+
+

‘पार्टीभित्रको दुई थरी विचार जनतामा पुग्यो’

समीक्षा बास्कोटा, सचिवालय सदस्य, साझा विवेकशील समीक्षा बास्कोटा, सचिवालय सदस्य, साझा विवेकशील
२०७८ असोज २५ गते १०:४०

चाडपर्वमा नेता/कार्यकर्ता र जनताका बीचमा भेटघाट हुनु स्वाभाविक हो । यो अवसरमा प्राप्त भेटघाटमा हामी नेपालमा नयाँ शक्ति किन आवश्यक छ भन्नेमा केन्द्रित छौं ।

नेपालमा पुराना शक्तिले विकास र समृद्धि दिन सकेनन् अब नयाँ शक्तिलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो र जनतालाई हामी यही भनिरहेका छौं । सधैंभरि पुराना पार्टी भनेर हुँदैन राम्रो व्यक्ति नयाँ ठाउँबाट आइरहेको छ भने जनताले अवसर दिनुपर्छ भनेर बुझाउन हामीहरू ‘फोकस’ भएका छौं ।

तर, पार्टीमा अहिले दुई विचारधारा देखा परेका छन् । अध्यक्ष रवीन्द्र मिश्रज्यूले एउटा डकुमेन्ट ल्याउनुभयो– संघीयताको खारेजी र राज्यको पुनर्संरचना गर्ने । स्थानीय तहलाई थप बलियो बनाएर जाने, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्ने ।

त्यसपछि संयोजक मिलन पाण्डेज्यूको पनि डकुमेन्ट आयो । र अहिले पार्टीभित्र दुई विचारधारामाथि छलफल जारी छ । यही छलफल नागरिक समाज र जनतामा पुगेको छ । कुन विचारधारा हो भनेर पार्टीले औपचारिक निर्णय नगरेका कारणले गर्दा जनताले पार्टीको लाइन के हो ? भनेर  सोध्नु स्वाभाविक छ ।

जनतालाई बुझाउँदा दुवै धारबाट आफ्ना कुरा राख्ने प्रयास भइहाल्छ । पार्टीको लाइन यही नै हो भन्नलाई अहिले दुई विचारमध्ये कुनैमा पनि औपचारिक निर्णय भएको छैन ।

मेरो व्यक्तिगत कुरा गर्दा– घुमाउरो भाषामा पार्टीको लाइन संघीयताको पुनर्संरचना, सीधा भन्दा संघीयताको खारेजी र धर्मको विषयमा जनमतसंग्रह हो । तर, पार्टीले औपचारिक निर्णय नगरेका कारणले मेरो यो भनाइ एउटा विचारको रूपमा मात्रै लिइएला ।

तर पार्टीमा दुईवटा डकुमेन्ट आएका छन् र एउटा डकुमेन्टले मैले भनेको विचार बोक्छ नि त ! जो कोहीले साझा पार्टीका विगतका डकुमेन्ट हेर्नुभयो भने त्यहाँ मेरो विचार पाउन सक्नुहुन्छ । यही कुरालाई साझा पार्टीले आफ्नो डकुमेन्टमा लेखेको थियो ।

निचोडमा भन्दा– चाडपर्वको अवसरमा भएका भेटघाटमा हामी पार्टीमा रहेका दुई विचारमाधि छलफलमा केन्द्रित छौं । यस्ता छलफलहरूले नेता/कार्यकर्ता र जनतालाई दुवै विचार बुझ्ने र निर्णय लिने अवसर दिइरहेको छ ।

पार्टीभित्रको विचारमाथिको छलफलले आगामी चुनावको तयारी र रणनीतिमा असर पर्न नदिने प्रयत्न पनि छ । विचारमाथिको छलफलले आगामी चुनावको तयारी र रणनीतिलाई असर गर्दैन र असर गर्न दिन हुन्न भन्नेमा सचेत छौं ।

हामीले ठूलो शक्तिलाई चुनावमा ढाल्नु छ त्यसकारण हामी आन्तरिक लडाइँमा लाग्नुहुन्न । आन्तरिक लडाइँले कसैलाई कहीं पुर्‍याउँदैन पनि । त्यतातिर हामी केन्द्रित पनि भएका छैनौं । लोकतान्त्रिक पार्टीभित्र वैचारिक बहस जहिले र जहाँ पनि हुन्छ ।

एउटा परिवारमा बहस हुन्छ भने पार्टीमा नहुने कुरै भएन । पार्टीभित्र हुने वैचारिक बहसले पार्टीलाई थप बलियो र मजबूत बनाउँछ । र अहिले पार्टीमा जारी वैचारिक बहस लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गिन्छ । सर्वसम्मत निर्णय लिने प्रयास हुन्छ नभए बहुमतबाट अगाडि बढ्छ ।

(साझा विवेकशील सचिवालय सदस्य बास्कोटासँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?