Comments Add Comment

लाखापाखा लागे कलाकर्मी : कोही खेतीमा, कोही रेष्टुरेन्टमा

सबैकुरा सही–सलामत हुँदो हो त, दशैंको छेकोमा प्रदर्शन गर्ने होडबाजीसँगै फिल्म छायांकनको चटारोमा हुन्थे फिल्मकर्मी । तर, मौसम बेइमान छ । खेतीबालीको यो मुख्य याममा सिनेमा क्षेत्र उराठलाग्दो र उजाड छ । यो खडेरीले सिनेमा घरहरुमा धमाधम भोटेताल्चा लाग्दैछ, फिल्मकर्मीहरु लाखापाखा लाग्दैछन् ।

दीपकराज गिरीहरु पुर्ख्यौली जेथामा ‘फार्म हाउस’ बनाउँदैछन्, दीपिका प्रसाईंहरु ‘सहकारी’ सञ्चालन गर्ने सुर कस्दैछन् ।

कारण भनिरहनुपरेन । सर्वव्यापी कोरोनाले नै नेपाली सिनेमालाई पनि सोत्तर बनाएको हो । किस्ताबन्दीमा पटक पटक देखापरेको यो महाव्याधिले भर्खर टाउको उठाउँदै गरेको नेपाली सिनेमाको घाँटी निमोठिदिएको छ ।

पट्यारलाग्दो लकडाउन र निषेधाज्ञाले ‘मनोरञ्जन मण्डली’लाई आफ्नै लयमा बग्न दिएन । अन्ततः उनीहरु ‘नाम’ छाडेर ‘माम’को जोहोमा लागे । कलाकर्मलाई अनिश्चितकालीन विश्राम लगाउँदै आफ्नो जीवनयापनको बाटोमा लागे ।

छायांकनस्थलमा भात पकाउनेदेखि कलाकारको अनुहारमा लिपपोत गरिदिनेसम्म, दृश्य सम्पादन गर्नेदेखि ध्वनि समायोजन गर्नेसम्म, स्क्रिप्ट लेख्नेदेखि निर्देशन गर्नेसम्म, सिनेमा वितरण गर्नेदेखि हल सञ्चालन गर्नेसम्मको ‘खेलो’ हराएको छ । नतिजा, ती सबै विकल्प खोज्दै मूल कर्मबाट लाखापाखा लागे ।

साम्राज्ञी लागिन् अनलाइन व्यापारमा

कलाकार के गर्दैछन् भन्ने विषयको थालनी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबाट शुरु गरौं । पछिल्लो समयका चल्तापूर्जा अभिनेत्री हुन् उनी । लकडाउन अघिसम्म उनी अविछिन्न सिनेमाकै काममा तल्लिन थिइन् । फिल्म फ्लप हुन् वा सुपरहिट हुन् बेग्लै कुरा । त्यो अहिलेको सरोकारको विषय भएन । सरोकार त के भने, यो फुर्सदिलो दिनमा उनी के गर्दैछिन् ?

थाहा भए अनुसार यो समयमा साम्राज्ञीले अनलाइन व्यवसाय शुरु गरिन् । उनले, अनलाइनको माध्यमबाट विभिन्न डिजाइनका पहिरन बेच्दै आएकी छिन् । साम्राज्ञीको सामाजिक सञ्जालमा अहिले हरेक दिन नयाँ नयाँ डिजाइनका पहिरन लगाएका तस्वीर पोष्ट हुने गर्छन् ।

‘प्याप’ नामको साम्राज्ञीको अनलाइन व्यवसायमा महिलाका पहिरन उपलब्ध छन् ।

दिवाकर र दीपिकाको जोडी ‘सहकारी’मा

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईले अन्य केही साथीहरुसँग मिलेर सहकारी शुरु गरेका छन् । दिवाकर निषेधाज्ञा अगाडि चलचित्र ‘तिमी सँगै हुने मन छ’को छायांकनको तयारीमा थिए । तर, यो चलचित्रको पनि काम शुरु हुन नसकेपछि वैकल्पि पेशा अपनाउँदै दिवाकर र दीपिकाले सहकारी शुरु गरेको बताए ।

अब, वेकरी क्याफे पनि शुरु गर्ने तयारीमा यो जोडी छ । अहिले चलचित्रको काम नभएको र यो क्षेत्रबाट भने जीवन जिउन समस्या पर्ने देखेपछि वैकल्पिक पेशा शुरु गरेको दिवाकरको भनाइ छ । उनले भने–‘चलचित्र क्षेत्र खुल्न अझै १ बर्ष लाग्छ । खुलिसकेपछि भने के हुने हो थाहा छैन । यसैले, हामीले वैकल्पिक पेशा शुरु गरेका हौं ।’

पुर्ख्यौली बिर्तामा दीपकराजको खेती

कोरोनाले आतंक मच्चाउनुअघि दीपकराज गिरी र उनको समूह सिनेमाको काममा एकचित्तले लागिरहेका हुन्थ्यो । आखिर त्यो समय उनीहरुकै थियो । ‘छक्का पञ्जा’ जस्तो मालामाल सिनेमाले उनीहरुको राम्रै फलिफाप भइरहेको थियो । तर, कोरोनाले ‘भिलेन खेल्यो’ ।

अन्ततः उनी लेख्दा–लेख्दैको स्क्रिप्ट थन्को लगाएर लागे आफ्नै पुर्ख्यौली खेतीबालीमा । दीपक चन्द्रागिरि नगरपालिका दहचोकस्थित पुर्खौली जग्गामा कृषि फार्म हाउस खोल्ने सुरसार गर्दैछन् ।

आफ्ना हजुरबुबाले जोडेको १० रोपनी जग्गामा केही जग्गा थपेर फार्म हाउस निर्माणको काम दीपकले गतबर्षदेखि नै शुरु गरेका हुन् । उनका अनुसार, यो फार्म हाउस निर्माणका लागि ५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

यतिमात्र होइन, दीपक फार्म हाउस बन्न समय लाग्ने भएकाले अन्य केही व्यवसायमा पनि लगानी गर्ने तयारीमा रहेको बताउँछन् । चलचित्र क्षेत्र कहिलेबाट शुरु हुन्छ भन्ने पक्का नभएकाले पनि वैकल्पिक पेशा अपनाउनु परेको उनले बताए ।

बर्षा राउतको सर्वव्यापी पेय व्यापार

अभिनेत्री वर्षा राउत पनि सर्वव्यापी पेय चिया बेच्दैछिन् । उनको यो काममा हातेमालो गरेका छन् दीपकराज गिरी, दीपाश्री निरौला र उनकै श्रीमान संजोग कोइरालाले ।

दीपकको टिम र अभिनेत्री वर्षा राउत र संजोग कोइरालाको लगानीमा काठमाडौंका विभिन्न स्थानमा ‘चिया अड्डा’ पनि शुरु गरिएको छ । कोरोनाका कारण वैकल्पिक पेशा अपनाउनुपर्ने अवस्था आएकाले चिया अड्डामा पनि लगानी गरिएको दीपकले बताए ।

बर्षा सिवाकोटी अलमलमै

अभिनेत्री वर्षा शिवाकोटी पनि करिअरमा अन्यौलता छाएको बताउँछिन् । उनले भनिन्–‘उसो त यस्तो अवस्था आउँछ भन्नेमा हामी पहिले नै सजग हुनुपर्ने थियो । तर, मनोरञ्जन दुनियाँको रमझमले गर्दा हामीले अरु कुरा सोच्न नै सकेनौ । यसमै रमायौं । कोरोनाले अहिले हामीलाई धेरै कुरा सिकाएको छ । चलचित्रलाई मात्र पेशा मानेर एकहोरो रुपमा यसमा मात्र केन्द्रित हुन हुँदैन भन्ने पाठ सिकेका छौं ।’

वर्षाले कोरोना नआएको भएपनि एक जना नायिकाको हकमा करिअर लामो नहुने भएकाले पनि वैकल्पिक पेशालाई एकसाथ अगाडि बढाउनुपर्छ भन्नेमा आफू सधैं नै सजग रहेको बताइन् । उनले, चलचित्रसँगै अन्य पेशालाई पनि अगाडि बढाउने विषयमा आफूले सोचिरहेको र अब त अपरिहार्य नै भइसकेको तर्क गरिन् ।

प्राविधिकको व्यथा : कोही वैदेशिक रोजगारमा, कोही गाउँमा

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित चलचित्र प्राविधिकहरु छन् । म्यूजिक भिडियोले प्राविधिकहरुलाई केही राहत दिएपनि चलचित्रको काम शुरु नभएसम्म उनीहरुलाई पर्ने निश्चित छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार, कोरोनाका कारण चलचित्र क्षेत्रमा अन्यौलता बढेपछि केही प्राविधिक वैदेशिक रोजगारीमा लागेका छन् । केही प्राविधिक भने काठमाडौंमा कोठा भाडा तिर्न नसकेपछि सधैका लागि गाउँतर्फ लागेका छन् ।

पुष्करले, केही प्राविधिकले चिया पसल खोलेको त केहीले नयाँ व्यवसाय शुरु गरेको बताए । उनका अनुसार, दैनिक पारिश्रमिक लिएर काम गर्ने प्राविधिकहरु सबैभन्दा बढी मर्कामा परेका छन् ।

पुष्करले सिंगो चलचित्र क्षेत्रमा नै देखिएको यो खालको अन्यौलतालाई हल गर्नका लागि नेपाल सरकारले नै आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल सरकारले चलचित्रकर्मीको स्वास्थ्य उपचार मात्र भएपनि निःशुल्क गरिदिने व्यवस्था गर्ने हो भने धेरै ठूलो राहत हुने थियो । आखिर, हामीले भन्ने भनेको सरकारलाई नै त हो ।’

‘गोदाम’ बन्दै सिनेमा हल

कलाकार, प्राविधिक मात्र होइन चलचित्र प्रदर्शकहरुको पीडा पनि कम छैन । लामो समय चलचित्र क्षेत्र सुनसान हुँदा सबैभन्दा ठूलो अन्यौलता प्रदर्शकहरुमा देखिएको छ । यो अवधिमा करिब दुई दर्जन हल बन्द भैसकेका छन् ।

ती हलका सञ्चालकहरु अब वैकल्पिक पेशामा लागेका छन् । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले भने, ‘दुई दर्जन हल बन्द भइसकेका छन् । ती हलका सञ्चालक अब यो क्षेत्रमा फर्किनुहुन्छ जस्तो मलाई लाग्दैन । हल बन्द गर्नुको अर्थ अरु नै पेशामा लाग्नु हो ।’

कतिपय हलहरु बन्द गरेर गोदामलाई भाडामा दिइएको छ भने कतिपय हल भएका जग्गाहरु बेचेर अरु नै व्यवसाय गर्ने तयारीमा प्रदर्शकहरु छन् । यसले, कोरोनाका कारण चलचित्र क्षेत्र कसरी अस्तव्यस्त बनिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

लोकदोहोरी कलाकार कथा : कोठा भाडा तिर्नै गाह्रो भो

कोरोनाले चलचित्र क्षेत्रलाई मात्र नभएर लोकदोहोरी क्षेत्रका कलाकारहरुमा पनि अलमलामा पारेको छ । कति कलाकार त काठमाडौंमा टिक्न नसकेपछि आफ्नै गाउँ पनि फर्किएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अनलाइनखबरसँग भने, ‘कोरोनाको पहिलो लहरपछि विस्तारै सामान्य अवस्थामा फर्किदै गरेको अवस्थामा आशावादी देखिएका कलाकारहरु दोस्रो लहर शुरु भएपछि भने अन्यौलमा छन् । कतिपय कलाकारहरु गाउँ फर्किने, कतिपय कलाकारहरु अन्य साना–ठूला व्यवसायहरुमा लागेका छन् ।’

केही कलाकारले गीतसंगीत माहोल सामान्य शुरु भएपछि अगाडि बढाऔंला भन्दै वैकल्पिक पेशा अपनाएका छन् । जुना श्रीस, देवी घर्तीले रेष्टुरेण्ट शुरु गरेका छन् ।पोखराका कलाकारहरु कुखुरा फार्म, कृषि पेशामा लागेका छन् ।

प्रतिष्ठानका अध्यक्ष बिजीका अनुसार, यही क्षेत्रको मात्र भर परेर नहुने रहेछ भन्ने सोच धेरै कलाकारमा आएको छ ।

स्टेजमा व्यस्त हुने कलाकारहरुले अहिलेसम्म जसोतसो गुजारा चलाइरहेका छन् । तर, उनीहरुमा पीडा भने बढ्दै गएको रमेशले बताए । उनले भने–‘सबैभन्दा ठूलो डर भनेको त, निरन्तर पैसा खेलाइरहेका कलाकारहरुमा छ । उनीहरु यो अवस्थाले विक्षिप्त बनेका छन् । कतिपय कलाकार डिप्रेशनमा पनि पुगेका छन् ।’

कलाकारहरुले यही क्षेत्रमा पनि विकल्प खोज्न थालेका छन् । कतिपय कलाकार भने अझै पनि ‘पर्ख र हेर’कै अवस्थामा छन् । अहिले धेरै कलाकारहरु डिजिटल मार्केट जस्तै युट्युब, टिकटकबाट पैसा आर्जन गर्न लागिपरेको देख्न सकिन्छ ।

कोरोनाको तेस्रो लहर पनि आउने आँकलन गरिएको छ । यसैले, दोहोरी साँझ, स्टेज कार्यक्रम आदिको शुरुवात हुन अझै केही समय कुर्नुपर्ने निश्चित छ ।

गायक पशुपति शर्मा कोरोनाका कारण आफू अन्यौलमा रहेको बताउँछन् । उनले भने, ‘सरकारले सबै जनतालाई कोरोनाको खोप नदिएसम्म अवस्था सामान्य हुँदैन भन्ने लाग्छ । मैले पहिलेदेखि नै वैकल्पिक पेशाको बारेमा सोचेको थिएँ । तर, अब कोरोनाले यो बिषयमा झनै सोच्न वाध्य बनाइदिएको छ ।’

पशुपतिले अगाडि भने, ‘मलाई मात्र होइन अरु कलाकारले पनि कलाकारितालाई मात्र मुख्य पेशा बनाएर अगाडि बढ्न गाह्रो छ । यसैले वैकल्पिक पेशा रोज्नुपर्छ जस्तो लाग्छ ।’ पशुपतिले आफू गीतसंगीतमै व्यस्त भएपनि श्रीमतLलाई बुटिक वा अन्य केही व्यवसाय शुरु गरिदिऊँ कि भन्ने सोचमा रहेको बताए । उनले, पहिले तीज आउँदा आफू जापान, अष्ट्रेलिया पुग्ने गरेको भएपनि यसपटक त्यो नभएको बताए ।

गायिक पूर्णकला बिसी पनि कोरोनाका कारण आफू अन्यौलमा रहेको बताउँछिन् । उनले लकडाउन हुनुअघि काठमाडौं कपुरधारामा वुटिक व्यवसाय शुरु गरेकी थिइन् । तर, कोरोनाका कारण व्यवसाय पनि बन्द हुँदा लकडाउनको समयमा निकै तनावमा रहेको उनको भनाइ छ ।

‘कोरोना आउला भन्ने सोचेको भए पैसा सञ्चय गरेर राख्थ्यौं होला । फेरि स्टेज कार्यक्रम भईरहने र आम्दानी पनि हेण्ड क्यासमा हुने भएकाले बचत गर्नेबारे सोच कहिल्यै पनि आएन । दुई वर्षदेखि स्टेज कार्यक्रम पनि ठप्प छ । व्यवसाय पनि लकडाउनका कारण बन्द हुँदा निकै गाह्रो भएको छ । अहिले ऋणमा चलिरहेका छौं । कोठाभाडा नतिरेकै एक बर्ष भइसक्यो ।’ उनी पहिलो लहरपछि माहोल सामान्यतर्फ फर्किदै गर्दा गर्दा आशा जागेपनि अहिले आफू निराश रहेको बताउँछिन् । ‘फेरि बन्द हुने हल्ला छ । एकदमै त्रास एवं अन्यौल छ’ उनले भनिन् ।

लोकदोहोरी गायिका देवी घर्ती र राजु ढकालको जोडीले लकडाउन अगाडि सामाखुसीमा रेष्टुरेण्ट व्यवसाय शुरु गरेका थिए । राजु कोरोनाका कारण भन्दा पनि सधैको दिन एकैनासको नहोला भनेर आफूहरुले व्यवसाय शुरु गरेको बताउँछन् ।

‘अहिले स्टेज हुँदा राम्रै होला । तर, समय सधैं एकैनास नहोला, अप्ठ्यारो पर्दा जीवन चलाउन सहज होला भनेर रेष्टुरेन्ट शुरु गरेका हौं ।’ अहिले स्टेज कार्यक्रम नहुँदा रेष्टुरेण्ट व्यवसाय राम्रै चलिरहेको उनले बताए । उनले कोरोनाको समयमा मात्र नभएर अरु समयमा पनि एउटा कलाकारलाई लागि वैकल्पिक पेशा आवश्यक रहेको बताउँछन् ।

कोरोनाका कारण डेढ बर्षदेखि चलचित्र र सांगीतिक क्षेत्रको अवस्था सुस्त हुँदा धेरै कलाकार समस्यामा परेका छन् । अझै पनि यो क्षेत्र कहिलेबाट पुरानै गतिमा दौडिने हो भन्न सकिने अवस्था छैन । यसले, कतिपय कलाकारलाई यो क्षेत्रबाट पलायन हुने अवस्था सिर्जना भएको छ भने धेरै कलाकार वैकल्पिक पेशाको खोजीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विजय सुवेदी ‘आवाज’

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment