Comments Add Comment

कोरोना बिरामीलाई चर्काे शुल्क : एकैदिनको शुल्क ५० हजारभन्दा बढी लिएको गुनासो

१२ जेठ, काठमाडौं । राजधानीका ठूला अस्पतालहरुले महँगो शुल्क लिएको भनेर केही दिन अघि निकै चर्चा भयो । तोकिएको भन्दा धेरै शुल्क लिएकै कारण जिल्ला प्रशासन कार्यालयले चर्को शुल्क लिने अस्पतालहरुसँग प्रष्टीकरण समेत सोध्यो र कारबाही गर्ने चेतावनी समेत दियो । तर त्यसको छायामा साना अस्पतालले समेत कोरोना संक्रमितलाई चर्काे शुल्क लिएको गुनासो पीडितहरुले गरेका छन् ।

केही दिनअघि काठमाडौंको बल्खुस्थित राजधानी अस्पतालमा उपचारको लागि आएका धुनिवेशी नगरपालिका धादिङका एक कोरोना संक्रमितले सामान्य उपचारबापत २ दिनको १ लाख ४० हजार रुपैयाँको बिल निकालेको गुनासो गरेका छन् । कतिपय टेस्ट नै नगरेको हुँदै नभएको उपचारको बिल बनाएपछि बिरामीका आफन्त र स्थानीय नेताहरु समेत अस्पतालमा जम्मा भएर महँगो शुल्क लिएको भन्दै कानूनी कारबाहीको धम्की दिएपछि अस्पताल सबै बिल मिनाहा गर्न सहमत भएको पीडितको गुनासो छ ।

ती संक्रमितका आफन्त राजाराम पराजुलीले भने ‘बिरामीले शुल्क महँगो भयो, तिर्न सक्दैनौं, डिस्काउन्ट गर्नुस् भन्दा पूरा शुल्क नतिरी बिरामी लैजान नदिने भन्नुभयो । हामीले सोर्सफोर्स लगाएपछि बिरामी निकाल्न दिनुभयो ।’ त्यस्तै घटना केही दिनअघि भयो । सोही अस्पतालले एकैदिन करिब ४७ हजारको बिलिङ गरेको भन्दै एकजना कोरोना संक्रमित भर्ना भएको भोलिपल्टै अस्पताल छाडेर गए । सुरुमा भनिएको भन्दा कयौं गुणा महँगो बिल देखेपछि उनी निको नहुँदै अस्पताल छोडेर गएका हुन् । अहिले उनी एउटा क्लिनिकको आईशोेसनमा छन् ।

संक्रमित बिरामीका आफन्त भन्छन्, ‘सुरुमा अस्पतालले दिनको बेड र डाक्टर चार्जसहित ५५ सय लाग्छ भनेको थियो । अक्सिजन सपोर्ट चाहिँदा अक्सिजनको थप शुल्क लाग्ने भनिएको थियो । आईशीयू र भेन्टिलेटर चाहिने अवस्थामा मात्रै धेरै खर्च लाग्नसक्ने भनिएको थियो । गएको दिन दौडधुप भएकोले अक्सिजन लेभल अलिकति कम भएर आधा घण्टा सपोर्ट दिइएको थियो, बिल चाहिँ ४७ हजारको आयो । औषधि र अरु खर्चसहित ५५ हजारजति खर्च भयो ।’

ती बिरामी २० हजार रुपैयाँ डिपोजिट राखेर अस्पताल भर्ना भएका थिए । अस्पतालले २२ हजार रुपैयाँ बिलिङ भइसकेको भन्दै डिपोजिट थप्न भन्यो । तर, अस्पताल छोडेर जान्छु भनेपछि तत्कालै ४७ हजार पुर्‍याएको हो । त्यसमा गर्दै नगरेका परीक्षणहरुको शुल्क जोडिएको पीडितको दाबी छ । कोभिड बिरामी भर्ना गर्ने अस्पतालले संक्रमण रोकथामका लागि सतर्कता समेत अपनाएको छैन । कोभिड संक्रमणको यो समयमा कोभिडको उपचार र आइशोलेसनको व्यवस्था गर्ने अस्पतालले संक्रमित र अरु विरामीका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्छ । तर, अस्पतालले कर्मचारी र डाक्टरलाई समेत पीपीईको व्यवस्था समेत नगरेको आरोप सो अस्पतालमाथि छ ।

के भन्छ अस्पताल प्रशासन ?

बिरामीसँग चर्को शुल्क उठाएको विषयमा हामीले अस्पतालका निर्देशक शरद अधिकारी भने बिरामीसँग चर्को शुल्क लिएको विषय अस्वीकार गर्छन् । उनी अस्पतालले तोकेको दररेट अनुसार नै शुल्क लिने गरेको र सबै शुल्कहरु पारदर्शी भएको दाबी गर्छन् ।

अस्पतालले नगरेको परीक्षण र नदिएको सेवाको बिल जोड्ने नगरेको उनको दाबी छ । यद्यपि २ दिनकै डेढ लाख रुपैयाँ बिलिङ भएको विषय भने उनले स्वीकार गरे । तर, त्यस्तो बिलिङ अस्पतालले तोकेको रेटअनुसार नै भएको उनको दाबी छ । उनले अस्पतालमा पर्याप्त सुरक्षा व्यवस्थासहित बिरामीको भर्ना लिने गरेको दाबी समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment