Comments Add Comment

समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए ।

त्यसलगतै एम्बुलेन्स बोलाइए पनि समयमै एम्बुलेन्स नआाउँदा उनलाई उपचार गर्न अन्यत्र लैजान नसकिएको र जस्ले गर्दा उनको आज बिहान मृत्यु भएको मृतककी आफन्त भुमा वलीले बताइन् । उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बुढाको पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको छ । नगरपालिकाले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको मृतकका आफन्तको आरोप छ ।

‘दाइलाई अस्पताल लिन एम्बुलेन्स खोज्यौंं तर एम्बुलेन्स चालकले स्वास्थ्य शाखाको अनुमति विना बिरामी नबोक्ने भने, एम्बुलेन्स कुर्दाकुर्दै दाईको मृत्यु भयो,’ बहिनी भुमा वलीले भनिन् । आफन्तले बिहीबार राति नै एम्बुलेन्स चालक दलबहादुर पुन र स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलको घरमा पुगेर बिरामीलाई अस्पताल पुर्‍याउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । तर संयोजक पोख्रेलका परिवारले भने उनी घरमा नभएको भन्दै आफन्तलाई फर्काइएका थिए ।

बिरामीको मृत्युपछि आफन्तले पोख्रेलमाथि कारबाहीको माग गर्दै नगरपालिकामा नाराबाजी गरेका थिए । स्वास्थ्य संयोजक पोख्रेलले एक विज्ञप्ति निकाल्दै आफ्नो गल्तीका कारण बिरामीको मृत्यु भएको स्वीकारेका छन् । ‘मृतकका सदस्यबाट बिहीबार राति पटक–पटक फोन आएको थियो, मैले फोन उठाएको थिइनँ, घरमै आएर बोलाउँदा पनि जवाफदेही नभएको हुँदा मेरो गैरजिम्मेवारपूर्ण व्यवहारका कारण भोलाबहादुर बुढाको मृत्यु भएकोप्रति ध्यानाकर्षण भएको छ । मेरो यस्तो व्यवहारप्रति क्षमायाचना चाहन्छु’, पोख्रेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्ति मार्फत आगामी दिनमा यस्तो गल्ती पुनः नदोहोरिने समेत प्रतिबद्धता जानकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment