+
+

संखुवासभा घटना : सन्काहा भतिजले मच्चाएको हत्याकाण्ड

कार्की परिवारको सामूहिक हत्याको नालीबेली

गौरव पोखरेल गौरव पोखरेल
२०७८ भदौ २७ गते २१:२१

२७ भदौ, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जना व्यक्तिको हत्या भयो भनेर जसले छरछिमेकलाई खबर गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालयले आइतबार संखुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्की तिनै व्यक्ति हुन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै गाउँलेलाई खबर गरेका थिए ।

तेजबहादुरको घरमा ९२ वर्षीय वृद्ध बौद्धमान श्रीमती ८४ वर्षीया पार्वती बिरामी भएको भन्दै बसिरहेका थिए । इटहरीबाट ठाकुरसिंह खतिवडा बहिनीले पठाएको मजेत्रो लिएर ८ः१५ देखि घरमा बसिरहेका थिए । हजुरआमा विरामी भनेपछि छिमेकी खड्गबहादुर कार्की पनि त्यहीँ बसिरहेका थिए ।

‘पार्वतीलाई छोपुवा विमार थियो, एक/दुई घन्टा बेहोस भएर आफैं उठ्थी’ बौद्धमानले प्रहरीसँग भनेका छन्, ‘त्यही सोचेर ठाकुर र खड्गले उठाएर खाटमा राखे ।’ जब लाश भेटेको भन्दै लोकबहादुर आए, दौडिएर तल जाँदा ठाउँ–ठाउँमा परिवारका अन्य सदस्यको शव पनि भेटियो ।

साँझबाट गाउँमा प्रहरी र पत्रकारको भिड लाग्न लाग्यो, लोकबहादुरले घटना गम्भिर भएको भन्दै अन्तरवार्ता दिए । कतिपय युट्युबरलाई आफ्नै घरमा बास पनि दिए ।

प्रारम्भिक बयान नै शंकास्पद

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार कार्की परिवारले झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी गरेको सार्वजनिक भएपछि सुरुवातमा चोरीको उद्देश्यले घटना भएको हुनसक्ने अनुमान गरिएको थियो । तर घरमा नगद र गरगहना सुरक्षित भेटिएपछि अनुसन्धान रिसिइबीतिर मोडिएको थियो ।

प्रहरीले बिटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइल र कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेको थियो । स्थानीयवासीसँग पनि प्रहरीले बयान लिइरहेको थियो । प्राविधिक विश्लेषणमा गाउँमा केही नयाँ व्यक्ति आएको पाइए पनि घटनामा संलग्न हुनसक्ने आधार देखिएन ।

‘चोरी, डकैतीको थ्यौरी रुल आउट भइसकेको थियो, बाहिरबाट मान्छे आएको पनि देखिएन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘घटना बिहान ५ देखि ६ बजेको बीचमा भएको खुलेपछि राति नै आएर फर्किन पनि सम्भव देखिएन ।’

अनुसन्धान अधिकृतहरुको अनुभवमा संगठित गिरोह संलग्न नभएको सामूहिक हत्याका घटनाहरुमा मानसिक समस्या भएका व्यक्तिहरु संलग्न हुने गरेको विगतको अनुभव छ । बैदेशिक रोजगारीमा गएका लोकबहादुर पनि विरामी भएर फर्किएका थिए र औषधि खाइरहेका थिए ।

मृतक तेजबहादुरको शव देखेको भनेर गाउँलेलाई खबर गरेका उनी बयान पनि फेरिरहे । त्यसैले प्रहरीले अनुसन्धानलाई उनीमाथि बढी केन्द्रित गर्‍यो ।

प्रहरीका अनुसार उनलाई आशंका गर्नुपर्ने अर्को कारण हो, शव भएकै बाटो जानु ।

प्रहरीका अनुसार लोकबहादुर र मृतक तेजबहादुरको घर २०० मिटरको दूरिमा छ । बौद्धमान जतिबेला परिवारका सदस्यहरु खोज्दै उनको घरमा आए, लोकबहादुर मात्र थिए । उनका बुबा र भाइ घाँस काट्न गएका थिए ।

बौद्धमानले परिवारका सदस्यहरु नभएको र श्रीमती पार्वती विरामी भएको बताएर फर्किए । त्यसको झण्डै एक घण्टापछि लोकबहादुर घरबाट निस्किए । प्रहरीका अनुसार बौद्धमानको घरसम्म जाने तीन वटा बाटो थियो । तर उनले खासै प्रयोग नहुने बाटो गए र बडाउको शव देखेको भन्दै खबर गरे ।

‘पहिरोले बाटो कमसल भएकाले खासै प्रयोग हुँदैन्थ्यो’ अनुसन्धान अधिकृत भन्छन्, ‘हजुरआमा विरामी भनेर हिँडेको भतिजो दायाँबायाँ नगरी खुरुखुरु हिँड्नुपर्ने हो । तर बाटोबाट तल भएको शव देखेको भनेर खबर गरे ।’ जबकि, तलतिर रहेको शव बाटोबाट देखिँदैन्थ्यो ।

बाटोबाट तल भएको शव कसरी देखेको भन्ने प्रश्नमा फरकफरक बयान दिए । अनुसन्धान अधिकृतहरुका अनुसार यस्तै एकपछि अर्को आधारले उनको संलनता संकेत गर्दै गयो । सोधपुछका क्रममा उनी झर्किन्थे, आत्तिएजस्तो गर्थे । अनुसन्धान अधिकृत भन्छन्, ‘सामान्य प्रश्न सोध्दा मलाई मात्र किन सोध्नु हुन्छ ? मैले नै गरेजस्तो गर्नुहुन्छ भन्न थाले ।’

उनको घरमा जाँदा रगत लागे जस्तो देखिने कपडा बरामद भयो, त्यसले उनीमाथिको शंकालाई झनै बढायो । ‘कपडा बरामद हुनुले पनि अनुसन्धनमा सघायो,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘सबै तथ्यलाई राखेर सोधपुछ गर्दा उनले आफ्नो संलग्नता लुकाउन सकेनन् ।’

शुक्रबार राति करिव २ बजे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकृतसामू उनले कार्की परिवारका ६ जनाको आफैंले हत्या गरेको साबिती बयान दिए । त्यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश १ को रिजनल इन्भेस्टिगेटिभ टिम (आरआईटी) को टोलीले तीन दिनसम्म पटकपटक लिएको बयानका क्रममा उनले संलग्नता अस्वीकार गरेका थिए ।

तेजबहादुरले पागल, काम नलाग्ने जस्ता शब्द प्रयोग गर्थे, जसले लोकबहादुरलाई बिझाउँथ्यो । घटनाको अघिल्लो रात यस्तै सोचेर उनी राम्रोसँग सुत्न सकेका थिएनन् । ‘पागल भन्ने जति सबैलाई मार्छु भन्ने सोचिसकेको थिएँ’ उनले भनेका छन् ।

घर आइनपुग्दै हत्या

प्रदेश नं. १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीका अनुसार सोमबार तेजबहादुरले धान खेत गोड्ने तयारी गरेका थिए । त्यसका लागि खेताला भनेका थिए । बिहान ५ बजे नै निस्किएका उनी भतिजो लोकबहादुर र उनको भाइलाई पनि बोलाउन भाइको घरतिर जाँदै थिए ।

तेजबहादुर आउँदै गरेको देखेपछि आँगनमा रहेको चिर्पट लिएर लोकबहादुर पनि बाटोतिर निस्किन्छन् । तेजबहादुर ‘दाउरा बोकेर कहाँ हिँडिस्’ भन्दै अघि बढे । अलि अगाडि पुगेपछि उनले त्यही चिर्पटले हाने ।

लोकबहादुरले बताए अनुसार तेजबहादुरले काम नगरेको, कमाउन नसकेको भनेर गाली गर्ने गर्थे । पागल, काम नलाग्ने जस्ता शब्द प्रयोग गर्थे, जुन उनको मनमा गढेको थियो । घटना हुनु अघिल्लो राति निदाउन नसकेको र भोलिपल्ट तेजबहादुरलाई देखेपछि मार्ने योजना बनेको उनले बताए ।

पछाडिबाट लोकबहादुरले चिपर्टले हानेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो’ भन्दै चिच्याए । त्यो सुनेर श्रीमती कमला र बुहारी रञ्जना दौँडिदै आए । त्यतिञ्जेल तेजबहादुरको ज्यान गइसकेका थियो, उनको शव काल्लाबाट तल झरेर उनी काकी कमला भएतिर गएको डीआईजी बीसी बताउँछन् । काकीको टाउकामा चिर्पटले हान्ने वित्तिकै रञ्जना बेहोस भएको उनको बयान छ । ‘बेहोसीमै उनले टाउकोमा प्रहार गरे, उठ्दा खोज्दा फेरि हानेर हत्या गरे’ बिसी भन्छन् ।

त्यहाँबाट उनी तेजबहादुरको घरतिर लागे । हातमा चिर्पट लिएर तेजबहादुर हिँडेको देखेपछि रञ्जनाका दुई नाबालक दिपेन र गोमा छविलाल कार्कीको घरतिर भाग्छन् । खेदाउँदै दुवैजनाको हत्या गरेको लोकबहादुरको बयान छ ।

फर्किएर तेजबहादुरको घरतिर आउँछन् । कुँडो पकाउने छुट्टै सानो घर थियो, त्यहाँबाट बसिरहेकी हजुरआमा पार्वतीले ‘कता हान्निँदै हिँडिस्’ भन्छिन् । प्रहरीका अनुसार लोबहादुर उनीमाथि जाइलाग्छन् र तीन पटक भित्तामा टाउको ठोक्काइदिन्छन् । ९२ वर्षका हजुरबा बुद्धिमान भने सुतिरहेका थिए । उनलाई भने लोकबहादुरले केही गरेनन् ।

आर्थिक अवस्थाले मानसिक रोगी

कक्षा ९ सम्म पढेर लोकबहादुर वैदेशिक रोजगारीमा गएका थिए, तर राम्रो कमाइ भएन । मलेसियामा साढे ५ महिना र कतारमा दुई पटक ३ र ७ महिना बस्दा ऋण मात्रै थपियो । फर्किँदा माथिल्लो गाउँकी प्रेमिकाले पनि अर्कैसँग विवाह गरेको थाहा पाएपछि उनी डिप्रेसनमा परे । उनले तीन वर्षदेखि औषधि सेवन गर्दै आएको पाइएको छ ।

लोकबहादुरका हजुरबुबा र बौद्धमान दाजुभाइ हुन् । बौद्धमानका छोरा तेजबहादुर परिवारका हर्ताकर्ता थिए भने लोकबहादुरका बुबा पनि सोझासोझा थिए । उनका बुबाले मर्ने बेलामा तेजबहादुरलाई ‘मेरा छोरानाती सोझा छन्, रेखदेख गरी दे है’ भनेका थिए । त्यही कारण तेजबहादुर भाइको घर गइरहन्थे, भतिजोहरुलाई सम्झाउने, गाली गर्ने गर्थे ।

त्यसक्रममा उनले पागल, काम नलाग्ने जस्ता शब्द प्रयोग गर्थे, जसले लोकबहादुरलाई बिझाउँथ्यो । उनले प्रहरीलाई दिएको बयान अनुसार घटनाको अघिल्लो रात यस्तै सोचेर उनी राम्रोसँग सुत्न सकेका थिएनन् । ‘पागल भन्ने जति सबैलाई मार्छु भन्ने सोचिसकेको थिएँ’ उनले भनेका छन् ।

बयानका क्रममा उनले तेजबहादुरसँग रिस उठ्नुको अरु कारण पनि खुलाए । बयान अनुसार एक वर्षअघि उनकी आमा, तेजबहादुरको घरमा लडेकी थिइन् । गम्भीर घाइते उनलाई झापाको अस्पताल लगियो, तर चिकित्सकहरुले मृत घोषित गरे । आमाको मृत्यु हुनुमा उनले षड्यन्त्र हुनसक्ने आशंका गरे ।

लोकबहादुरको परिवारले ३५ हजार रुपैयाँ सापटी लिएको थियो । तेजबहादुरले त्यसको पनि ब्याज पनि लिएकाले उनी आक्रोशित थिए । यसरी ठूलोबुबा तेजबहादुरप्रति घृणा बढ्दै गएको र त्यही कारण परिवारका ६ जनाको हत्या गरेको लोकबहादुरको बयान छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?