
२० असार, काठमाडौं । दक्षिणी फिलिपिन्समा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । फिलिपिन्सको रक्षा मन्त्रालयकाअनुसार सैनिकहरु ओसार्ने उक्त विमान दुर्घटनामा परेको हो । रक्षामन्त्री डेल्फिन लोरेन्जनाले उक्त विमानमा ९२ जना रहेको बताएका छन् ।
फिलिपिन्सको सेनाका जनरल किरिलिटो सोबेजनाले जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमान दुर्घटनामा परेको बताएका छन् । यो टापु राजधानी मनिलाबाट करिब एक हजार किलोमिटरको दूरीमा छ । आइतबार अवतरणको क्रममा विमान अनियन्त्रित भएर रनवेबाट बाहिर निस्किएको थियो । सोबेजनाले अहिले घटनास्थलमा उद्धारको काम भइरहेको बताएका छन् ।
‘यो निकै दुर्भाग्य हो । विमान रनवेबाट बाहिर आयो र त्यसपछि पनि नियन्त्रणमा ल्याउने प्रयास सफल भएन र दुर्घटना भयो’, सोबेजनाले भने ।
अहिलेसम्म विमान के कारणले अनियन्त्रित भएको हो भन्ने खुलेको छैन । सेनाका प्रवक्ताले अहिले उद्धारको काम चलिरहेकाले अनुसन्धानको काम सुरु भइनसकेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4