Comments Add Comment
अग्रपथ :

देउवा, हाइपोकन्ड्रिया र परकाया-प्रवेश

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री भए । देउवा तेस्रोपटक प्रधानमन्त्री हुँदा मेरो लेखको शीर्षक थियो- ‘देउवा, हाइपोकन्ड्रिया र परकाया-प्रवेश’ । देउवाबारे लेख्नु, लेख्न खोज्नु आफैंमा एक अमूर्त र धमिलो प्रयत्न हो, जस्तो कि स्वयम् देउवाको व्यक्तित्व छ । तर, समयले त्यस्ता मोडहरू ल्याउँछ, चाहेर/नचाहेर लेख्न बाध्य हुन्छौं । २०६१ साल असार २२ गते त्यो लेख पूर्वको चर्चित दैनिक ‘ब्लाष्ट टाइम्स’ मा प्रकाशित थियो । आज १७ वर्ष १८ दिनपछि त्यही शीर्षक जस्ताको त्यस्तै दोहोर्‍याउँदैछु ।

बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता महान् हस्तीहरूको राजनीतिक उत्तराधिकार देउवा बन्न सके । इतिहासले देउवालाई यो अवसर आफैं दियो कि देउवाले इतिहासबाट खोसेर लिए ? यो प्रश्नमाथिको बहस सर्वथा रोचक हुनेछ । तर, पाँच/पाँचपटकसम्म प्रधानमन्त्री भएका देउवालाई सेखपछि इतिहासले किन र के कामका लागि सम्झिनुपर्ने हो, त्यो अझै प्रष्ट छैन । तथापि उनी हाम्रा विधिसम्मत प्रधानमन्त्री हुन्, पाँचौं पटकका । सम्भावना छ- उनी अझै दुईपटक प्रधानमन्त्री हुनेछन् । अन्धविश्वास नै सही, ज्योतिषको भविष्यवाणी पाँचपटक मिल्दा बाँकी दुईपटक नमिल्ला भन्न सकिन्न ।

देउवा तेस्रोपटक प्रधानमन्त्री हुँदा सबैभन्दा बढी विवादित थिए । नारायणहिटी दरबारजस्तो अकल्पनीय तथा बीभत्स हत्याकाण्डपछि दोस्रोपटक राजा बन्ने योग जुरेका ज्ञानेन्द्र शाहले देउवालाई चुनाव गराउन ‘अक्षम’ भन्दै सत्ताबाट गलहत्याएर निकालेको केही महीनाभित्रै फेरि ‘पुनर्नियुक्ति’ गरेका थिए । त्यतिखेर देउवाको प्रतिक्रिया थियो- ‘गोर्खाली राजाले न्याय गर्छन् भन्ने सुनेको थिएँ, न्याय पाएँ ।’

प्रधानमन्त्रीको पदमा फर्किनु उनका लागि ‘न्याय’ थियो । तर, त्यो रस्साकस्सीमा लोकतन्त्र, संविधान, संवैधानिक मूल्य-मान्यता, पद्धति र प्रणालीले न्याय पाए कि पाएन भन्नेतिर ध्यान थिएन । व्यक्ति चाहे जतिसुकै अग्लो र शक्तिशाली होस्, प्रणालीभन्दा बाहिर उसको कुनै सान्दर्भिकता हुँदैन । त्यो भिन्नै समय थियो, देउवामाथि ‘लोकतन्त्र दरबारमा बुझाएको’ आरोप लागेको । आज अर्कै समय छ- ओली प्रतिगमनले धुजाधुजा पारेको लोकतन्त्र, संविधानवाद र संविधानलाई ट्रयाकमा फर्काएको ।

देउवाले ‘गोर्खा सुन्नु’ स्वाभाविक थियो- किनकि उनी डोट्याल क्षेत्रका थिए । ‘गोर्खा सुन्ने’ हरूको अनुभूति ‘गोर्खा भोग्ने’ हरूको भन्दा भिन्नै हुनु स्वाभाविक हो । अन्यथा गोर्खाली राजाको न्याय उहिल्यै राम शाहको चौतारो झैं भत्किसकेको थियो । ‘शेरे सुदूरपश्चिम’ कहलिएका देउवा काठमाडाैंमा पैतालादेखि टुप्पीसम्मै सहवरण हुँदै थिए । डोट्याल र कुमाउँ गढवाल क्षेत्रमा प्रचलित गोर्खाली राजा र सिपाहीबारेका जनश्रुतिहरू उनका लागि विस्मृत भइसकेका थिए । शाहवंशीय राजतन्त्र र राणावंशीय कुलीनतन्त्रको अंश आरजू राणा हुँदै देउवासम्म सहवरण भएको थियो ।

मानिस ठान्थे कि ज्ञानेन्द्र शाह र देउवाबीच साइनोसम्बन्धको मोह छ । आरजूले यी दुई खलकलाई कुनै न कुनै प्रकारको रसायन वा जुइनोले जोड्ने छिन् । शायद देउवाको मनमा पनि त्यो आशा र अपेक्षा मरिसकेको थिएन । त्यसैले ‘असोजतन्त्र’ लाई उनले अन्तिम ठानेनन् । प्रचण्ड-बाबुरामको टाउकोको मूल्य तोकिरहे । ‘गोर्खाली न्याय’ को त्यान्द्रो समातिरहे । जब ‘मकरतन्त्र’ आयो, ज्ञानेन्द्र शाहको निरंकुशताको जोरलात्ती देउवाको मात्र हैन, सिङ्गो देश, जनता र लोकतन्त्रकै छातीमा बज्रिरह्याे, अनि मात्र उनको होश खुल्यो । त्यही बेलादेखि मानिसले देउवालाई ‘होस्ल्याङ्गे’ भन्न थाले ।

अब थोरै ‘हाइपोकन्ड्रिया’ शब्दको पृष्ठभूमि चर्चा गर्न चाहन्छु । यो शब्द मैले महान् रुसी उपन्यासकार फ्योदोर दोस्तोभस्कीको उपन्यास ‘क्राइम एण्ड पनिसमेन्ट’ को भूमिकाबाट टिपेको थिए । सन् १८६६ मा दोतोभस्कीको यो उपन्यास छापिएको थियो । तुरुन्तै साहित्य समीक्षकहरूबीच ठूलो बहस सृजना भयो । अक्सर उपन्यासका नायकहरू ‘नायकत्व’ ले भरिएका हुन्थे । ती कस्तै अप्ठ्यारोमा पनि आत्मसमर्पण गर्दैनथे । उपन्यास, कथा, नाटक वा सिनेमामा नायक हुनुको अर्थ-धीरता, वीरता, प्रष्टता, त्याग, बलिदान र प्रतिबद्धता हुनु हो । तर, ‘क्राइम एण्ड पनिसमेन्ट’ मा दोस्तोभस्कीले खडा गरेको नायक बिल्कुल उल्टो थियो ।

उपन्यासको नायक रस्कोलनिकभ पिटर्सवर्ग विश्वविद्यालयमा पढ्ने विद्यार्थी हो । ऊ डेरामा बस्छ । घरमालिक्नी बुढी अल्योना इभानोम्ना दुष्ट, कुरुप, मक्खीचुस र गनगने छे । कोठा भाडाको निहुँमा ऊ डेरावाललाई सताउँछे । बुढी इभानोम्नाको मूल पेशा भने सुदखोरी हो । ऊ मानिसलाई चर्को ब्याजदरमा ऋण लगाउँछे र लुट्छे ।

रस्कोलनिकभ घरमालिक्नी इभानोम्नालाई घृणा गर्दछ । यति धेरै घृणा गर्दछ कि उनको हत्या गर्ने भावना मनमा आउँछ । दुष्ट सुदखोर बुढीको हत्या गर्नु राम्रो कि नराम्रो भनेर ऊ सोच्न, मनमनै तर्क गर्न थाल्दछ । उसलाई लाग्छ कि हत्या जायज र वीरोचित कर्म हो । इतिहासमा महान् र शक्तिशाली भनिएका कुन मानिसले हत्या गरेका छैनन् र ? कसै न कसैको हत्या नगरिकन कोही महान, भगवान, सम्राट वा शक्तिशाली बनेकै छैन । नेपोलियनले त्यति धेरै युद्ध गरे, आखिर युद्ध पनि एकप्रकारले हत्या नै हो, फेरि किन नेपोलियनलाई महान् भनियो ?

रस्कोलनिकभ ठान्छ कि उसमा नेपोलियनको अंश छ, त्यसैले बुढी इभानोम्नाको हत्या गर्ने भावना उसको मनमा आएको हो । आफूभित्रको नेपोलियनलाई मर्न नदिन उसले कसै न कसैको हत्या गर्नै पर्दछ । त्यसका लागि सुदखोर बुढी इभानोम्ना उपयुक्त पात्र हो । अन्ततः रस्कोलनिकभले बञ्चरोले टाउकोमा हिर्काएर इभानोम्नाको बीभत्स हत्या गरिदिन्छ ।

कथाको वास्तविक सारतत्व भने त्यसपछि शुरु हुन्छ । रस्कोलनिकभ हत्यापछि यति धेरै मानसिक अशान्तिले छटपटिन्छ कि ऊ सामान्य मानवीय जीवनबाट अगलावमा परेको अनुभूति गर्न थाल्दछ । दोस्तोभस्कीलाई ‘अस्तित्ववादी दर्शन’ का प्रारम्भकर्ता मानिनुको एक महत्वपूर्ण कारण त्यही ‘मानवीय अगलावको अनुभूति’ हो, जो रोस्कोलनिकभको मनोदशामार्फत ‘क्राइम एण्ड पनिसमेन्ट’ मा वर्णित हुन्छ ।

इभानोम्नाको हत्या शहरको चर्चित घटना बन्छ । तर, प्रहरीले हत्यारा पत्ता लगाउन भने सक्दैन । कसोकसो रस्कोलनिकभ जोगिइरहन्छ, कसैले उसप्रति शंका गर्दैन, शंका गरे पनि कुनै प्रमाण पुग्दैन । मुद्दा जब मानिसले बिर्सिन थाल्दछन्, हत्या पच्ने र रस्कोलनिकभ बच्ने स्थिति सृजना हुन्छ, तब उसले आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्दछ । यो आत्मसमर्पणबाट सिंगो शहर र प्रहरी संगठन आश्चर्यचकित हुन्छ ।

पार्टी फुटाएर केही महीनाभित्रै एकता गर्नु, फेरि त्यही एकीकृत कांग्रेसको नेतृत्वभित्र गुटबन्दीबाट नेतृत्व हत्याउन भने सफल हुनु, प्रचण्ड-बाबुरामको टाउकाको मूल्य तोक्नु र तिनै प्रचण्डलाई प्रधानमन्त्रीको पदमा बसेर युद्धकालमै ‘हिम्मतबार नेता’ भन्नु, प्रचण्डसँगको बारम्बारको सहकार्य र सम्बन्धविच्छेद स्वाभाविक नियति बन्नु देउवाका ‘हाइपोकन्ड्रिया’ हरू नै त हुन् ।

साहित्य समीक्षकहरूको हैरानी के थियो भने रस्कोलनिकभ कसरी नायक हो ? नायक विनाको उपन्यास हुन्छ ? यदि हत्या जायज थियो भने किन आत्मसमर्पण गर्‍यो ? यदि आत्मसपर्मण गर्नु थियो भने किन हत्या गर्यो ? हत्या गर्दा वीरोचित भावना आउनु र पछि फेरि आत्मसमर्पण गर्नु बीच मानसिक संगति छैन । नायकमा मानसिक संगति र आदर्श चरित्र हुनुपर्दछ । कि त उसले बुढीको हत्या गर्नु हुन्थेन कि त उसले प्रहरीसमक्ष आत्मसमर्पण गर्नु हुन्थेन । तसर्थ रस्कोलनिकभ नायक हैन । फ्योदोर दोस्तोभस्कीले नायकत्व विनाको उपन्यास लेखेर पाठकलाई बेवकुफ बनाए । उपन्यास विधाको अपमान गरे जस्ता आरोप लागे ।

तर, यस्तो आरोप धेरै दिन टिकेन । दोस्तोभस्कीको उपन्यास झनझन लोकप्रिय हुँदै गयो । अर्को बहस सामुन्ने आयो । उपन्यास झनझन लोकप्रिय हुँदैछ भने त्यो उपन्यास हो । रस्कोलनिकभको चरित्रमा संगति होस् कि नहोस् ।

अन्ततः समीक्षकहरूले दोस्तोभस्कीलाई माफी गर्दै भने- ‘मानिसमा हाइपोकन्ड्रिया भन्ने मानसिक रोग हुन सक्दछ, रस्कोलनिकभमा त्यही मानसिक रोग थियो, दोस्तोभस्कीले हाइपोकन्ड्रिया भएको मानसिक रोगीको चित्रण गरेका हुन् ।’

यस्तो मानसिक रोग हुन्छ कि हुँदैन, आजसम्म पनि ‘मेडिकल साइन्स’मा बहस छ । तर, त्यो लेख लेख्दा मलाई लागेको थियो कि हाम्रा देउवाजीमा कुनै न कुनै प्रकारको ‘हाइपोकन्ड्रिया’ छ । आज पनि त्यही लाग्दछ ।

ज्ञानेन्द्र शाहको असोजतन्त्रले ‘अक्षम’ भनेर बर्खास्त गर्नु, फेरि पुनर्नियुक्ति हुनु, पुनर्नियुक्ति देउवाले सजिलै स्वीकार गर्नु, पुनर्नियुक्तिलाई ‘गोर्खाली राजाको न्याय’ देख्नु, फेरि मकरतन्त्रमा बर्खास्त हुुनु, गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक ‘गडफादर’ स्वीकार गर्नु, फेरि गिरिजाप्रसादकै विरुद्ध नेपाली कांग्रेस विभाजित गरी ‘प्रजातान्त्रिक कांग्रेस’ बनाउनु, आफ्नो नेतृत्वको पार्टीबाट एक चुनावसम्म पनि भिन्नै लड्ने साहस नहुनु, पार्टी फुटाएर केही महीनाभित्रै एकता गर्नु, फेरि त्यही एकीकृत कांग्रेसको नेतृत्वभित्र गुटबन्दीबाट नेतृत्व हत्याउन भने सफल हुनु, प्रचण्ड-बाबुरामको टाउकाको मूल्य तोक्नु र तिनै प्रचण्डलाई प्रधानमन्त्रीको पदमा बसेर युद्धकालमै ‘हिम्मतबार नेता’ भन्नु, प्रचण्डसँगको बारम्बारको सहकार्य र सम्बन्धविच्छेद स्वाभाविक नियति बन्नु देउवाका ‘हाइपोकन्ड्रिया’ हरू नै त हुन् ।

‘परकाया-प्रवेश’ भने पूर्वीया तन्त्रशास्त्रको एक विद्या हो । यो विद्या प्राप्त मानिसको आत्मा अर्को मानिसको शरीरमा प्रवेश गर्न सक्दछ । जसको शरीरमा प्रवेश गर्दछ, बाहिर देखिंदा अर्काको शरीर देखिन्छ, कर्म भने आत्माको इच्छानुसार हुन्छ । ‘परकाया-प्रवेश’ विद्यामा सिद्ध ऋषिमुनिहरू सुन्दरस्त्रीका पतिको देहमा आत्मप्रवेश गरी स्त्रीभोग गर्दथे । त्यसो गर्दा उनीहरूले ऋषिमुनि हुनुको सत्वबाट च्युत नभएको भ्रम पनि समाजलाई दिइरहन सक्थे, आफ्नो शरीरमार्फत भोग गर्न नपाएका स्वाद र आनन्दहरू अर्काको शरीरमार्फत प्राप्त गर्थे र आफ्नो आत्मलाई तृप्त पार्थे ।

अब समकालीन परिवेशमा फर्काैं । जस्तो कि एमाले ओली समूहको गुनासो छ- ‘ओली कम्तीमा कम्युनिष्ट नामधारी थिए, वामपन्थी आन्दोलनबाट आएका थिए, ओलीको सरकार हटाएर देउवा ल्यायौं, देउवा कुन नचिनेका इष्ट हुन् र ? ओली गए, देउवा आए, के नै फरक पर्ला, जब केही हुनेवाला छैन, यस्तै हो, उस्तै रहने हो, ओलीलाई नै रहिरहन दिएको भए के बिग्रिन्थ्यो ? मानौं कि ओली दुष्ट थिए, देउवा कुन गतिला छन्, देउवाले कुन रामराज्य ल्याउँछन् ?’

यो स्वीकार गर्न कुनै गाह्रो छैन कि ओलीभन्दा देउवा ‘खासै गतिला’ हैनन् । देउवाको प्रधानमन्त्रीत्व वा नायकत्वले त्यस्तो कुनै छाप इतिहासमा अहिलेसम्म परेको छैन, जस्तो कि बीपी, गणेशमान, किसुनजी वा गिरिजाबाबुले पारे । त्यसो त यहाँनेर अर्को तर्क सृजना हुन्छ- समकालीन नेतृत्वको पुस्तामा कसलाई त्यस्तो गतिलो मान्ने ? जो ओलीको प्रतिस्थापनमा सहयोगी र नयाँ प्रधानमन्त्रीका रुपमा सम्भव हुन्थ्यो ? परिदृश्यमा देउवाबाहेक अरु कोही थिएन, अलिअलि महन्थ ठाकुरको चर्चा थियो । ‘मेरा लागि ओलीजी नै सजिलो हुन्छ’ भन्दै स्वयं ठाकुरले त्यो सम्भावनालाई लत्याएका थिए ।

ओली समूहका कमरेडहरूले नबुझुेको वा बुझ्न नचाहेको सरल सत्य के हो भने पाँच वर्षको जनमत ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ का लागि हुन्छ, संसदीय व्यवस्थाको प्रधानमन्त्रीका लागि हैन ।

देउवा केही हैनन्, उनीसँग कुनै क्षमता नै थिएन भने कसरी पाँच/पाँचपटक प्रधानमन्त्री भए ? यसको उत्तर कसैसँग छैन । रस्कोलनिकभको छविमा नायकत्व होस् कि नहोस्, ‘क्राइम एण्ड पनिसमेन्ट’ लोकप्रिय उपन्यास हो भनेर त सबैले स्वीकार गरेकै हो । ‘ओली’ र ‘देउवा’ को ‘गाई कि त्रिशूल’ उफारेर जब हामी ‘देउवा’ पल्टिंदा बाजी मारेको खुशी हुन राजी छौं भने एमाले ओली समूहका कमरेडहरूले बुझ्नुपर्दछ कि खेलको स्तर कतिसम्म क्षयीकरण भइसकेको थियो ।

ओली समूहका कमरेडहरूले नबुझेको वा बुझ्न नचाहेको सरल सत्य के हो भने पाँच वर्षको जनमत ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ का लागि हुन्छ, संसदीय व्यवस्थाको प्रधानमन्त्रीका लागि हैन । संसदीय व्यवस्थाको प्रधानमन्त्री ‘जनादेश’ ले बनेकै हुँदैन, ताकि त्यसलाई ‘परमादेश’ बिदाबारी गर्न नसकोस् । बरु त्यो संसदभित्रको बहुमतको प्रतिबिम्ब हो । ओली देशभरिको बहुमत नागरिक वा मतदाताको समर्थन पाएर प्रधानमन्त्री भएका थिएनन्, संसदभित्रको बहुमतले बनेका थिए । जब संसदभित्रको बहुमत गुम्छ, प्रधानमन्त्री स्वतः गयो भन्ने बुझ्नुपर्दछ । संसदभित्रको बहुमत गुमाएर पनि जब कोही प्रधानमन्त्री भइरहन चाहन्छ, त्यो व्यक्ति वा दल संसदीय व्यवस्थाप्रति प्रतिबद्ध छैन भन्ने बुझिन्छ ।

राम्रो हुन्थ्यो- ओली समूहका कमरेडहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ को पक्षमा संविधान संशोधन माग गरेको भए । तर, संविधानको ‘धारा ७६ (५) संशोधन’ माग गर्ने निर्णय भएछ । जब कोही पाँचवर्षे स्थिर जनादेशको चाहना राख्दछ भने संसदीय प्रणालीको समर्थक हुन सक्दैन । संसदीय प्रणालीमा त्यस्तो सम्भव/असम्भव दुवै हुन सक्दछ । ‘जनादेश’ कि ‘परमादेश’ भन्ने बहस त्यतिकै निम्नकोटिको हो, जस्तो कि कुनै बेला ‘जनादेश’ कि ‘मतादेश’ को बहस भएको थियो ।

देउवा उचित विकल्प नमान्ने हो भने ओलीको बहिर्गमनपछि अरु को सम्भव थियो त ? के हामीले त्यस्तो कुनै प्रणाली बनाएका छौं कि गगन थापा दौडँदै आएर सिंहदरबारको कुर्सीमा बसून् ? संसदीय व्यवस्थामा सरकारको विकल्प को हुन्छ ? प्रमुख प्रतिपक्षी दलको नेता नै त हो, जसलाई ‘बेटिङ प्राइममिनिष्टिर’ भनिन्छ । यो नौवत, परिबन्द वा स्थिति कसैलाई मन परे पनि, मन नपरे पनि संसदीय लोकतन्त्रको अन्तर्निहित प्रणाली वा तत्व हैन र ?

स्वाभाविकरुपमा हामीकहाँ त्यस्ता थुप्रै ऋषिमुनि छन्- जसले प्रधानमन्त्री पदको लोभ नभएको भान सृजना गर्नु परेको छ । उनीहरूको ‘परकाया-प्रवेश’ ओलीभन्दा देउवा नै सहज पात्र हुन् शायद । ओली टिकिरहन चाहन्थे भने प्रचण्ड र माधव नेपालको ‘अतृप्त आत्म’ लाई आफ्नो शरीरमा प्रवेश दिएको भए भइहाल्थ्यो । ओलीको शरीरमार्फत प्रचण्ड-माधवको आत्मले सत्तांश भोग गर्दथ्यो । देउवा, बाबुराम वा उपेन्द्र यादवले के नै गर्न सक्दथे ?

ओलीको चरित्र ‘क्राइम एण्ड पनिसमेन्ट’ मा दोस्तोभस्कीले सृजना गरेकी दुष्ट पात्र इभानोम्नाभन्दा कुनै अर्थमा कम थिएन । फरक कति मात्र हो भने तथापि देउवाको मनमा ओली सरकार ढाल्ने तीव्र इच्छा कहिल्यै देखा परेन । देउवाभित्रको रस्कोलनिभक बिल्कुलै उल्टो थियो, जो हत्यालाई वीरोचित ठानेर हैन, ‘अहत्या’ को भावले ओतप्रोत हुँदै ‘ओली सरकारको हत्या’ मा सामेल भयो । ओली समूहका साथीहरूले देउवा विरुद्ध जतिसुकै अराजनीतिक प्रचारबाजी गरून्, यो सबैलाई थाहा छ कि देउवा एक अनिच्छुक र बाध्यकारी प्रधानमन्त्री हुन् जसबाट कुनै गतिलो कामको अपेक्षा गर्न आवश्यक नै छैन ।

दुईतिहाइको सरकारले गर्न नसकेको त्यस्तो के काम ‘टालाटुली बटुलीको पुतली सरकार’ ले गर्न सक्ला ? तर, त्यो कसको कमजोरी हो ? ‘दुईतिहाइ’ को कि ‘टालाटुली बाटुली’ को ? देउवाको ‘निमित्त नायकत्व’ ले कम्तीमा संविधानवादको कोर्स सहीसलामत रह्यो र आगामी चुनावहरू समयमै हुनसके, त्योभन्दा ठूलो गुन पाँचौं पटकको प्रधानमन्त्रीत्वमा अरु केही हुने छैन । आशा त ओली सरकारसँग थियो र वितृष्णा भयो, जससँग कसैको खासै अपेक्षा छैन, उसलाई आम घृणाको लौरोले हिर्काउँदैमा इतिहासको शरीरमा कुनै गतिलो सुम्ला उठ्ने वा डाम बस्नेवाला छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

ट्रेन्डिङ

Advertisment