Comments Add Comment

कालजयी अमेरिकी कथा : धन्यवाद म्याम

ऊ एक विशालकाय महिला थिई । ऊसित भएको थैली (पर्स) पनि ऊ जस्तै, आफ्नी स्वामिनी जस्तै यमानको र अड्बाङ्गे जस्तो थियो । थैलीमा लामो फित्ता जोडिएको थियो जसको मद्दतले महिलाले त्यसलाई काँधमा झुण्ड्याएकी थिई । यतिबेला रातिको करीब एघार बज्दैथियो र व्यस्त सडकको फुटपाथमा ऊ एक्लै हिंडिरहेकी थिई । ठीक त्यति नै बेला एउटा किशोर दौडिंदै उसको पछाडि आइपुग्यो र उसको थैली खोस्न खोज्यो । त्यस किशोरले पछाडिबाट अलि बल गरेर तानेको हुँदा एकै झट्कामा थैलीको फित्ता चुँडियो ।

तर, त्यस किशोरको वजन र थैलीको वजन, दुवैको संयुक्त जोडबल एकैपटक आफूमाथि पर्दा उसको सन्तुलन नै डगमगाउन पुग्यो अनि यमानको थैली खोसेर सुइँकुच्चा ठोक्छु भन्ने गम्दै मखलेल परिरहेको किशोर अकस्मात् त्यही फुटपाथमै गल्र्याम्म उत्तानो परेर पछारियो । उसका खुट्टा माथि उठेका थिए ।

विशालकाय महिला पछाडि फर्की र भुइँमा थेचारिएको किशोरको नितम्बमा कस्सेर लात्तीले हिर्काई । त्यसपछि ऊ तल निहुरिई, किशोरको छातीको कपडा तान्दै उसलाई जुरुक्क उठाएर भय एवम् हतासाले किशोरका दाँत कट्कट बज्ने नहँुदासम्म उसलाई हल्लाएको हल्लायै गरिरही ।

त्यति गरिसकेपछि महिलाले त्यस किशोरलाई भनी, ‘ए केटा, मेरो झोला उठा र त्यो मलाई दे ।’ महिलाले अझैसम्म किशोरलाई मुक्त गरिसकेकी थिइन । तापनि ऊ किशोर तल निहुरिने र थैली उठाएर आफूलाई दिन मिल्नेसम्म स्वयम् पनि निहुरेकी थिई । अनि फेरि उसले भनी, ‘आफूले गरेको यस्तो कामप्रति तँलाई लाज लाग्दैन ?’

अझैसम्म आफ्नो सर्टको अगाडितर्फको भाग बेस्सरी अँठ्याइएको भए पनि किशोर बोल्यो, ‘हो, लाग्छ ।’

महिलाले फेरि सोधी, ‘मेरो थैली खोसेर त्यसबाट तँ के गर्न चाहन्थिस् ?’

किशोरले जवाफमा भन्यो, ‘खासमा मैले पर्स चोर्न चाहेकै थिइनँ ।’

उसले भनी, ‘अझै मलाई ढाँटेको !’

त्यति बेलासम्ममा दुई-तीन जना मानिस त्यो फुटपाथको बाटो भएर आउजाउ गरे, केहीबेर त्यहाँ उभिएर उनीहरूलाई हेरे र गए, अनि अरू केही उनीहरूलाई हेर्दै उभिइरहे ।

‘अनि अहिले मैले समातिरहेको तेरो सर्ट छाडिदिएँ भने के तँ भाग्छस् ?’ महिलाले सोधी ।

‘अँ, हो नि ! म त भागिहाल्छु’, किशोरले जवाफ दियो ।

‘ए, उसो भए म तेरो सर्ट छोड्दिनँ’ महिलाले भनी । उसले किशोरलाई मुक्त पनि गरिन ।

‘मलाई माफ गरिदिनुस् हजूर, कृपया मलाई माफ गरिदिनुस्’ किशोरले सुस्तरी भन्यो ।

‘ए, आम्मै ! अनि तेरो अनुहारभरि फोहोर छ । तेरो अनुहार धुनका लागि मसित एउटा गज्जबको विचार छ । तर के तैंले मुख पनि धुनुपर्छ भनेर तँलाई भन्ने मानिस अरू कोही छैन तेरो घरमा ?’

‘अहँ, कोही पनि छैन’, किशोरले भन्यो ।

‘ए, ल उसो भए आज साँझ यो अनुहार धुने भइयो’ यसो भनेर विशालकाय महिला फुटपाथमा हिंड्न थाली, भयभीत किशोरलाई उसले आफूभन्दा पछाडि लतार्दै पनि थिई ।

त्यो किशोर चौध वा पन्ध्र वर्षको जस्तो देखिन्थ्यो । उसले टेनिस जुत्ता लगाएको, नीलो जिन्स प्यान्ट पहिरेको अनि निकै कमजोर र लिखुरे देखिन्थ्यो ।

महिलाले भनी, ‘तँ मेरो छोरो हुनुपर्थ्यो । मैले तँलाई सही र गलत कुराहरूबारे सिकाउने थिएँ । कम्तीमा यतिबेला मैले तेरो अनुहार धोइदिन भने सक्छु । ए साँच्ची, तँ भोकै त छैनस् ?’

‘अहँ, म भोकै छैन’ अझैसम्म पनि लतारिंदै-लतारिंदै हिंडिरहेको किशोरले भन्यो, ‘मलाई यसरी हिंड्न गाह्रो भइरहेको छ, बरु मलाई लतार्न छोड्दिनुस् न ।’

‘कतै त्यो पछिल्लो घुम्ती नाघेर आउँदा मैले तँलाई अप्ठ्यारोमा त पारिनँ ?’ महिलाले सोधी ।

‘होइन, त्यस्तो केही भएन ।’

‘तर तिमी अबदेखि सधैं मसित सम्पर्कमा बसिरहनु है’ महिला अचानक ‘तँ’ छोडेर ‘तिमी’ भन्नेतिर लागी, ‘तिमीलाई यदि त्यस्तो सम्पर्क लामो समयसम्म जान्छ भन्ने लाग्दैन भने पनि एकपटक फेरि सोचे हुन्छ । मैले तिम्रो बारेमा सोच्दा के लाग्छ भने तिमीले मलाई श्रीमती लोयला बेट्स वासिङ्गटन जोन्स भनेर सधैं सम्झिरहने छौ ।’

किशोरको अनुहार असिन-पसिन भयो । आफू मुक्त हुन उसले कोशिश गर्न थाल्यो । श्रीमती जोन्स एकछिन रोकिइन्, उसलाई अगाडितिर तानेर फेरि एकपटक लछार-पछार पारिन्, घाँटीमा अँठ्याएर समातिन् र फेरि त्यही गल्लीको बाटो लतार्दै हिंड्न थालिन् ।

त्यो महिला आफ्नो घरअगाडि पुगेर रोकिई र किशोरलाई धकेल्दै आफूसँगै घरभित्र प्रवेश गरी । त्यसपछि एउटा ठूलो हलजस्तो कक्षबाट हुँदै घरको पछाडितर्फ निर्मित तथा भान्साकोठाको रूपमा समेत प्रयोग गरिंदै आएको कोठामा पुर्‍याई । उसले बिजुली-बत्ती बाली र ढोका हृवाङ्ग उघारै छोडिदिई । किशोरले त्यस ठूलो घरका अन्य कोठाहरूमा मानिसहरू बोलेको र हाँसिरहेको आवाज सुन्न सक्थ्यो । ती कोठामध्ये केहीका ढोका खुलै थिए, यसले गर्दा किशोरलाई त्यो घरमा ऊ र त्यो महिला मात्र नभएर अरू धेरै मानिस पनि थिए भन्ने थाहा भइरहन्थ्यो । आफ्नो कोठाको बीच भागमा ल्याइपुर्‍याएको भए पनि त्यो महिलाले समात्दै आएको किशोरको कठालो अझैसम्म छाडेकी थिइनँ ।

अनि महिलाले सोधी, ‘तिम्रो नाम के हो ?’

‘रोजर’ किशोरले जवाफ दियो ।

‘ल, रोजर ! उसो भए तिमी ऊ त्यो सिङ्कमा जाऊ र आफ्नो अनुहार धोऊ’ महिलाले भनी । त्यससँगै, अन्ततः उसले कठालो पनि छोडिदिई । धेरै समयपछि मुक्ति पाएको रोजरले ढोकातिर हेर्‍यो, अनि महिलातिर हेर्‍यो, फेरि ढोकातिर हेर्‍यो, र सिङ्क भएतिर लाग्यो ।

‘एक छिन पानी त्यसै बगिरहन देऊ, त्यसपछि तातोपानी आउन थाल्नेछ’ महिलाले भनी, ‘पुछ्नका लागि यी यहाँ सफा रुमाल छ ।’

‘हजूरले मलाई जेल पुर्‍याउने सुर गर्नुभएको त होइन ?’ सिङ्कमा निहुरिंदै रोजरले सोध्यो ।

‘त्यो अनुहार लिएर त पक्कै होइन, तापनि म तिमीलाई कतै लैजान्न’ महिलाले भनेकी थिई, ‘म आफ्ना लागि केही खानेकुरा किन्नेे भनेर पसलतिर गइरहेकी थिएँ, त्यही बेला खोइ कताबाट आएर तिमीले मेरो झोला खोस्यौ ! हुनसक्छ, तिमीले पनि खाना खाएका छैनौ होला । ढिलो पनि भइसकेको छ । हुँदैन र ?’

‘मेरो घरमा अरू कोही पनि छैन’, किशोरले जवाफ फर्कायो ।

‘ठीक छ, उसो भए हामीले सँगै खाना खाऊँ’ महिलाले भनी, ‘मलाई लाग्छ, तिमीलाई भोक लागेको छ, अझ तिमी भोकै पनि हुनुपर्छ, त्यही भएर नै त तिमी मेरो झोला खोसेर भाग्ने सुरमा थियौ ।’

‘खासमा म एक जोडी नीलो स्वेड जुत्ता किन्न चाहन्थें’ किशोर बोल्यो । जनावरको छालाको भित्री भागबाट बनाइने ‘स्वेड जुत्ता’ नरम र आरामदायी हुन्छ ।

‘त्यसो होइन, जाबो एक जोडी स्वेड जुत्ता किन्नैका लागि त तिमीले मेरो झोला खोस्नु पर्दैनथ्यो’ श्रीमती लायला बेट्स वासिङ्गटन जोन्सको आवाज मधुर सुनियो, ‘बरु त्यतिका लागि त तिमीले मसँग कुरा गरेको भए पनि भइहाल्थ्यो नि !’

‘हजूर, म्याम ?’

अनुहारबाट पानीका थोपा चुहिरहेका थिए, किशोरले एकटक महिलातिर हेर्‍यो । धेरै बेर त्यहाँ मौनता छायो । कोही केही बोलेन । मौनता अझै तन्कियो । किशोरले रुमाल उठायो, आफ्नो अनुहार पुछ्यो र त्यसपछि के गर्ने भन्ने सोचेर फेरि एकपटक रुमालले अनुहार पुछ्यो । अनि किशोर पछाडि फर्कियो, अब यसपछि के हुन्छ भनेर उसलाई पर्याप्त कौतूहल थियो । ढोका हृवाङ्गै थियो । उसले चाहेको भए त्यही हलबाट भएर घरबाहिर निस्कन र त्यहाँबाट भाग्न, झन्झन् टाढा भाग्न सक्ने अवस्था अचानक त्यहाँ देखिएको थियो ।

श्रीमती जोन्स जर्‍याकजुरुक उठिन् र त्यही पर्दापछाडि हराइन् । महिलाले त्यो किशोर भाग्ने तर्खर गर्दै थियो वा थिएन भनेर हेर्ने कुनै प्रयास गरिन

महिला त्यहीं एक छेउमा कोठा-सुहाउँदो तरिकाले राखिएको ओछ्यानमा बसिरहेकी थिई । केही छिनपछि उसले भनी, ‘म पनि कुनै बेला तिमी जस्तै युवा थिएँ र मलाई पनि आफूले पाउन नसक्ने कुराहरू हासिल गर्ने चाहना हुने गर्थ्यो ।’

फेरि उनीहरूबीच लामो मौनता छायो । अवाक् किशोरको मुख खुलेको थियो । अनि उसले आफ्ना आँखीभौं उचाल्यो, तर त्यसरी आँखीभौं उचालेको छु भनेर ऊ आफैंले थाहा पाएको थिएन ।

अब फेरि महिलाको स्वर निस्क्यो, ‘अँ… ! तिमीलाई मैले केही भन्छु भन्ने लागेको थियो होला, होइन त ? तिमीलाई मैले पनि तिमीले जस्तै केही गरेकी थिएँ भनेर भन्छु होला भन्ने लागेको थियो होला तर मैले अरू मानिसका झोला र थैलीहरू खोस्ने काम कहिल्यै गरिनँ । म त्यसो भन्नेवाला पनि थिइनँ ।’

फेरि केही समय मौनता छायो । दुवै जना चुपचाप थिए । अनि फेरि पनि महिलाको आवाजले वातावरण तरंगित भयो, ‘मैले पनि कतिपय यस्ता उस्ता कुराहरू त गरेकी थिएँ तर, छोरा म न तिमीलाई न त ईश्वरलाई नै ती कुराहरूबारे केही भन्नेछु- अँ, ईश्वरले पहिले नै थाहा पाइसकेको भए बेग्लै कुरा हो । त्यसकारण मैले खाना पस्किएर सबै ठीक नपारेसम्म तिमी यतै बसिराख । त्यति बेलासम्ममा तिमीलाई भाग्ने नै मन भए ऊ त्यहाँ काइँयो छ, कम्तीमा आफ्नो कपाल कोर्‍यौ भने तिमी अरूका अगाडि देखिनलायक हुनेछौ ।’

कोठाको अर्को छेउमा पर्दापछाडि ग्याँस चुल्हो र बरफ राख्ने बाकस (आइस बक्स) थियो । श्रीमती जोन्स जर्‍याकजुरुक उठिन् र त्यही पर्दापछाडि हराइन् । महिलाले त्यो किशोर भाग्ने तर्खर गर्दै थियो वा थिएन भनेर हेर्ने कुनै प्रयास गरिन, न उसले आफू बसिरहेको ओछ्यानमै छाडिआएको झोलाबारे नै कुनै चासो देखाई । तर, त्यो किशोर आफूलाई महिलाले हेर्न चाहेमा सजिलै र प्रष्टसित देख्न सक्ने स्थान आफैंले ठम्याएर कोठाको अर्को छेउतिर गएर बस्यो । महिलाले आफूमाथि अविश्वास गरेको उसलाई विश्वास भइरहेको थिएन । र, अब किशोरले अविश्वास चाहिरहेको थिएन ।

‘के हजूर कोही पसलसम्म पुगेर आइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ ?’ किशोरले सोध्यो, ‘दूध अथवा अरू जे भए पनि ल्याउनका लागि ?’

‘त्यस्तो त केही छैन’ महिलाको जवाफ आयो, ‘अँ, यदि तिमीलाई नै गुलियो दूध खाने मन छ भने बेग्लै कुरा हो । मैले त यहीं बट्टामा भएको दूधबाट कोको बनाउँदैछु ।’

‘त्यही बेस हुनेछ’, किशोरले भन्यो ।

महिलाले आइस बक्सबाट झिकेर राजमा गेडागुडी र हृयाम मासु तताई, कोका पनि तयार भयो र त्यसपछि सबै खानेकुरा टेबुलमाथि सजाई । महिलाले किशोरलाई ऊ कहाँ बस्छ, उसको घरपरिवारमा अरू को-को छन् अथवा त्यस्तो अन्य केही पनि सोधिन जुन कुराले उसलाई असहज तुल्याउन सक्थ्यो । बरु त्यस्तो सोधपुछको साटो, दुवैजनाले खाना खाइरहेको बेला, महिलाले आफूले एउटा होटलको सौन्दर्य-पसलमा काम गर्ने गरेको र त्यो पसल राति अबेरसम्म खुल्ने गरेको, त्यो कामको प्रकृति अनि त्यस पसलमा आउने-जाने खैरा, राता वा कालो कपाल भएका अमेरिकन वा स्पेनिससमेत विभिन्न किसिमका महिलाहरूबारे खुलेर त्यस किशोरलाई बताई । त्यसपछि उसले आधा केक काटेर किशोरलाई खान दिई ।

‘अरू पनि थपेर खाऊ, छोरा’, उसले भनी ।

दुवै जनाले खाना खाइसकेपछि महिला त्यहाँबाट उठी र भनी, ‘ल, यी यो १० डलर लैजाऊ र आफ्ना लागि नीलो स्वेड जुत्ता किन । अनि अब अर्कोपटकदेखि कहिल्यै पनि न त मेरो न अरू कसैको पनि झोला खोस्ने-चोर्ने गल्ती गर्नु- किनभने बलजफ्ती वा गलत तरिकाबाट हासिल गरेको जुत्ताले तिम्रो खुट्टा मात्र पोल्नेछ । मैले अब आराम गर्नुपर्नेछ । तर म चाहन्छु छोरा, अब उप्रान्त तिमीले आफूलाई सच्याउनुपर्छ, राम्ररी सुधार्नुपर्छ ।’

त्यो महिलाले किशोरलाई अगाडिको ढोकातिर लिएर गई, ढोका उघारी र बाहिर सडकमा टाढासम्म हेर्दै भनी, ‘शुभ-रात्रि ! आफूलाई राम्ररी सुधार्नु बाबु !’

किशोर श्रीमती लायला बेट्स वासिङ्गटन जोन्सलाई ‘धन्यवाद, म्याम’ मात्र नभएर अरू पनि केही भन्न चाहन्थ्यो तर उसले त्यस्तो केही पनि भन्न सकेन । ऊ फेरि एकपटक पछाडि फर्कियो र ढोकामा उभिएकी विशालकाय महिलालाई एकटकले हेर्‍यो । महिलाले ढोका बन्द गर्नुभन्दा पहिले उसले यति मात्र भन्न सक्यो, ‘धन्यवाद !’

त्यसपछि रोजरले त्यो महिलालाई फेरि कहिल्यै देखेन ।

(नोट : मूलतः एक उम्दा अश्वेत अमेरिकी कविका रूपमा स्थापित जेम्स मर्सर ल्याङ्ग्सटन हृयुजेज उपन्यासकार, नाटककार, निबन्धकार, कथाकार र स्तम्भकार थिए । ‘हार्लेम पुनर्जागरण’ कालका एक नेता पनि रहेका हृयुजेजको प्रस्तुत कथा ‘थ्याङ्कयु म्याम’ सर्वप्रथम सन् १९५८ मा न्यूयोर्कमा प्रकाशित भएको थियो । – अनु.)

नेपाली अनुवाद – जयदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment