Comments Add Comment
गणतन्त्र बहस  :

‘यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र भयो’

यथास्थिति र सबै प्रकारका जडतामाथि प्रश्न गर्नु आहुतिको मूल परिचय हो । विचारोत्तेजक विमर्श तथा लेखनका कारण उनलाई बागी चिन्तक समेत मानिन्छ । राजनीतिकर्मी तथा लेखक आहुति नेपालको गणतन्त्रलाई ‘कामचलाउ गणतन्त्र’ मात्र ठान्छन् ।

आहुति भन्छन्, ‘हिन्दू जात व्यवस्थाको पक्षपोषण गर्ने यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो । यसलाई भत्काउनै पर्छ ।’ स्थापनाको १३ वर्ष पुग्दै गरेको नेपालको गणतन्त्रमाथि आहुतिको टिप्पणी झट्ट सुन्दा असामान्य लाग्छ । तर उनका तर्कले अहिलेको गणतन्त्रमाथि एकपछि अर्को प्रश्न उठाउँछ ।

गणतन्त्र दिवस– २०७८ को अवसरमा विश्वभक्त दुलाल (आहुति)सँग गरिएको कुराकानीको संक्षेप :

‘गणतन्त्र’ राजा रहने र नरहने दृश्यमा मात्र सीमित देखिएको हो ?

गणतन्त्रको अर्थ राजा रहने र नरहने कुरामा मात्र सीमित छैन । किनभने राजा सामन्तवादको प्रतीक भएकाले शुरूमा सांस्कृतिक, आर्थिक र राजनीतिक रूपमा राजतन्त्र अन्त्य गर्ने कुरा नै मुख्य थियो । यद्यपि आज विश्वका अधिकांश मुलुकको अवस्था हेर्ने हो भने आफ्नो व्यवस्था टिकाउनकै लागि जस्तो मन लाग्छ त्यस्तो अर्थमा ‘गणतन्त्र’लाई परिभाषित गरिएको छ ।

नेपालको हकमा हेर्दा पनि राजा रहने र नरहनेमै गणतन्त्र अड्किएको छ । हिजो हिन्दू धर्म र त्यसको वैचारिकीको नेता थियो राजतन्त्र । त्यसलाई अन्त्य गर्न गणतन्त्रले धर्मनिरपेक्षताको मुद्दा स्थापना ग¥यो । तर विडम्बना, अहिले पनि देशलाई हिन्दूकरण गर्ने प्रयास भइरहेको छ । पुराना हिन्दू मान्यतालाई कटौती गरिएको छैन । धर्मनिरपेक्षतालाई लागू हुन नदिने प्रयास छ । यो हुनु भनेको गणतन्त्रको मुख्य मर्मलाई सफल हुन नदिनु हो ।

हिन्दू राजतन्त्रको अर्को जबर्जस्त अर्थ ‘जात व्यवस्था’ हो । जात व्यवस्थाको रक्षकको रूपमा राजा रहने गर्थे । यसैले गणतन्त्र जात व्यवस्था विरूद्ध हुनुपर्छ । के नेपालमा जात व्यवस्था अन्त्य हुने काम गणतन्त्रमा भएको छ ? यिनै कारणले गर्दा अहिले राजा रहनु र नरहनुको भेद देखिंदैन ।

गणतन्त्रको पुनः मूल्याङ्कन हुनुपर्छ भन्न खोज्नुभएको हो ?

जेका लागि नेपालमा गणतन्त्र चाहिएको हो त्यो पाउन अझै संघर्ष गर्नुपर्छ । आखिर इस्लामिक देशहरूमा पनि गणतन्त्र छ । तर उनीरूले आफूलाई गणतन्त्र भन्दैमा हामीले पत्याइदिन मिल्दैन । त्यति साँघुरो कुरा होइन नि गणतन्त्र भनेको !

नेपालको सन्दर्भ हेर्दा पनि उही औपचारिक गणतन्त्र मात्र देखिन्छ । आफ्नो राजनीति जारी राख्नका लागि घोषणा गरिएको कामचलाउ गणतन्त्रजस्तो देखिन्छ अहिलेको व्यवस्था । अर्थात्, गणतन्त्रलाई कामचलाउ मात्रै बनाउन खोजियो । यसकारण गणतन्त्रको पुनः मूल्यांकनसहित नयाँ व्यवस्थाको खोजी गर्न जरूरी छ ।

गणतन्त्रको स्थापनाकालदेखि नै यसमाथि प्रहार भएको देखिन्छ । यसले गर्दा हाम्रो व्यवस्था कमजोर बनेको हो ?

भुल्न नहुने कुरा के हो भने, नेपाली जनताले आफ्नो संघर्षको बलमा नै गणतन्त्र प्राप्त गरेका हुन् । यो कुरा आम रूपमा स्वीकार्य भएको छ । साथै गणतन्त्रको केन्द्रीय उत्प्रेरक (वातावरण निर्माता) माओवादी युद्ध नै हो । त्यसको वरपर अरू वामपन्थी र संवैधानिक राजतन्त्रवादीहरू पनि गणतन्त्रको बाटोमा आइपुगेका हुन् । यसकारणले नेपालमा गणतन्त्रको अवधारणा आउने बेलादेखि नै यसमाथि प्रतिक्रियावादीहरूको प्रहार शुरु भइसकेको थियो ।

अहिले त रोगको, महामारीको नाममा लकडाउन गर्दै विरोधी साम्य पार्न खोजिएको छ । विरोधीलाई सडकमा आउन नदिन महामारीलाई औजार बनाइएको छ । महामारीको विपत्लाई पनि उनीहरूले आफ्नो सत्ता टिकाउने काममा प्रयोग गरेका छन्

अर्को कुरा, संविधान बन्ने प्रक्रियादेखि जनयुद्धको वातावरण सृजना गर्ने मुख्य पार्टीको पतन शुरु भयो । अर्थात् माओवादी पार्टी नै औपचारिक संसदवादतर्फ गएर पतन भयो । जुन पार्टी आन्दोलनको जननी हो त्यो नै पतन भएपछि त्यसले ल्याएका एजेण्डाहरू क्रमशः धरापमा परे । माओवादी पार्टी वा भनौं प्रगतिशील आन्दोलन धरासायी हुँदा गणतन्त्र पनि स्वतः धरासायी हुन पुग्यो ।

अहिलेको सरकारबाट गणतन्त्रमाथि जोखिम देख्नुहुन्छ ?

यो सरकारलाई अहिले पनि पुरातन समाजका रामहरूको, सीताहरूको कुरा गर्न मन लाग्छ । हुँदै नभएका मिथकहरूलाई यथार्थ साबित गर्न राज्यसत्ता लागिपरेको छ । आजको जीवनलाई काम नलाग्ने अप्रमाणित कुरालाई स्थापित गर्न खोजिएको छ ।

नेपाली समाजले खोजेको परिवर्तनको दिशामा यो सरकार छँदै छैन । पूर्णतः गणतन्त्रको विपरीत मार्गतिर गइरहेको सरकारलाई न कम्युनिष्ट सरकार भन्न मिल्छ न गणतन्त्रको सरकार । अहिले त ‘औपचारिक गणतन्त्र’ मात्र छ ।

तपाईंले धेरैपटक गणतन्त्र दिवस जस्ता परिवर्तनकामी दिनलाई नै मुख्य चाड मनाऔं भन्नुभएको थियो । अहिलेको अवस्था हेर्दा जनताले गणतन्त्र–दिवस मनाउने कि नमनाउने ?

सबै वर्गले एकै नारामुनि काम गर्दा सबैको आ–आफ्नो नियत र स्वार्थ फरक हुन्छ । हिजो हिटलर र मुसोलिनीले पनि समाजवाद त भन्थे नि ! कम्युनिष्टहरूले पनि समाजवाद भन्छन् । शब्द एउटै हुनेबित्तिकै त्यसको भाव पनि उही हुन्छ भन्ने छैन ।

यसैले हामीले ल्याएको गणतन्त्र निसंकोच हामीले नै उल्लासका साथ मनाउनुपर्छ । नयाँ बाटोमा जाने संकल्पका साथ मनाउनुपर्छ । अहिले भ्रष्टीकरणको विरूद्ध लड्ने संकल्पका साथ गणतन्त्र दिवस मनाउनुपर्छ । जनतालाई स्वस्फूर्त वा संगठित रूपमै गणतन्त्र दिवस मनाउन दिनुपर्छ ।

यस्ता दिवसमा गर्ने भनेको संकल्प हो । महिला दिवस शोषित र शोषक दुवैले मनाउँछन् । मजदूर दिवस पनि श्रमिकलाई उल्लु बनाउन मालिकले पनि मनाउँछ । तर मजदूरहरूले मुक्तिको संकल्पका साथ मनाउने हो । ठीक यस्तै गणतन्त्र दिवसलाई पनि वर्गीय रूपमा हेर्दै जनताले चाहिं नयाँ व्यवस्थामा जाने संकल्पका साथ मनाउनुपर्छ ।

विरोध गर्न पाउनु गणतन्त्रको सर्वोच्च पक्ष मानिन्छ । तर गणतन्त्र दिवसको दुई दिन अघि मात्र नागरिक समाजको प्रदर्शनमा सरकारले दमन गरेको छ । यस्तो कदमलाई कसरी हेर्नुहुन्छ ?

अहिले त रोगको, महामारीको नाममा लकडाउन गर्दै विरोधी साम्य पार्न खोजिएको छ । विरोधीलाई सडकमा आउन नदिन महामारीलाई औजार बनाइएको छ । महामारीको विपत्लाई पनि उनीहरूले आफ्नो सत्ता टिकाउने काममा प्रयोग गरेका छन् । यहीबेला कमिसन, नाफाखोरी गर्न पाएका छन् ।

नागरिक समाजको कार्यक्रम होस् वा अन्य कार्यक्रम उनीहरूले दमन त गरिरहने छन् । महामारीको घडी गरिएका यी कदम इतिहासमा कहिल्यै क्षम्य गर्न सकिंदैन । तर, के याद राख्नुपर्छ भने यिनीहरूको दमनले केही काम गर्दैन । यो दमन सधैं टिक्दैन ।

असली गणतन्त्रचाहिं कसरी प्राप्त हुन्छ त ?

जुनबेला विश्वमा सामन्तवादका विरुद्ध गणतन्त्रको युग शुरु भएको थियो, त्यसबेला ‘प्रगतिशील पूँजीवाद’को जिम्मामा गणतन्त्र थियो । त्यतिबेलाको गणतन्त्र अर्कै चरित्रको थियो । अहिलेको गणतन्त्रमाथि बहुराष्ट्रिय पूँजीवाद अर्थात् ‘भूमण्डलीकृत पूँजीवाद’ हावी छ ।

बहुसंख्यक उत्पीडितहरूमाथि लुट मच्चाउने, प्रकृतिलाई ध्वस्त पार्ने पूँजीवादको मुख्य कर्म हो । अहिले लोकतन्त्रको नाममा लुट मच्चाउने पूँजीवाद हावी छ । यसकारण हामीले खोजेको जस्तो गणतन्त्र भनेको त ‘प्रगतिशील व्यवस्था’ हो । जसले मानवअधिकार, मानवता, समावेशी तथा श्रमिक वर्गले मुक्ति पाउनेछन् ।

विडम्बना, भूमण्डलीकृत पूँजीवादको कारण आज संसारको कुनै पनि देशमा हामीले खोजेको गणतन्त्र सम्भव देखिंदैन । यसैले अब गणतन्त्र मात्र भनेर हुँदैन । ‘वैज्ञानिक समाजवादी गणतन्त्र’मा मात्र समाज आफैं हावी हुन सक्छ । वैज्ञानिक समाजवादमा मात्र विज्ञानका सत्यमा आधारित रहेर समाज प्रगतिशील रूपमा अगाडि बढ्छ । पूँजीवादले खाइदिएको यो गणतन्त्रको नयाँ र वैज्ञानिक खोजी ‘वैज्ञानिक समाजवादी गणतन्त्र’ले मात्र सम्भव छ ।

समाजवादी गणतन्त्रको रक्षार्थ हामीले के गर्नुपर्ने हुन्छ ?

गणतन्त्रको रक्षाको मात्र कुरा मुख्य होइन । रक्षा भनेको त त्यो गणतन्त्र कस्तो व्यवस्थाले ग्रहण गर्छ भन्ने कुरामा निर्भर रहन्छ । हिजोको गणतन्त्र पो प्रगतिशील पूँजीवादमा थियो । त्यो पूँजीवाद अब छैन । अब त सबैलाई प्रयोग गरेर लुट मच्चाउने ‘दलाल पूँजीवाद’ हावी छ । त्यो पूँजीवादलाई प्रश्रय दिने गणतन्त्रलाई रक्षा गर्ने त कुरै आउँदैन । यसलाई त पूर्णतः परिवर्तन गरेर वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गर्ने हो ।

‘गण’ भनेको समाज हो भने, गणतन्त्रमा समाज (समुदायको जित) हावी हुनुपर्ने हो । तर आज संसारभरि समाज होइन कर्पोरेट हाउसहरू हावी छन् । गणमा आधारित समाजवादका निम्ति त नयाँ आधारमा नयाँ संघर्षको निम्ति संकल्प गर्नुपर्छ । भ्रष्ट भएको अहिलेको गणतन्त्रलाई केको रक्षा गर्ने !

यो गणतन्त्रको विकल्पमा जानुपर्छ भन्नुभएको हो ?

आजको भूमण्डलीकृत पूँजीवादको पक्षपोषण गर्ने व्यवस्था त अन्त्य गर्नैपर्छ । यो दलालवादी संसदीय व्यवस्था र त्यसले घोषणा गरेको गणतन्त्रको कुनै तुक छैन । कुनै पनि हालतमा नयाँ व्यवस्थामा हामी जानैपर्छ ।

यसैले त मैले बारम्बार भन्दै आएको छु– यो गणतन्त्र अर्थहीन भइसक्यो, नयाँ वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गर्ने संकल्प गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment