Comments Add Comment

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव

करोडौं रकम फ्रिज हुँदा अलमलमा निर्माता

चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ ।

काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर पाउने गरेका थिए । तर, यी हलहरु कुनै पूनःनिर्माणको क्रममा छन् भने केही हलहरु सधैका लागि बन्द भए ।

नेपालमा ओटीटी प्लेटफर्मको विकास हुन सकेको छैन । २ करोड भन्दा बढी लगानीमा बनेका चलचित्रलाई ओटीटीका संचालकहरुले खरिद गर्न सक्ने अवस्था पनि छैन । यसैले, जती नै बर्ष लागेपनि निर्माताहरुसँग हललाई नै कुर्नुको विकल्प देखिदैन ।

चलचित्रको प्रदर्शन मिति तय गरेर प्रचारका सबै उपाय अपनाइसकेपछि निर्माता तथा निर्देशक सुदर्शन थापाले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति पोष्टपोन्ड गर्नुपर्यो । यो चलचित्रमा सुदर्शनले साढे २ करोड भन्दा बढी बजेट लगाएका छन् । सुदर्शनले भने–‘पहिलो कुरा त अझै कती समय कुर्नुपर्ने हो थाहा छैन । भोली हल खुलीहाले पनि चलचित्र रिलिज गरिहाल्ने अवस्था छैन । फेरि, दैनिक हल बन्द भैरहेका समाचार आइरहेका छन् । अब, त लगानी मात्र फिर्ता आइदिए पनि अरु काम सुरु गर्न हुन्थ्यो भन्ने लाग्न थालेको छ ।’

यो चलचित्रको ट्रेलर, गीत सार्वजनिक भैसकेको छ । चलचित्र अब रिलिज हुँदा प्रचारका लागि सामाग्री पनि कम छन् । थापा भन्छन्–‘मुख्य मुख्य स्टेशन बन्द हुँदा हामीलाई प्राप्त हुने शेयरको केही प्रतिशत गुम्ने त पक्का छ ।’

कोरोनाका कारण निर्माण भएर रिलिज हुन नपाएका दर्जनौं चलचित्रका निर्माता अहिले सुदर्शनकै जस्तो पीडा भोग्न वाध्य छन् । उनीहरुलाई लगानी सुरक्षित गर्ने वातावरण कतैबाट पनि प्राप्त भएको छैन ।

गतबर्ष केही महिना हल संचालन हुँदा प्रदर्शकले आफूहरु नै पीडित भएको भन्दै निर्मातलाई एमजी दिन नसक्ने बताए । प्रदर्शकहरुको हालत अहिले झनै खराब बनेको छ । यसैले, हल खुलिसकेपछि पनि प्रदर्शकहरु आफ्नो घाटा पुर्ती गर्ने बाटोमा लाग्नेछन् । नेपाली चलचित्रका निर्माताले जोखिम मोलेरै चलचित्र रिलिज गर्नुको विकल्प छैन ।

‘प्रेमगीत ३, चपली हाइट ३, हिजो आजका कुरा, लक्का जवान, निरफूल’ लगायतका चलचित्र पहिलो चरणको कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेका चलचित्र हुन् ।

निर्देशक दीपेन्द्र के खनाल पहिलो लकडाउनको समयमा आशा गर्ने केही बाटोहरु रहेपनि अहिले त्यो पनि नरहेको बताउँछन् । खनालले पहिलो चरणको लकडाउन पछि चलचित्र ‘चिसो मान्छे’ बनाए । यो चलचित्रको निर्माण सकिएसँगै दोश्रो चरणको कोरोना महामारीले देश नै आक्रान्त बन्यो ।

दीपेन्द्र भन्छन्–‘पहिलो चरणको लकडाउनको बेलामा त खुलेपछि सबै कुरा सामान्य भैहाल्छ नी भनेर उत्प्रेरित हुने ठाउँ थियो । तर, अब त त्यो पनि बाँकी रहेन । किनकी, कोरोना महामारीको तेश्रो र चौथो चरण पनि आउँछ भन्ने चर्चा छ । हल कहिलेबाट खुल्छ भन्ने त दिमागमा नै आएको छैन । अहिले त चलचित्रको काम गर्न पनि मन लाग्न छाडेको छ ।’

दीपेन्द्र चलचित्रको विकल्प खोज्न पनि नसकिने अवस्था रहेको बताउँदै भन्छन्–‘१४ बर्ष यही क्षेत्रमा लागेकाले अन्त जाने बिषयमा सोच्न पनि सकिदैन । यही क्षेत्रमा बस्दा भविष्य नै के हुने हो भन्ने चिन्ता छ । फेरि, हलहरु निरन्तर बन्द हुँदा १ करोड त हामीलाई घाटा भैसकेको छ ।’

यति भन्दै गर्दा पनि दीपेन्द्र आशावादी भने सुनिए । उनले भने–‘हामीसँग आशावादी हुनुको विकल्प छैन । खोप लगाउने गती यही अनुसार भएको खण्डमा तिहारपछि अवस्था केही सुध्रिंएला कि भन्ने लागेको छ । आशावादी हुनु वाहेक हामीसँग अरु उपाय पनि के छ र ?’

कोरोनाका कारण चलचित्र क्षेत्र नराम्रोसँग थलिएको छ । पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भएर प्रदर्शन भएका दर्जन बढी चलचित्रका निर्मातालाई दर्शकको कथा हेर्ने स्वाद फेरिने हो कि भन्ने पनि चिन्ता छ । अवस्था सामान्य भएर हल खुल्ने समयमा कतिपय चलचित्रका कथा पुरानो भैसकेका हुनेछन् । यस्तै, पहिलो चरणको लकडाउनपछि निर्माण भएका दर्जन चलचित्रका निर्माताहरु पनि यतिबेला चलचित्र कहिलेबाट रिलिज हुन्छ भन्न नसक्ने अवस्थामा छन् ।
चलचित्र संघले २ दर्जन बढी हल बन्द भएको र अझै केही दर्जन हल बन्द हुने क्रममा रहेको बताएको छ । यस्तो अवस्थामा चलचित्र निर्माण गरेर प्रदर्शन गर्ने हलको संख्या घट्दा निर्मातालाई लाखौ रकम क्षती हुने निश्चित छ ।

पहिलो चरणको लकडाउन सकिएपछि निर्माताहरुले धमाधम चलचित्रको रिलिज मिति पनि तोेकेका थिए । साउन १ गतेबाट दशैंसम्मका लागि चलचित्र रिलिजको मिति तोकिएको थियो । ‘डिसेम्बर फल्स, ए मेरो हजुर ४, चिसो मान्छे, कबड्डी ४’ लगायतका चलचित्र रिलिज हुने पक्का भएपनि अब यो संभव छैन । गतबर्ष नै प्रदर्शन मिति तोकिएका ‘कृष्णलीला, लप्पन छप्पन २’ लगायतका चलचित्र पनि अब कहिलेबाट चल्छन् भन्न सकिदैन ।

‘बाबरी, आँधी तुफान २, प्रेमगञ्ज’ लगायतका चलचित्रको छायांकनको काम सुरु भएपनि कोरोनाको दोश्रो चरणको महामारीले पुरा हुन पाएनन् ।

नेपाली चलचित्र क्षेत्र र यसमा लगानी गरिसकेका निर्माताहरुले भोगेको पीडा र तनाव कहालीलाग्दो छ । कतैबाट पनि आश्वासनका शब्दहरु नपाउनु, दैनिक नाम चलेका हलहरु बन्द हुनु, कोरोनाको नयाँ भेरियन्टको चर्चा आदिले निर्माताहरुको वेचैनी झनै बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment