सर्प शब्द सुन्ने बित्तिकै हामी सबैलाई डर लाग्छ । धार्मिक रूपमा समेत सर्पको व्याख्या गरिएको छ । हिन्दु धर्ममा सर्पलाई नाग देवताको रूपमा पुजा गरिन्छ भने शेषनागले सम्पूर्ण ब्रह्माण्ड धानेको धार्मिक मान्यता छ । तर इसाइ धर्ममा भने सर्पलाई सैतानको रूपमा व्याख्या गरिन्छ ।
विश्वमा करिब पाँच हजार प्रजातिका सर्पहरू पाइन्छन् । एक सरकारी तथ्यांकअनुसार यीमध्ये नेपालमा करिब ९० प्रजातिका सर्प पाइन्छन् । यीमध्ये सत्र प्रजातिका सर्पहरू विषालु रहेका छन् ।
नेपालमा पाइने सर्पहरूलाई साधारणतया इलापीडी र भाइपीरीडी गरेर दुई समूहमा वर्गीकरण गरिन्छ । जसमध्ये कोब्रा (गोमन), करेत (सेतो कालो चुरे सर्प), भाईपर (बाघे सर्प), हरेउ जस्ता सर्पहरू नेपालमा बढी सर्पदंशका कारकहरू हुन् ।
सर्प चिसो रगत भएको जनावर हो । यिनीहरू विशेषत तल्लो गर्मी भूभागमा बस्न रुचाउँछन् । जङ्गल, घाँसे मैदान, खेती गर्ने जमिन, मुसाका प्वालहरू, बासँका झाँङ, घरका कुनाहरूमा यिनीहरू भेटिन्छन् ।
यस लेखमा विशेषतः सर्पको टोकाइ, लक्षण, उपचार र समाधानको उपायको बारेमा चर्चा गरिनेछ ।
सर्पको टोकाइ
नेपालमा वार्षिकरूपमा २० हजार मानिस सर्पको टोकाइबाट पीडित हुने गरेको तथ्याङ्क रहेको छ । सर्पको आहार मानिस होइनन् । बरु सर्प मानिसदेखि डराउँछन् । यदि कसैले उसलाई जान अञ्जानमा चलाएमा मात्र डस्ने गर्दछ । सर्पले टोकेको बिरामीमा सधैं टोकाइको दाग (बाईट मार्क) भेटिन्छ भन्ने छैन ।
कसैमा एउटा मात्र बाईट मार्क भेटिन्छ भने कसैमा दुइटा तथा कसैमा चिथोरिएको दाग मात्र भेटिन्छ । सर्पको विष लाग्नको लागि सर्पले टोकेर मात्र हुँदैन, हाम्रो शरीरमा विष पनि सञ्चार गरेको (विषवमन) हुनु पर्दछ ।
सर्पले टोकेको तर विष भने सञ्चार गराउन नसकेको अवस्थालाई ‘ड्राई बाईट’ भन्ने गरिन्छ । त्यसैले टोक्ने बित्तिकै विष लाग्छ भन्ने कुरा गलत हो । चलनचल्तीको भाषामा विषालु सर्पले टोकेको ठाउँमा एउटा मात्र काटेको दाग र विषालुरहित सर्पले टोकेको ठाउँमा दुइटा काटेको दाग भेटिन्छ भनिन्छ ।
यो कुरा पूर्ण सत्य होइन । अचम्मको कुरा त के छ भने करेत सर्पले टोकेको दाग नदेखिन पनि सक्छ । कोब्रा सर्पले धेरैजसो दिनको समयमा टोक्छ भने करेत सर्पले प्रायजसो रातको समयमा टोक्दछ ।
सर्पदंशका लक्षणहरू
सर्पको विषमा हेमाटोटक्सिन, न्यूरोटक्सिन तथा मायोटक्सिन नामक रसायनहरू हुन्छन् । सर्पले टोकी विषवमन गरिसकेपछि त्यसबाट लोकल र सिस्टमिक गरेर दुई प्रकारका लक्षणहरू देखा पर्दछन् । टोकेको ठाउँमा नै देखिने विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई लोकल इफेक्ट भनिन्छ भने विषको कारण शरीरका विभिन्न प्रणालीमा देखिने समस्यालाई सिस्टमिक ईफेक्ट भनिन्छ ।
टोकेको ठाउँमा सुन्निनु, दुख्नु, फोका (बिल्सटर) पलाउनु, छाला मर्नु तथा घाउ पाक्नु लोकल ईफेक्ट हुन् । साधारणतया सिस्टमिक ईफेक्टलाई दुई भागमा विभाजन गर्न सकिन्छ । स्नायु (सीएनएस) ईफेक्ट र रगतको (हेमाटोलोजिकल) ईफेक्ट ।
स्नायु असरभित्र आँखा खोल्न गाह्रो हुनु, आँखाको नानी यताउता चलाउन गाह्रो हुनु, मुख खोल्न तथा जिब्रो निकाल्न गाह्रो हुनु, टाउको धान्न गाह्रो हुनु, पूरै शरीर कमजोर हुनु, सास फेर्न गाह्रो हुनु आदि पर्दछन् भने लामो समयसम्म रगत बगिरहनु वा रगत नरोकिनु रगत तथा हेमाटोलोजिकल असर भित्र पर्दछन् । साथै अत्याधिक पेट दुख्नु र पसिना आउनु, वाक वाक लाग्नु तथा बान्ता हुनु, झुम्म हुनु अन्य लक्षणहरू हुन् ।
सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?
सर्पले टोकीसकेपछि घरायसी उपचारमा समय बर्बाद गर्नुभन्दा जति सक्दो छिटो स्वास्थ्य संस्थामा जानुनै उत्तम विकल्प हो । टोकेका भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नु पर्छ । यसलाई प्रेसर ईमोबिलाइजेसन विधि भनिन्छ । उक्त भागलाई स्पिलिन्ट पनि लगाउन सकिन्छ ।
चलाउँदा शरीरमा विष फैलने क्रम बढेर जान्छ । टोकेकोभन्दा माथि कपडा वा डोरीले कसेर बाँध्ने, मुखले चुस्ने तथा काट्ने, गाईको दिशा लगाउने, करेन्ट लगाउने तथा सर्पले चाटेको ढुङ्गा लगाउने जस्ता कार्य गर्नु हुँदैन ।
के हो त सर्पदंशको उपचार ?
सबै सर्पको टोकाइको लागि एन्टिभेनमको (प्रतिविष) आवश्यकता पर्छ भन्ने छैन । शरीरमा विष लागेर स्नायु (सीएनएस) प्रणालीमा असर गरेमा, रगत (हेमाटोजिकल) प्रणालीमा असर गरेमा तथा ब्लड प्रेसर र अन्य अंगहरूमा समेत क्षति भएमा स्नेक एन्टिभेनम चलाइन्छ ।
एन्टिभेनम नै सर्पको टोकाइको एक मात्र उपचार पद्धत्ति हो । एन्टिभेनमको साथ साथै टिटानस सुई दिने, छाला मरेको भाग काटेर फाल्ने, संक्रमण छ भने एन्टिबायोटिक चलाउने, टोकेको भागलाई सिरानीमाथि राख्ने तथा श्वास फेर्न गाह्रो भएको बिरामीहरूलाई भेन्टिलेटर र किड्नीमा असर गरेका बिरामीहरूलाई हेमोडाईलाईसिसमा समेत राख्नुपर्ने हुन सक्छ ।
स्नेक एन्टिभेनम के हो ?
एन्टिभेनम सर्पकै विषबाट बनाइने सर्पको टोकाइविरुद्ध लगाइने एकप्रकारको ईन्जेक्सन हो । नेपालमा उक्त एन्टिभेनम भारतबाट आयात गरिन्छ । यसले कोब्रा, करेत, भाईपर र स स्केल्ड भाईपरविरुद्ध काम गर्दछ । एन्टिभेनम लगाएका व्यक्तिहरूमा मृत्युदर धेरै हदसम्म घटेको अध्ययनहरूले देखाएका छन् । तर धेरैजसो व्यक्तिहरूमा उक्त औषधिले एनाफाईल्याक्सिस नामक प्रतिक्रिया देखाउँछ । नेपाल सरकारले उक्त औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सर्पको टोकाइबाट हुने दीर्घकालीन समस्याहरू के हुन् ?
सर्पको टोकाइबाट दीर्घकालीन समस्याहरू पनि देखिने विभिन्न अध्ययनले देखाएका छन् । हड्डीको सङ्क्रमण, हाड जोर्नीको दुखाई, धेरै रगत बगे पछि मृगौलाले काम गर्न छाड्नु तथा पिट्युटरी ग्रन्थीको समस्या, मष्तिष्कसम्बन्धी समस्या- जस्तै डिप्रेशन, एन्जाईटी लगायत, हिंडडुल गर्न गाह्रो हुने आदि दीर्घकालीन समस्याहरू देखा पर्दछन् ।
सर्पको टोकाइबाट कसरी बच्ने ?
सर्पले टोकिसकेपछि उपचारको लागि भौंतारिनु भन्दा सर्प हामीसम्म आउने वातावरण सिर्जना नर्गनु नै प्रभावकारी हुन्छ । घर वरिपरिका झ्याङ घाँसहरू काट्ने, सर्प लुक्ने ठाउँहरू जस्तै बाँस तथा काठका टुक्राहरू घरबाट टाढा राख्ने, झ्याल ढोकाहरू राम्रोसँग लगाउने, भुईमा सकेसम्म नसुत्ने, सुत्नै परे झुलको प्रयोग गर्ने, रातिको समयमा बाहिर हिंड्नुपरे टर्च लाइटको प्रयोग गर्ने, सर्पसँग खेल्ने तथा जिस्काउने प्रयास नगर्ने, माटोको दुलो तथा काठको दुलोमा हात नहाल्ने, लामो लामो घाँसको झ्याङमा हिंड्नु परेमा सकेसम्म गम बुट वा लट्ठीको प्रयोग गर्ने गर्नुपर्दछ । हामीले यति मात्र कुरामा ध्यान दिन सक्यौं भने सर्पको टोकाइबाट धेरै हदसम्म बँच्नेछौं ।
(परियार त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत छन् ।)
प्रतिक्रिया 4