Comments Add Comment

कथा : मर्द

श्रीमती आफन्त पर्नेकहाँ बिहेको निम्तो मान्न गएकी छ ।
छोरा-छोरी स्कूल गएका छन् ।
बहिनी क्याम्पस ।
बाउ पिंढीमा बसेर एफ.एम. सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ- ‘बा, एक-दुई सय रुपैयाँ भए दिनोस् न !’

‘के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्ने पैसा मागेको होइन होलास्, त्यही पनि मसँग छैन ।’ बाउले भए पनि नदिने भाषामा भन्छन् ।

ऊ बडो खिन्न हुन्छ ।

उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छट्पटाइरहेका छन् । ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन् । ऊ घरी आँगनमा उभिन्छ । घरी पिंढीमा बस्छ । घरी ओछ्यानमा पल्टन्छ । यसरी तुलबुलाएको छ, मानौं ऊभित्र रहेको धैर्य कावा खाइरहेको छ । मनमा अस्थिरताका कीरा सल्बलाइरहेका छन् ।

यसो सोच्छ, उसमा एउटा नसागत आशा पलाउँछ, अनि लुगाहरूको खल्ती-खल्ती छाम्छ, कतै पैसा बँचेको छ कि भनेर । पैसाको बीउसम्म कतै भेट्टाउँदैन । फेरि एउटा मूर्धन्य आशा बोकेर सिरानी मुनि हेर्छ, श्रीमतीले राखेकी छ कि ठानेर । त्यहाँ पनि भेट्टाउँदैन । आशाको त्यान्द्रो निभ्न लागेको बत्तीझैं बल्छ । अर्थात् भनौं ऊ निराशा र शून्यतामा परिणत हुन चाहँदैन ।

ओछ्यान, गुन्द्रीको तलेत्रो-तलेत्रो हेर्छ, छाम्छ । झन् उत्तेजित भएर ओछ्यान उतारेर तलसम्म हेर्छ । देख्छ, चाबीको झुप्पो । उसको मानसिकतामा लाखौं लाख दीप प्रज्ज्वलित हुन्छन् । खुशीले अनुहार सूर्य झैं बल्छ । किनकि त्यहाँ दराजको भित्री खोपाको चाबी छ । जहाँ श्रीमतीले पैसा लुकाएर राख्ने एउटा गोप्य आदत छ । त्यसैले दराजमा श्रीमतीले पैसा राखेको निश्चितता भित्र ऊ हर्षविभोर हुन्छ । शंका निवारणको लागि सान्दर्भिक तर्क उब्जन्छ, ‘नत्र दराजको चाबी यति विघ्न लुकाउनुको अर्को अर्थ के हुन सक्छ ?’

अनि उसले दराज र त्यस भित्रपट्टीको खोपा खोल्छ । तब उसले सानो रुमालले बेरेको दुई वटा हजारको र त्यसले बेरेको अन्य नोटहरू देख्छ । कति छन् भनेर गन्दैन । जुन उसलाई चासोको विषय होइन । बरु कति झिकेर लिऊँ, भन्ने द्विविधामा पर्छ । क्षणमै एक हजारको नोट निकालेर दराज लगाउँछ । भित्री खोपा खुला नै छोड्छ ।

अर्को कुरा, श्रीमतीले चोरेको थाहा पाएपछि के सोच्ली ? के भन्ली ? अलिकति पनि वास्ता गर्दैन । न त कुन प्रयोजनको निम्ति पैसा राखेकी हो भन्नेतर्फ नै ख्याल राख्छ । केवल ऊ पैसा हात पारेकोमा प्रसन्न र सन्तुष्ट छ ।

श्रीमतीलाई भने लोग्नेको बानी राम्ररी थाहा छ । तास खेल्नु, रक्सी खानु उसको प्रिय आचरण, विशेषता हुन् । पैसा भयो भने बिहान निस्केको एकैचोटि बेलुका घर र्फकन्छ । पैसा भएन भने आलस-तालस मुद्रामा घरमा नै बस्छ । कामकाज विनाको अर्थहीन प्राणीको रूपमा ।

अहिले साथमा पैसा आएको छ । चाहे गलत बाटोबाट आएको किन नहोस् । उसले आफूलाई एकप्रकारको धनी र खुशी मान्छे ठानेको छ । साँच्चिकै ऊ फुरुङ्ग छ । एकक्षण खेर नफाली ऊ हलुका र लामा-लामा पाइला चाल्छ । ढुलमुले चोकतिर लम्कन्छ । जहाँ बेकारका मान्छेको एउटा बाक्लो भीडभाड हुने गर्छ । जहाँ तास खेल्न पाइन्छ । जहाँ रक्सी खान पाइन्छ । जहाँ फाल्टु गफ गरेर हाँस्न पाइन्छ ।

ढुलमुले चोकमा उसको न्यानो स्वागत हुन्छ । अझ भनौं तासको खालमा उसको रिक्तता पूरा हुन्छ । ऊ तास खेल्न थाल्छ । एवं रितले पैसा हार्दै जान्छ । उसको हजारको नोट साटिन्छ । फेरि साटिन्छ, खुजुरामा परिणत हुन्छ । यतिसम्म कि ठूलो भन्नु पचासको नोट बाँकी रहन्छ । अरू सबै हार्दछ । पचासको नोट खुसुक्क खल्तीमा राख्छ, रक्सीलाई छुट्याएर । सोच्छ, आज दाउ रहेनछ । यहीं बस्ने हो भने यो पचास पनि बाँकी रहँदैन ।

‘मसँग पैसा सकियो । अब खेल्दिनँ है, मलाई तास नबाँड’, उसले उठ्दै भन्छ ।

‘किन उठेको खेलौं न खेलौं, यति छिट्टै घर जाने हो भने त घरका जहान रिसाउँछन्’, एउटाले व्यङ्ग्य गर्छ ।

‘हजार रुपैयाँ ल्याएको सकियो । खै, भए सापट दिनोस् क्यारे । भोलि दिउँला । नत्र अतिकति चुस्की लाएर घर जाँदा समय पनि ठिक्क हुन्छ’, उसले निराशाजनक स्वरमा भन्छ ।

‘कहाँ खेल्दा खेल्दै पैसा दिनु दाउ बिग्रन्छ’, बस्न आग्रह गरेको सुइदार कान्छाले भन्छ ।

ऊ केही क्षण तास खेलेको हेरेरै बस्छ । जब साँझले धर्तीमा पाइला टेकेको आभास हुन्छ, अनि ऊ भट्टीतिर सोझिन्छ । एक बोतल लोकल रक्सी माग्छ, साथमा एक प्लेट मासु । थप्छ, अझ थप्छ उसले खाए जति तिर्न साथको पैसाले पुग्दैन । पैसा नपुग्दा भट्टीवालीसँग चर्को भनाभन हुन्छ ।

– ‘जति पैसा छ, त्यतिको नखाएर किन बढ्ता खानुपर्ने ?’

– ‘भएको पैसा त दिइहाले नि ! अब बाँकी रहेको पछि दिउँला । अर्काको बेइज्जत गर्ने काम नगर है, साहुनी ।’

-‘के को इज्जत ? एक वर्षदेखिको उधारो अझैसम्म दिन सकेका छैनौ । त्यस्तो इज्जतका कुरा गर्ने, बेइज्जतसँग डराउने भए पहिलाको पैसा दिइहाल न त !’

-‘लाख होइन, करोड होइन, एकपल्ट दिउँला भो खाएर मर्दिनँ । म मरे पनि छोराले तिर्छन् ।’

त्यसपछि ऊ घरतिर लाग्छ । घरबाट चोकतर्फ आउँदा चुरीफुरी र रमाउँदै आएका उसका पाइला, फर्कंदा लर्खराउँछन् । मानौं जोतेर फर्केको तरुनो गोरु झैं । हजार रुपैयाँ लिएर गएको मान्छे तन्नम् भगत भएर घर आएको छ । उसँग पर्याप्त आत्मग्लानि र हीनताबोध हुनुपथ्र्यो । तर नसाको अवस्थाले गर्दा अनुहारमा त्यस्तो आभास केही छैन । केही गल्ती नगरेको मुद्रामा उपस्थित छ ।

श्रीमती भाँडा माझिरहेकी छ । ऊ भाँडा माझ्न छाडेर लोग्नेलाई पढ्छे । एकक्षणसम्म हेर्छे । उसले शंका काट्छे, पक्का आज रक्सी खाएर आएको हुनुपर्छ । ऊ श्रीमतीनेर टक्क अडिन्छ । क्षणपश्चात् कोठातिर लम्कन्छ र बिरालो झैं लुसुक्क छिर्छ ।

बहिनी टिभी हेरेर बसिरहेकी छे । बाबु आफ्नो कोठामा मधुरो रेडियो बजाएर सुनिरहेका छन् । छोराछोरी अर्को कोठामा पढ्दै छन् ।

श्रीमती कोठामा पस्छे र तीखा शब्दमा भन्छे -‘आज भात पनि ढुलमुले चोकतिर खाएर आए जस्तो छ नि ! कताबाट पाइयो पैसा ? हेर त, हृवास्स गन्हाएर । छिः, छिः वान्ता आउला जस्तो ।’

‘केको पैसा पाउनु ? सधैं पैसा नै चाहिन्छ र खान ? आज एउटा मनकारी साथीले खाउँ कि खाउँ भनेर कर गर्‍यो । उसकै पैसामा खाइयो’, उसले त्यति ठूलो छलकपटका कुरा सहजतापूर्वक गर्छ ।

‘साथी त त्यस्ता पो बनाउनु । कति मनकारी रहेछ, के-के न ठूलो खाँचो टारिदिएछ, के के न ठूलो उपती गरेर आउनुभएछ । अझ लाज पनि नलाग्ने, खाएर आइयो भन्दा । भात थालमा भाग लगाएर थालले नै छोपेर राखिदिएकी छु । मन लाए झिकेर खाने । नत्र कुकुरले खान्छ’, श्रीमतीले भएभरको तीतो ओकल्छे ।

ऊ चुप लाग्छ । भात नखाइकन सुत्छ । श्रीमतीको मनमा भने कता-कता चिसो पस्छ, ‘दिनभरि हराउनु, पिएर आउनु । कतै दराजको पैसा त उछिट्याएनन् । बानी त अचानोमा राखेर काट्ने खालको छ’, ऊ मनमनै सोच्छे ।

फेरि ऊ के सोच्छ, कुन्नि ! भात नखाई सुत्ने विचार छाड्छ । खाटबाट धङ्धङाउँदै ओर्लन्छ । हुत्तिंदै भान्छा कोठातिर लाग्छ । भात चिसो थियो । तर पनि बेस्वाद लाग्दैन । अर्थात् उसले खानाको वास्तविक स्वाद नै पाउँदैन । खाइसकेपछि हातमुख धुन्छ । अनि ट्वाइलेटतिर लाग्छ ।

त्यसैबेला श्रीमतीले दराज खोल्छे । दराजको सानो खोपा आत्तिंदै हेेर्छे । उसलाई अचम्म र धिक्कार एकैचोटि लाग्छ । कुन मानेमा भने खोपा खुलै थियो । मानौं गल्ती गर्नेले केही न केही आफ्नो कमजोरी चुहाएको हुन्छ । अनि रुमालले गाँठो पारेर राखेको पैसा लथालिङ्ग थियो । जसमध्ये हजार रुपैयाँ हराएको थियो ।

श्रीमतीको कन्पारो तात्दै जान्छ । तर तत्कालै प्रतिवाद नगरी धैर्य र संयमता अपनाउँछे । ऊ चाहन्न कि ‘पैसा हराएको अर्थात् लोग्नेले चोरेको अरू कसैले थाहा पाउन् । आमा-बाबुको झगडा छोरा-छोरीले सुन्ने र नकारात्मक प्रभाव पर्ने मौका मिलोस् ।’

यसो त यो कुनै पहिलो घटना थिएन । यसभन्दा अघि कैयौं पटक उसले श्रीमतीको पैसा झिकेर तास एवं रक्सीमा उडाएको थियो । त्यति बेला श्रीमतीले केही गुनासो, केही रिस, केही तीतोपन केही क्षण पोख्थी । लोग्ने हाँसेर टार्ने चेष्टा गर्दथ्यो । कहिले लिएको छैन वा झिकेकै छैन भनेर विभिन्न कसम खान्थ्यो । उसको प्रतिवाद चाहेर या नचाहेर श्रीमतीले स्वीकार्नुपर्दथ्यो ।

कहिले लाजै नमानी भन्थ्यो- ‘चोरेको के भन्छेस्, झिकेको भन न मोरी ! हामी बीच कहीं चोर्ने शब्द प्रयोग हुन्छ । तिमीसँग भएको मेरो पनि हो । त्यसैले मेरो हक लाग्छ । मसँग भएको तिम्रो पनि हो, तिम्रो पनि हक लाग्छ । चोर्ने भन्ने शब्द हामी बीच प्रयोग हुनु भनेको विचारको दरिद्रता हो । हाम्रा सबै चिज साझा हुन्छन् ।’

‘तिमीसँग के छ र मेरो हक लाग्ने ?’

‘छन् केही चिज किन थाहा नपाए जसरी बुझपचाउछेऊ !’

श्रीमती धरै नपाई शान्त हुन बाध्य हुन्थी ।

यतिखेर श्रीमती खुब सोच्छे, आज फेरि के भन्ने हो ? चोरेको छैन भन्ने हो कि, ङिच्च हाँसेर लज्जास्पद रूपमा आत्मसमर्पण गर्ने हो । जसो गरे पनि ऊ बाहेक त्यो कर्तुत अरू कसैले गरेन । मरिगए सुख पाउन्न, जे भने पनि । अरू कोही यस कोठामा आएर दराज खोल्ने कुरै आउँदैन । घरका जहान पस्नसम्म पस्दैनन् । यसो पस्ने छोरा-छोरी हुन् । तिनले बिठ्याईं गर्न जानेका छैनन्, पैसा सितिमिति चोर्नु त परै जाओस् । बाहिरका मान्छे आएर त्यसो गरे भनुँ भने पैसा सबै लिएर जान्थे । बाँकी किन राख्थे ? किन अड्कलेर लिन्थे ?

बाहिर चुक घोप्ट्याएसरी अँध्यारो छ । श्रीमती लोग्नेले खाएको भाँडा माझ्न जान्छे । ऊ बाहिरबाट आई ओछ्यानमा पल्टन्छ, थाके जसरी । श्रीमती कोठा भित्र पस्छे । लोग्ने लम्पसार भएर खाटमा आँखा चिम्लिरहेको देख्छे । शायद दिनभरि तासका पत्ती पढेर थाकेका आँखालाई पूर्ण रूपमा विश्राम दिलाउन चाहन्छ । शायद रक्सीले बडेमानको बनाएको टाउकाको तौल घटाउन चाहन्छ ।
ऊ श्रीमती आएको बेवास्ता गर्दै कोल्टे फेर्छ । आँखा हेर्दैन । तर श्रीमती कोठामा प्रवेश गरेको उसले थाहा पाएको छ । त्यसैबेला श्रीमतीले उसलाई झक्झकाउँदै भन्छे- ‘खोई, ल्याउनुहोस् मेरो पैसा । अर्काले कति जोरजाम गरेर राखेको पैसा, फुत्त झिकेर कसरी लान सकेको ?’

उसले सुनेर पनि नसुनेझैं गर्छ । कोल्टे पनि फर्कंदैन, आँखा पनि खोल्दैन । केवल निदाएको अभिनय गर्छ ।

उसको लाचारीपन श्रीमतीलाई खपिनसक्नु हुन्छ र बेस्करी झकझकाउँदै भन्छे- ‘हेर न, अझ अर्काको पैसाले टिल्ल जाँड धोकेर आएर सुतेको ! कस्तो निम्छरो मान्छे ! आफूले एक रुपैयाँ कहिल्यै कतैबाट ल्याएर दिने खूबी छैन, दिने होइन । यसरी कति दिन साध्य हुन्छ, म त दिक्दार परिसकें !’

बिचरा कमजोर आत्मबल भएकी श्रीमती त्यति ठूलो प्रहार र भार थाम्न सक्दिनँ । उसको मन भत्भती पोल्छ । मन उम्लेर पोखिएका आँसु जति झर्छन्, उति पुछ्छे ।

‘केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन’, उसले श्रीमतीतर्फ नहेरिकन भाले स्वरमा भन्छ । उसले सरासर बनावटी कुरा गर्छ । तर उसको एउटा मनमा भने सत्यता र पश्चात्तापले पालो-पालो चिमोट्छ । आफूलाई धिक्कार्दै उसको अन्तस्करणले ठान्छ, आज फेरि नगर्नुपर्ने काम गरियो । न त खल्तीमा पैसा रहृयो । न त गतिलो र जसिलो ठाउँमा पैसा मासियो । व्यर्थमा श्रीमतीको झरिलो गन्थन सुन्नुपर्‍यो । अझ कति सुन्नुपर्ने हो । साँच्चै यो तास र रक्सी नछाडी भएको छैन, मैले ।

‘दराजमा राखेको पैसा नि ! अझ साधु बनेर केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन अरे’, श्रीमती अलि झर्केर भन्छे ।

‘सत्य रामो राम ! मलाई थाहा छैन । तिम्ले पैसा कहाँ कसरी राख्छेउ देखेकोसम्म छैन । झिक्नु त परको कुरा । बरु राम्ररी हेरन, त्यहीं राखेको ठाउँमा कतै होला’, ऊ शतप्रतिशत भन्दा बढी ढाँटेर नाटकीय ढङ्गले प्रस्तुत हुन्छ ।

श्रीमतीलाई उसको कुरा अलिकति पनि चित्त बुझ्दैन । त्यसरी पैसा झिकेको बेला उसले देखाउने व्यहोरा अर्थात् आचरण सम्झन्छे । लोग्नेको पाइन्ट र कमेजको खल्ती-खल्ती छाम्छे । बिचरा कतै भेटाउँदिन ।

सुख पाएपछि त त्यति राम्रा पो हुँदा रहेछन्, आइमाई । माइतमा हामीभन्दा झुत्रेझाम्रे भएर हिंड्थी । आफ्नो त अभागी कर्म । माइतीले दिएको पैसा पनि बाँकी रहँदैन । कहाँ पैसा राखेकी छ, कताबाट पैसा हात पर्छ, त्यति सोच्नमै ठिक्क छ । कसरी होस् प्रगति र परिवर्तन । बुद्धि त चोर छ, अनि क्यारेर उँभो लाग्छ त नि पाइलो

त्यत्रो हजार रुपैयाँ आजको दिनमा सकिसकेको । कस्तो नराम्रो बानी भएको मान्छे होला । अर्काले कस्तरी साँचेको पैसा । आमाले माया मानेर दिएको पैसा । मासौं भने त मेरो पनि कति ठाउँ थिए, कति ठाउँ । हुन त लुकाएर राखेको होला नि ! अर्को दिन पनि चाहिन्छ भनेर’ श्रीमतीले कुरा थप्दै भन्छे ।

‘पैसा नै लिएको छैन भनेपछि लुकाएर राख्ने कुरा कताबाट आयो’, ऊ सिरानीबाट टाउको उठाउँदै भन्छ ।

‘लिएको छु भनेर कहिले पो सावित भएको हो र !’ श्रीमती सम्झँदै भन्छे ।

ऊ चुप लाग्छ ।

श्रीमती बोल्दै जान्छे, ‘सन्तोष मान्ने ठाउँ कहीं कतै छैन । यसो जागिर खान खोज्नु पटक्कै छैन । आफूसँगकी खर्दारकी छोरी कत्रो चुरीफुरी गरेर हिंड्छे । उसको लोग्ने बेलायतमा एक लाख रुपैयाँ खान्छ अरे ! जैमानेकी छोरी भुन्टी पनि अस्ति माइत जाँदा भेटिएकी थिई । अहिले त मोटाएर चिनिनसक्नु भएकी ।

सुख पाएपछि त त्यति राम्रा पो हुँदारहेछन्, आइमाई । माइतमा हामी भन्दा झुत्रेझाम्रे भएर हिंड्थी । आफ्नो त अभागी कर्म । माइतीले दिएको पैसा पनि बाँकी रहँदैन । कहाँ पैसा राखेकी छ, कताबाट पैसा हात पर्छ, त्यति सोच्नमै ठिक्क छ । कसरी होस् प्रगति र परिवर्तन । बुद्धि त चोर छ, अनि क्यारेर उँभो लाग्छ त नि पाइलो । पैसा चाहिने भएपछि कमाउन पनि त जान्नुपर्छ । कमाइ भए पो रमाइ हुन्छ । होइन गाँठे, सोच्ने दिमाग पनि कता गएछ ? यत्रो बाउ भइसकेको मान्छे, छोराछोरी जान्ने बुझ्ने भए, भोलि ती छोराछोरीले आमाको पैसा चोरेर बाले रक्सी खान्छ, तास खेल्छ भन्ने कुरा थाहा पाए भने के इज्जत रहला ? के भन्ठान्लान् तिनले ? धन्न छोरा-छोरीका सामु मैले ढाकछोप पारेकी छु र, इज्जत बचेको छ ।’

‘भाषण नसुनाऊ, तिम्रो पैसा मैले लिंदै लिएको छैन । लिएको भए यतिन्जेल तिनै पैसाले तिम्रो मुख घाइते हुने गरी बजार्ने थिएँ । कहीं तिम्रो करकर सुन्ने रहर थियो र मलाई !’

‘अहो, कस्तरी भन्न सकेको लिएको छैन भनेर । नत्र कसले दराज खोलेर लियो त ? खोइ, दिनोस् मेरो पैसा । अहिले सबैले थाहा पाउने गरेर हल्लाखल्ला मच्चाइदिउँला अनि थाहा पाउनुहोला’, श्रीमती ताकेता गर्छे ।

ऊ नाजवाफ मौन हुन्छ । घरी मनमनै खित्खिताउँदै हाँस्छ । घरी मुखभरि क्रोध पालेर श्रीमतीतिर हेर्छ । मानौं कुनै इबी साध्न श्रीमतीले आरोप लगाएकी हो ।

सुत्ने समय हुन्छ । दुवैजना दुईतिर फर्केर सुत्छन् । श्रीमतीको मनमा चिन्ताको भुमरी चल्छ । एउटा अभागी भएको अनुभूति अविच्छिन्न रूपमा मनभरि छरिन्छ । उसले अर्थात् लोग्नेले आत्मसन्तुष्टि र आत्मदोष एकैचोटि महसुस गर्छ । आत्मसन्तुष्टि यस मानेमा कि श्रीमतीको कर्कश एउटा थकाइमा परिणत भएको थियो । श्रीमती सुत्ने तरखरमा देखिन्थी । आत्मदोष यस मानेमा कि पौरख गर्ने उमेरमा श्रीमतीको पैसा चोरेर तास र रक्सी जस्ता कुलतको गर्जो टार्नु परेको थियो । साथमा एक पैसा बचेको थिएन, त्यत्रो हजार रुपैयाँमा ।

क्षण पश्चात् नयाँ प्रसङ्गले नयाँ मोड लिन्छ । जाडोको याम श्रीमती आफूतिर सिरक तान्छे, उसले आफूतिर । दुवैजना कता छोइन्छ कि झैं एउटै खाटमा अलग्गिएर सुतेका छन् । त्यसैले सिरकको चक्लाइ साँघुरो अनुभव हुन्छ । तब ऊ सिरक तान्न छोडेर श्रीमतीसँग टाँसिन पुग्छ । श्रीमती उसको सानिध्यबाट पर सर्छे । मानौं ऊ वितृष्णाका झुसिला काँडा शरीरभरि बेरेको दुम्सी हो ।

ऊ फेरि आफ्नो खुट्टा श्रीमतीको खुट्टा माथि राखेर श्रीमतीको अस्मिताभित्र घुस्न थाल्छ । स्पर्शस्वादबाट तृप्त हुन चाहन्छ । आज अभिसारका प्रक्रिया गर्ने सामथ्र्य विद्यमान छैन । यद्यपि श्रीमती आफ्ना खुट्टाले उसका खुट्टा तर्काउँछे । उसको अभीष्ट मन त्यसैत्यसै शिथिल हुँदैन, बरु फक्रँदै जान्छ । श्रीमतीलाई हातले मसक्क बेर्छ । श्रीमती रुचाउँदिनँ । अघिपछिको जस्तो समर्पण र सद्भाव देखाउँदिनँ । उसलाई धकेल्दै भन्छे -‘खोइ मेरो पैसा ले, अर्काको पैसा लुसुक्क झिकेर अहिले चुप लाएर सुत्न कस्तो सकेको, नामर्द । स्वास्नीको पैसाले जुवा तास खेल्न र रक्सी धोक्न पल्केको ।’

उसलाई नामर्द शब्दले घ्वाच्च घोच्छ, हलोको फालीले जमीनमा घोचे झैं । त्यसैले ऊ सबै अमिल्दा कुरा बिर्सेर जुरुक्क उठ्छ र तातो रिस देखाउँदै श्रीमतीको मुख-मण्डलभरि जथाभावी मुक्का बर्साउन थाल्छ । अलिकति पनि दया मायाको अंश बाँकी राख्दैन । तब श्रीमती कङ्कला स्वरमा रुन थाल्छे । अररिन्छे, क्रमबद्ध आँसुका शृङ्खला झार्दै । उसले मुहारभरि कुटिल मुस्कान छर्छ ।

शायद श्रीमतीको कारुणिक रुवाइ र अरिष्टप्रति उसले आफू ‘मर्द’ भएको गौरव गरेको होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment