+
+

बाढी-पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति

विकास रोकामगर विकास रोकामगर
२०७८ असार ५ गते २०:४१

५ असार, पोखरा । गत चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरता मात्रै बिगारेको छैन । विपद् निम्त्याउनेवाला छ ।’

गाउँगाउँमा हाइड्रोको योजना ल्याउँदा स्थानीय तहसँग समन्वय नगर्ने र ‘माथिबाटै सीधै’ सम्झौता गरेर आउँदा आफूहरुको अधिकारसमेत खोसिएको उनले बताएका थिए । ‘बिजुली निकाल्ने बहानामा राम्रोसँग वातावरणीय मूल्यांकन प्रतिवेदन (ईआईए) पनि राम्रोसँग हुँदैन । क्षति व्यहोर्ने हामी नै हुन्छौं,’ उनले भनेका थिए ।

गुरुङले ‘हाइड्रोका कारण क्षति पुग्ने’ आँकलन गरेको ३ महिना बित्न नपाउँदै मादी गाउँपालिकाले मात्रै नभई जलविद्युत आयोजनाले पनि बाढी, पहिरोबाट ठूलो क्षति व्यहोरेका छन् । बाढी, पहिरोबाट गाउँपालिकामा सञ्चालित र निर्माणाधीन हाइड्रोले अर्बौंको क्षति व्यहोरेका छन् ।

मादी गाउँपालिकामा अहिले ५ वटा जलविद्युत आयोजनाको काम भइरहेको छ । त्यसमध्ये ३ वटा सञ्चालनमा छन् भने एउटा निर्माणाधीन छ र अर्को वर्षदेखि सुरु हुने गरी सडक तयार हुँदैछ ।

मादीमा भएका हाइड्रो योजनामध्ये अपर मादी जलविद्युत आयोजना (२५ मेघावाट), सिक्लेस जलविद्युत आयोजना (१३ मेघावाट) र हिमालयन जलविद्युत आयोजना (साढे १२ मेघावाट) निर्माण पूरा भएर सञ्चालनमा आइसकेका थिए । निर्माणाधीन सुपर मादी जलविद्युत आयोजना (४४ मेघावाट) अर्को वर्षदेखि सञ्चालन गर्ने तयारी थियो भने माझुने जलविद्युत आयोजनाका लागि सडक तयार हुँदै थियो ।

तर, मनसुनको सुरुवाती समयबाटै परेको अविरल वर्षाका कारण क्षति पुगेका सञ्चालनमा आइसकेका तीनवटा हाइड्रो तत्कालका लागि बन्द भइसकेका छन् । बाढीको क्षतिका कारण बाँकी योजना पनि अनिश्चित बनेको छ ।

अर्को वर्षदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको ४४ मेघावाटको सुपरमादी हाइड्रोको बाढीले १ अर्बभन्दा बढी क्षति पुर्‍याएको छ । मादी नदीमा बनिरहेको उक्त योजना नदीको बहाव नघटेका कारण मुख्य कार्यालयमै जान नसकिरहेको आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगाना बताउँछन् ।

‘ओभरअलमा ७० प्रतिशतभन्दा बढी काम सकिइसकेको थियो । त्यहीअनुसार कामदारले काम पनि गरिरहेका थिए,’ ढुंगानाले भने, ‘तर, बाढीले सबै बगाएर लग्यो । हेड अफिसमा जाने बाटो नै बगाएकाले कति क्षति भयो भन्ने यकिन नै हुन सकेको छैन ।’

ढुंगानाले निर्माणमा प्रयोग भइरहेको टिप्पर, स्काइभेटर, क्रसर प्लान्ट, १७ करोड बराबरको निर्माण सामग्री सबै बगाएको जानकारी दिए । उनले सिभिल कन्ट्रयाक्टरतर्फ  ५० करोड रुपैयाँ, हाइड्रो मेकानिकलतर्फ १० करोड र इलेक्ट्रोनिक मेकानिकलतर्फ २० करोडभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताए ।

बाढीले क्षति पुर्‍याएपछि निर्माण पूरा हुने समयावधि पनि लम्बिने देखिएको छ । ‘बाढीले कति क्षति पुर्‍याएको छ त्यसबारे हेरेर मात्रै कहिलेसम्म निर्माण सकिन्छ भन्न सकिन्छ । सकेसम्म ३ देखि ६ महिनाभित्र अपरेसनमा ल्याउन हाम्रो प्रयत्न रहन्छ,’ ढुंगानाले भने, ‘तर, हामीले भनेर मात्रै हुने देखिंदैन ।’

सञ्चालनमा रहेको साढे १२ मेघावाटको हिमालयन (नामार्जुङ मादी) हाइड्रोमा पनि ८० प्रतिशत क्षति पुगेको छ । यो आयोजना भदौमा मात्रै केन्द्रीय प्रसारण लाइनसँग जोडिएको थियो । बाढीले क्षति पुर्‍याएपछि अहिले आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

‘बाढीले हाम्रो हाइड्रोमा ८० देखि १ अर्बसम्मको क्षति पुर्‍याएको हाम्रो प्रारम्भिक अनुमान छ । मेनपावर हाउसमै हानेको हुनाले धेरै क्षति पुगेको हो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसीले भने, ‘सामानहरु पूरै रिप्लेस गर्नु पर्ने भएको छ ।’ उनले ४/५ महिनामाभित्रै पुनः सञ्चालन गर्ने गरी योजना अघि बढाएको जानकारी दिए ।

अर्को वर्षदेखि निर्माण सुरु गर्ने तयारीका साथ सडक खन्दै गरेको माझुने जलविद्युत आयोजनाको बाटो सबै बाढीले बगाइदिएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिए । ‘आयोजनाले १० किलोमिटर बाटो खनेको थियो । त्यो बाटो सबै बाढीले बगाइदियो,’ उनले भने ।

भएका हाइड्रो योजनामा बाढी पहिरोले क्षति पुर्‍याएर बन्द भएपछि मादी गाउँपालिका–५ दिनदेखि उज्यालोविहीन भएको छ । विद्युत नभएकै कारण सञ्चार क्षेत्र पनि अवरुद्ध बन्न पुगेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

‘बाढीले जम्मै हाइड्रोमा क्षति पुर्‍याएको छ । गाउँमा आउने बत्तीहरु सबै रोकिएका छन् । १ गतेबाटै गाउँमा बत्ती आएको छैन । फोन पनि टिपेको छैन,’ गुरुङले भने, ‘कहिले बन्छ थाहा छैन । अझै केही समय यस्तै अँध्यारोमै बस्ने भयो ।’

मादीको सिक्लेस, खिलाङ लगायत गाउँमा सिक्लेस जलविद्युत आयोजनाले विद्युत प्रवाह गरिरहेको थियो । तर, उक्त आयोजनाको विद्युत सप्लाईगृह नै बगाइदिएपछि गाउँ अध्यारो हुन पुगेको गुरुङले सुनाए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?