
७ भदौ, चितवन । गएको साउन ७ गते भरतपुर महानगरपालिका वडा नं.–१७ सिमलडाँडाको खेत नजिकै एक युवक मारिएको खबर आयो । उनलाई गोली हानेर मारिएको खबर आए पनि प्रहरीले पुष्टि गर्न समय त लगायो नै मृतकको पहिचान पनि ढिला गरी मात्रै भयो ।
धादिङ निलकण्ठ नगरपालिका–१३ घर भई नेपाली सेनाको महिन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय सैनिक हुद्दा भरत गुरुङलाई गोली हानी हत्या गरेको पुष्टि भयो ।
गुरुङको हत्या भएको २४ घण्टा पनि नपुग्दै प्रहरीले सोही दलमा कार्यरत भरतपुर महानगरपालिका–२१ पार्वतीपुर रंगिला घर भएका सैनिक गंगाधर ढकाललाई पक्राउ गर्यो । गुरूङको हत्यामा प्रयोग भएको एसएमजी हतियार भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा रहेको झाडीमा फेला पर्यो ।
ढकाल हतियार झाडीमा फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए । फुपूको घरमा कपडा धोएपछि उनी दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर फरार भएका थिए ।
तर उनलाई गुरुङको हत्या भएको भोलिपल्टै पक्राउ गर्न प्रहरी सफल भयो । जग्गा खरीद सम्बन्धी कामका लागि निकालेको ९ लाख रकमका लागि ढकालले आफ्नै गणमा कार्यरत साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
गणबाट एसएमजी चोरेर साथीको हत्या
ढकालले भरतपुरको कालीबहादुर गणबाट हतियार चोरेर साथीको हत्या गरेको बयान दिएका छन् ।
सैनिक जवानको हत्या र हतियार चोरी प्रकरणमा थप अनुसन्धान तथा कारबाहीका लागि चितवन प्रहरीले अभियुक्त ढकाललाई नेपाली सेना समक्ष भदौ १ गते बुझाएको छ । मिसिलसहित ढकाललाई सेनासमक्ष बुझाइएको चितवन प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
कालीबहादुर गणबाट हराएको भनिएको हतियार र अभियुक्त ढकालले गुरुङको हत्यामा प्रयोग गरेको हतियार एउटै रहेको जानकारी सेनाले दिएको छ ।
प्रहरीका अनुसार विगत राम्रो नभएका गंगाधर ढकाल गाउँमा पनि विवादित थिए । सेनामा भर्ती भएपछि महेन्द्र दल गण भरतपुरमा दुई वर्षजति काम गरे, गण शिवपुरी गएपछि उनी पनि त्यतै गए ।
ढकालले हतियार चोर्ने उद्देश्यले नै घर विदामा आएर सैनिक पोशाक लगाएर चौविसकोठी र त्रिचोकको बीचबाट सेनाको ब्यारेकभित्र प्रवेश गरेको बयान दिएका छन् । काठमाडौं सरुवा भए पनि उनलाई यहाँको गणको अवस्थाबारे जानकारी भएकाले हतियार चोर्न सहज भएको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार ढकाल सेनाको ब्यारेकको काँडेतारबाट २०७५ पुस ८ गते राति १० बजेतिर छिरे । केही समय झाडीमा लुकेर बसे । राति १२ बजेतिर हतियार राख्ने कोत गारदको पछाडिको झ्यालबाट भित्र पसे र हतियार चोरे ।
लुटपाट गर्ने उद्देश्यले उनले ब्यारेकबाट पेस्तोल चोर्ने योजना बनाएका थिए । तर ढकालले पेस्तोल भेटेनन् । एम–१६ गह्रुंगो हुने भएकाले फोल्डसमेत गर्न सजिलो हुने भएकाले एसएमजी चोरेको पाइएको प्रहरी बताउँछ ।
हतियार चोरेर घरमा भएको परालको टौवामुनि लुकाएको उनको बयान छ । हतियार चोरेको परिवारका सदस्यलाई भने जानकारी नगराएको ढकाललाई उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।
अहिले कार्यरत गणबाट उनले ७९ वटा गोलीसमेत जम्मा पारेका थिए । ७१ वटा गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । उनको झोलामाट ५ र घटनास्थलमा तीनवटा गोली र खोका फेला परेका थिए ।
हतियार चोर्ने गंगाधर, जेल जाने लवकुमार र सरोज
जिल्ला कारागार चितवनमा विगत साढे दुई वर्षदेखि सैनिक जवानहरू लवकुमार गुरूङ र सरोज तामाङ सोही हतियार चोरीको आरोपमा सजाय भोगिरहेका छन् ।
कालीबहादुर गण भरतपुरबाट हतियार चोरीको अभियोगमा उनीहरुले सजाय भोगिरहेको भरतपुर कारागारका प्रमुख कमल काफ्लेले बताए । सेनाले हतियार चोरीको मुख्य योजनाकार नै गुरूङ र तामाङ रहेको भन्दै कोर्ट मार्सल गरेको थियो ।
उनीहरु दुबै जनालाई जबरजस्ती हतियार चोरेको भनेर स्वीकार्न लगाएको आरोप सेनामाथि लागेको छ । यसले सैनिक अदालतको न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
चोरी गरेको हतियार बिक्रीसमेत गरेको भनिए पनि हतियार कहींकतै फेला पर्न सकेको थिएन । भरत गुरूङ हत्यामा प्रयोग भएको हतियार प्रहरीले फेला पारेपछि भने सेनाको सो हतियार लव र सरोजले नभई ढकालले चोरेको खुलेको छ ।
लवकुमारको नाता पर्ने आफन्तहरू उदयपुर त्रियुगा नगरपालिकाकी २८ वर्षीया महिला र उदयपुरको चौदण्डीगढी नगरपालिकाका २१ वर्षीय पुरुष विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलेको थियो । पुर्पक्षका लागि कारागार चलान भएका उनीहरुलाई पछि चितवन जिल्ला अदालत र उच्च अदालतले सफाइ दिएको थियो ।
भरतपुर कारागारका प्रमुख काफ्लेले कारागारमा रहेका दुई जनाले उच्च अदालतमा पुनरावेदन गरेको बताए । ‘यता सैनिक अदालतबाट पनि केही कुरा आउला, हामीले ठ्याक्कै यसै भन्न सकिएन,’ जेलर काफ्लेले भने, ‘निर्दोष ठहरिएमा जेलमा राख्ने कुरा त भएन नि ।’
प्रतिक्रिया 4