Comments Add Comment

एन्टिजेन परीक्षणबाट देखियो लुम्बिनीका गाउँ गाउँमा कोरोना संक्रमण

फाइल तस्वीर

२६ जेठ, बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको रुक्सेभन्ज्याङमा केही दिनअघि ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले पुनः रुक्सेभन्ज्याङ टोलका ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भयो । यसले गाउँगाउँमा कोरोना संक्रमण फैलिंदो अवस्थामा रहेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले परीक्षण नहुँदा कोरोना संक्रमण घटे जस्तो देखिए पनि परीक्षण गर्दा संक्रमण झनै बढेको पुष्टि भएको बताए ।

‘ग्रामीण बस्तीमा मानिसहरुले रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा लिने, चेकजाँच नगर्ने, घरेलु औषधि सेवन गरेर बस्ने प्रचलन छ,’ पन्थीले भने, ‘परीक्षण नहुँदा घटेको देखिनु स्वभाविक हो, जब स्वास्थ्य अवस्था जटिल हुन्छ त्यसपछि चेकजाँच हुन्छ, त्यतिबेला संक्रमण फैलिइसकेको हुन्छ ।’

लुम्बिनी प्रदेशमा आरटी पीसीआर परीक्षण दर घटेसँगै कोरोना संक्रमण र मृत्यु दर घटेको जस्तो देखिए पनि वास्तविकता भने त्यस्तो छैन । एन्टिजेन परीक्षणको नतिजाले ग्रामीण क्षेत्रमा कोरोना संक्रमण र मृत्यु दर उल्लेख्य मात्रामा रहेको पुष्टि गरेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार शहरी क्षेत्रमा १० देखि १५ प्रतिशतमा र गाउँमा ३५ देखि ४० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ ।

‘शहरी क्षेत्रमा निषेधाज्ञा, सचेतना र उपचारका कारण संक्रमण घटे पनि ग्रामीण क्षेत्रमा यी तीनवटै कुरामा बेवास्ता हुँदा संक्रमण फैलिएको छ,’ घिमिरेले भने, ‘पर्याप्त सचेतना नहुँदा गाउँमा सावधानी छैन, अर्कोतिर कामको चटारो छ, सिकिस्त नभएसम्म परीक्षण नगर्ने परिपाटी अझै हटेको छैन, यसले गर्दा फेरि पनि संक्रमण ह्वात्तै बढ्न सक्छ ।’

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ११ देखि प्रदेशका १२ वटै जिल्लामा एन्टिजेन परीक्षण शुरु गरेको थियो । जेठ २५ गतेसम्म सबै जिल्लामा ३५ हजार ४२९ जनामा एन्टिजेन परीक्षण हुँदा १२ हजार ३६९ जनामा पोजेटिभ अर्थात् संक्रमण पुष्टि भएको छ ।

यस्तै बेलहिया नाका रुपन्देहीमा २ हजार २०५ जनामा गरिएको परीक्षणमा ८७ जनामा, कृष्णनगर नाका कपिलवस्तुमा ५०९ जनामा गरिएको परीक्षणमा ६३ जनामा र बाँकेको जमुनाह नाकामा ३ हजार ५८३ जनामा गरिएको परीक्षणमा २६१ जनाको पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए ।

‘जिल्लाहरुमा गरिएको एन्टिजेन परीक्षणको नतिजा हेर्दा कोरोना संक्रमण घटेको मान्न सकिन्न,’ डा. पौडेलले भने, ‘प्रदेशमा कुल परीक्षणको ३४.९१ प्रतिशतमा संक्रमण देखिएको छ, यसले शहरमा भन्दा गाउँमा संक्रमण फैलिएको देखाउँछ ।’

सीमा नाकाहरुमा गरिएको परीक्षणमा भने ६.५३ प्रतिशतमा संक्रमण देखिएको प्रवक्ता पौडेलले बताए । प्रदेशमा एन्टिजेन पोजेटिभको मृत्यु दर २.३६ प्रतिशत रहेको छ । यो मात्रा आरटी पीसीआर पोजेटिभको मृत्यु दरभन्दा प्रतिशतका हिसाबले धेरै हो ।

पीसीआर पोजेटिभको मृत्यु दर प्रदेशमा १.९१ प्रतिशत छ । एन्टिजेन पोजेटिभमध्ये हालसम्म प्रदेशमा २९२ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणबाट जेठ २५ गतेसम्म १ हजार ५०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लुम्बिनीमा एक लाख ७५ हजार जनामा एन्टिजेन परीक्षण हुँदै

सबै जिल्लामा पीसीआर परीक्षण ल्याब र त्यसलाई चाहिने दक्ष जनशक्ति नभएकाले सरकारले तुलनात्मक रुपमा कम खर्चिलो, प्रयोगशाला नचाहिने एन्टिजेन परीक्षण विशेषगरी ग्रामीण क्षेत्र र सीमा नाकामा बढाएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके, रुपन्देही र दाङमा २७ हजारका दरले, कपिलवस्तुमा २० हजार, नवलपरासी पश्चिम र बर्दियामा १३ हजारका दरले, अर्घाखाँची, पाल्पा र गुल्मीमा १० हजारका दरले तथा रुकुम पूर्व, रोल्पा र प्युठानमा ६ हजारका दरले गरी एक लाख ७५ हजार एन्टिजेन किट पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईंले बताए ।

‘१२ जिल्लामध्ये गुल्मीमा ६ हजारले अपुग भयो भनेपछि चार हजार थप पठाएका हौं,’ चापागाईंले भने, ‘अरु ११ जिल्लामा केही हप्तालाई पर्याप्त छ, परीक्षण भइरहेको छ ।’

भारत लगायत तेसो मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेमध्ये शंकास्पद, कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आएका बिरामी र ग्रामीण क्षेत्रमा समुदायस्तरमा एन्टिजेन परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।

‘जिल्लाहरुमा पठाएको सबै एन्टिजेन किटबाट परीक्षण गर्दा आउने रिपोर्टका आधारमा प्रदेशमा कोरोना संक्रमणको दर कुन अवस्थामा पुगेको छ भन्ने निर्क्योल हुन्छ,’ निर्देशक डा. गिरीले भने, ‘तर हामी संक्रमण घट्यो भनेर ढुक्क हुने अवस्था छैन, लक्षण देखिनेबित्तिकै परीक्षणको दायरामा सबै आउनुपर्छ, उत्तिकै स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment