Comments Add Comment

मुस्ताङको लुप्रा खोलामा लेदोसहित बाढी

३१ जेठ, पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका कारण थप क्षति हुन नदिन सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको जानकारी दिए । ‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो,’ उनले भने ।

बाढी पूर्ण लेदोयुक्त भएकाले खोला नै थुनिएको हुनसक्ने गाउँपालिका प्रमुख गुरुङले जानकारी दिए । ‘एक्कासी कालो लेदोसहित बाढी आयो । लेदोले खोला नै ढालेको छ,’ उनले भने, ‘पानी परिरा भएर अझै बढ्ने संकेत छ ।’

खोलामा बाढी आएको जानकारीपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ प्रमुख दिउँसो अनुगमनमा गएको थियो । सीडीओ हिरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिम पहिरोको सम्भावना भएको बताइन् । ‘हिउँ पहिरो हो कि भन्ने हाम्रो शंका अनुमान छ,’ सीडीओ पौडेलले भनिन्, ‘तर, गाउँलेहरु खोल्साको पानी बढेर हो भनेका छन् । जानकारी लिँदैछौं ।’

उनले खोलामा माटो, रुखका बुट्यानको लेदोमात्रै आएको जानकारी दिइन् ।

तस्वीर सौजन्य : निरज थकाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment