Comments Add Comment

विद्यार्थीमा सिर्जनाको सीप सिकाउँदै ‘कारखाना’

१२ असार, काठमाडौं । लकडाउनको समय छ । देशभरका शैक्षिक संस्था ‘लक’ भएर ‘डाउन’ को स्थितिमा पुगिसकेका छन् । तर काठमाडौंको ज्ञानेश्वरमा एउटा तीनतले ‘कारखाना’ लेखिएको भवन छ, जहाँ युवाहरू भविष्यका कर्णाधार विद्यार्थीका लागि नयाँ ज्ञान र सीप सिकाउने ‘साइन्स किट’ अर्थात् विज्ञान सिकाइ सामग्री बनाउन र प्याक गर्न व्यस्त देखिन्छन् ।

उनीहरू उक्त कारखानाको पहिलो तलामा कोही इलेक्ट्रोनिक सामग्री बनाइरहेका छन्, कोही डिजाइनिङमा व्यस्त छन् भने कोही ल्यापटप हेर्दै अनुसन्धानको काममा घोत्लिरहेका छन् ।

भवनको दोस्रो र तेस्रो तला स–साना ब्यागले भरिएका छन्, जहाँ विज्ञान र प्रविधि प्रयोग गरी रचनात्मक तरिकाले बनाइएका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका प्रयोगात्मक सामग्रीहरू राखिएका छन् । ब्यागमा राखिएका यी सामग्रीले विद्यार्थीमा उत्पन्न हुने उत्सुकता, रमाइलो लाग्ने खालका विषय प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेशन, क्राफ्ट जस्ता कार्यक्रम तयार पारेर रचनात्मक सीप सिकाउन मद्दत गर्नेछ ।

के हो कारखाना ? कसरी शुरू भयो ?

विद्यार्थीलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउने अनुसन्धान गर्ने कम्पनीको नाम हो ‘कारखाना’ ।

कारखानाको संस्थापक हुन् पवित्र गौतम, सुनोजदास श्रेष्ठ, सुरेश घिमिरे, साकार पुडासैनी, दिव्यश्वरमान श्रेष्ठ र सचेत मानन्धर । उनीहरू बिल्कुलै छुट्टाछुट्टै विधाका इन्जिनियर हुन् । कारखाना विज्ञान प्रविधिको क्षेत्रमा नयाँ केही गरौं न भन्ने उद्देश्यका साथ २०७० सालमा खोलिएको एउटा कम्पनी हो ।

कारखाना खोल्दा सुनोज, सुरेश र दीपेशले शैक्षिक क्षेत्रका विषयवस्तुुबारे डिजाइन गर्ने जिम्मेवारी सम्हाले भने पवित्र गौतम आफूले बजार व्यवस्थापन र जनसम्पर्ककोे जिम्मेवारी लिए । सचेत मानन्धरले संस्थाको आर्थिक र कानूनी व्यवस्थापनलाई ध्यान दिए ।

‘कारखाना शुरू हुँदा शिक्षा क्षेत्रमा काम गर्ने सोच नै थिएन, जुन कम्पनीले काम गर्न भन्थ्यो, उसैको लागि हामी काम गथ्र्यौं’ कारखानाका सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवित्र गौतम भन्छन्, ‘झट्ट भन्दा महावीर पुनले जे गरिरहनुभएको छ, त्यही अवस्थाबाट गुज्रिएर आएको कम्पनी हो अर्थात् हामीलाई पैसा दिएर कम्पनीले आफ्नो प्रडक्ट अनुसारको काम भन्थ्यो, हामी त्यही गर्दै आएका थियौं ।’

अनुभव सुनाउँदै पवित्र भन्छन्, ‘कारखानाले शुरूमा घाम पावर संस्थाको लागि काम गर्‍यो । रिमोट कन्ट्रोलिङ प्रणाली, सोलार जडान गर्ने प्रणाली धेरै चल्तीमा थियो । साथै हामीले त्यो बेला ई–सेवाको लागि भेन्डिङ मेशिन पनि बनायौं ।’

भेन्डिङ मेशिनले ल्याइदिएको नयाँ सोच

काम गर्दै जादा उनीहरूले भेन्डिङ मेशिन तयार गर्न उक्त मेशिनमा लाग्ने स्प्रिङ पनि बनाउनुपर्ने भयो । तर उनीहरूलाई त्यो स्प्रिङ तयार गर्न सहज थिएन । उनीहरूले त्यो धेरै हार्डवेयर पसलमा गएर भनेको जस्तो स्प्रिङ बनाउन खोजे । तर बनाइदिने ठेकेदारले इन्जिनियरिङ तरिकाले बनाउन सकेनन् । पवित्र भन्छन्, ‘त्यसपछि हामी भेन्डिङ मेशिनको लागि चाहिने स्प्रिङ बनाउनकै लागि तालीम लिन सीटीईभीटीसम्म पुग्यौं । त्यहाँ हामीले लेथ मेशिन (स्प्रिङ बनाउने यन्त्र) चलाउन सिक्यौं ।’

त्यसपछि पवित्रको टीमलाई लाग्यो, अब नेपाल अन्वेषण गर्नको लागि एउटा ठूलो खाल्डो रहेछ । त्यो खाल्डो भनेको इन्जिनियर र ठेकेदारबीचको खाल्डो अर्थात् दिमाग चलाउने इन्जिनियर र त्यसको आधारमा बनाउन जिम्मा लिने ठेकेदारको तालमेल हुनुपर्छ । जबसम्म यी दुईको तालमेल मिल्दैन तबसम्म नवप्रवर्द्धनको विकास हुन सक्दैन ।

 

पवित्र त्यो क्षण सम्झिंदै सुनाउँछन्, ‘हामीले पनि सो अवधारणामा काम गर्न शुरू गर्‍यौं। हाम्रो सोच्ने शैली नै परिवर्तन गर्‍यौं। हामीले विभिन्न इन्जिनियरिङ कलेजमा स्नातकमा अध्ययनरत, स्नातक पास गरेका र विद्यालयका विद्यार्थीलाई प्रोजेक्टमा सहभागी गरायौं ।

कलेजको भन्दा विद्यालयका विद्यार्थीले आ–आफ्नो प्रतिक्रिया सहित नयाँ सोचहरू विना संकोच, निर्धक्कले व्यक्त गर्न थाले । त्यसपछि हामीले विद्यालयको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक अभ्यासका लागि सिकाइका सामग्री बनाउन थाल्यौं ।’

दुई वर्षसम्म सबै जना बेतलबी, अनुसन्धान मात्रै

कारखाना स्थापना भएको दुई वर्षसम्म त पवित्रको टीमले विना तलब नै काम गर्नु पर्‍यो । उनीहरूको अधिकांश समय विद्यालयको कोर्स डिजाइन, खोज र अनुसन्धानमै बित्यो । तर संस्था चलाउन उनीहरूले कुनै प्रोजेक्टको काम गर्दथे जसबाट महीनाको २०/२५ हजार कमाइ हुन्थ्यो ।

पवित्र भन्छन्, ‘हाम्रो त्यो कमाइले सबैलाई तलब बाँड्दा दुई/तीन हजारले भाग लाग्थ्यो । हामीले त्यतिबेला पैसालाई होइन सीपलाई रोज्यौं सानो कोठामै बसेर ।’

विस्तारै कारखानाको टीमले शैक्षिक वर्कशप चलाउन थाल्यो । अझ सिक्ने र सिकाउने उद्देश्य कारखानाले विद्यालयस्तरमै गर्न थाल्यो । पवित्र भन्छन्, ‘यही सिक्ने र सिकाउने सोचले हामीलाई विद्यालय र विद्यार्थीसँग नजिक पनि बनायो । हामी उहाँहरूकै योजना अनुसार विज्ञान विषयको प्रयोगात्मक सामग्रीहरू तयारीको लागि जुट्यौं ।’

त्यसपछि बन्यो ६ देखि ८ का विद्यार्थीको ‘साइन्स किट’

पवित्र भन्छन्, ‘शिक्षा भनेको सिक्ने मात्रै होइन कि अनलर्निङ र रिलर्निङ ? अर्थात् सिक्दै र सिकेको कुरालाई फेरि चुनौती दिंदै नयाँ कुरा सिक्ने प्रक्रिया नै शिक्षा हो भन्ने बुझ्यौं ।’ तर नेपालमा त्यसको परिभाषा ठीक उल्टो रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा शिक्षाको कन्सेप्ट नै १ देखि १० कक्षासम्म पढ्ने, ब्याचलर र मास्टर्स अनि त्यसपछि सकियो । चाहे विद्यार्थीले सिकोस् कि नसिकोस् । कतिले त आधा बाटोमै शिक्षाको बाटो बन्द पनि गरिदिन्छन् । त्यसकारण विद्यार्थीले आफूभित्र रहेको प्रतिभा र क्षमता चिन्न सक्दैनन् ।’

विद्यार्थीको प्रयोगात्मक सिकाइ सामग्रीहरू बनाउनुअघि पुतलीसडकस्थित शिक्षा क्याम्पसमा एकवर्षे बीएड समेत अध्ययन गर्‍यो कारखानाको टीमले । यसका साथै विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूसँग कार्यशाला गोष्ठी, कोर्समा भएका सामग्रीलाई प्रभावकारी बनाउने सुझाव, सल्लाह अनि त्यसको कार्यान्वयनका लागि विद्यार्थीमाझ प्रयोगात्मक अभ्यास पनि गर्ने मौका जुरायो ।

तर त्यसको बीचमा कोरोना महामारीका कारण स्कूल कलेज एकैपटक बन्द भए । कारखानाले कोरोनाकै बीचमा थप अध्ययन गरेर कक्षा ६ देखि ८ का विद्यार्थीका लागि ‘साइन्स किट’ लिएर आयो ।

साइन्स किटमा के छ ?

विद्यार्थीलाई प्रयोगात्मक र व्यावहारिक सिकाइ अनुभव गर्न ल्याइएको साइन्स किट (विज्ञान सिकाइ सामग्री)मा प्रायः धेरै प्रयोगमा आउने धागो, कैंची, टेप, स–साना पाइपका टुक्रा र डिजिटल गाइड बुक राखिएको छ । ती सबै सामग्री कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले प्रयोग गर्न मिल्छ ।

कक्षा ६ का विद्यार्थीले आफ्नो कोर्समा अध्ययन गर्ने चाप, ताप, प्रकाश तथा रसायन विज्ञानमा अध्ययन गर्ने फिल्टर, कलर प्यालेट, लिटमस पेपर लगायत उपकरण राखिएको छ । यस्तै सूर्यको वरिपरि पृथ्वी कसरी घुम्छ भन्ने देखाउन काठको टुक्राहरू राखिएका छन्, जसले विद्यार्थी सूर्य, पृथ्वी र चन्द्रमा बनाएर परिक्रमा गर्नेबारे थाहा पाउनेछन् ।

सँगसँगै उक्त ‘साइन्स किट’ भित्र म्यापबोर्ड (नक्शा) पनि राखिएको छ । विद्यार्थीलाई कुन स्थानमा कस्तो प्रकारको मौसम छ ? कहाँ कस्तो माटो र ढुंगाहरू पाइन्छ ? ती सबैको बारेमा जानकारी लिन म्यापबोर्डले सहयोग गर्नेछ । साइन्स किटमा भएका शिक्षण सामग्रीहरू यदि बिग्रिएमा विद्यार्थीले घरमै बनाउन सक्ने गरी नोटबुक पनि राखिएको छ ।

विद्यार्थीले प्रकाशको अवधारणा, डाइनामोबाट बल्ब बल्ने तरिका आफैंले पनि अभ्यास गरेर थाहा पाउनेछन् । कक्षा ६ का लागि ३३ वटा प्रयोगात्मक सामग्री राखिएको कारखानाका प्रडक्ट म्यानेजर समय खड्का बताउँछन् । कक्षा ६ को किट्सको मूल्य ५ हजार ३०० रुपैयाँ राखिएको छ ।

यस्तै कक्षा ७ का विद्यार्थीले तापको अवधारणा, त्यसको प्रयोग अनुभव डाइनामोको माध्यमबाट लिन सक्नेछन् । यस्तै स्क्र्यूको माध्यमबाट थ्रेड, पिचको अवधारणा एक्रेलिकको टुक्राहरूबाट क्षेत्रफल कसरी परिवर्तन हुन्छ भनेर सजिलै गरी बुझ्न सक्नेछन् । चुम्बक बनाउने विधिको बारेमा पनि सिकाइएको छ जसबाट विद्यार्थीले आफैं पनि चुम्बक बनाउन सक्नेछन् ।

यस्तै विद्यार्थीलाई एकदमै धेरै गाह्रो लाग्ने विद्युत् सर्किट र संकेतको अवधारणाबारे सजिलै बुझाइएको छ, जसमा ब्याट्री र तारको माध्यमबाट एलिग्रेटर क्लिप (तार च्याप्ने चिम्टा) राखिएको छ, जसका कारण विद्यार्थीले सजिलै विद्युत् सर्किटबाट कसरी एकैसाथ समान रूपमा बत्तीहरू बल्छन् भनेर प्रयोगात्मक विधिबाट थाहा पाउनेछन् । कक्षा ७ को साइन्स किटको मूल्य ५ हजार ४०० रुपैयाँ राखिएको छ ।

कक्षा ८ को किटमा संयुक्त राष्ट्रसंघले ल्याएको दिगो विकासको अवधारणाको बारेमा जानकारी दिन बाक्लो कागजलाई काटेर विभिन्न सूचकहरू देखाइएको छ ।

यस्तै अम्ल, क्षार वा लवण के हो भनेर छुट्याउने विधि पनि देखाउनका लागि चिनीको प्याकेट, सोडा, ओरेन्ज जुस, सरफ, श्याम्पू, ड्रपरको सहायताले लिटमस पेपर राखेर विद्यार्थीले थाहा पाउनेछन् । यो विद्यार्थीले आफ्नै घरमा पनि बनाउन सक्नेछन् ।

विद्यार्थीले यो साइन्स किटको माध्यमबाट भाइरसको बारेमा पनि थाहा पाउनेछन् । कागज प्रयोग गरेर भाइरस बनाउन सिक्नेछन् । मानव शरीरमा रक्तसञ्चार कसरी हुन्छ भन्ने अवधारणा थाहा पाउन विद्यार्थीका लागि पंखाको पखेटाको आकारमा कागजका टुक्राहरू राखिएका छन् । कक्षा ८ को साइन्स किटको मूल्य ५ हजार ५०० रुपैयाँ राखिएको छ ।

शिक्षकलाई पनि तालीम

कारखानाले विद्यार्थीलाई मात्र नभई शिक्षकलाई पनि साइन्स किटबारे तालीम दिने गरेको कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम बताउँछन् । कोरोना महामारीको कारण उक्त तालीम हाल अनलाइन मार्फत भिडियो बनाएर वेबसाइटमा राखिएको छ ।

पवित्र भन्छन्, ‘हामीले लकडाउनमा पनि विद्यार्थीलाई रचनात्मक र प्रयोगात्मक अभ्यासका लागि अनलाइनबाटै टुल्स र टेक्निकहरू ६ देखि ८ कक्षाको भिडियो शिक्षकका लागि पाठयोजना बनाएर राखिदिएका छौं ।’

विद्यार्थीलाई लक्षित गरी कारखानाले उत्पादन गरेका साइन्स किटहरू राजधानी काठमाडौं, पोखरा, विराटनगर, बुटवल, चितवन सहित दक्षिणएशियाका मुलुक भारत, बंगलादेश, श्रीलंका पठाउने गरिएको संस्थाका मार्केटिङ प्रमुख सगुन खड्का बताउँछन् ।

उनी भन्छन्, ‘हामीले लकडाउन हुनु अगाडिदेखि नै काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर, बुटवल, चितवनमा अफिस नै खोलेका थियौं तर लकडाउन भएपछि हामीले निरन्तरता दिन सकेका छैनौं ।’ हाल अनलाइनको माध्यम सस्तो डिल र यूजी बजार बाट समेत किन्न सकिने उनी बताउँछन् ।

३ देखि ५ कक्षाका विद्यार्थीका लागि पनि

कारखानाले ३ देखि ५ कक्षाका विद्यार्थीका लागि पनि व्यावहारिक र प्रयोगात्मक कोर्सहरू डिजाइन गरी सिकाउँदै आएको छ । विद्यार्थीलाई सानैदेखि नै ‘डिजाइन एण्ड कम्युनिकेशन’, ‘कम्प्युटिङ’ र ‘डिजिटल सिटीजनसिप’ को बारेमा नयाँ कोर्सहरू सञ्चालन गर्दै आएको कारखानाका प्रडक्ट म्यानेजर समय खड्का बताउँछन् ।

उनका अनुसार कक्षा ३ का विद्यार्थीका लागि ‘क्राफ्ट एण्ड कोडिङ’, कक्षा ४ र ५ का लागि ‘डिजिटल सिटीजनसिप’ र ‘कम्प्युटेशनल थिङकिङ’ तथा ‘डिजाइन एण्ड कम्युनिकेशन’ कोर्सहरू राखिएका छन् ।

उनी भन्छन्, ‘हामीले साइन्स किट मात्रै नभएर विद्यार्थीलाई कम्प्युटर कोर्सहरू पनि राखेका छौं । यसले विद्यार्थीलाई सानैदेखि नै ‘कोडिङ’ गर्न सिकाउनेछ । साथै नयाँ ‘डिजाइन’ कसरी गर्ने भनेर सिक्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सहदेब चौधरी

ट्रेन्डिङ

Advertisment