Comments Add Comment

मलाई किसान हुनुमा गर्व छः पुष्प खड्का

‘चलचित्रको पर्दामा पनि कृषक बन्ने ठूलो रहर छ’

गतबर्षको लकडाउन नायक पुष्प खड्काले काठमाडौंमा विताए। अधिकांश समय चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने गरेर लकडाउनको समय सदुपयोग गरेका थिए पुष्पले । यसवर्ष निषेधाज्ञा पनि पुष्प काठमाडौंमा नै थिए । तर, निषेधाज्ञाको एक महिनापछि भने पुष्प गृहजिल्ला कैलाली पुगेका छन् ।

‘चलचित्र हेरौं भने गतबर्ष नै धेरै चलचित्र हेरिसकेको थिएँ । पुस्तक पढौं भनेपनि धेरै पुस्तकहरु गतवर्ष नै पढिसकेको थिएँ । काठमाडौंमा बस्दा दिक्क लागिरहेको थियो । यसैले, आफ्नै घरमा आएको छु । यहाँ आउँदा निकै रमाइलो लागिरहेको छ ।’

उनी घर पुगेको अर्को दिन कोदालो लिएर बारीमा पुगे र केही घन्टा बारीमै बिता । उनले सामाजिक सञ्जाल फेसबुकमा बारीमा काम गर्दै गरेका दुई तस्वीर समेत पोष्ट गरे । उनले लेखेका थिए–‘नेपाल कृषिप्रधान देश हो । म आफू किसान हुनुमा गर्व लाग्छ ।’ घरमा गएयता उनले दैनिक केही समय बारीमै बिताउन थालेका छन् ।

‘अरुलाई देखाउनका लागि मात्रै तस्वीर खिचेको होइन । मलाई एउटा किसानले गर्नुपर्ने हरेक कामहरु आउँछ । काठमाडौं जानुअघि धेरै कामहरु गर्थेँ’ पुष्पले सुनाए–‘घाँस काट्ने, गोबर फाल्ने, दूध दुहुने, खेतमा आली लगाउने, जोत्ने सबै काम गरेको छु । अहिले पनि ति कामहरु गर्दा आनन्द लाग्छ ।’

गतवर्षसम्म पुष्पका बुबा–आमा भारतमा थिए । पुष्प र उनकी बहिनी भने काठमाडौं बस्दै आएका छन् । घरमा कोही नभएपछि खेत ठेक्कामा दिइएको थियो । अहिले घर वरिपरी केही जग्गामा उनको परिवारले खेती किसानी गर्दै आएको छ ।

पुष्पले निषेधाज्ञापछि घर पुगेर नजिकैको खेतमा आली लगाए । खन्ने, गोडमेल गर्ने काम गरे । ‘मकै र मुसुरो लगाउने सिजन हो अहिले, धान रोप्ने तयारी पनि हुँदैछ ।’, पुष्पले भने ।

‘काठमाडौंमा वर्कआउट पनि गर्न पाएको थिइनँ । अहिले खेतमा काम गर्दा वर्कआउट पनि हुने, परिवार एवं काम गर्ने ब्यक्तिहरुलाई पनि सहयोग हुने । आनन्द लागिरहेको छ’ पुष्पले उत्साहित हुँदै भने ।

पुष्प कृषिबारे आफूले राम्रोसँग बुझेको र आफू किसान हुनुमा गर्व गर्ने बताउँछन् । ‘कतिपय मानिसहरुलाई किसान भन्दा लाज लाग्न सक्छ । तर जसले जति भनेपनि नेपालमा ७० देखि ८० प्रतिशत मानिसहरु कृषिमा जोडिएका छन् । अहिलेका बालबच्चा, युवायुवतीहरु बोर्डिङमा पढेका होलान् । अंग्रेजी बोल्नमा अभ्यस्त होलान् । तर, उनीहरुको अभिभावकहरुमा कृषिको ज्ञान ९५ प्रतिशत हुन्छ जस्तो लाग्छ’ पुष्प सुनाउँछन्, ‘यसमा कसैले गाह्रो एव लाज मान्न आवश्यक छैन् । म कलाकारितामा सक्रिय भएपनि मेरो ब्याकग्राउण्ड कृषि हो । म किसानको छोरा हुँ । म आफू किसान पनि हुँ ।’

नेपाली जनता कृषिमा आश्रित रहेपनि सरकारले यसप्रति गम्भीर भएर सहयोग गर्न नसकेको र किसानले आफ्नो मेहनत अनुसारको मूल्य पाउन नसकिरहेको पुष्पको बुझाई छ ।

‘खेतीपाती गर्दा एकदमै दुःख हुन्छ । धेरै मिहिनेत परेको हुन्छ । तर, त्यो मिहिनेत अनुसारको मूल्य किसानले पाएजस्तो लाग्दैन’ उनी भन्छन्– ‘खेतीकिसानीमा लाग्नेजति मिहिनेत हामीले अरुमा गर्यो भने त्यो भन्दा राम्रो कमाई भएको हुन्छ । यसमा मूख्य कमजोरी सरकारको छ ।’ धान, गहुँकै कुरा गर्दा यसको राम्रो मूल्य किसानले पाउन नसकेको उनले बताए ।

उनले भने,–‘किसानले मिहिनेतका साथ धान, गहुँ फलाउँछन् । त्यो सस्तो मूल्यमा भारत जान्छ । त्यही धान, गहुँ प्याक भएर आएपछि हामीले महंगो मूल्यमा किन्नुपर्छ । यो हाम्रो लागि विडम्बना हो ।’

सरकारले नेपालमै धान, गहुँ प्रशोधनको उचित प्रबन्ध मिलाएर यहि प्याकिङ हुने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।

मलमा पनि नेपाल भारतमा निर्भर हुने गरेको छ । पछिल्लो समय गाई भैसी पाल्ने क्रम पनि घट्दै गएकाले हिजोआज मलको  निर्भरता पनि भारतप्रति अझ बढी रहेको उनको बुझाइ छ ।

‘पहिले अधिकांशको घरमा गाईभैसी पालिन्थ्यो । कम्पोष्ट मलमा त्यति गाह्रो थिएन । अहिले त्यो पनि कम हुँदै गएको छ’ उनी भन्छन् । तरकारीमा पनि किसानले मिहिनेत अनुसारको उचित मूल्य पाउन नसकेको उनको बुझाइले बताउँछ ।

कृषि क्षेत्रको थप विकासका लागि सरकारले किसानका लागि ऋणमा पनि सहजता र सहुलियत दिनुपर्ने पुष्प बताउँछन् । अगाडि भने–‘यस्ता धेरै कुराहरु छन् । जसमा ध्यान जान जरुरी छ जस्तो लाग्छ । अनी मात्र कृषि क्षेत्रले थप फड्को मार्ने थियो ।’

चलचित्रमा पनि कृषि क्षेत्रलाई त्यति स्थान दिन सकिएको छैन । पुष्प यो कुरा स्वीकार्छन् । ‘कृषिमा धेरै मानिसहरु आवद्ध छन् । यसमा छुट्टै भावना जोडिएको छ । जसलाई हामी वास्ता गरिरहेका छैनौं । ति विषय वस्तुहरुलाई नियालेर हेर्ने हो भने प्राथमिकतामा पर्छ । चलचित्रकर्मीहरुले पनि यस्ता कुरामा ध्यान दिन सके राम्रो हुन्थ्यो’ उनले सुनाए ।

कृषि क्षेत्रमा धेरै चलचित्र बन्न नसक्नुको कारण के होला ? ‘सायद, लेखकहरुले यो विषयमा खोजी नगरेर हुनसक्छ । वा विषयवस्तुलाई ईस्यूको रुपमा लिन नसकेर होला । आशा गरौं, विस्तारै आउला’ पुष्प आशावादी हुँदै भने ।

पुष्प सधै फरक–फरक भूमिका गर्न रुचाउँछन् । विगतका अधिकांश चलचित्रमा उनले फरक भूमिका निर्वाह गरेका छन् । किसानको भूमिकामा काम गर्न पनि आफूलाई मन रहेको पुष्पले बताए ।

‘नयाँ भूमिका आउँछ भने त्यो म छोड्दै छोड्दिनँ । अझ, यो त मैले बुझेको विषय भयो’ उनले भने–‘किसानको भूमिकामा काम गर्नपनि एकदमै मन छ । यो भूमिका म सजिलै गर्न पनि सक्छु ।’ लेखकले राम्रो कथा लेखेर अभिनयका लागि आग्रह गर्दा आफू सधै सकारात्मक रहने उनको भनाई छ ।

काठमाडौंमा हुँदा पुष्प राती ढिलो सुत्ने गर्थे । यसैले, बिहान ढिलो उठ्ने गरेका थिए । घरमा गएपछि आफ्नो नियमित सेड्यूल मिलेको पुष्प बताउँछन् ।

उनी बिहान सबैर उठेर केही समय व्यायम गर्छन् । त्यसपछि घरायसी काममा सघाउँछन् । दिनमा काम नभए चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने कामलाई पनि निरन्तरता दिएका छन् ।

केही साता पहिला कोरोना संक्रमितलाई अक्सिजन अभाव भइरहँदा संक्रमितलाई अक्सिजन उपलब्धताका लागि पनि पुष्पले सहयोगी हात बढाए ।

उनले कैलालीको मैनादेवी फाउण्डेशनसँग सहकार्य गर्दै संक्रमितका लागि ५० सिलिण्डर अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका थिए । अहिले पनि आफू सो संस्थासँग नियमित समन्वयमा रहेको पुष्प बताउँछन् । अहिलेको विषम परिस्थितिमा सरकार र राजनीतिक दलका नेताहरु कुर्चीको खेलमा लाग्नु भने दु:खद रहेको उनले बताए । अहिलेको अवस्थामा सरकारले सबै कुरा छाडेर जनतालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउनमा लाग्नुपर्ने उनी बताउँछन् ।

कोरोनाबाट बच्न नागरिकहरु उत्तिकै सचेत हुनुपर्ने उनले बताए । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर घरमै बस्ने, परिवारसँग समय विताउन पुष्पको सुझाव छ ।

पुष्पले चलचित्र ‘अझै पनि’बाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । त्यसयता उनका झण्डै आधा दर्जन चलचित्र प्रदर्शनमा आएका छन् । त्यस्तै चलचित्र ‘कृष्णलीला’को प्रदर्शन कोरोनाका कारण रोकिएको छ । ‘मनसँग मन’को छायांकन सकेका छन् भने चलचित्र ‘तिम्रो मेरो साथ’को पोष्ट प्रोडक्सनको काम हुँदै थियो । कोरोना महामारीका कारण सो चलचित्रका बाँकी काम अगाडि बढ्न सकेको छैन । अब सहज परिस्थितिको पर्खाइमा आफू रहेको पुष्पले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment