+
+

जन्मदिन विशेषः भुवन केसीको नजरमा आफ्नै उत्कृष्ट ५ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १६:४३

काठमाडौंको सिनामंगलमा जन्मिएका नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । २२ बर्षको उमेरमा चलचित्र ‘जूनी’मा काम गरेर रंगिन दुनियाँमा प्रवेश गरेका भुवनले २३ बर्षको उमेरका चलचित्र ‘कुसुमे रुमाल’मा काम गरे । यो चलचित्रमा काम गरेपछि भने भुवनले पछाडि फर्किएर कहिल्यै पनि हेर्नुपरेको छैन ।

आजबाट कति बर्षमा प्रवेश गर्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा भुवन भन्छन्–‘म राजेश हमाल भन्दा २ बर्ष जेठो छु । राजेश हमालले आफूलाई जती बर्षको भन्छन्, त्यसमा २ बर्ष जोड्नुहोस् ।’ नेपाली चलचित्र क्षेत्रमा विवाद, चर्चा र गसिपमा सधै नै रमाउने भुवन केसीको नाममा एक सय र एकाउन्न दिन मनाउने चलचित्रको सूची पनि लामो छ । चलचित्र ‘ड्रिम्स’बाट भने भुवन निर्देशक समेत बने ।

वैवाहिक जीवनमा असफल देखिएका भुवन केसी चलचित्रको यात्रामा भने सर्वाधिक सफल मानिन्छन् । उनलाई नेपाली चलचित्रको ‘सदाबहार नायक, सुपरस्टार नायक’ जस्ता उप–नामले पनि चिनिन्छ ।

भुवन केसीले आफ्नो करिअरमा दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । तर, उनका केही चलचित्र भने आज पनि दर्शकको मनमा बस्न सफल छन् । जन्मदिनको अवसरमा यहाँ हामीले भुवनको नजरमा उनका आफ्नै ५ उत्कृष्ट चलचित्र प्रस्तुत गरेका छौ । भुवन आफैलाई आफूले अभिनय गरेकामध्ये उत्कृष्ट ५ चलचित्र कुन–कुन लाग्छन् होला ?

१. कुसुमे रुमालः कुसुमे रुमालमा समावेश शिर्ष गीत आज पनि दर्शकको मनमा बस्न सफल छ । साथमा, चलचित्रको कथाले समेत दर्शकको मन जित्यो । भुवन भन्छन्–‘नेपाली चलचित्रको इतिहासमै पहिलो पटक रजत जयन्ती मनाउन सफल चलचित्र हो, ‘कुसुमे रुमाल’ । यो चलचित्रमा अभिनय गर्दा भुवन २३ बर्षका थिए ।

उनी भन्छन्–‘चलचित्र बनाएर पनि मुनाफा आर्जन गर्न सकिन्छ भन्ने पुष्टी यो चलचित्रले गरेको थियो । साथै, यो चलचित्रमा काम गरेका सबै कलाकार यो क्षेत्रमा स्थापित भए । मैले, यो चलचित्रमा काम गरेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन ।’ यो चलचित्रमा काम गरेवापत आफूले एक रुपैयाँ पनि पारिश्रमिक नपाएको भुवन बताउँछन् । तर, निर्माताले भने चलचित्र भवन नै खोलेको उनले बताए ।

२.कन्यादानः भुवन भन्छन्–‘कन्यादानले नेपालमा बालबिबाह रोक्नुपर्छ भनेर वकालत गरेको थियो । त्यो समयमा पनि श्रीमान्को निधन भएपछि पनि महिलाले अर्को बिहे गर्नुपर्छ भन्ने कथा उठाइएको थियो । यसैले, यो चलचित्रलाई म परिवर्तनको संवाहक मान्छु । आजका दिनमा पनि यो चलचित्रलाई विश्वमा आयोजना हुने विभिन्न महोत्सवमा सहभागी गराउने हो भने अवार्ड जित्छ भन्ने विश्वास मलाई छ ।’ नायक केसीले यो चलचित्रले नेपाली कला र सस्कृतीलाई बोकेको थियो भने यसको कमर्सियल भ्यालु पनि उत्तिकै थियो । चलचित्रमा समावेश ‘तिजको लहर’ बोलको गीत आज पनि उत्तिकै लोकप्रिय छ ।

३. नेपालीबाबुः भुवन केसीको नजरमा उनैले अभिनय गरेको अर्को उत्कृष्ट चलचित्र हो, ‘नेपालीबाबु’ । यो चलचित्रले राष्ट्रियताको कथा पनि बोकेको भुवन बताउँछन् । उनी भन्छन्–‘यो नेपालमा प्राविधिक रुपमा बलियो तरिकाले बनेको पहिलो चलचित्र हो । यो चलचित्र आजको दिनमा हेर्दा पनि निक्कै भव्य लाग्छ ।’ कमर्सियल भ्यालु भनेको कस्तो हुन्छ भनेर यो चलचित्रले वुझाउने दाबी भुवनको छ । एकदमै ठूलो क्यानभासमा बनेको एक उत्कृष्ट चलचित्र भएकाले पनि आफ्ना लागि ‘नेपाली बाबु’ विशेष र उत्कृष्ट रहेको केसीले बताए ।

४. करोडपतिः नायक भुवन केसी ‘करोडपति’ले पहिलो पटक व्यापारिक रुपमा नयाँ रेकर्ड राखेको बताउँछन् । नेपाली चलचित्रको ट्रेन्ड नै परिवर्तन गर्न ‘करोडपति’को भूमिका उच्च रहेको भुवनको भनाई छ । उनी भन्छन्–‘यो चलचित्रअघि नेपालमा सामाजिक कथा, दुःखी र गरिबको कथा, बुहारी कुटेका कथामा चलचित्र खुबै बन्थे । यसले नयाँ शैली भित्रायो । आधुनिक कथामा हामीले विदेशी चलचित्रको स्तरमा यो चलचित्र बनाएका थियौं । सो समयमा मलाई यो चलचित्रबाट करिब डेढ करोड नाफा भएको थियो ।’

भुवनका अनुसार, यो चलचित्र निर्माण गर्दा मानिसहरुले उनलाई ‘कि त भुवन केसी करोडपति हुन्छ, कि त रोडपति हुन्छ’ भनेर टिप्पणी गरेका थिए । यो चलचित्रबाट आफूले ‘नेशनल मोसन पिक्चर्स अवार्ड’मा उत्कृष्ट नायकको अवार्ड जितेको उनले बताए । यस्तै, तत्कालिन राजा विरेन्द्रको हातबाट उनले ‘गोरखा दक्षिण बाहु पुरस्कार’ समेत यही चलचित्रबाट जितेका थिए ।

५. म तिमी विना मरिहाल्छुः यो चलचित्रमा काम गरेकोमा आफूले गौरव महशुश गर्ने भुवनको भनाई छ । यो चलचित्रको निर्माण तथा अभिनय गरेर आफूले नेपाली सेनालाई प्रतिनिधित्व गरेको उनले बताए । भने–‘नेपाली सेनाले राष्ट्रका लागि के कती योगदान दिन सक्छ, शान्ती सेनामा गएर नेपाली सेनाले कस्तो भूमिका खेल्छ भन्ने देखाइएको छ । मलाई यो चलचित्र निर्माण गर्दा नेपाली सेनाका प्रधानसेनापति, जर्नेलहरुले समर्थन गर्नुभयो ।’

यो चलचित्रको मेकिङ निक्कै नै अप्ठ्यारो तरिकाले गरिएको भुवनले बताए । नेपाली सेनाले बनाउनुपर्ने चलचित्र आफूले बनाएको भुवनले दाबी गरे । यो चलचित्रले पनि बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?