+
+
नेपाल टेलिकम :

फाइभजी परीक्षणको सुरसार, तर फोरजी विस्तार नै बाँकी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असोज ६ गते २०:४९

६ असोज, काठमाडौं । नेपाल टेलिकम पाँचौं पुस्ताको इन्टरनेट सेवा ‘फाइभजी’ परीक्षणको तयारीमा छ । कम्पनीको फोरजी नेटवर्क विस्तारको पहिलो चरणको महत्वाकांक्षी आयोजना भने अझै अधुरो छ ।

फाइभजी परीक्षणको अनुमति कुरिरहेको टेकिलमले फोरजी विस्तारमा ढिलाइ गर्दा सम्भावित करोडौं आम्दानी गुमाएको छ । ठूलो रकम खर्चिएर विस्तार भइरहेको फोरजीले लगानीअनुसार प्रतिफल दिन नसके कम्पनीलाई वित्तीय रुपमा अप्ठेरो पर्ने जोखिम छ । पछिल्ला वर्षमा यसैपनि टेलिकमको नाफा घटिरहेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८मा कम्पनीले ४१ अर्ब ६५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो, जबकी आव ०७६/७७ मा त्यस्तो आय ४२ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ थियो । एक अर्ब ३३ करोड रुपैयाँ आम्दानीसँगै कम्पनीको खुद मुनाफा दुई अर्ब ३० करोड रुपैयाँ घटेको छ ।

०७६/७७ मा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेको खुद नाफा गत वर्ष सात अर्ब ४५ करोड ५३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष सेवा बिक्रीबापतको आम्दानी एक अर्बभन्दा बढी बढाएपनि कुल आम्दानीमै असर परेपछि टेलिकमका अधिकारीहरु निराश छन् ।

यस्तो अवस्थामा टेलिकमले फोरजी विस्तारको काम पनि लम्ब्याइरहेको छ । २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । त्यसपछि अन्यत्र सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै टेलिकमलाई २ वर्ष समय लागेको थियो ।

२०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्‍याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्यो ।

प्रविधिमा फितलो कार्यशैली

२०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपर्थ्यो । तर, आगामी डिसेम्बरसम्म परियोजना सक्न ठेकदार कम्पनीलाई समय दिएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् ।

२०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटिक म्याद थप्दै आयोजना लम्ब्याउने काम भइरहेको छ ।

टेलिकमले भन्दा ६ महिनापछि फोरजी सेवा थालेको एनसेलले फोरजी ग्राहक ५० लाख ४२ हजार पुगेको छ । टेलिकमको फोरजीमा ग्राहक संख्या ४७ लाख ४४ हजार मात्र छ ।

टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महंगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।

टेलिकमले फोरजी सेवा बिस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।

टेलिकमका प्रवन्ध निर्देशक अधिकारीका अनुसार अहिलेसम्म ‘कोर नेटवर्क’तर्फको काम ९७ प्रतिशत सकिएको छ । रेडियो एक्सेस नेटवर्कतर्फ भने ८५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यसअनुसार दुबै परियोजनामा औसत ९० प्रतिशत काम सकिएको छ । कतिपय स्थानमा नयाँ टावर बनाउन र कतै उपकरणहरु जोड्न बाँकी छ ।

परियोजना महँगो भएको भन्ने विवाद साम्य पार्न सम्भव नहुने भन्दै १२ महिनाको कार्य अवधि राखेर सम्झौता गरिदा यो अवस्था आएको टेलिकमका प्राविधिक अधिकारीहरु बताउँछन् । प्रवन्ध निर्देशक अधिकारी भने कोरोना महामारी रोकथामको लागि भएको लकडाउन र निषेधाज्ञासहित साइटमा देखिएको समस्याका कारण परियोजना प्रभावित भएको बताउँछन् ।

‘महाभूकम्पपछि शहरी क्षेत्रका घरहरुमा टावर राखन समस्या पर्‍यो । कतिपय ठाउँमा प्राविधिक समस्या पनि छन् । महामारीपछि विदेशबाट प्राविधिकहरु आउँनै सकेनन्’, प्रवन्ध निर्देशक अधिकारी भन्छन्, ‘उच्च हिमाली क्षेत्रमा लक्ष्य अनुसार काम हुन सकेन । वन र संरक्षित क्षेत्रमा राख्नुपर्ने टावरको लागि समयमै अनुमति पनि पाइएन ।’

फाइभजी परीक्षणको तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले ठूलो लगानी गरेर फोरजी सेवा विस्तारमा अलमलिएको टेलिकमलाई २६०० ब्यान्डविथमा फाइभजी परीक्षणको अनुमति दिने प्रक्रिया अघि बढाएको छ । अनुमति पाउनासाथ टेलिकमले फाइभजीको उपकरण आयात थाल्नेछ ।

प्रवन्ध निर्देशक अधिकारी कुन ठाउँमा कस्ता उपकरण राखेर कसरी परीक्षण गर्ने भन्नेबारे अध्ययन गरेको बताउँछन् । उनका अनुसार काठमाडौं उपत्यका र नजिकको एउटा पहाडी जिल्लाबाट फाइभजी सेवाको परीक्षण शुरु हुनेछ ।

‘फाइभजी विश्वभर नै विकासको क्रममा छ’, उनी भन्छन्, ‘फोरजी विस्तार गरेर त्यसबाट पनि पर्यात लाभ लिन सकिने अवस्था कायम छ ।’

सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने भएकाले तत्काललाई यो फोरजीको विकल्प नबन्ने उनको भनाइ छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?