Comments Add Comment

संक्रमितको शव बेलैमा नउठाउँदा अरु बिरामी त्रासमा

२९ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित बुबाको कुरुवा बसेका विराटनगरका एक युवकलाई सुरक्षा गार्डले एउटा चिट थमाइदिए । चिटमा लेखिएको थियो, ‘एम्बुलेन्स खोज् न, म घरमा नै जान्छु ।’

यो चिट आईसीयूमा उपचाररत उनका बाबुले लेखेका थिए । अक्सिजन सपोर्टमा रहेका बुबालाई उनले घर ल्याउन सक्ने अवस्था थिएन । ‘चिट हेर्दा सुरुमा त डर लाग्यो,’ ती युवकले भने, ‘भित्र बस्न गाह्रो भएपछि बुबाले लेख्नुभएको रहेछ ।’

आइतबार राति विराट मेडिकल कलेजले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा दुई जना कोरोना संक्रमितको मृत्यु भयो ।

सोमबार दिउँसो उपचार केन्द्रको दोस्रो तल्लाको प्यासेजमा र्‍यापिङ गरिएको अवस्थामा एउटा शव थियो । अर्काे शव तीन जना संक्रमित राखिएको कोठाको बेडमै थियो । शवको छेउको बेडमा अक्सिजन सपोर्ट संक्रमित संघर्ष गरिरहेका थिए ।

र्‍यापिङ गरिएका दुवै शव कतिबेला आफन्तलाई बुझाउने भन्ने टुंगो थिएन । आइसोलेसनमा भेटिएका कलेजका उपाध्यक्ष डेनिस कार्कीले भने, ‘शव लैजाने प्रोसेस भइरहेको छ ।’

‘अस्पताल जानेबित्तिकै मानिसमा एक खालको त्रास हुन्छ,’ डा. थापा भन्छन्, ‘रोगसँग जुध्न दह्रो आत्मबल चाहिन्छ, छेउमा लास देख्दा आत्मबल घट्छ, बाँच्ने हिम्मत हार्न सक्छन् ।’

शव छेउमै हुँदाको असर 

मृत्युसँग संघर्ष गरिरहेका व्यक्तिको छेउमा शव लामो समयसम्म राख्दा कस्तो असर गर्छ ? विराटनगरका मनोचिकित्सक डा. रञ्जन थापा भन्छन्, ‘गम्भीर असर गर्छ, आत्मबल गिराउँछ,  एन्जाइटी (डराउने रोग) देखिन सक्छ ।’

कोरोना संक्रमणका कारण सर्वसाधारण त्रसित छन् । अस्पतालमा उपचाररत संक्रमितमा बढी त्रास हुने उनले बताए । ‘अस्पताल जानेबित्तिकै मानिसमा एक खालको त्रास हुन्छ,’ डा. थापा भन्छन्, ‘रोगसँग जुध्न दह्रो आत्मबल चाहिन्छ, छेउमा लास देख्दा आत्मबल घट्छ, बाँच्ने हिम्मत हार्न सक्छन् ।’

महामारीमा संघर्ष गरिरहेकाहरुबाट शव र त्रसित बनाउने विषयलाई टाढा राख्नुपर्ने उनको सुझाव छ । ‘आत्मबल बढाउने काम गर्नुपर्छ, मृत्यु भइहाले तत्काल शवलाई सारेर त्रासलाई कम गर्न सकिन्छ,’ उनले भने, ‘कोरोना नभएकालाई पनि डर छ, संक्रमणपछि अस्पताल भर्ना भएकालाई डर धेरै हुन्छ ।’

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपाल अस्पताल धेरै समय बस्ने चाहना कसैको नहुने बताउँछन् । अस्पतालमा देखिने दृश्यका कारण संक्रमितलाई जतिसक्दो  चाँडो घर जान हतार हुने उनले बताए ।

‘अस्पताल बस्दा विभिन्न खाले बिरामी देखेका हुन्छन्, जसले गर्दा कतिबेला घर जाउँ जस्तो हुन्छ,’ उनी भन्छन्, ‘महामारीमा हामीलाई पनि चाँडै घर पठाउँ भन्ने हुन्छ ।’

कति समय लाग्छ शव उठ्न ?

वैशाख तेस्रो सातायता विराटनगरका अस्पतालहरुमा दैनिक १० जना हाराहारीको मृत्यु भइरहेको छ । मृत्यु भएकाहरुमध्ये टाढाका मानिसको शव ढिलो उठ्ने नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहाल बताउँछन् । नजिकैका व्यक्तिको शव भने चाँडै उठ्ने उनले बताए ।

‘टाढाको शव लैजानका लागि सवारी खोज्न, जलाउने प्रबन्ध मिलाउन समय लाग्ने भएकाले ढिलो हुन्छ,’ उनले भने, ‘मोरङ, सुनसरी र झापाका संक्रमितको शव उठाउन धेरै समय लाग्दैन ।’

उपचारका क्रममा मृत्यु भए उपचार कक्षबाट शव निकालिने उनले बताए । ‘नजिकैको शव उपचार कक्षबाट निकालेपछि आफन्तले लैजान्छन्, टाढाको शव मर्चरीमा राख्नुपर्छ,’ उनले भने, ‘बिरामीको चाप भएकाले मृतकले प्रयोग गरेको बेड सेनिटाइज गरिहाल्नुपर्छ ।’

विराट मेडिकल कलेजका फोकल पर्सन सुनील देव संक्रमितको शव प्रक्रिया पुर्‍याएर चाँडै परिवारमा बुझाइने बताउँछन् । अस्पतालले जतिसक्दो चाँडो संक्रमितको शव आफन्तलाई बुझाउने उनले बताए ।

के छ प्रक्रिया ? 

कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेना खटिंदै आएको छ । सेनाले शव व्यवस्थापन गर्ने प्रक्रिया पनि झन्झटिलो छ । शव व्यवस्थापनका लागि आफन्तको मञ्जुरीनामा, पीसीआर रिपोर्ट, मृत घोषित गरेको कागजपत्र आवश्यक पर्ने सैनिक स्रोत बताउँछ । त्यसबाहेक आफन्तले कहाँ अन्त्येष्टि गर्ने भन्ने अग्रिम तयारी गरिसक्नुपर्छ ।

‘प्रक्रिया पुर्‍याएर काम गर्दा समय लाग्छ,’ सैनिक स्रोतले भन्यो, ‘अस्पतालले शवको र्‍यापिङ गरेको हुन्छ, होम आइसोलेसनमा मृत्यु भएकाहरुको चाहिं आफैं गर्नुपर्छ ।’ एउटा शवलाई व्यवस्थापनका लागि लैजाँदा न्यूनतम तीन घण्टा लाग्ने सैनिक स्रोतले बतायो ।

मोरङमा शव व्यवस्थापनका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एउटा एम्बुलेन्स र शववाहन सेनालाई उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment