । उनीहरुलाई आफ्नो आदर्श मान्छु र उनीहरु जस्तै बन्न चाहन्छु । तर, पछिल्लो दिन मेरो आत्मविश्वास टुटेको छ । किनभने मेरो बुवाले आमालाई भन्दा अरुलाई नै माया गर्नुभएको छ । छिमेकी महिलासँग उहाँको सम्बन्ध छ । यो कुरा मलाई थाहा छ ।’

यस्तो स्थितिमा उक्त बच्चा कस्तो मनस्थितिबाट गुज्रिरहेकाे होला ? न उनी यो कुरा कसैसँग खुलस्त बताउन सक्छन् न मनभित्रै दबाएर बस्न सक्छन् । यस्तो अवस्थामा के गर्नुपर्छ ? उनीसँग कुनै ठोस निर्णय पनि छैन ।

यस्तो मनोदशामा केही दुर्घटनाको जोखिम हुनसक्छ । मातापिताको दुराचरणबारे बच्चालाई थाहा छ । यसले उनलाई निकै दुःखी बनाएको छ । भय पैदा गरेको छ । तर, उनी स्वयम् निर्णायक भूमिका खेल्न सक्ने अवस्थामा छैनन् । अर्थात् यी सबै कुरामा उनी केही गर्न समर्थ छैनन् ।

आमाबुवाबीच एकअर्काको पोल खोल्न सक्दैनन् । गुपचुप राख्दा पनि त्यसले नराम्रो नतिजा दिन सक्छ । यसले गर्दा उनको मनस्थिति कमजोर बन्दै गएको छ । ग्लानि र भयले उनी भित्रभित्रै गल्दैछिन् । उनको आत्मविश्वास टुटेको छ ।

अक्सर बच्चाले आफ्ना आमाबुवालाई दुनियाँको सबैभन्दा आदर्श चरित्र मान्ने गर्छन् । ठूलो भएपछि आमाबुवा जस्तै बन्ने इच्छा राख्छन् । आमाबुवाले जे गर्छन्, जे बोल्छन् त्यो कुरा नै उनीहरुलाई उचित हो भन्ने लाग्छ । आमाबुवाको व्यवहार अनुसरण गर्छन् ।

तर, जब आमाबुवाको बोली–व्यवहार नै गलत हुन थाल्छ, तब उनीहरुको भावनामा गहिरो ठेस लाग्छ । उनीहरुमा मानसिक विचलन आउँछ ।

उनीहरुले आफ्नो विश्वास गुमाउँछन् । असुरक्षा अनुभव गर्छन् । आमाबुवाको खराब आचरणकै कारण उनीहरुले आफ्नो जीवन, पढाइ, भविष्यबारे राम्ररी सोच्न पाउँदैनन् । के गर्ने, के नगर्ने ? निर्णय गर्न सक्दैनन् । यस्तो दोधारे मनस्थितिले गर्दा उनीहरु खराब बाटोमा लाग्ने जोखिम रहन्छ ।

आपराधिक गतिविधिमा लाग्ने कतिपय व्यक्तिको पृष्ठभूमि हेर्दा उनीहरुको बाल्यकाल यस्तै तनावग्रस्त रहेको पाइन्छ । आमाबुवाको गलत आचरण, कलहले गर्दा बालबालिकामा हिंस्रक मनोवृत्ति पलाउने जोखिम सधैं रहन्छ ।

आमाबुवामाथि बालबालिकाले जुन छवि निर्माण गरेका हुन्छन्, जस्तो विश्वास र भरोसा गरेका हुन्छन्, त्यसलाई टुट्न दिनु भनेको बालबालिकामाथि भावनात्मक अत्याचार गर्नु हो ।

त्यसैले आमाबुवाले बालबालिकाको भविष्यका लागि पनि आफूलाई संयमित र सन्तुलित राख्न जरुरी छ । आफ्नो व्यवहारले उनीहरुमा कस्तो प्रभाव पार्छ ? यस कुरामा विचार गर्नुपर्छ । बालबालिका जन्माएपछि उनीहरुलाई खान र लाउन दिएर मात्र पुग्दैन । पढाएर मात्र पनि पुग्दैन । असल अभिभावकत्व पनि दिनुपर्छ ।

भावानुवाद सरिता बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment