+
+

नेपालले आज ओमानसँग खेल्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ असोज ३ गते ९:५७

३ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो ।

यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।

अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालको दुईवटा लक्ष्य छन् । एउटा ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने ।

२०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसँग सहजै पराजित भयो ।

लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छन् ।

गत पुसमा एक वर्षका लागि प्रशिक्षक नियुक्त भएका वाटमोरले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेका थिए ।

वाटमोरको प्रशिक्षणमा नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी२० त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो ।

यस्तै वाटमोरको प्रशिक्षणमा नेपालले ओमान टुरमै पहिलो पटक ओडीआई क्रिकेट खेलेको हो । अहिलेसम्म ओमानमा नेपालले पाँच म्याच खेल्दा तीन खेल जितेको छ भने दुई खेल हारेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ले पनि सिरिजको अन्तिम खेल जित्दै टुरको सुखद अन्त्य गर्ने र प्रशिक्षकलाई पनि राम्रो फेरवेल दिने बताएका छन् । उनले ओमानविरुद्धको खेल जित्नुको विकल्प नरहेको बताए । ‘ओमनविरुद्धको खेल जित्नैपर्छ । जित्नुको विकल्प छैन । ओमान आको पनि नै त्यसैको लागि हो,’ ज्ञानेन्द्रले शुक्रबार अमेरिकासँग हारेपछि भनेका थिए, ‘ओमान अंकतालिकामा टपमा छ । जित निकाल्न सक्यो भने आउने दिनमा हामीलाई सजिलो हुन्छ ।’

ज्ञानेन्द्रले अन्तिम खेल जित्नकै लागि खेल्ने बताए । ‘लास्ट गेम जसरी पनि जित्नुपर्छ । हाम्रो कोचको पनि लास्ट गेम हो । राम्रो खेलेर राम्रो फेअरवेल दिने चाहना छ ।‘

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । ओमानले भने सिरिजमा यसअघिका दुवै खेल जितेको छ । सिरिजको अन्तिम ओमान र अमेरिकाबीच सोमबार हुनेछ ।

लिग टू मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ । लिग टू मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् जसमा पपुवा न्यु गिनी ८ खेलमै पराजित हुँदै अंकविहीन छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२० जुलाईमा जिम्बाव्वेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ । जहाँ क्रिकेट विश्वकप च्यालेन्ज लिगका उत्कृष्ट दुई टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका पाँच टिम, लिग टू बाट शीर्ष तीन टिम र प्लेअफबाट दुई गरी जम्मा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडीआई विश्वकप खेल्न पाउनेछन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?