Comments Add Comment

मौसमविद्ले भने– भारी वर्षाको सम्भावना छ, यातायात क्षेत्र प्रभावित हुनसक्छ

दुई दिन देशभर सतर्कता अपनाउन आग्रह

५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुनसक्ने मौसमविद्को पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ‘आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ मौसमविद कँडेलले भनिन्, ‘वागमती प्रदेशमा आज चाहिं भारी वर्षा हुँदैन तर भोलिको हकमा वागमती क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।’

दुई दिन देशभर सतर्कता अपनाउन आग्रह

अरब सागरमा बनेको ताउ ते चक्रवात अहिले कमजोर भइसकेको छ । यो अहिले चक्रवातको रुपमा छैन । मौसमविदहरुले यस्तो अवस्थालाई ‘डिप्रेसन’ भन्छन् । यो अहिले केही शक्तिशाली न्यूनचापीय क्षेत्रको रुपमा छ र यो उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।


यद्यपि पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले बताइन् ।

‘पूर्वतिर तुलनात्मक रुपमा कम हुन्छ भन्दैमा त्यहाँ सतर्कता अपनाउनुपर्दैन, केही पनि हुँदैन भन्न खोजेको होइन । वर्षा हुन्छ, हिमपात हुन्छ, सतर्कता पनि अपनाउनुपर्छ,’ कँडेलले भनिन् ।

चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।

चक्रवातको प्रभावले वर्षा हुँदा बाढी पनि आउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् । ‘साना–साना खोला नदीहरुमा बाढी आउन सक्छ, त्यो पनि आकस्मिक बाढी,’ मौसमविद कँडेलले भनिन्, ‘यो प्रणालीले हिमपात पनि हुन्छ । हिमपात हुँदाखेरि केही क्षेत्र प्रभावित हुन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment