+
+

‘हिन्दू हुनु विभिन्न धार्मिक आस्थाहरूप्रति निरपेक्ष हुनु हो’

प्रशान्त सिंह प्रशान्त सिंह
२०७८ भदौ १२ गते ८:२३

संसारमा करीब दुई सय मुलुक छन् । तीमध्ये दुई मुलुक मात्रै हिन्दू बाहुल्य मुलुकहरू हुन्- नेपाल र भारत । दुइटैको संविधानले आ-आफ्नो प्रकारले धर्मनिरपेक्षतालाई अँगालेका छन् । किन होला ? दुइटै देशले धर्मनिरपेक्षतालाई संविधानको विशिष्टता बनाइरहँदा केही नागरिकहरूमा असन्तुष्टि भएकै हो । तर दुइटै देशको बहुसंख्यक जनताले यस प्रावधानको ठूलो विरोध नगरेको पनि सत्य हो । किन होला ? शायद मेरै जीवनमा घटित एक दृश्यले यसको जवाफ दिनसक्छ ।

मेरा एकजना साथी र म सिंगापुरमा गफ गर्दै इभिनिङ वाक् गरिरहेका थियौं । बोल्ने पालो मेरो थियो- मजाले बोली रहेको थिएँ । अचानक थाहा पाएँ- साथी त पछाडि पो छुटेछन् । फर्केर हेर्दा त साथी एउटा मन्दिर अगाडि प्रणामको मुद्रामा उभिएको रहेछ । मुस्किलले बीस मीटर पछाडि उभिइरहेको साथीतिर फर्कें । अनि देखें- मेरो साथीले चप्पल खोलेर, आँखा बन्द गरेर नमस्ते गरिरहेको दिशामा उभिएको भवन कुनै मन्दिर होइन, एउटा चर्च पो रहेछ ।

मेरो साथी सिङ्गापुरस्थित एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत एउटा साधारण हिन्दू धर्मावलम्बी हुन् । मेरो आँखामा प्रश्नवाचक मुद्रा देख्ने बित्तिकै भने- ‘मन्दिर अलि टाढै छ यहाँबाट । एउटै कुरा त हो नि साथी ।’

हामी दुवै आफ्नो कुराकानीमा फर्क्यौं । भ्याटिकनको सेन्ट पिटर्सबर्गको चर्च पुग्दा, दिल्लीको जामा मस्जिद घुम्न जाँदा, काठमाडौंकै कैयन् बुद्ध स्तूपामा जाँदा मैले पनि हिन्दू रिवाज अनुसार ईश्वरीय शक्तिलाई नमन गर्ने गरेको छु । यस्तो व्यवहार गर्ने मेरो साथी र म मात्रै होइनौं । अधिकांश हिन्दूले अन्य धर्मावलम्बीले आस्था गरेको स्थान र प्रतीकहरूप्रति आदर भाव राख्दछन् ।

धर्म के हो ?

अंग्रेजी ‘रिलिजन’ र संस्कृत शब्द ‘धर्म’ एउटै शब्द होइनन् । क्याम्ब्रिज अङ्ग्रेजी शब्दकोशको अनुसार रिलिजन शब्दको अर्थ ‘ईश्वर र पूजामा विश्वास गर्नु’ हो । हिन्दूले प्रयोग गर्ने धर्म भन्ने शब्द अंग्रेजीको रिलिजन शब्दभन्दा फरक र विस्तृत शब्द हो । धर्म शब्दलाई ईश्वर र अलौकिक शक्तिमा विश्वास नगर्नेहरू पनि आफ्ना आस्थालाई व्याख्या गर्न प्रयोग गर्दछन् । ‘धर्म’ शब्द संस्कृत भाषाको अक्षर ‘ध्री’ बाट उत्पन्न भएको बुझिन्छ । धर्मको अर्थ हो- ‘त्यो जसले पुष्टि गर्दछ ।’

यसले सर्वमान्य ‘नैतिक मूल्य’ तथा ‘ब्रह्माण्डीय कानून’ लाई जनाउँछ । हिन्दू मान्यताअनुसार सबै जीवजन्तु तथा निर्जीव वस्तुहरूको नैसर्गिक कार्य नै तिनको धर्म हो । उदाहरणका लागि- मह बनाउनु मौरीको धर्म हो । दूध दिनु गाईको धर्म हो । प्रकाश दिनु सूर्यको धर्म हो । बग्नु नदीको धर्म हो । यसैगरी मानव जातिको पनि एक निश्चित धर्म हुन्छ । जीविका आर्जनको दबाब र समाजमा व्याप्त विकृतिहरूको प्रभावले मनुष्य आफ्नो मूल स्वभावबाट टाढिन्छ । त्यसैले मनुष्यका लागि उसको मूल स्वभावको खोज र अभ्यास धर्म हो ।

वैदिककालमा धर्मको व्याख्या

वेदले भन्छ- व्याख्याहरू अनन्त हुन सक्दछन् । धर्मको यसप्रकारको बहुआयामिक चित्रणले गर्दा हिन्दू धर्मको कोही पनि ऋषि-मुनिले आफूलाई हिन्दू धर्मको प्रवर्तक भनेनन् । सत्यको पनि कोही प्रवर्तक हुन सक्दछ ? सत्यले त आफूलाई आफैं प्रमाणित गर्दछ

वैदिककालमा (ईसापूर्व १५०० देखि ५०० सम्म) वेदहरूलाई लिपिबद्ध गरिएको कुरा इतिहासकारहरूले मान्दछन् । प्राचीन श्रुति परम्पराअन्तर्गत लेखिनुभन्दा हजारौं साल पहिलादेखि नै वेदका श्लोकहरू गुरु-शिष्य परम्पराका माध्यमले जीवन्त राखिएको कुरा हिन्दूहरूले विश्वास गर्दछन् । यजुर्वेदको बृहदारण्यक उपनिषद्को यस श्लोकले धर्मलाई सत्यको रूपमा परिभाषित गरेको छ।

“धर्मः तस्माद्धर्मात् परं नास्त्य् अथो अबलीयान् बलीयाँसमाशँसते धर्मेण यथा राज्ञैवम् ।

यो वै स धर्मः सत्यं वै तत् तस्मात्सत्यं वदन्तमाहुर् धर्मं वदतीति धर्मं वा वदन्तँ सत्यं वदतीत्य् एतद्ध्येवैतदुभयं भवति ।”

श्लोकले भन्छ- धर्म भनेको ‘सत्य’ हो, असत्य कुरा धर्म हुन सक्दैन । धर्मभन्दा ठूलो केही पनि होइन । निर्बलले बलवानलाई, यहाँसम्म कि अधर्मी राजालाई पनि जित्न धर्मको प्रयोग गर्नुपर्ने हुन्छ । धर्म भनेको सत्य नै हो । त्यसैले यदि कुनै व्यक्तिले सत्य बोल्दछ भने उसले धर्म बोलेको मानिनुपर्दछ ।

वैदिक मतअनुसार सत्यको खोज निरन्तर हुनुपर्दछ । सत्यको खोजमा गरिने कर्म र सत्यको प्राप्ति नै धर्म हो । हिन्दूहरूका लागि धर्म खोज हो, आविष्कार होइन । साधन हो, साध्य होइन ।

वेदले प्रकृति पूजा, बहुदेववाद, एकेश्वरवाद, अनीश्वरवाद सबैलाई धर्मको रूपमा परिभाषित गरेको छ । वेदले सगुण र निर्गुण दुवैथरीको ईश्वरीय स्वरूपलाई मान्यता दिएको देखिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले आफ्नो सर्वोच्च धर्मग्रन्थ वेद पढे पनि, नपढे पनि ऋग्वेदले दिएको ज्ञान ‘एकं सद्विप्रा बहुधा वदन्ति’ मा विश्वास गरेको पाइन्छ । यस श्लोकले भन्दछ- सत्य एउटै हो, ज्ञानीहरू यसलाई फरक फरक तरीकाले व्याख्या गर्दछन् ।

वेदले भन्छ- व्याख्याहरू अनन्त हुन सक्दछन् । धर्मको यसप्रकारको बहुआयामिक चित्रणले गर्दा हिन्दू धर्मको कोही पनि ऋषि-मुनिले आफूलाई हिन्दू धर्मको प्रवर्तक भनेनन् । सत्यको पनि कोही प्रवर्तक हुन सक्दछ ? सत्यले त आफूलाई आफैं प्रमाणित गर्दछ ।

पौराणिककालमा धर्मको व्याख्या

पौराणिक कालमा (ईसापूर्व ५०० देखि ५०० ईसवीसम्म) हिन्दू समाजमा सगुण ईश्वरप्रतिको विश्वास बढ्यो । तर यसकालमा पनि कुनै एक ईश्वरीय शक्तिको व्याख्यामा हिन्दू समाजलाई बाँध्न सकिएन । विष्णु, शिव, ब्रम्हा र शक्तिका उपासकहरूले धर्मको आ-आफ्ना व्याख्याहरू गरे, पुराणहरू लेखे । विभिन्न सम्प्रदायहरू बने । तिनका अनुयायीहरू बने ।

बुद्ध धर्मको तार्किक दृष्टिकोण र समाजमा यसको फैलावटलाई हेरेर हिन्दू ऋषिहरूले पनि हिन्दू धर्मलाई आम मानिसले बुझ्ने गरी तार्किक तथा दार्शनिक विश्लेषण गर्न शुरु गरे । वेदलाई सत्य मान्ने दर्शनहरूलाई आस्तिक र नमान्नेहरूलाई नास्तिक दर्शन भनियो । आस्तिक दर्शन कालान्तरमा एक होइन, ६ वटा व्याख्यामा परिणत भए- सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त । यी दर्शनका प्रणेता क्रमश: कपिल, पतञ्जली, गौतम, कणाद, जैमिनि र वादरायण ऋषिहरूले सत्यको प्रकृति र धर्मको व्याख्या फरक-फरक रूपमा गरे । ६ वटा आस्तिक दर्शनमध्ये सांख्य र मीमांसाले ईश्वरलाई मानेनन् ।

वेदहरूलाई चुनौती दिने बुद्ध दर्शन र जैन दर्शन पनि हिन्दू समाजमध्ये नै अत्यन्त प्रभावशाली दर्शन र धर्मको रूपमा स्थापित भयो । वेदवाक्यहरूलाई परम सत्य मान्ने हिन्दू समाजले वेदहरूलाई बिल्कुलै नमान्ने चारवाक दर्शनका अनुयायीहरूलाई पनि समाजमा आफ्नो विचार सम्प्रेषण गर्न, शास्त्रार्थ गर्न रोक लगाएन । हिन्दू राजा चन्द्रगुप्त मौर्य जीवनको उतरार्धमा जैन मुनिका पछि लागे । उनकै पौत्र सम्राट अशोकले बुद्ध धर्मलाई पूर्णतया अङ्गीकार गरे । हिन्दूहरूले कालान्तरमा यी सम्राटहरूलाई धर्म विरोधी होइन, धर्मशील व्यक्तित्वको रूपमा चित्रित गरे । पौराणिककालमा पनि धर्मको व्याख्या एक होइन, अनेक नै रह्यो- झनै फराकिलो हुँदै गयो ।

आधुनिककालमा धर्मको व्याख्या

हिन्दू समाजबीच धर्मको फरक-फरक व्याख्या आधुनिक कालमा (५०० इस्वीदेखि आजसम्म) पनि भइराख्यो । प्रत्येक आस्तिक दर्शनभित्र पनि नयाँ-नयाँ व्याख्याहरू भई राख्यो । उदाहरणका लागि वेदान्त दर्शनलाई आठौं शताब्दीमा आदि शंकराचार्यले ‘अद्वैत’ दर्शन भनी परिभाषित गरे । तर एघारौं शताब्दीमा रामानुजले वेदान्तलाई ‘विशिष्ट अद्वैत’ भनी व्याख्या गरे । १३औं शताब्दीमा माधवाचार्यले त्यही वेदान्तलाई ‘द्वैत’ दर्शनको रूपमा अगाडि सारे । हिन्दू धर्मका विद्वानहरू एकअर्कासँग शास्त्रार्थ गरी आफ्नो दर्शन अरुको दर्शनभन्दा बढी तर्कसम्मत छ भनेर स्थापित गरी राखे । तथापि बृहद् हिन्दू समाजले सबै व्याख्याहरूको सह-अस्तित्वलाई स्वीकार गर्यो ।

११औं शताब्दीदेखि विश्वका ९५ प्रतिशत हिन्दू बस्ने भारतमा अरब, टर्की र अफगानिस्तानतिरबाट मुस्लिमहरूको आक्रमण शुरु भयो । भारतको अधिकांश भूमि ६०० वर्षसम्म विदेशी मुस्लिम सम्राटहरूको कब्जामा रह्यो । तर यस कालखण्डमा वर्तमान नेपालको सम्पूर्ण भूमि हिन्दू राजाहरूकै हातमा रह्यो । भारतमा मुस्लिम शासन भइराख्दा काठमाडौं उपत्यकामा मल्ल (हिन्दू) राजाहरूले राज्य गरिरहेका थिए ।

मुस्लिमहरू पश्चात् भारतमा करीब २०० वर्ष ईसाई (अङ्ग्रेज) हरूको आधिपत्य रह्यो । यस अवधिमा पनि नेपालका हिन्दू राजा (शाह/राणा) हरूले नै राज्य गरे । यसैले होला राजा पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दूस्तान भनी परिभाषित गर्न प्रयास गरे । भारतका बहुसंख्यक हिन्दू समाजले मुस्लिम सम्राटहरूको शासनकालमा भक्ति आन्दोलन गरे । यस आन्दोलनले हिन्दू तथा मुस्लिम धर्मको पारस्परिक कटुता र संघर्षलाई कम गर्न मद्दत गर्‍यो ।

कबीर, गुरुनानक, नामदेव, रैदास, सूरदास, तुलसीदास, मीराबाई लगायत दर्जनौं सन्तहरूले प्रक्रित (स्थानीय) भाषाहरू प्रयोग गर्दै आम हिन्दूमध्येका धर्मलाई विशुद्ध मानवीयताको रूपमा चित्रित गरे । भक्ति आन्दोलनले हिन्दू धर्मलाई जातिगत भेदभावको विरोधमा उभ्याउन अथक् प्रयास गर्‍यो ।

ईसाई अङ्ग्रेजहरूको शासनकालमा हिन्दू धर्मका अग्रजहरूले धार्मिक पाखण्ड र सामाजिक भेदभावलाई अवैदिक र अहिन्दू अभ्यासको रूपमा परिभाषित गरे । उन्नाइसौं शताब्दीमा वेदलाई नै आधारविन्दु बनाई महर्षि दयानन्द सरस्वतीले ‘आर्य-समाज’ को स्थापना गरे । राजा राममोहन रायले विभिन्न धर्महरूको मूल सोचको सम्मिश्रण गरी ‘ब्रम्होसमाज’ बनाए ।

यी प्रयासहरूले हिन्दू समाजभित्रको सामाजिक भेदभाव, छुवाछूत र अधिकांश कर्मकाण्ड धर्मसम्मत नभएको तथ्य अगाडि ल्याए । बीसौं शताब्दीको शुरुआतमा विवेकानन्दले हिन्दू धर्मलाई एक तार्किक र काल-निरपेक्ष (टाइमलेस) धर्मको रूपमा संसारमा स्थापित गर्ने प्रयासको शुरुआत गरे । विवेकानन्दले हिन्दू धर्मलाई अब्राहमिक धर्महरू (यहुदी, इसाई र मुस्लिम धर्म) सँग दाँज्न नमिल्ने तर्क संसारसामु राखे ।

महात्मा गान्धीले हिन्दू धर्मको मर्मलाई भारतको स्वाधीनता आन्दोलनसँग जोडे । आचार्य रजनीशले संसारको सबै धर्मको राम्रो पक्षलाई मिलाई वर्तमान समयसापेक्ष मानव जीवनलाई हिन्दू धर्मको रूपमा प्रस्तुत गरे ।

यो लेख लेखिरहँदा बाबा रामदेव, श्री श्री रविशंकर र सद्गुरु लगायतका सन्तहरूले हिन्दू धर्मको अलग-अलग पक्षलाई अगाडि सार्दै धर्मको व्याख्यालाई झनै विस्तारित गरिरहेको कुरा हामी सबैले देख्न सक्छौं । गएका आठ-नौ सय वर्षमा भारतमा भएको हिन्दू धर्मभित्रको सुधार र नयाँ व्याख्याहरूले दोस्रो ठूलो हिन्दू बहुल मुलुक नेपाललाई पनि प्रभावित गरिरह्यो ।

‘हिन्दू हुनु विभिन्न धार्मिक आस्थाहरूप्रति निरपेक्ष हुनु हो’

हजारौं वर्षदेखि धर्मबारे थरीथरीका व्याख्या भैरहँदा, हिन्दूहरूले धार्मिक आस्थाहरूको विविधतालाई स्वाभाविक मान्दछन् । यस तथ्यले हिन्दू धर्मावलम्बीलाई इसाई र मुस्लिम धर्मावलम्बीभन्दा बिल्कुलै फरक बनाउँदछ । ईसाई धर्मावलम्बीहरू मान्दछन्- मनुष्यको मुक्ति ईसाई धर्मद्वारा मात्रै सम्भव छ । मुस्लिम धर्मावलम्बीहरू पनि इस्लामले देखाएको बाटो एउटा मात्रै साँचो बाटो हो भने मान्दछन् । तर हिन्दूहरूले मान्दछन्- विभिन्न पन्थ र सम्प्रदायहरू धर्मका विभिन्न व्याख्याहरू मात्रै हुन् । सबै तार्किक व्याख्याहरूले मनुष्यलाई शाश्वत सत्यसम्म पुर्याउन सक्ने सम्भावना बोकेका हुन्छन् । जसरी सबै खोलाहरू अन्ततः एउटै समुद्रमा पुग्दछन्, त्यसरी नै सत्यलाई खोज्ने सबै सही प्रयासले मानवको चेतनालाई एकै ठाउँमा पुर्याउँछ । हिन्दूहरू स्वभावत: र सचेत रूपमा यी विभिन्न व्याख्याहरूबीचको विरोधाभासप्रति उदार हुन्छन् । परस्पर विरोधी व्याख्याहरू भन्दा माथि बस्नु नै निरपेक्षता हो । हिन्दूहरूको धार्मिक आस्थाप्रतिको निरपेक्षता इतिहास र वर्तमान दुवैले पुष्टि गर्दछन् । त्यसैले हिन्दू हुनु विभिन्न धार्मिक आस्थाहरूप्रति निरपेक्ष हुनु हो ।

(लेखक हिन्दू धर्मको अद्वैत वेदान्त दर्शनमा आस्था राख्दछन् । विभिन्न संघ-संस्था तथा एक राजनीतिक दलसँग आवद्ध भए पनि यो लेखले उनको निजी विचारलाई मात्र प्रतिनिधित्व गर्दछ ।)

लेखकको बारेमा
प्रशान्त सिंह

सिंह दिगो विकास अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?