१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा शुक्रबार नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दैछन् ।
उनले महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्नेछिन् । मुख्य हिटमा पुग्नका लागि नै प्रारम्भिक चरण पार गर्नुपर्नेछ । प्रारम्भिक चरणमा तीन वटा हिट छन् । जसमध्ये नेपालकी सरस्वती हिट २ मा छिन् । जहाँ उनले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेण्ड रहेको छ । उनले २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा उक्त समयमा १०० मिटर दौड पूरा गरेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।
सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखेकी छन् ।
महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएपनि पछि म्यारथनमा धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो ।
टोकियोमा सहभागी भएका पाँचमध्ये चार खेलाडीले यसअघि नै प्रतिस्पर्धा गरिसकेका छन् । जसमा सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरे । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।
प्रतिक्रिया 4