
२ असार, काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सलामो समय निषेधाज्ञा हुँदा अर्थतन्त्रमा थप चुनौती थपिएको बताएका छन् । कोरोना संक्रमणबाट जोखिनका लागि भन्दै गरिएको निषेधाज्ञा निरन्तर लम्ब्याउँदा यसको असर अर्थतन्त्रमा नकरात्मक देखिन थालेको उनले बताए ।
अहिले भने संक्रमण घटेको र पहिलेको जस्तो त्रास पनि नरहेको भन्दै अब स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर निषेधाज्ञा खुला गर्नुपर्ने प्रवन्ध निर्देशक बस्नेतको भनाइ छ ।
‘कतिसम्म बन्द गर्ने, बन्दमात्रै त समाधान पक्कै होइन, अब त हामी आफै सचेत हुनुपर्यो’ उनले भने, ‘बन्दमात्रै गरेर जोगिने कुरा हुँदैन, असार १देखि एक हप्ता निषेधाज्ञा थप्नु नै आवश्यक थिएन, थपियो, तर अब थप्नु हुँदैन खुला गर्नुपर्छ ।’
वायुसेवा सञ्चालकहरु सबैको अब निषेधाज्ञा खुला हुनुपर्छ भन्ने धारणा रहेको उनले बताए । सरकारले हवाई सेवा सञ्चालन गर्न २ दिन अघिमात्रै सूचना निकाले आफूहरु सेवा दिन तयारी अवस्थामा रहेको समेत उनले बताए ।
हवाई सेवा तुलनात्मक हिसाबले सुरक्षित रहेको र कसैलाई संक्रमण भइहाले पनि कन्ट्याट ट्रेसिङ गर्नका लागि सहज हुने भएकाले यो क्षेत्रमा धेरै डराउनु नपर्ने उनको भनाइ छ ।
‘सरकारले खोल्नु भन्यो भने हामी खोल्न तयार छौं, हाम्रा कर्मचारीहरु भ्याक्सिनेट पनि हुनुहुन्छ त्यस्तो कुनै समस्या छैन’ उनले भने ।
गत वर्षको लकडाउनपछि खलेको हवाई क्षेत्रमा यात्रुहरुको चाप निकै बढेको थियो । हवाई यात्रा प्रति यात्रुहरुको विश्वास रहेको भन्दै उनले यसपाली पनि खुलेपछि यात्रुहरुको आकर्षण देखिने उनी बताउँछन् ।
प्रतिक्रिया 4