+
+

अमरेश कुमार सिंहलाई कारबाही गर्न उनकै जिल्लाका जनप्रतिनिधि र नेताहरुको माग

अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते ८:४२

८ साउन, जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा उनीहरुले गरेका छन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अमरेशले बुधबार पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाएका थिए ।

कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।

पार्टीको विधि विधान अनुरुप कारबाही गरी वडादेखि क्षेत्रसम्मको निर्णयको इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन माग गरिएको प्रदेश सभा सदस्य एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले जानकारी दिए । ‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए हामी आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिन्छौं’ उनीहरुले पार्टी सभापतिलाई पठाएको पत्रमा लेखिएको छ ।

अमरेशमाथि लगाइएको आरोप

मन्त्री सिंहसहित, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रिय सभापति राम आश्रय साह, बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितु कुमारी यादव, क्षेत्रिय सभापति हरेन्द्र सहनी, अशोक कुमार सिंह, बाल किशोर सिंह, उपेन्द्र महतो, लालबाबु महतो, बैजनाथ प्रसाद सिंह र राम एकवाल साहले संयुक्त रुपमा पठाएको पत्रमा अमेरश कुमार सिंहविरुद्ध बिभिन्न आरोपहरु लगाइएको छ ।

अमरेश सिंहको पार्टी विरोधी कृयाकलाप तथा व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनीहरुको भनाइ छ ।

यस्तै, पार्टीको विधी, विधान, पद्धति र संगठनको निर्णयलाई सधैं बेवास्ता गरी कुल्चेर अगाडि बढ्न खोज्ने, पार्टीका कार्यक्रमहरुमा सहभागी नहुने, कांग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफू अनुकूल काम नगरेमा मुद्दा लगाइदिने धम्की दिने गरेको पत्रमा उल्लेख गरिएको छ ।

पटक–पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराउने, विपद र दैवी प्रकोपको बेला पनि एक पटक क्षेत्रमा नआउने र अहिले महाधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा नआउने तर वडा, पालिका, प्रदेश, क्षेत्र, प्रतिनिधि सभामा क्षेत्र र जिल्ला कार्य समितिहरुले गरेका निर्णयहरुलाई नमानी कुल्चेर अगाडि बढ्न बिभिन्न जालझेल र तानाशाही प्रबृत्ति अबलम्बन गर्ने गरेको पत्रमा उल्लेख गरिएको छ ।

परिवारका १३ जना सदस्यलाई सदस्यता, तर सानेपामा अनशन

यसैबीच सांसद अमरेश कुमार सिंहले आफ्नै परिवारका १३ जना सदस्यलाई क्रियाशील सदस्यता दिलाएका व्यक्तिलाई पनि बिनाकारण पार्टी कार्यालय सानेपामा अनसन बस्न लगाएको आरोप पनि लागेको छ ।

सर्लाहीको क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका १ (विगतको मानपुर गाविस) का रामगोबिन्द रायले आफ्ना परिवारका १३ जनालाई क्रियाशिल सदस्यता दिलाउँदा समेत उनी अमरेशकै उक्साहटमा विना कारण अनसनमा बसेको भन्दै वडा सभापतिले पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

अमरेश सिंहले पार्टीलाई बदनाम गर्न र महाधिवेशन ओझेलमा पार्न विना कारण अरुलाई पनि अनसन बसाएको पत्रमा भनिएको छ ।

हेर्नुहोस् पार्टी सभापति शेरबहादुर देउवालाई पठाइएको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?