Comments Add Comment
कांग्रेस महाधिवेशन :

अस्तित्व रक्षाको संकटमा सिटौला समूह

२५ असार, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन आउन एक महिना पनि बाँकी नरहँदा सुशील कोइरालाको निधन (२६ माघ २०७२) भएपछि कृष्णप्रसाद सिटौला तत्कालीन संस्थापन पक्षमा अटाउन सकेनन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्दा सिटौलाले तेस्रो समूह बनाए र सभापतिको चुनाव लडे ।

त्यसयता कहिले पार्टी सभापति शेरबहादुर देउवातिर, कहिले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहतिर नजिक देखिएको सिटौला समूहमाथि अहिले अस्तित्व रक्षाको प्रश्न अहम् बनेको छ ।

आगामी भदौ १६–१९ गतेसम्म १४औं महाधिवेशन हुने तय भएपछि सभापतिका आकांक्षीहरुले राजनीतिक छलफल र दौडधुप तीव्र बनाइरहेका बेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापामै थिए । सभापतिको उम्मेदवार बन्ने भन्दै खोलिएको कार्यालय बन्द गरिएको थियो । लामो समय गृहजिल्लामै रहनुलाई कतिपयले सिटौला नेतृत्वको प्रतिस्पर्धामा नरहेको रुपमा अर्थ्याए ।

उनको समूहमा रहेका नेताहरु कोही संस्थापनतिर त कोही रामचन्द्र पौडेल समूहतिर बाँडिएका थिए । पछिल्ला दिनहरुमा भने सिटौलाले आफ्नो समूहलाई एक ठाउँमा ल्याउने प्रयास गरेका छन् ।

सुरुमा आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका उनले सोमबार आफूनिकट अगुवा नेता कार्यकर्तासँग अन्तरक्रिया आयोजना गरे । त्यहाँ उनले आफ्नो समूह एक ढिक्का रहेको सन्देश दिन खोजे । छलफलका क्रममा उनले सभापतिको उम्मेदवार हुने नहुने त बोलेका छैनन्, तर आफ्नो समूहले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् ।

हिजो महामन्त्रीको उम्मेदवार बनाएका गगनकुमार थापा, कोषाध्यक्षको उम्मेदवार बनाएका उमाकान्त चौधरी, केन्द्रीय सदस्य प्रदीप पौडेल नै अहिले उनीसँग रहन्छन् कि रहन्नन् भन्ने प्रश्न छ

सिटौला समूहको शक्ति कति ?

कांग्रेसको १३औं महाधिवेशन २० फागुन २०७२ मा काठमाडौंमा सुरु हुने तय भइसकेको थियो । तत्कालीन संस्थापन समूहमा सभापतिका लागि तत्कालीन सभापति सुशील कोइराला र रामचन्द्र पौडेल आकांक्षी थिए । महामन्त्री सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरु सुशील कोइरालालाई नेतृत्व छाड्न तयार थिए, तर पौडेलको नाम आउँदा आफू पनि दाबी गर्थे ।

२६ माघमा कोइरालाको निधन भयो । यससँगै संस्थापन समूह एक रहने अवस्था बनेन । संस्थापन समूहले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउँदा सिटौलाले आफैं प्रतिस्पर्धामा उत्रिने निर्णयमा पुगे । गगनकुमार थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्षको उम्मेदवार बनाएका सिटौला आफैं सभापति बन्न त सफल भएनन्, तर पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेदवार विजयी हुन दिएनन् । दोस्रो राउण्डमा उनले सहयोग गरेका शेरबहादुर देउवा सभापति बने ।

सभापतिका उम्मेदवार सिटौलाले ३२४ मत ल्याए । महामन्त्रीका प्रत्यासी गगन थापाले ५ सय ८४ मत पाए भने कोषाध्यक्षका उम्मेदवार चौधरीले ४५७ मत ल्याएका थिए ।

त्यसयता सिटौलाले आफ्नो समूहलाई तेस्रो धारका रुपमा उभ्याउने प्रयास गरेका छन् । कहिले सभापति देउवातिर, कहिले पौडेल समूहसँग सहकार्य गरेर शक्ति आर्जन गरेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघको अधिवेशनमा सिटौला समूह संस्थापन समूहसँग मिलेर आफ्नो उपस्थिति बलियो बनाए । नेपाल शिक्षक संघ, लोकतान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) र ट्रेड युनियनको अधिवेशनमा पौडेल समूहसँग मिलेर संस्थापन पक्षलाई पराजित गराउन भूमिका खेले ।

संसदीय बोर्ड, अनुशासन समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति लगायतमा पनि यो उमूहको उपस्थिति छ । तेस्रो समूहबाटै गगन थापा स्वास्थ्यमन्त्री बनेका थिए, भीमसेनदास प्रधान रक्षामन्त्री बने ।

१४औं महाधिवेशनमा आफूहरुको शक्ति थप बढ्ने सिटौला समूहका नेताहरु बताउँछन् । सिटौलाले सोमबार अगुवा कार्यकर्ता भेलामा बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि ल्याउनुपर्नेमा जोड दिएका छन् । ‘जहाँ जोसँग मिलेर जित्नुहुन्छ, उही समूहसँग सहकार्य गर्नुस्’ उनले भने, ‘महाधिवेशनमा हाम्रो समूहले प्रतिस्पर्धा गर्छ, त्यसका लागि बढीभन्दा बढी प्रतिनिधि आउने गरी खट्नुस् ।’

अस्तित्व रक्षाको प्रश्न

नेता सिटौलाले यो पटक सभापतिको उम्मेदवार बन्ने–नबन्ने औपचारिक रुपमा घोषणा गरेका छैनन् । तर उनको तयारी भने फेरि सभापति लड्ने देखिएको उनी निकट नेताहरु बताउँछन् । १३औं महाधिवेशनमा तत्कालीन संस्थापक समूहबाट विद्रोह गरेकाले अहिले लड्नैपर्ने बाध्यता रहेको उनी निकट एक नेता बताउँछन् ।

‘उहाँलाई सभापतिको उम्मेदवार मान्न अरु समूह तयार छैन । अरुलाई सभापतिमा सहयोग गर्दा आफ्नो समूह एकढिक्का रहने अवस्था छैन,’ उनी निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘आफ्नो र समूहको अस्तित्वका लागि पनि सिटौलाजीलाई सभापति लड्नुपर्ने बाध्यता छ ।’

सभापति लड्न पनि सजिलो छैन । अहिलेसम्म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन् । सभापतिको उम्मेदवारी दर्ता गर्ने बेलासम्म को–को चुनावी मैदानमा कायमै रहन्छन् अनुमान गर्न गाह्रो छ । तर यो निर्धारण सभापतिको आकांक्षी मात्र होइन, पदाधिकारी टिम बनाउने नपाउनेले पनि गर्ने नेताहरु बताउँछन् । १३औं महाविधेशनमा जम्मा तीन पदाधिकारीको टिम बनाए हुन्थ्यो । तर अहिले सभापतिबाहेक दुई उपभापति, दुई महामन्त्री र ८ सहमहान्त्री गरी १२ जना पदाधिकारी आवश्यक हुन्छ ।

सिटौलाका लागि सबभन्दा ठूलो चुनौती यही छ । सिटौला समूहमा उनी बाहेक चार जना केन्द्रीय सदस्य छन् । त्यसमा पनि हिजो महामन्त्रीको उम्मेदवार बनाएका गगनकुमार थापा, कोषाध्यक्षको उम्मेदवार बनाएका उमाकान्त चौधरी, केन्द्रीय सदस्य प्रदीप पौडेल नै उनीसँग रहन्छन् कि रहन्नन् भन्ने प्रश्न छ । थापा र पौडेल पौडेल समूहमा पनि सक्रिय छन् । सभापतिका हरेक आकांक्षीले उनीहरुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन् ।

निकटवर्तीहरुका अनुसार १३औं महाधिवेशनमा व्यक्तिगत राम्रो मत ल्याएका गगन फेरि पराजित हुन चाहँदैनन् भने पदाधिकारीका आकांक्षी प्रदीप पनि बलियो टीमकै खोजीमा छन् । २०७४ को आम चुनावमा पार्टी पराजित भएपछि अर्लि महाधिवेशनको एजेण्डा गगन र प्रदीपलाई संस्थापन समूहमा जान नैतिक संकट छ । तर सिटौला समूहमै रहेका केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं संस्थापन समूहको बैठकहरुमा जाने गरेका छन् ।

सिटौला समूहका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधान आफ्नो समूहभित्र नेताहरुबीच मतैक्यता नरहेको स्वीकार गर्छन् । तर सिटौलालाई नेतृत्व स्वीकार गरे अर्को समूहसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘सिटौलाजी भिजन भएको नेता हो । पार्टी र पार्टीबाहिर सबैलाई मिलाएर लैजानसक्ने क्षमता छ ।’

मध्यमार्गी नेता

लामो समयसम्म कोइराला परिवारसँग निकट रहेका सिटौला कांग्रेसभित्र मात्र होइन, अरु राजनीतिक दलहरुले पनि समन्वयकारी भूमिकाका लागि रुचाउने नेता हुन् । शान्ति प्रक्रिया, संविधान निर्माणमा उनले त्यसरी नै भूमिका खेलेका थिए ।

पार्टीभित्र पनि देउवा र पौडेल समूहबीच देखिएका विवादमा उनी त्यसरी नै भूमिका खेल्छन् । पछिल्लो पटक पनि उनले त्यस्तै भूमिका खेलेको उनी निकट नेताहरु बताउँछन् ।

यसको उदाहरण हो क्रियाशील सदस्यता विवाद । क्रियाशील सदस्यतालाई लिएर कांग्रेसभित्र संस्थापन समूह र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच तीव्र मतभेद थियो । छानविन समितिले मापदण्ड बनाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको थियो । मापदण्ड नबन्दा क्रियाशील सदस्यता छानविन नै अगाडि बढ्न सकेको थिएन । १३ असारमा बसेको पदाधिकारी बैठकमा नेताहरुबीच मापदण्डलाई लिएर चर्काचर्की भयो ।

छानविन समिति संयोजक रमेश लेखकले झापामा रहेका सिटौलालाई फोन गरे र काठमाडौं आउन आग्रह गरे । सिटौला रातारात गाडीबाटै काठमाडौं आए । लेखकसहित छानविन समिति सदस्यहरुसँग छलफल गरे र सहमतिको खाका बनाए । पौडेल र देउवालाई भेटे । दुवै नेतालाई सहमत गराएपछि १८ असारमा बसेको शीर्ष नेताहरुको बैठकले मापदण्ड पारित गर्यो । अहिले क्रियाशील छानविन समितिले धमाधम काम गरिरहेको छ ।

त्यसैले सिटौलाको उचित व्यवस्थापन आफूहरुको प्राथमिकता भएको उनी निकट नेता प्रधान बताउँछन् । अरु समूहका नेताहरु पनि यसलाई एकहदसम्म स्वीकार गर्छन्, तर उनलाई नेतृत्व दिन तयार देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment