+
+

चाडबाडका बेला धेरै सामान नकिन्न उपभोक्ता अधिकारकर्मीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १९:३३
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । नेपालमा ठूला चाडपर्व दशैं, तिहार र छठ पर्व नजिकिएको छ ।

यो बेलामा बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक किनबेच हुन्छ । यही मौकामा व्यापारीबाट उपभोक्ता ठगिन सक्ने भन्दै उपभोक्ता अधिकारकर्मीले सचेत हुन आग्रह गरेका छन् ।

बढी भिड हुने समयमा वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता अधिक ठगिने गरेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । चाडबाडको समयमा किनमेल गर्दा सचेत हुन अधिकारकर्मी सुझाव दिन्छन् ।

बढी किनमेल नगरौं

धेरै नेपालीको चाडपर्वको समयमा धेरै किनमेल गर्ने बानी हुन्छ । तर अधिकारकर्मीहरु भने चाडबाडको समयमा आवश्यक भन्दा बढी सामान नकिन्न सुझाव दिन्छन् ।

उपभोक्ताले बढी मात्रामा खपत गर्ने वस्तुको गुणस्तर, नापतौल र मूल्यमा व्यापारीले ठग्ने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सना बताउँछन् ।

दाल चामल, तरकारी, फलफूल, काजु किसमिस, बदाम, पुष्टकारी, गुदपाक, र लत्ता कपडामा उपभोक्ता बढी ठगिने उनको भनाइ छ ।

खाद्य वस्तुमा मिसावट, लत्ता कपडामा मूल्य र गुणस्तर तथा माछामासुमा स्वस्थता ख्याल गर्न तिमिल्सिना सुझाव दिन्छन् । दशैंमा नयाँ लुगा लगाउनै पर्ने मानसिकताले पनि उपभोक्ता ठगिन पुग्ने अधिकारकर्मी बताउँछन् ।

बिल मागौं

सामान किन्दा धेरैले बिल माग्ने प्रचलन छैन । तर अधिकारकर्मी भने बिल माग्ने मात्र होइन, ब्यापारीले सामान किनेको बिलसमेत हेर्ने अधिकार उपभोक्तालाई हुने बताउँछन् । ‘खरिद मूल्य हेरेर २० प्रतिशत नाफा दिएर सामान किन्ने अधिकार छ’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ भन्छन् ।

चाडपर्वमा उपभोग्य वस्तुमा देखिने अर्को ठूलो समस्या भनेको रिलेबलिङ हो । कानुनअनुसार उत्पादकले मात्रै लेबल राख्न पाउने अधिकार भएपनि तर बीचमा सप्लायर्स र पसलले नै नयाँ लेबल राखेर वस्तु बिक्री गर्ने गरेको बानियाँ बताउँछन् ।

दशैंको मौका छोपी उपहार वा अफर घोषणा गरेर पुरानो र सडेको सामान बिक्री अत्यधिक हुनसक्ने उनको भनाइ छ ।

सरकार पन्छियो

उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजन बजार स्वच्छ राख्न प्रधानमन्त्री कार्यालयदेखि तल्लो तहका निकाय पनि जिम्मेवार नरहेको बताउँछन् ।

सरकारको अर्कमण्यताका कारण बजार महँगीसकेको भन्दै उनले स्थानीय, प्रदेश र संघीय सरकार गैरजिम्मेवार बनेको बताए । यसवर्ष सरकारको मिलोमतोमा उपभोक्तालाई सस्तो चिनी नदिन प्रपञ्च रचिएको पनि महर्जनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?