Comments Add Comment

‘पशुपतिमा सुनको जलहरी राख्न कानूनले रोक्दैन’

“स्कन्दपुराणको हिमवत्खण्डको ७२औं अध्यायमा नेपालबारे उल्लेख छ । उक्त पुराणमा नेपाल महात्म्यको सन्दर्भमा ‘सत्य सत्यवती यत्र त्रेतायां च तपोवनंÙ द्वापरे मुक्ति सोपानांच कलौ नेपालीका पुरी’ भनी उल्लिखित छ ।

उक्त ग्रन्थको भनाइले नेपाल भूमि आजको होइन । यो सत्य युगदेखिको भूमि हो । तसर्थ यस भूमिमा धर्म-संस्कृतिको बेजोड नमूना तथा उदाहरण पाइन्छ । महर्षि वेदव्यास, वाल्मीकि, शिव-पार्वतीले यही भूमिलाई तपोभूमि बनाएको विश्वास गरिन्छ ।

सिद्धार्थ गौतम बुद्ध यही भूमिमा जन्मिएका थिए । राजा जनकले यही भूमिमा राज्य सञ्चालन मार्फत जनताको सेवा गरेका थिए । ज्ञान तथा तपका लागि अनुपम भूमिको रूपमा रहेको यस भूमिको महिमा सनातन धर्ममा उच्च छ ।

वैदिक सनातन धर्मग्रन्थहरूले यस क्षेत्रलाई तपोभूमिको रूपमा लिएका छन् । यस भूमिमा रहेका पौराणिक स्थलको संरक्षण र जगेर्ना गरी भावी पिंढीका लागि समेत उपयोगी बनाउनु आजको आवश्यकता हो ।

आराध्यदेव पशुपतिनाथको मन्दिर हिन्दूहरूको महान् धार्मिकस्थल मात्र नभई नेपालको प्रमुख सांस्कृतिक तथा पौराणिक महत्वको सम्पदा पनि हो । पौराणिक क्षेत्रको संरक्षण गर्नु, तिनको ऐतिहासिकता जोगाउनु, सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गरी परम्परा कायम राख्न जुनसुकै राज्यको पनि कर्तव्य हुन्छ । राज्यबाट विधि बमोजिम सांस्कृतिक धरोहरको संरक्षण गर्न गरिने कार्यलाई सापेक्षता वा निरपेक्षतासँग जोड्न मिल्दैन ।

नेपालको संविधानमा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनी उल्लेख गरिएको छ । त्यसैमा ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने संवैधानिक व्यवस्था छ । उल्लिखित संवैधानिक व्यवस्थाले ‘धर्मनिरपेक्ष भन्नाले धर्म-संस्कृतिको संरक्षण सहितको धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता भनी बुझ्नुपर्ने हुन्छ’ भनेको छ ।

पशुपतिनाथको शिवलिङ्ग अडिने आधार नै जलहरी भएकोले यसको निर्माण तथा मर्मतसम्भार आवश्यक भएको भनी पशुपति क्षेत्र विकास कोषबाट आवश्यक तयारी भएको अवस्थामा संरक्षकको हैसियतले सहजीकरण गर्नु प्रधानमन्त्रीको कर्तव्यभित्र पर्ने कुरा हो

धारा ५१ मा राज्यका नीतिहरूमा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्ने भनी उल्लेख छ । उक्त संवैधानिक व्यवस्था बमोजिम कार्यकारिणी निकायबाट सांस्कृतिक सम्पदाको संरक्षण तथा विकासको लागि गरिने व्यवस्था र तत्सम्बन्धमा हुने निर्णयलाई अन्यथा भन्न मिल्दैन ।

संविधानको धारा ५७ ले राज्यशक्तिको बाँडफाँड सम्बन्धी व्यवस्था गरेको छ । अनि संविधानको अनुसूची-५ मा पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक सम्बन्धी काम संघको अधिकारको सूची अन्तर्गत रहेको छ । पशुपति क्षेत्र विश्वसम्पदा सूचीमा समेत सूचीकृत भएको क्षेत्र हो । यो आफैंमा पुरातात्विक महत्वको क्षेत्र भएकोले यसको संरक्षण र विकासमा नेपाल सरकारबाट उचित ध्यान दिनैपर्ने हुन्छ ।

आराध्यदेव पशुपतिनाथको शिवलिङ्ग अडिने आधार नै जलहरी भएकोले यसको निर्माण तथा मर्मतसम्भार आवश्यक भएको भनी सबै क्षेत्रबाट अनुरोध भई आएको र पशुपति क्षेत्र विकास कोषबाट आवश्यक तयारी भएको अवस्थामा संरक्षकको हैसियतले सहजीकरण गर्नु प्रधानमन्त्रीको कर्तव्यभित्र पर्ने कुरा हो ।

जलहरी पहिलो पटक निर्माण तथा मर्मतसम्भार गरिएको होइन । २०२४/२५ सालमा तथा त्यसभन्दा अघि समेत जलहरी परिवर्तन गरिएको ऐतिहासिक अभिलेखबाट देखिन्छ । पशुपतिनाथमा चढाइने दूध, मह तथा पानी लगायत वस्तुहरू जलहरी हुँदै वागमती किनारको ब्रहृमनालसम्म पुग्ने र भक्तालुहरूलाई अभिषेक गरिने जल पनि जलहरीमा सञ्चित हुने भएकोले यसको ज्यादै महत्वपूर्ण स्थान रहेको छ ।

सुनको जलहरी राख्दा प्राचीन स्मारक संरक्षण ऐनको भावना विपरीत हुन्छ भन्ने तर्क सही होइन । धार्मिक तथा सांस्कृतिक विषय उठान गर्दा त्यसमा अन्तर्निहित मानवीय संवेदनासँग जोडिने विषयलाई समेत हेर्नुपर्ने हुन्छ । नेपाली समाजमा यसको प्रभाव हुन जाने भएकोले त्यस्तो दाबी ऐतिहासिक तथ्यमा आधारित तथा प्रमाणयोग्य हुनुपर्दछ ।
पशुपतिनाथ क्षेत्रको सुरक्षा, सम्भार र विकास गर्न तथा सर्वसाधारण जनताको सदाचार तथा सुविधा कायम राख्न बनेको पशुपति क्षेत्र विकास कोष ऐनमा ‘प्रधानमन्त्री कोषको संरक्षक हुने’ भन्ने व्यवस्था छ । प्रधानमन्त्री कोषको कार्यकारी पद होइन तर कोषको संरक्षक भएकोले पशुपतिनाथको प्राकृतिक सम्पदाको सम्भार, संरक्षण गर्न आवश्यक सहजीकरण गर्ने कर्तव्य प्रधानमन्त्रीको पनि हो ।

प्राप्त तथ्यबाट आराध्यदेव पशुपतिनाथको मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएको छ । ७ वर्ष यता जलहरी फेर्ने सम्बन्धमा प्रयास भए तापनि मूर्तरूप लिनसकेको थिएन ।

सम्बन्धित निकायबाट अहिले जलहरीलाई जीर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर पर्ने नदेखिएको, जीर्ण भएको अवस्थामा अभिलेख वा पुरातात्विक वस्तुलाई असर नपर्ने हिसाबले सुनको पाता राख्दा कुनै असर नपर्ने भएको सुझाव आएको हो ।

मठ-मन्दिरको शैली वा त्यहाँ प्रयोग भएका सामानहरूलाई पहिला जस्तो छ त्यस्तै बनाई चाँदीको सट्टा सुनको जलहरी राख्दा शास्त्रीय वा पुरातात्विक हिसाबले कुनै अप्ठेरो हुने नभएकोले नै सुनको जलहरी राखिएको हो । चाँदीको स्थानमा सुन राख्दा झनै यसको महत्व बढेको छ ।

जीवनको अन्तिम अवस्थामा रहने तथा मानिसको नश्वर शरीरको अन्त्य भइसकेपछि समेत सुनपानी खुवाउने सनातन धार्मिक मान्यता छ । नेपाली समाजमा सुनबाट निसृत भई गएको पदार्थका प्रयोगको महत्व कम्ती हुने तथा त्यो काम सांस्कृतिक मूल्यमान्यता विपरीत हुने दाबी अनुचित छ ।

पञ्च धातुमध्ये चोखो तथा सर्वोत्कृष्ट धातुको रूपमा लिइने सुनको प्रयोगबाट पशुपतिनाथको गरिमा बढेको अवस्थामा यो वा त्यो बहानामा संरक्षण तथा विकासका कामलाई विरोध गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस पशुपतिनाथको गर्भगृहमा राजनीति : चाँदीको जलहरी रातारात सुनको

पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सनातन धर्मको धरोहरको रूपमा रहेको यस मन्दिरमा सुनको जलहरी राख्ने व्यवस्था गरिएको हो । समृद्धि भनेको सोच समेत हो । हाम्रा ऐतिहासिक धरोहरहरूले समेत हाम्रो समृद्धिको पहिचान बोकेका छन् । परम्परागत संस्कृतिलाई संरक्षण गरी गरिने कामलाई कसैले पनि गैरकानूनी तथा संविधानको मर्म र भावना विपरीत भन्न मिल्दैन ।

कुनै मुलुक धर्मनिरपेक्ष हुँदैमा सो निरपेक्षताभित्र राष्ट्रिय महत्वका धार्मिक सम्पदाको संरक्षणको लागि आवश्यक व्यवस्था गर्न नपाउने भन्ने हुँदैन । सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण तथा सम्वर्द्धनको लागि नेपाल सरकारबाट प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नुपर्ने नै हुन्छ ।

सम्बन्धित मन्त्रालय तथा निकायबाट आवश्यक व्यवस्था भएकोले सांस्कृतिक संरक्षणको लागि गरिएका कामलाई कसैको पक्षपोषण भएको भनी लिइएको दाबी अनुचित छ । सबै प्रकारका धर्म-संस्कृति तथा रीतिरिवाजहरूको संरक्षण र संवर्द्धन गर्नु नेपाल सरकारको कर्तव्य हुने भएकोले नै विभिन्न धर्म संस्कृतिहरूको रक्षा, धार्मिक स्थलको जीर्णोद्धार, संरक्षण र संवर्द्धन गरिंदै आइएको छ ।

पशुपति क्षेत्र धार्मिक दृष्टिले मात्रै होइन पर्यटकीय दृष्टिले समेत अत्यन्त महत्वपूर्ण स्थल हो । हरेक वर्ष लाखौंको संख्यामा नेपाल बाहेक अन्य देशहरूबाट समेत धार्मिक पर्यटकहरू पशुपतिनाथको दर्शन गर्न आउँदछन् । यस्तो महत्वपूर्ण मन्दिरको जलहरी जस्तो अभिन्न भाग जीर्ण अवस्थामा रहँदा यसले पशुपतिनाथको मर्यादा र गरिमालाई नै नकारात्मक असर पार्न सक्दथ्यो ।

विश्वभरकै सनातन हिन्दू धर्मावलम्बीहरूको आराध्यदेवका रूपमा रहेको पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकोले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय नमूनाका रूपमा विकास गर्नुपर्ने हुन्छ ।

यस क्षेत्रको सांस्कृतिक सम्पदालाई जोगाएर विश्वसामु चिनाउनु, धार्मिक पर्यटनको विकासमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई उत्प्रेरणा दिनु र त्यस अनुसार आवश्यक व्यवस्था गर्नु पशुपति क्षेत्र विकास कोषको संरक्षकको कर्तव्यभित्र नै पर्ने विषय हुन् ।

त्यसैले सम्बन्धित निकायको समन्वय र सहकार्यमा विधिसम्मत रूपमा पशुपतिनाथको मुखलिङ्ग आधारपीठ -जलहरी) सुनको लगाउने कार्य भई क्षमापूजा समेत सम्पन्न भइसकेको हो । यो काम पुरातत्व विभाग तथा पशुपति क्षेत्र विकास कोषको समन्वयमा सम्पन्न भएकोले कानून बाहिरको काम भएको भनी दाबी गर्न मिल्दैन ।”

(चाँदीको सट्टा सुनको जलहरी राख्ने काम गरेको भन्ने मुद्दामा ११ चैत २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफको सम्पादित अंश ।)

यो पनि पढ्नुहोस ‘मुद्दा परेपछि रातारात जलहरी फेर्ने काम गरियो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment