Comments Add Comment

पर्सामा अघिल्ला दुई वर्षको तुलनामा आपराधिक घटना बढे

३ साउन, वीरगञ्ज । पर्सामा अघिल्लो दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्सामा गत आर्थिक वर्ष २०७७/७८ मा आपराधिक घटनामा वृद्धि भएको हो ।

प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार १७३ वटा विभिन्न किसिमका अपराधका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ एक हजार ८१ र २०७५/७६ मा ९४४ वटा आपराधिक घटना दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आव २०७७/७८ मा दर्ता भएका १ हजार १७३ घटनामा संलग्न १ हजार ११३ जना अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइएको छ ।

जसमध्ये २० जना महिलासहित १ हजार ९२ जना नेपाली नागरिक र  १ जना महिला सहित ७४ जना विदेशी नागरिक छन् । ४० जना महिलासहित ७४७ जना अभियुक्त अझै फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रवक्ता खनालले बताए । फरारमध्ये ६९४ जना पुरुष तथा ४० जना महिला नेपाली नागरिक र १३ जना विदेशी नागरिक छन् ।

नेपाली भूमिमा अपराध गरेर भारतमा लुकीछिपी बस्न सहज भएकाले पर्सामा फरार अभियुक्तको संख्या बढी नै देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार आर्थिक वर्षमा ७८ फरार प्रतिवादी र ८० फरार अभियुक्त पक्राउ परेका छन् ।

आत्महत्याका घटनामा वृद्धि

अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षमा पर्सामा ११७ जनाले आत्महत्या गरेका छन् ।

आव २०७६/७७ मा १०५ र आर्थिक वर्ष २०७५/७६ मा ७७ जनाले आत्महत्या गरेको घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । सामान्यतया विष सेवन र झुण्डिएर आत्महत्या गर्ने गरेकोमा पर्सामा शरीरमा आगो लगाएर तथा अग्लो ठाउँबाट हामफालेर समेत आत्महत्या गरेका घटना सार्वजनिक भएका छन् ।

कर्तव्य ज्यान, ज्यान सम्बन्धी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, नागरिकता सम्बन्धी, लागू औषध, कुटपिट अंगभंग, चोरी र ठगी तथा संगठित अपराधका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

प्रहरीले पशुपंक्षी,, ईलाज तथा सावर्जनिक न्याय विरुद्ध, आपराधिक विश्वासघातको कसूरमा समेत मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment