Comments Add Comment

पेरुले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या दोब्बर बढी

१८ जेठ, काठमाडौं । पेरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको तथ्यांक सच्याएको छ । यसअघि पेरुले कोरोना संक्रमणका कारण ६९ हजार ३४२ जनाको मृत्यु भएको बताए पनि समग्र विवरण खोज्दा मृतकको संख्या एक लाख ८० हजार ७६४ पाइएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार योसँगै पेरु जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको मुलुक बनेको छ । पेरुमा कोरोनाको कारण प्रति एक लाख मानिसमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ । यसअघि हंगेरी जनसंख्याको आधारमा सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको रुपमा थियो । हंगेरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या प्रति एक लाखमा तीन सयको हाराहारीमा छ ।

पेरुकी प्रधानमन्त्री भायोलेटा बर्मुडेजले कोरोनाबाट मृत्यु हुनेको संख्या पेरु र अन्तर्राष्ट्रिय विशेषज्ञको सुझावको आधारमा सच्याइएको बताएकी छन् । यसअघि पेरुमा अन्य अवस्थामा मृत्यु हुने र कोरोनाकालमा मृत्यु हुनेको संख्यामा ठूलो अन्तर पाइएको थियो । ‘मलाई लाग्छ कि अपडेट गरिएको सूचना सार्वजनिक गर्नु हाम्रो जिम्मेवारी हो,’ बर्मुडेजले भनिन् ।

पेरु ल्याटिन अमेरिकामा कोरोनाबाट निकै प्रभावित भएको मुलुकमध्येको एक हो । कोरोना महामारीको कारण पेरुमा स्वास्थ्य संकटका साथै अक्सिजनको पनि अभाव चुलिएको थियो ।

पेरुको चिकित्सक महासंघका गोडोफ्रेडो टालाभेराले कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुनु कुनै आश्चर्यको विषय नभएको बताए । कमजोर स्वास्थ्य प्रणालीका कारण पेरुमा धेरै मानिसको मृत्यु भएको उनको बुझाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment