+
+
Shares

संखुवासभाका पहिरो पीडित ११ महिनासम्म पनि टेन्टमै

हरि अधिकारी हरि अधिकारी
२०७८ जेठ ३१ गते १४:१९

३१ जेठ, विराटनगर । गत वर्ष असार २८ गते राति संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरो जाँदा ९ घर पहिरोमा बगे । सुतिरहेको अवस्थामा आएको पहिरोसँगै बगेका ११ जना अझै बेपत्ता छन् ।

पहिरो गएको ११ महिना बितिसकेको छ । फेरि मनसुन भएको छ । तर यो एक वर्षमा पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । राज्यले घर निर्माण गरेर पुनस्र्थापना गर्न नसक्दा प्रभावित परिवार टेन्टमै बस्न बाध्य भएका हुन् । सरकारबाट आफन्त बेपत्ता भएवापत क्षतिपूर्ति पाएका परिवारले ओत लाग्ने छानो पाएका छैनन् ।

उता प्रभावित गाउँका बासिन्दा भने घर बग्ने हो कि भन्ने चिन्तामा छन् । ‘हिउँदमा घरमै आएर बसियो, तर पानी पर्न थालेपछि धेरै डर लाग्छ,’ स्थानीय बृखबहादुर राईले भने, ‘घर बगेकाहरु टेन्टमै बसेका छन्, हामी गाउँ आयौं, तर अब गाउँ छोड्नुपर्छ होला ।’

उनका अनुसार गत वर्ष पहिरो गएको स्थानमा वैशाख यता साना–साना पहिरो गइरहेका छन् । जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएको उनले बताए । गत वर्ष घर बगेकाहरु सिलिचोङ–१ कै चित्रे भन्ने स्थानमा बसेका छन् ।

बेसिन्दामा ११८ परिवार रहेको पालिकाको तथ्याङ्क छ । तीमध्ये अधिकांश परिवार जोखिम मोलेर बसेका छन् ।

वर्ष दिनमा बनेन घर

पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडितहरु घर फर्किएर बस्न पाएका छैनन् । सिलिचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलका अनुसार गाउँपालिकाले प्रभावितहरुका लागि राख्न दुई स्थानमा जग्गा खरिद गरेरर राख्ने प्रक्रिया सुरु गरेको छ । प्रभावितलाई राख्नका लागि चित्रेमा र बखलटुङमा जग्गा खरिद गर्ने तयारी रहेको उनले बताए ।

‘प्रभावित परिवारका लागि गाउँपालिकाले दुई स्थानमा जग्गा खोजिसकेको छ,’ उनले भने, ‘जग्गा खरिद गरेर काम सुरु गर्ने तयारी थियो तर निषेधाज्ञाले मालपोत बन्द भयो, काम पनि रोकियो ।’

पालिकाले चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि ९ रोपनी जग्गा खरिद गर्ने तयारी गरेको उनले बताए ।

प्रभावितहरुका लागि गाउँपालिकाले नै घर बनाइदिने उनको भनाइ छ । उनका अनुसार बेसिन्दामा रहेका ११८ मध्ये ४७ परिवारले मात्रै पालिकामा बस्ने बताएका छन् । अन्यले भने पालिका छाडेर अन्यत्र बसाइँ सर्ने बताएका छन् ।

‘प्रभावित परिवारलाई मनसुनजन्य विपद व्यवस्थापन कार्यविधि अनुसार पाँच लाख रुपैयाँ उपलब्ध  हुन्छ,’ उनले भने, ‘त्यसमा संघीय सरकारले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीयले १० प्रतिशत बेहोर्नेछन् ।’

स्थानीय बृखबहादुर राईका अनुसार पालिकाले बनाइदिने घर एक वर्षपछि मात्रै पाउने अवस्था छ । घर बन्न समय लाग्ने भएकाले यो वर्ष टेन्टमै बस्नुपर्ने उनले बताए ।

प्रभावितलाई प्रदेश १ सरकारले तत्कालै पुनर्स्थापना गर्ने बताएको थियो । तर एक वर्षसम्म प्रभावित बासिन्दाहरु जोखिम मोलेर बसेका छन् । पहिरोको केही दिनपछि राहत लिएर पुगेको प्रदेश १ सरकारले त्यसयता चासो दिएको छैन ।

पहिरोमा स्थानीय ६०  वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१  वर्षीया एन्जिला राई र ११  वर्षीया नम्रता राई बेपत्ता भएका थिए । ६५ वर्षीया गोरीमाया राई र उनकी छोरी २२ वर्षीया प्रकृति राई पनि बेपत्ता भएका थिए ।

यस्तै ५२ वर्षीय जुद्धबहादुर राई (माने), उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, स्थानीय ७०  वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती  ८२ वर्षीया आइतमाया पनि बेपत्ता भएका थिए । बेपत्ता परिवारलाई सरकारले एक व्यक्ति बराबर दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?