
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना आफूले नदेखेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारसँग महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् ।
‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं,’ उनले भने, ‘तर त्यहाँ फेरि अधिवेशन हुने सम्भावना म देख्दिनँ।’
डडेल्धुराको वडाअधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु सानेपा पुगेका थिए । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. शेखर कोइराला, गगनकुमार थापालगायतले निर्वाचन समितिका पदाधिकारी र सदस्यहरुसँग अधिवेशन निष्पक्ष र धाँधलीरहित बनाउन ध्यानाकर्षण गराएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो ।
पौडेल समूहले ५ असोजमा तोकिएकोको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउनुपर्ने माग गर्दै आएको छ । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिस्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ । जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन सुरु भएको हो । अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडाअधिवेशन नभएका जिल्लामा ५ असोजमा गर्ने गरी महाधिवेशनको समयतालिका परिमार्जन गरिएको हो ।
प्रतिक्रिया 4