Comments Add Comment

धान उत्पादनको पकेट क्षेत्रमै रोपाइँ प्रभावित

५ साउन, काठमाडौं । प्रदेश दुईमा यो वर्ष असार महीनाभर कुल क्षेत्रफलको जम्मा ६८.५४ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको छ ।

नेपालमा धान उत्पादनको करिब एक तिहाइ क्षेत्र ओगट्ने प्रदेशमा गत वर्षभन्दा धान रोपाइँमा १४.८७ प्रतिशतले ढिलाइ भएको कृषि विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा.महादेव पौडेलकाअनुसार प्रदेश दुईमा धान रोपाइँमा भएको यस्तो ढिलाइ पहिले कहिल्यै भएको जानकारीमा थिएन ।

धानको मुख्य पकेट क्षेत्र मानिने प्रदेश २ मै रोपाइँमा देखिएको बिलम्बले पार्ने असरबारे चिन्ता सुरु भएको छ । प्रदेशमा तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष असार ३१ गतेसम्म दुई लाख ५० हजार ५८२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ जबकि गत वर्ष सो अवधिमा तीन लाख चार हजार ९७७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

कुन जिल्लामा कति हुन्छ रोपाइँ

कृषि विभागका अनुसार प्रदेशअन्तरगतका ८ वटै जिल्ला धानका लागि पकेट क्षेत्र हो । जसमध्ये पनि धनुषा जिल्लामा सबैभन्दा धेरै ५८ हजार ११२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । सप्तरीमा ५१ हजार ३४१, सिराहामा ४८ हजार ५८० र सर्लाहीमा ४८ हजार २२९ हेक्टर जमिनमा धान खेती हुन्छ ।

यस्तै पर्सामा ४४ हजार १०७ हेक्टर, बारामा ४३२ हजार २०३ हेक्टर, रौतहटमा ३८ हजार ६१९ र महोत्तरीमा ३४ हजार ४२४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जिल्लागत विवरणअनुसार यस वर्ष सबैभन्दा धेरै पर्सामा कुल क्षेत्रफलको ७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । गत वर्ष असार ३१ सम्म बारामा ९५ प्रतिशत, सप्तरी, महोत्तरी र सर्लाही जिल्लाका ९० प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।

रोपाइँमा किन ढिलाइ

प्रदेशभर रोपाइँ प्रभावित हुनुमा भारी वर्ष र बिउमा भएको ढिलाइ दुई वटा कारण मुख्य रहेको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । यस वर्ष छिटो मनसुन सुरु हुँदा किसानले बिउ समयमै राख्न नपाएको र पछि धेरै भूभागमा पानी जमेका कारण भएको बिउ छिप्पिदासम्म पनि रोपाइँ गर्न नपाएको कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।

अझै पनि धान रोप्ने धेरै खेतहरुमा पानी जमेको उनको भनाइ छ । ‘वर्षा अझै नियमित छ, खेतहरुमा पानी जमेको बिउ भएका किसानले पनि रोपाइँ गर्न सकेका छैनन्,’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री साहले अनलाइनखबरसँग भने ।

प्रदेश मन्त्रालयका कृषि अर्थ विज्ञ विप्लव कुमार गुप्ताले धेरै पानी जम्दा रौतहटको धेरै भूभाग अझै प्रभावित रहेको बताए । पहिले नै लगाएको कतिपय किसानको बिउ पानीकै कारण नष्ट भएको पनि उनको भनाइ छ । रोपाइँ अझै जारी रहेको साउन १५ सम्म केही वृद्धि हुने अनुमान गरिएको उनले बताए ।

धान उत्पादनमा ह्रास आउने चिन्ता

प्रदेश दुईको प्रमुख अन्न बालीको रुपमा रहेको धान रोपाइँ प्रभावित भए यसले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने विज्ञहरु बताउँछन् । प्रदेशभर गत वर्ष १२ लाख ४९ हजार ५४० मेटि्रकटन धान उत्पादन भएको बाली विकास अधिकृत मनिषकुमार पालले बताए । यस वर्ष अझै रोपाइँ हुने समय रहेकाले असर कम हुने अनुमान भने गर्न सकिने पालको भनाइ छ ।

रोपाइँमा भएको ढिलाइले उत्पादनमा ह्रास आउने चिन्ता बढेको प्रदेश कृषिमन्त्री शैलेन्द्र प्रसाद साहको चिन्ता छ । गत वर्ष धानमा लागेको रोगका कारण उत्पादनमा ह्रास आएको भन्दै उनले यस वर्ष रोपाइँमा भएको ढिलाइ पनि चिन्ताको कारण भएको बताए । चाहेर पनि प्रदेशभर यान्त्रीकरण गर्न नसक्दा धान रोपाइँका लागि जनशक्ति पनि अभाव भएको मन्त्री साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment