Comments Add Comment

किन मान्छेले अर्काको पिँठ्यु पछाडि कुरा काट्छ ?

‘फलानो त यस्तो रहेछ नि’ अक्सर मान्छेले यसरी नै पराईको कुरा काट्न सुरु गर्छन् । जब साथीभाई वा आफन्तसँग भेट हुन्छ, उनीहरु अर्को व्यक्तिको दोष केलाउन थाल्छन् । ‘फलानो यस्तो, फलानोको छोराछोरी यस्ता, श्रीमती–श्रीमान् यस्ता’ भन्दै ।

मान्छेको आम प्रवृत्ति हो, अरुको बारेमा चियोचर्चा गर्ने । त्यही कारण त नेपालीमा समाजमा एउटा उखान प्रचलित भएको हो, ‘आफ्नो आङको भैसी नदेख्ने, अरुको आङको जुम्रा देख्ने ।’

हुनपनि मान्छेले आफ्नो कमजोरी, अवगुण, गल्ती, दोषबारे चर्चा गर्दैनन् । आफै मन्थन पनि गर्दैनन् । आफ्नै खराबी वा कमजोरी मान्छेलाई त्यती थाहा हुँदैन, जति अरुको थाहा हुन्छ । अरुको गल्ती वा कमजोरी केलाउन परेमा मान्छेले ‘महाभारत’ सुनाइदिन्छन् । तर, आफ्नो गल्ती वा कमी कमजोरीबारे हामी कुरा गर्न चाहँदैनौं । कसैले आफ्नो गल्ती वा त्रुटी औंल्याइदिएमा त्यसलाई सुधार गर्नुपर्छ भन्ने पनि ठान्दैनौं । बरु, उक्त व्यक्तिसँग वैरभाव साँध्न थाल्छौं । हामीलाई लाग्छ, ‘फलानोले मलाई नराम्रो भन्यो ।’

तर, यस्ता मान्छे थोरै हुन्छन् जो तपाईं–हाम्रो सामुन्ने उभिएर हाम्रै कुरा गर्छन् । खासगरी हाम्रो गल्ती–कमजोरी औल्याउँछन् । महर्षि वाल्मिकीले भनेका छन्, ‘संसारमा यस्ता थोरै मात्र मान्छे भेटिन्छन् जो कठोर तर हीतको कुरा गर्छन् ।’

आम प्रवृत्ति के हुन्छ भने मान्छेको सामुन्नेमा उभिएर उनकै गल्ती कमजोरीको कुरा गर्ने होइन । बरु, उनको अनुपस्थितीमा भए–नभएको गल्ती खोतल्ने गरिन्छ । जब हामी साथी–साथी भेट हुन्छौं, तब उसैको बारेमा कुरा गर्छौं जो त्यहाँ उपस्थित हुँदैनन् । र, अनुपस्थित व्यक्तिको गुणगान गाउने भन्दा पनि दोष र कमजोरी केलाउने काम गरिन्छ । यसलाई हाम्रो चलनचल्तीको भाषामा ‘अर्काको कुरा काट्ने’ भनिन्छ ।

मान्छेले किन अरुको कुरा काट्छ ? के यसबाट कुनै लाभ मिल्छ ?

अर्काको कुरा काटेर मान्छेले आफ्नै अमूल्य समय बर्बाद गरिरहेका हुन्छन् । यसबाट उनीहरुले कुनै लाभ लिन सक्दैनन् । बरु, अरुको कुरा काट्ने प्रवृत्तिले आफ्नै व्यक्तित्वमा हानी गर्छ । अन्ततः उनको साथी–संगत पनि यस्तै मान्छेहरुसँग मात्र हुन्छ । उनीहरु भेट हुनसाथ अरुको कुरा गरेर रमाउँछन् । अरुको अवगुण मात्र केलाउने, अरुमाथि दोष मात्र थुपार्ने प्रवृत्ति यसरी विकास हुँदै जान्छ, त्यो उनीहरुको जीवनकै एउटा अंश जस्तो बनेर रहन्छ ।

जहाँ गएपनि, जे गरेपनि उनीहरुले अरुको कुरा काट्न छाड्दैनन् । आखिर यस्तो प्रवृत्तिको विकास चाहिँ कसरी हुन्छ ?

उक्त व्यक्ति कस्तो घर–परिवार, समाज वा साथीभाईको संगतमा हुर्किएको हो भन्ने कुराले यसमा निर्भर गर्छ । कुनैपनि मान्छेमा जन्मजात यस्तो अवगुण विकास भएको हुँदैन । मनोविज्ञहरुका अनुसार अति कुष्ठित मान्छेहरु अरुको कुरा काटेर रमाउने अभ्यास गर्छन् । यसरी अरुको कुरा काट्दा, अरुको अवगुण केलाउँदा उनीहरुले आनन्द अनुभव गर्छ । किनभने उनीहरुले अरुको कुरा काटेर आफैलाई सान्तवना दिइरहेका हुन्छन् । यो एक किसिमको मनोविकार हो । यस किसिमको प्रवृत्तिले उनीहरुको व्यक्तित्व विकासमा अवरोध त पु¥याउँछ नै विस्तारै मानसिक रोगी समेत बनाउँछ ।

के यस्तो बानी सुधार्न सकिन्छ ?

कुरा काट्ने व्यक्ति स्वयम्लाई थाहा हुन्छ, यो खराब आचरण हो । खराब प्रवृत्ति हो । तर, उनीहरु आफ्नै मनलाई सान्तवना दिन, आफ्नै कुष्ठा लुकाउन यसो गरिरहेका हुन्छन् ।

संसारमा यस्ता कुनैपनि मान्छे हुँदैनन्, जसमा कुनै दोष छैन । जसमा कुनै कमजोरी छैन । जसमा कुनै अवगुण छैन । जसले गल्ती गरेको छैन । सर्वगुणले सम्पन्न मान्छे सायदै हुन्छन् । अतः दोस्रो व्यक्तिको गल्ती केलाउँदै बस्ने हो वा उनको टिका–टिप्पणी गर्दै बस्ने हो भने, हाम्रो जीवन वितेको पनि पत्तो हुँदैन ।

मान्छेको गल्ती वा अवगुण केलाएर होइन, बरु उनीहरुको क्षमता र गुण पहिचान गरेर त्यसमा आफुलाई अभ्यस्त गराउनु उत्तम हुन्छ । अर्कोको पिँठ्यु पछाडि निन्दा गर्नु जति सुखकारी र आनन्ददायी लाग्छ, उतिनै अहितकारी पनि । सन्त कबिरले भनेकै छन् नि, ‘म संसारमा खराब मान्छेहरु खोज्न निस्किएँ, तर, आफु स्वयम् भन्दा खराब अरु कोहि भेटिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment