+
+
Shares

प्रदेशले शिलान्यास गर्ने, स्थानीय तहले विरोध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते २०:३९

२१ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङ्जाको आँधीखोला-५, सेती दोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किए । तर, उक्त अस्पतालको प्रशासन भवन शिलान्यासबारे स्थानीय तह र प्रदेशबीच विवाद सिर्जना भएको छ ।

प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्थानीय तहसँग समन्वय नगरी एकतर्फी ‘आइएनजिओ’ को ब्यानरमा भवन शिलान्यास गरेको गाउँपालिका अध्यक्ष सुधीर पौडेलले आरोप लगाएका छन् । ‘आइएनजीओले हामीलाई अधिकार सुम्पिसकेको अवस्थामा प्रदेशका मुख्यमन्त्री आएर उद्घाटन गर्नु संघीयतामाथिको सीधैं प्रहार हो,’ पौडेल भन्छन्, ‘अस्पतालको एउटा सानो भवन उद्घाटन गर्न आउनु भनेको मुख्यमन्त्रीले ट्वाइलेट उद्घाटन गरेजस्तै हो ।’

२०६७ सालमा महायज्ञ गरेर जग्गा खरिद गरी आँधीखोला विकास स्वच्छता समूह (गार्डेन)ले निर्माण प्रक्रिया सुरु गरेको थियो । ०७६ जेठ १६ गते उक्त अस्पताल पालिकास्तरीय बनाएर सञ्चालन गर्न गाउँपालिकालाई पत्राचार गरेको थियो । उक्त संस्थाले अस्पतालको जग्गा, भवनमात्रै नभई भवनभित्र रहेका मेसिनरी सामान पनि गाउँपालिकालाई सुम्पने निर्णय गरेको थियो ।

गाउँपालिकाको ०७६ पुस ५ गते बसेको ४३ औं कार्यपालिका बैठकले उक्त अस्पताललाई सामुदायिक अस्पतालका रुपमा अघि बढाउने निर्णय गरेको थियो । ०७७ असार ९ गते ‘सेतीदोभान स्वास्थ्य चौकी’को नाममा स्रेस्ता कायम गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

संस्थाले गाउँपालिकालाई सुम्पिसकेको अस्पताल फेरि संस्थाकै नाममा कार्यक्रम आयोजना गरेर मुख्यमन्त्रीले उद्घाटन गरेपछि पौडेल रुष्ट बनेका हुन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी असन्तुष्टि प्रकट गरेका छन् ।

गाउँपालिका प्रमुख पौडेलले आँधीखोला विकास स्वच्छता समूह(गार्डेन) नामक संस्थाले पनि अरुलाई सुम्पिसकेको सम्पत्तिमा आफूले मनोमानी गर्न नपाउने दाबी गरेका छन् । ‘पहिले गाउँलेसँग मिलेर, महायज्ञ लगाएर आइएनजिओले अस्पताल बनाउन सुरु गरेको हो,’ पौडेल भन्छन्, ‘अहिले स्थानीय तहको जिम्मामा आइसकेपछि फेरि हस्तक्षेप गर्न मिल्दैन ।’

प्रदेश सरकार आफूले प्रदेशमा ‘पर्फमेन्स’ गर्न नसकेर स्थानीय तहको भूमिका हस्तक्षेप गरेको आरोप लगाएका छन् । ‘प्रदेश सरकार आफ्नो सरकार फर्मेसन गर्न नसक्ने, मन्त्रालय सम्हाल्न नसक्ने अनि गाउँ पसेर हस्तक्षेप गरेर हुन्छ ? यसरी संघीयता कार्यान्वयन हुन्छ ?’ उनले भने ।

उक्त स्वास्थ्य चौकीलाई १५ शय्याको बनाउने गरी अहिले भूकम्प पुनर्निमाण प्राधिकरणको ३ करोड लगानीमा ३ वटा नयाँ भवन बन्न लागेको हो । पहिलो चरणको लकडाउनमा गाउँपालिकाले उक्त अस्पताल भवनलाई क्वारेन्टिनका रुपमा प्रयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?