+
+

पीआरसी नआउँदा जनक शिक्षाले कक्षा १२ को पाठ्यपुस्तक छपाइ शुरु गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १५:२४
निजी प्रकाशन गृहले छापेर बजारमा ल्याएको पुस्तक

७ भदौ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी (प्रिन्ट राइट कपी) नपाएकाले कक्षा १२ को पुस्तक प्रकाशन शुरु गर्न नसकेको बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छाप्ने कार्य शुरु गर्न नसकिएको हो ।

पाठ्यक्रम विकास केन्द्रले पीआरसी तयार भइरहेको र तयार भएपछि दिने भनेर जवाफ दिएको उनले बताए । ‘पाठ्यक्रम विकास केन्द्रले हामीलाई तयारी भइरहेको र भइसकेपछि पीआरसी दिने भन्ने उत्तर पाएका छौं,’ उनले भने, ‘निजीले भने प्रकाशन गरेर पनि बजारमा ल्याइसकेको अवस्था छ ।’

उनका अनुसार नेपाली विषयको मात्रै पीआरसी पाएको छ । १२ कक्षाको पढाइ शुरु हुन थालिसकेको भए पनि जनक शिक्षाले पुस्तक प्रकाशन गर्न थालेको छैन ।

तर पाठ्यक्रम विकास केन्द्रले भने जनक शिक्षा केन्द्रलाई एक हप्ता अघि नै पीआरसी पठाइसकेको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘हामीले एक हप्ता अगाडि नै पीआरसी जनक शिक्षालाई पठाइसकेका छौं । किताब नै वेबसाइटमा राखिसकिएको छ ।’

नीति विपरीत पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशन गृहलाई दिएको गुनासो

जनक शिक्षा सामग्री केन्द्रका एक कर्मचारीका अनुसार पाठ्यक्रम विकास केन्द्रले नीति विपरीत निजी प्रकाशन गृहलाई पाठ्यपुस्तक प्रकाशनका लागि पीआरसी दिएको छ ।

२०७५ साल कात्तिक १४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ देखि १२ सम्मका विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने निर्णय गरेको थियो । । निजी प्रकाशन गृह तथा वितरकले कक्षा १ देखि ४ कक्षाको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने निर्णय भएको थियो । उक्त निर्णय अनुसार कक्षा ५ देखि कक्षा १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्न पाउने उनले बताए । तर, जनक शिक्षाले कक्षा ११ को गणित विषयको र कक्षा १२ को नेपाली बाहेक सबै विषयको पीआरसी प्राप्त नभएको जनाएको छ ।

कक्षा ११ को गणित विषय र १२ को सबै विषय नयाँ पाठ्यक्रम अनुसार छाप्नुपर्नेछ । सरकारले गत शैक्षिक सत्रमा कक्षा १, ११ मा र चालु शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ कक्षामा नयाँ पाठ्यक्रम लागू गरेको छ ।

त्यही अनुरुप नयाँ पाठ्यक्रम अनुसार पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा किताब राखेको छ ।

तर निजी प्रकाशन गृहले पुस्तक प्रकाशन गर्न नपाउने भन्ने कुनै पनि निर्णय नभएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले बताए । ‘पुस्तक छाप्न पाउने नपाउने केही निर्णय भएको छैन । १२ कक्षाको किताब नेपाल सरकारले पनि बनाउँछ । र निजी प्रकाशन गृहहरुले पनि थप पाठ्यसामग्रीको रुपमा स्वीकृति लिएर बजारमा लान पाउँछन् ।’ त्यसै अनुरुप पाठ्यक्रम विकास केन्द्रबाट सूचीकरण, नवीकरण भएका प्रकाशक तथा मुद्रकहरुले किताब बजारमा ल्याएको उनको भनाइ छ ।

कक्षा ११ को गणित विषय अनिवार्य नगराउने निर्णय अनुसार छपाइ भएको थिएन । यो विषयमा विवाद भएपछि यो वर्ष नयाँ छाप्ने निर्णय गरिएको हो । कक्षा १२ को सबै विषय नयाँ पाठ्यक्रम अनुसार छापिने निर्णय गत वर्ष भएको हो ।

तर, पाठ्यक्रम विकास केन्द्रले भने सुकुन्दा पुस्तक भवन, आशिष बुक हाउस प्रालि, रिडमोर पब्लिसर एन्ड डिस्ट्रिब्युटर्स, एडभान्स सरस्वती प्रकाशन प्रालिलाई प्रकाशन तथा वितरणको लागि अनुमति दिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?