+
+
विशेष रिपोर्ट :

उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली

मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने थाहा पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली ।

गौरव पोखरेल गौरव पोखरेल
२०७८ कात्तिक ८ गते १९:४६

मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली ।

८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले तयार पारेको गुण्डागर्दीमा संलग्नहरूको सूची हेर्ने हो भने काभ्रेका दावा लामा पहिलो नम्बरमा पर्छन् । प्रहरीको यो अभिलेखले ठेक्कापट्टा, क्यासिनो, बुद्धचित्त मालाको कारोबार र मिटरब्याजका गतिविधिमा संलग्न भएर लामाले आपराधिक काम गरिरहेको देखाउँछ ।

तर, उनै लामालाई सत्तारुढ नेपाली कांग्रेसले काभ्रेको भुम्लु गाउँपालिकाको पार्टी सभापति बनाएको छ ।

कांग्रेसका जिल्ला सभापति मधु आचार्यले ‘निर्वाचन अधिकृत राजेन्द्र लामिछाने विना सूचना बेपत्ता भएको’ बताउँदै पालिकास्तरीय अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । मतदाता नामावली समेत सार्वजनिक नभएको अवस्थामा लामालाई एकलौटी रूपमा सभापति बनाइएको आचार्यको आरोप छ ।

लामो समयदेखि पार्टीमा क्रियाशील नेताहरू आकांक्षी हुँदा–हुँदै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका लामालाई गाउँ कमिटीको नेतृत्व सुम्पिंदा विरोध समेत भयो । तर विरोधको स्वर बलियो बन्न सकेन ।

लामा तिनै व्यक्ति हुन्, जसलाई १५ जेठ २०७५ मा तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले खोजीको सूचीमा राखिएको बताएका थिए । प्रहरीको र्‍याडरमा परेयता पछिल्लो पटक २०७५ सालमा उनी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिग खेलको सट्टेबाजीमा संलग्न रहेको खुलेको थियो ।

पूर्वफुटबलर अञ्जन केसी सहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा तत्कालीन एसएसपी पोखरेलले लामाको पनि संलग्नता खुलेको बताएका थिए । पछिल्लो पटक नेपालमा सार्वजनिक जानकारीमा आएको घटना यो भए पनि लामा र प्रहरीबीचको साइनो भने पुरानो छ ।

गृहमन्त्री बालकृष्ण खाणसँग दावा लामा ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार २०६२/६३ देखि नै हप्ता असुलीमा सक्रिय लामा १० माघ २०६७ मा मानव बेचबिखन मुद्दामा पक्राउ परेका थिए । तर धरौटीमा छुट्न सफल भए ।

‘त्यसपछि पनि सार्वजनिक मुद्दामा धेरैपटक पक्राउ परिसकेको केटो हो’ ती अधिकृत भन्छन्, ‘ठूलो केसमा मुछिएको चाहिं २०६७ सालमा हो ।’ २०७० सालमा ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेको अभियोग पनि उनीमाथि छ ।

२०७१ सालमा जोरपाटीबाट खैरो हेरोइन सहित पक्राउ परेर उनी जेल पुगेका थिए । लागूऔषध सहित पक्राउ परेका वेला उनलाई छुटाउन कांग्रेसबाट निर्वाचित सांसद तीर्थ लामा आफैं हनुमानढोका पुगेपछि उनी सार्वजनिक वृत्तमा चर्चामा आएका थिए ।

२०७३ चैतमा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जीम हाउसमा गोली प्रहार भएपछि त चर्चा अझै चुलियो । त्यसवेला तत्कालीन एसएसपी विक्रमसिंह थापालाई फोन गरेर अर्का गुण्डा लोप्साङ लामाले घटनाको जिम्मेवारी लिएका थिए ।

कुनै समय प्रहरीको मुख्य खोजी सूचीमा रहेका लामा कांग्रेस सत्तामा पुगेसँगै एकाएक सक्रिय भएका थिए । कोरोना महामारीका वेला गाउँपालिकामा ‘समाजसेवा’ गरिरहेको देखिएका उनलाई पार्टीले गाउँपालिकाको सभापति मात्रै बनाएको छैन, तरुण दल काभ्रेको संयोजक र वागमती प्रदेशको उप–संयोजकको जिम्मेवारी पनि दिएको छ ।

‘पहिलाको व्यवहार छाडेर सुध्रिन खोजेकाले राजनीतिमा ल्याएको’ स्थानीय कांग्रेस नेताहरूको तर्क छ ।

०००

लामालाई गुण्डागर्दीको दुनियाँमा प्रवेश गराउने गणेश लामा चाहिं यसअघि नै राजनीतिमा छिरिसकेका छन् । ठमेलमा रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीको दुनियाँमा कुख्यात बनेका लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेस्टुराँमा अर्का गुण्डा नाइके चक्रे मिलनको हात छिनाएका थिए ।

लामाले गुण्डा नाइकेको रूपमा परिचय बनाएको चाहिं काभ्रेमा रक्तचन्दनको कारोबार थालेपछि हो । एक सुरक्षा अधिकृतका अनुसार, त्यसवेला प्रहरीलाई पनि रक्तचन्दनबारे धेरै जानकारी थिएन ।

‘प्रहरीलाई समेत धेरै जानकारी नभएका वेला उनीहरूले प्रहरीकै सहयोगमा रक्तचन्दन तस्करी गरिरहेका थिए’ ती सुरक्षा अधिकारी भन्छन्, ‘पछि मात्रै तस्करीबारे खुलेको थियो ।’ रक्तचन्दन कारोबारकै क्रममा लामाको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारसँग चिनजान भयो । उनको संरक्षण पाएपछि गणेश लामा काभ्रेली समूहका नाइकेका रूपमा उदाए ।

गच्छदारको साझेदारी भएपछि उनलाई अपराध कर्म अघि बढाउन सहज मात्रै भएन, गुण्डागर्दीको आवरणबाट राजनीतिकर्मी बन्न सहज पनि भयो ।

नेपाली कांग्रेस र गच्छदार नेतृत्वको फोरमबीच ३० असोज २०७४ मा पार्टी एकता हुँदा लामा पार्टीको केन्द्रीय नेताको हैसियतमा बालुवाटारमा देखिए । पछि कार्यसमिति समायोजन हुँदा गच्छदारले उनलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाउने प्रस्ताव समेत गरे ।

नेताहरूको विरोधका कारण उनी केन्द्रीय समितिमा अटाउन त सकेनन् तर पार्टीको संसदीय बोर्ड बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेश सभा सदस्यको उम्मेदवार बनायो ।

गणेश लामा ।

विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेका वेला उम्मेदवार बनाइएका उनी वाम गठबन्धनका उम्मेदवार चन्द्र लामासँग पराजित भए । चन्द्रले २४ हजार ४४७ मत प्राप्त गरी विजयी हुँदा गणेशले २० हजार २७० मत प्राप्त गरेका थिए ।

पछिल्लो समय प्रहरीकहाँ उनको आपराधिक गतिविधिबारे जानकारी आएको थिएन । उनी प्रहरीको नजरबाट हटेका चाहिं थिएनन् । त्यहीबीच सिरुवा कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका उनी ३० फागुन २०७४ मा गौशालाको होटल पशुपति भिजनमा एउटा पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली सहित पक्राउ गरे ।

हिरासतमा रहेका वेला लामाले आफूलाई दुई युवकले गोली हानेर भागेको दाबी गरे पनि लामाको साथबाट बरामद पेस्तोल र घटनास्थलमा भेटिएको गोलीको खोका म्याच भएको भन्दै प्रहरीले उनी विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलायो ।

अडियोमा सुन्नुस्

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैत २०७४ मा उनलाई ७ महीना कैद र ७० हजार रुपैयाँ जरिवाना तिराउने आदेश गर्‍यो । र, ३१ असोज २०७५ मा उनी कैद सजाय कट्टा भएपछि छुटे ।

गणेश लामा थुनामुक्त हुँदा डिल्लीबजार कारागारको महोल भावुक बन्यो । किनकि, लामा छुट्ने वेलामा उनलाई अपराध कर्ममा प्रवेश गराउने गुरु दीपक मनाङे सोही कारागारमा थिए । जेलमा भेट भएर छुट्टिने वेला मनाङेले लामालाई फूलमाला लगाइदिएर विदाइ गरेका थिए । कारागारबाट निस्किने वित्तिकै बाहिर लामाका समर्थकले स्वागत गरेका थिए ।

०००

नेकपा एमालेको समर्थनमा मनाङ ‘ख’बाट प्रदेशसभा सदस्य बनेका दीपक मनाङे ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर भएपछि डिल्लीबजार कारागार पुगेका थिए ।

२०६१ सालमा मनाङे, गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामाहरू अर्का गुण्डा नाइके मिलन चक्रेलाई तरबार हानेको भन्दै प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । तर काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपिट ठहर गरेर मनाङेलाई दुई वर्ष जेल सजाय तोकेको थियो भने गणेश लगायतलाई सफाइ दिएको थियो ।

त्यो फैसला विरुद्ध सरकारी वकिल पुनरावेदन अदालत, पाटन जाँदा ज्यान मुद्दा ठहर भयो । र, मनाङेलाई पाँच वर्ष जेल सजाय भयो ।

२०६२/६३ को जनआन्दोलनपछि ठमेलमा मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो । समूह विस्तार गरिरहेका वेला मनाङेको नजर बाउन्सर गणेश लामामाथि परेको थियो । मनाङेको समूहमा जोडिएपछि लामा गुण्डागर्दीको दुनियाँमा औपचारिक रूपमा प्रवेश गरेका थिए ।

उपत्यकाका २०० गुण्डा : को कुन दलमा ?

शुक्रे तामाङ प्रहरीलाई नै आक्रमण गर्न पछि नपर्ने गुण्डा हुन् । कारागारबाट अस्पताल जाने बहानामा सहयोगी प्रयोग गरेर प्रहरीलाई आक्रमण गर्ने उनी जेलबाट छुटेलगत्तै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

हाल कांग्रेसले उनलाई दोलखा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको जिम्मेवारी दिएको छ । उनी जस्ता थुप्रै गुण्डाहरू अहिले राजनीतिमा छन् । नेपाली कांग्रेस मात्र होइन, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपामा गुण्डाहरूको उपस्थिति उत्तिकै छ ।

प्रहरीको रकर्डले काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न व्यक्ति रहेको देखाउँछ । तीमध्ये पनि काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन् ।

काठमाडौं प्रहरीको एक अभिलेख अनुसार बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय छन् । तीमध्ये २२ जना नेपाली कांग्रेससँग जोडिएका छन् । १६ जना नेकपा एमाले, दुई माओवादी र एक जना राप्रपामा छन् । नेपाली कांग्रेससँग आबद्ध गुण्डा मध्ये अधिकांश ‘क’ वर्गका छन् ।

सूची अनुसार दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, झिंगे भन्ने सञ्जय लामा लगायतका गुण्डाहरू कांग्रेससँग आवद्ध छन् ।

राजु गोर्खाली

कांग्रेससँग नजिक हुनेमा टोले गुण्डादेखि व्यक्ति हत्यामा संलग्न हुनेसम्म छन् । पुराना गुण्डा नाइके राजु गोर्खाली चाहिं नेपाली कांग्रेससँग जोडिएका व्यक्ति हुन् ।

प्रहरीको रकर्डले काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न व्यक्ति रहेको देखाउँछ । तीमध्ये पनि काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन्

चाबहिललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा १० वर्ष जेल बसेका थिए ।

जोरपाटीका गुण्डा प्रकाश गोले पनि नेकपा एमालेसँग जोडिएका गुण्डा हुन् । उनी टेन्डर, हप्ता असुली, धम्की र खुकुरी हान्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रहरी रेकर्डले देखाउँछ । नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमालेसँग जोडिएका गुण्डा हुन् ।

महाराजगञ्जका पुराना गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ पनि नेकपा एमालेसँग नजिक छन् । उनी ठेक्कापट्टा, टेण्डर र मिटरब्याज सम्बन्धी कारोबारमा सक्रिय रहेको प्रहरी अभिलेखले देखाउँछ । त्यसैगरी गोंगबुका हापा गुरुङ पनि एमाले निकट छन् ।

प्रहरी अभिलेख अनुसार, गुण्डागर्दीमा सक्रिय गौरीघाटका गोपाल थापा र सिफलका प्रतीक हवल्दार श्रेष्ठ माओवादी केन्द्र निकट छन् । राप्रपाका राम श्रेष्ठ पनि गुण्डागर्दीमा संलग्नको सूचीमा छन् ।

सोह्रखुट्टे, जनसेवा, बालाजु, कमलपोखरी र दरबारमार्ग क्षेत्रमा ६३ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको अभिलेखले देखाउँछ । तीमध्ये अधिकांशको राजनीतिक आस्था खुलेको छैन । तर उनीहरू कुनै न कुनै दलसँग निकट रहेको काठमाडौं प्रहरीका एक अधिकृत बताउँछन् ।

‘नाइकेको मुनि रहेर काम गर्ने हुनाले पनि उनीहरूको आस्था खुल्दैन तर चिनिएका गुण्डाको नजिकमा हुने भएकाले नेताको आशीर्वाद उनीहरूलाई हुन्छ’ उनी भन्छन् । सोह्रखुट्टे क्षेत्रमा दीपक मनाङे र लाम्टा मुखियाबाहेक अरू सबै ‘ख’ र ‘ग’ वर्गका गुण्डा छन् ।

स्वयम्भू आसपासका क्षेत्रमा पाँच जना गुण्डा सक्रिय रहेको प्रहरीको अभिलेखमा छ । तीमध्ये तीन जना नेपाली कांग्रेस र एक/एक जना माओवादी र एमालेसँग जोडिएका छन् ।

बाघे भनिने शुक्रबहादुर लामा, समिरमान सिंह बस्नेत र विकेश भन्ने सत्यमान लामा नेपाली कांग्रेससँग जोडिएका छन् । सीतापाइलाका तुलसी मगर माओवादी र ह्वाइट गुम्बाका चन्द्रबहादुर तामाङ एमालेसम्बद्ध गुण्डा हुन् । पाँचै जनालाई काठमाडौं प्रहरीले ‘क’ वर्गको गुण्डाको सूचीमा राखेको छ ।

ललितपुर प्रहरीको सूची अनुसार जिल्लामा ३४ गुण्डा नाइके छन् । उनीहरूमध्ये चापागाउँका मीनकृष्ण महर्जन नेपाली कांग्रेससँग जोडिएका छन् । अन्यको राजनीतिक आस्था खुलेको छैन ।

भक्तपुरका सरोज र बाबु थापा राप्रपासँग जोडिएका छन् । दुवाकोटका अनिल थापा, कटुन्जेका दीपक थापा, वसन्त लामा, ठिमीका जीवन श्रेष्ठ, सरेन्द्र दुवाल नेकपा एमाले निकट छन् । सुरेश लामा, बमबहादुर श्रेष्ठ, किशोर नेपाल, सतिश श्रेष्ठ, रवि राना, तेज डंगोल, बमबहादुर श्रेष्ठ, गौरी गुमाञ्जु, दिनेश लामा, रञ्जन सैजु, विष्णु चौगुठी र सतिश धौबन्जार नेपाली कांग्रेस निकट छन् ।

भक्तपुर–१६ का उज्ज्वल अवाल र बागेश्वरी–१ का रामप्रसाद मास्के नेपाल मजदूर किसान पार्टी (नेमकिपा) सँग निकट छन् ।

अडियोमा सुन्नुस्

गुण्डागर्दीको जग राजदरबार

उपत्यकाको गुण्डागर्दी नियन्त्रणमा लामो समय काम गरेका नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) को भनाइमा नेपालमा गुण्डागर्दीको संरचनात्मक शुरुआत राजदरबारबाट भएको हो ।

दरबार निकट व्यक्तिहरूले ‘जे गरे पनि हुन्छ’ भन्ने भएपछि गुण्डागर्दीले टाउको उठाउने ठाउँ पाएको उनको भनाइ छ । २०४० सालपछि तत्कालीन अधिराजकुमार धीरेन्द्रको निकटमा रहेर मार्सल आर्टस्को प्रशिक्षक बनेपछि जगत गौचनको गुण्डागर्दीले मलजल पाएको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल चाहिं २०३६ सालमा राष्ट्रवादी विद्यार्थी मण्डल गठन भएपछि नै गुण्डागर्दी र यसको राजनीतीकरण शुरु भएको बताउँछन् । ‘त्यतिवेला दीपक बोहोरा, उत्तम गुरुङहरू राजनीतिक आडमा गुण्डागर्दी गर्न थालेका थिए’ उनी भन्छन्, ‘बहुदलका समर्थकलाई तह लगाउन पनि उनीहरू प्रयोग भए र दरबारबाटै संरक्षण पाए ।’

उपत्यकामा गुण्डागर्दीको जगजगी रहेका वेला काम गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीका अनुसार २०४६ पछि मुलुकमा आर्थिक कारोबार बढ्दै जाँदा गुण्डागर्दीले फस्टाउने मौका पायो । ‘उद्योग धन्दा बढे, ठेक्कापट्टा, क्यासिनो र लेनदेनका गतिविधि बढ्न थाले, आर्थिक कारोबार बढेसँगै ऋण दिने र लिने क्रम बढ्यो’ कार्की भन्छन्, ‘डुबेको रकम उठाइदिने नाममा पनि गुण्डाहरू प्रयोग हुन थाले ।’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख धीरजप्रताप सिंहका अनुसार प्रहरीले लेनदेनको मुद्दा नहेर्ने भएपछि लगानी डुबेका व्यक्तिलाई अदालत जानुको विकल्प थिएन । अदालतको चक्कर लगाउनु कम झञ्झटिलो हुँदैनथ्यो । त्यसपछि अदालत र प्रहरीको काम पनि निश्चित रकम लिएर गुण्डागर्दीमा संलग्नहरूले गरिदिएको उनी बताउँछन् ।

‘तर जब प्रहरीले वास्तविक पीडित भएका लेनदेनका ठगी जोडिएका मुद्दा हेर्न थाल्यो, त्यसपछि यसमा गुण्डाको उपस्थिति कम हुँदै गयो’ सिंहले अनलाइनखबरसँग भने, ‘प्रहरीले ठगी हेर्नुअघि त कतिपय पीडितले पैसा उठाउन अपहरण नै गरेको घटना पनि छन् ।’

अनौपचारिक बैंकिङ कारोबार मौलाइरहेका वेला चर्को ब्याजमा ऋण लगानी गर्न थाल्दा गुण्डागर्दीमा संलग्नले झन् ‘स्पेश’ पाउँदै गए । पूर्वएआईजी कार्की भन्छन्, ‘सुन्छु, त्यो वेला प्रहरी प्रशासनमा संलग्न वा सरकारी कर्मचारीले पनि चर्को ब्याज (मिटरब्याज) मा लगानी गरेका थिए रे, यसले अपराधलाई बढायो ।’

पूर्वडीआईजी रमेश खरेलका अनुसार सुरक्षा निकायमा रहेका केही अधिकृतको पनि समर्थन पाएपछि गुण्डागर्दीले झांगिने मौका पायो । पछि सुरक्षा अधिकारीसँगको सम्बन्ध समर्थनमा मात्र सीमित रहेन, साझेदारीमा पनि बदलिएको देखिन्छ ।

ठेक्कापट्टा व्यवसाय फस्टाइरहेका वेला गुण्डा नाइकेहरूको साथमा सिण्डिकेट चल्न थाल्यो । ‘दुई पक्ष मिलेर ठेक्कामा लाग्न थाले, यसमा सबैले बीचमा गुण्डा चलाएका छन्’ कार्की थप्छन्, ‘कसैले बाटो क्लियर गरिदिने त कसैले स्वार्थ अनुसार ट्रान्जिटको काम गरिदिएका छन् ।’

द्वन्द्वकालपछि एकातिर वाईसीएललाई काउन्टर गर्न पनि गुण्डाहरूको सहारा लिनुपर्ने अवस्था बन्यो भने अर्कातिर उनीहरू साथमा भए पार्टी गतिविधि गर्न पनि सहज हुनेभयो । यसरी राजनीति संरक्षित गुण्डागर्दीले झांगिने मौका पायो ।

महानगरीय अपराध महाशाखाका एक प्रहरी निरीक्षकको भनाइमा काभ्रेमा कुनै वेला रक्तचन्दन तस्करीमा प्रहरीले नै स्कर्टिङ समेत गरिदिएको थियो । गुण्डागर्दीले जरो गाडिरहेका वेला मुलुकमा सशस्त्र द्वन्द्व शुरु भयो । फ्रन्टलाइन एजेन्सीका रूपमा प्रहरी द्वन्द्वको अग्रमोर्चामा खटिनुपर्ने भयो, सामान्य पुलिसिङ बाहेकका काममा प्रहरीले ध्यान दिन पाएन । गुण्डागर्दीले झांगिने अवसर पायो ।

‘द्वन्द्वकालमा गुण्डाहरू आफैं थ्रेटमा भए पनि अस्थिर राजनीतिमा उनीहरूलाई राजनीतिक ओत लाग्न सहज भयो’ कार्की भन्छन्, ‘द्वन्द्वपछि गुण्डागर्दीमा संलग्न अधिकांश राजनीतिक ओत लिन थालेका थिए ।’

गुण्डागर्दी चरमोत्कर्षमा पुग्ने वेला समूह बनाएर गुण्डानाइकेहरूले क्षेत्र तोक्न थालेका थिए । त्यसपछि उनीहरू रेस्टुरेन्ट, हाउजिङमा मात्र सीमित भएनन्, घर बनाउने सर्वसाधारणलाई पनि हप्ता माग्न थालेका थिए ।

राजनीतिक नेक्सस : वाईसीएलदेखि युथफोर्ससम्म

माओवादी द्वन्द्व सकिएपछि योङ कम्युनिष्ट लिग (वाईसीएल) आयो । पूर्वएआईजी कार्कीका भनाइमा तालिमप्राप्त जत्था मूलधारमा आउँदा अन्य पार्टीका ‘लडाकु मन’ भएका कार्यकर्ता घटिसकेका थिए । ‘कोही द्वन्द्वमा मारिएका थिए, कोही घाइते भए’ उनी भन्छन्, ‘त्यसपछि वाईसीएल अन्य पार्टीका नेताहरूका लागि थ्रेट भए ।’

यो अवस्थामा नेताहरूलाई पनि गुण्डानाइके चाहिने परिस्थिति सिर्जना भएको कार्की बताउँछन् । ‘एकातिर वाईसीएललाई काउन्टर गर्न पनि गुण्डाहरूको सहारा लिनुपर्ने अवस्था भयो भने अर्कातिर उनीहरू साथमा भए पार्टी गतिविधि गर्न पनि सहज हुनेभयो’ उनी भन्छन्, ‘उनीहरू साथमा भए मोटरसाइकल र्‍याली पनि गर्थे, खाना खुवाउँथे र पार्टीको झण्डा पनि हल्लाइदिन्थे ।’

त्यति मात्र होइन, चुनावमा गाडीमा पैसा राखेर बाँड्ने काममा समेत उनीहरूले सहयोग गर्न थाले । ‘एक/दुई जना राजनीतिमा छिरेपछि अन्य गुण्डाहरूले पनि संरक्षणका लागि राजनीतिक दलको फेरो समात्नुपर्ने रहेछ भन्ने बुझे’ कार्की भन्छन्, ‘तर दुई/चार वर्षपछि राजनीतिक दलहरूलाई गुण्डा बोकेर फाइदा नहुने रहेछ भन्ने थाहा भयो ।’

वरिष्ठ अधिवक्ता खरेलको भनाइमा राजनीतिक आस्थाभन्दा पनि अपराधको ढाकछोपका लागि संरक्षण खोज्दै नेताको फेरो समातेका उनीहरू जतिसुकै वेला दल परिवर्तन गर्न थाले । ‘आफ्नो महत्वाकांक्षा पूरा नभए पाँच मिनेटमै दल परिवर्तन गर्न थाले, देउवा कहाँ नभए ओलीसँग जान्छु । ओलीसँग नभए अर्कोतिर जान्छु भन्ने भयो’ खरेल भन्छन्, ‘त्यसले नेताहरू गुण्डाहरूले माग गरे अनुसार दिन बाध्य भएका हुन् ।’

तर, त्यहीबीच केही नेताहरू गुण्डागर्दीबाट आजित भएर प्रहरीको शरणमा पनि पुगेको पूर्वएआईजी कार्की सम्झन्छन् । ‘बाहिरी रूपमा उनीहरूसँग राम्रो सम्बन्ध भएजस्तो गरे पनि नेताहरूले अनौपचारिक भेटघाटमा गुण्डागर्दीमा संलग्नबारे गुनासो गर्न थालेका थिए’ उनी भन्छन्, ‘कतिपयले मुखै खोलेर ‘धेरै बढ्ता भए, हेर्दिनु पर्‍यो भने ।’

त्यतिवेलासम्म द्वन्द्वबाट टाढा भएर प्रहरी पनि नियमित काममा फर्किसकेको थियो । र, गुण्डागर्दी विरुद्ध कारबाही चलाउने माहोल बनेको कार्की बताउँछन् ।

चरी नामले चिनिएका गुण्डा नाइके दिनेश अधिकारी २१ साउन २०७१ मा मारिए । महानगरीय अपराध महाशाखाको टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा ‘दोहोरो फायरिङ हुँदा’ उनको ज्यान गएको प्रहरीले बतायो । धादिङमा ठेक्कापट्टा हुँदै गुण्डागर्दीमा संलग्न भएका उनी एमाले नेता केपी शर्मा ओलीको संरक्षण पाएपछि चर्चामा आएका थिए ।

धादिङबाट काठमाडौं फर्किंदै गर्दा उनलाई पछ्याउँदै आएको गुण्डा नाइके राधेको समूहले चरीमाथि आक्रमण गरेको थियो । खुकुरी प्रहारबाट घाइते भएका वेला उनलाई भेट्न ओली अस्पतालमै पुगेका थिए र उनको पक्षमा वकालत गरेका थिए । तिनै चरी मूठभेडमा मारिएको प्रहरीले दाबी गरेपछि सत्तारुढ एमालेका सभासदहरूले संसदमा हंगामा गरेका थिए ।

चरी मारिएको विषयलाई लिएर एमाले पदाधिकारी बैठक नै बसेको थियो । केपी ओली पक्षका नेताहरूले संसदीय छानबीनको माग गरे भने तत्कालीन उपमहासचिव घनश्याम भुसालहरू विपक्षमा उभिए । भुसाल पक्षका नेताहरूले प्रश्न गरेका थिए, ‘गैंडाको खाग तस्करीमा संलग्न चरीलाई प्रहरीले पक्रँदा हाम्रै नेताहरूले किन छुटाए ? पक्रेको अपराधीलाई नेताले नै छुटाउँदछन् भने प्रहरीले गोली ठोक्ने बाटो नरोजेर के गरोस् ?’

एमाले अध्यक्ष ओली चाहिं प्रहरीले इन्काउन्टरको नाममा गैरन्यायिक हत्या गरेको अडानमा कायमै रहे । एमाले कार्यकर्ताहरूले शिक्षण अस्पताल, महाराजगञ्जमा एकघन्टा धर्ना नै दिए । युवा संघका नेता महेश बस्नेतले त चरीको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महीनाअघिबाट योजना बनाएको पत्ता लागेको दाबी गरे ।

चरी मारिएको एक वर्षपछि ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे मारिए । प्रहरीको दाबी अनुसार कपुरधारास्थित ब्रिटिश क्याम्प पछाडि सादा पोशाकमा रहेका प्रहरी र उनको समूहबीच भिडन्त हुँदा घैंटे मारिएका थिए । २०६० सालमा चरीसँग एउटै समूहमा भए पनि तीन वर्षपछि उनीहरू अलगअलग भएका थिए ।

राजनीतिक संरक्षण खोज्दै चरी एमालेतिर लागे भने घैंटे कांग्रेसतिर लागेका थिए । उनी मारिंदा काठमाडौंका सभासद भीमसेनदास प्रधान, गगन थापा लगायतले गैरन्यायिक हत्या भएको भन्दै प्रहरीमाथि कारबाहीको माग गरेका थिए । अर्की सभासद् कौशल शाहले त उनलाई शहीद घोषणा गर्नुपर्ने माग नै अघि सारेकी थिइन् ।

शुरुमा ब्रान्डेड जुत्ता, कपडा लगाउँ भन्ने भयो, पछि घर बनाउँ, गाडी किनौं भन्ने भयो । पछि देखासिखीमै गुण्डाहरूको आकांक्षा बढ्दै गयो ।

समाजसेवीको आवरण

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार कुनै समय दीपक मनाङे, चक्रे मिलन, राजु गोर्खालीहरूको समूहमा काम गरेर बसेका ‘केटाहरू’ले नै पछि छुट्टै समूह खडा गरे । ‘शुरुमा ब्रान्डेड जुत्ता, कपडा लगाउँ भन्ने भयो, पछि घर बनाउँ, गाडी किनौं भन्ने भयो’ उनी भन्छन्, ‘देखासिखीमै गुण्डाहरूको आकांक्षा बढ्दै गयो ।’

गुण्डागर्दी विरुद्ध आक्रामक कारबाही शुरु भएपछि केही गुण्डा नाइकेहरू भारततिर भागे । तर प्रहरीले भारतबाट पनि गुण्डाहरूलाई पक्राउ गरेर ल्याउन थालेपछि उनीहरूले आफू फेरिएको छनक दिन समाजसेवीको छवि बनाउन थालेका थिए ।

जस्तै, प्रहरीको मुख्य खोजी सूचीमा रहेका वेला दावा लामाले काभ्रेको भुम्लु पुगेर दलित र पिछडिएका वर्गका व्यक्तिहरूलाई राहत वितरण गरे । कोलातीमा रहेको झण्डै ८० घरधुरीलाई उनले चामल, नुन, तेल, साबुन, मास्क, स्यानिटाइजर वितरण गरेका थिए । यसअघि पनि उनले गोकर्णेश्वरमा राहत वितरण गरेका थिए ।

महामारीकै वेला उनले विद्यालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि सहयोग गरे । काभ्रेमा ब्लड क्यान्सरबाट पीडित आशिष दोङका तीन वर्षीया छोरा आरुस दोङलाई पनि उनले सहयोग गरेका थिए ।

पूर्व डीआईजी रमेश खरेल अपराधबाट चोखिन पनि गुण्डा नाइकेहरूले समाजसेवा गरे जस्तो गर्ने गरेको बताउँछन् । ‘राजनीतिज्ञहरूले भनेको ठाउँमा लगानी गरेर समाजसेवा गरे जस्तो देखाउने हो, खासमा यो जनतालाई झुक्याउने मेलो हो’ खरेलले अनलाइनखबरसँग भने, ‘कतिपयलाई त्यसैमा टेकेर आफू जोगिन सक्छु कि भन्ने पनि लागेको हुनसक्छ ।’

धादिङमा चरीले पनि विद्यालयहरूलाई सहयोग गरेका थिए, गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने गरेका थिए । इन्काउन्टरमै मारिएका अर्का गुण्डा नाइके घैंटेलाई त सभासद कौशल शाहले ‘काठमाडौं महानगरपालिका २० नम्बर वडाको समाजसेवी’ भएको संसदमै बताएकी थिइन् ।

उनले भूकम्पपछि राहत संकलन गरेर सहयोग गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिए, ‘भूकम्पपछिको नयाँ जीवन, नयाँ सोच, नयाँ जोशका साथ अब बाँकी भएको जिन्दगी, यो मेरो देशका लागि ।’
तर सुरक्षा सम्बद्ध अधिकृतहरू चाहिं चरी मारिएपछि डरले उनले आफूलाई समाजसेवीको रूपमा प्रस्तुत गर्न खोजेको बताउँछन् ।

प्रहरीको अभिलेख अनुसार दीपक मनाङे काठमाडौंको पुरानो गुण्डामा पर्छन् । २०४६ सालपछि नै उनी ठमेलको गुण्डा नाइकेको रूपमा उदाएको अधिकृतहरू बताउँछन् ।

उनले गुण्डागर्दी शुरु गर्दा त्यतिवेला उपत्यकामा अर्का गुण्डा चक्रे मिलन मात्रै थिए । ठमेलमा डान्स बार र रेस्टुराँ खुल्दै जाँदा मनाङेले हप्ता असुली थालेका थिए । तिनै मनाङे अहिले प्रदेश सांसद मात्रै बनेका छैनन्, गण्डकी प्रदेशको राजनीतिमा निर्णायक पनि बनेका छन् ।

गण्डकीमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री मनाङेले सत्ता पक्षको साथ छाडेका थिए । त्योसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने परिस्थिति बनेको थियो । र, त्यही गुन तिर्न पोखरेलले मनाङेलाई मन्त्री बनाए ।

खास गुण्डा त ती हुन्, जसले उनीहरू जस्ता व्यक्तिलाई संरक्षण गरेका छन् – रमेश खरेल, पूर्वडीआईजी

यसअघि गुरुङले १५ वैशाख २०७७ मा एमाले सरकार बनाइदिएका थिए, फलस्वरुप गुरुङलाई मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्री बनाइएको थियो । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल भन्छन्, ‘विचारधाराभन्दा अपराधको संरक्षणका लागि आएको व्यक्तिले अस्थिर चरित्र बनाउनु स्वाभाविक नै हो । तर उनीहरू निर्णायक तहमा पुग्नुचाहिं विडम्बना हो ।’

‘संरक्षकहरू झन् ठूला गुण्डा हुन्’

अधिवक्ता खरेलको भनाइमा गुण्डागर्दीमा संलग्नहरूको संरक्षण गर्ने नेताहरू आफैं पनि जोखिममा हुन्छन् । ‘नेताका गोप्य कुरा उनीहरूलाई सबै कुरा थाहा हुन्छ, त्यसलाई लिएर ब्ल्याकमेल गर्न पाउने भए’ उनले भने, ‘अर्को चाहिं उनीहरूलाई म प्रयोग भएँ भन्ने कुराले पनि घोचेको हुनसक्छ ।’

रूपन्देहीका मनोज पुन प्रहरी मूठभेडमा मारिंदा युवा संघले प्रहरीलाई धन्यवाद दिनुले पनि संरक्षित गुण्डाहरूबाट नेताहरू कति जोखिममा परेका रहेछन् भन्ने पुष्टि हुन्छ । द्वन्द्वकालपछि ठेक्कापट्टा हुँदै अपराधकर्ममा प्रवेश गरेका देवदहका पुन माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को बिगबिगी रहेका वेला राजनीतिक शरण लिन त्यता प्रवेश गरेका थिए ।

पछि एमाले नेताहरूले उनीलाई युथ फोर्सतिर लगे । नेताहरूले उनलाई युथ फोर्सको रूपन्देही क्षेत्र नं. १ को कोषाध्यक्ष नै बनाए, उनको गुण्डाराज झांगिंदै गयो । तर युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी नछाडेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ थियो ।

पार्टीबाट निकालेको प्रतिशोधमा पुनले दुर्गा तिवारीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । संरक्षित गुण्डा कतिसम्म खतरा बन्न सक्छन् भन्ने उदाहरण शरद गौचन हत्याकाण्ड पनि हो ।

गाैचन हत्याका याेजनाकार समिरमान । फाइल फाेटाे

निर्माण व्यवसायी शरदकुमार गौचनले गुण्डा नाइके कुमार घैंटे मार्फत आफ्नो डाँफे कन्स्ट्रक्सन कम्पनीमा लगानी भित्र्याएका थिए । त्यो रकम घैंटे समूहका अर्का डन समीरमान सिंह बस्नेतले मागेका थिए । तर फिर्ता नगरेपछि सिंहको योजनामा गौचनलाई दिनदहाडै गोली हानेर मारिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार अहिले गुण्डागर्दीमा संलग्नहरूको ‘खासै गतिविधि’ देखिंदैन ।

पूर्वएआईजी पुष्कर कार्की चाहिं राजश्व छली, रक्तचन्दन, सुपारी, दाल र सुन तस्करी जस्ता घटना जहिलेसम्म देखिन्छन्, त्यतिञ्जेल नयाँ गुण्डागर्दीको सम्भावना रहिरहने बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको यसमा निरन्तर निगरानी हुनुपर्छ ।’
सीआईबीका निर्देशक धीरजप्रताप सिंह पनि मिटरब्याजमा अझै गुण्डागर्दीमा संलग्नहरूको जगजगी रहेको बताउँछन् ।

वरिष्ठ अधिवक्ता खरेल चाहिं ‘भोलि गृहमन्त्री हुने मान्छेलाई प्रहरीले कसरी निगरानी गर्ने’ भन्ने मनोविज्ञानमा प्रहरी रहेको बताउँछन् । यद्यपि, सक्षम प्रहरी अधिकारीले अपराधलाई राजनीतिबाट टाढा राखेर गुण्डागर्दीमा संलग्नको प्रोफाइल बनाउँदै निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने खरेल बताउँछन् ।

पूर्वडीआईजी रमेश खरेल चरी, घैंटे जस्ता गुण्डाहरू ‘केही नभएको’ बताउँदै भन्छन्, ‘खास गुण्डा त ती हुन्, जसले उनीहरू जस्ता व्यक्तिलाई संरक्षण गरेका छन् ।’ गुण्डागर्दीमा संलग्नलाई संरक्षण गर्ने महागुण्डा भएको बताउँदै उनी यो समस्याको निर्मूलीकरणका लागि जनता आफैं जाग्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘बेइमानहरू जसले गुण्डालाई संरक्षण गरेका छन्, आगामी चुनावमा तिनीहरूलाई जनताले विस्थापित गर्नुपर्छ ।’ जतिवेलासम्म देश र जनतालाई माया गर्ने निष्पक्ष नेतृत्व आउँदैन, त्यतिवेलासम्म यो प्रवृत्ति नफेरिने उनी बताउँछन् । खरेल थप्छन्, ‘राम्रो मान्छे नेतृत्व तहमा गएर गुण्डागर्दीमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्छ, देशमा कानूनी राज छ भन्ने देखाउनुपर्छ, तब मात्र यो प्रवृत्तिको अन्त्य हुन्छ ।’

यो पनि पढ्नुस् 

‘अपराधको राजनीतीकरण उच्च विन्दुमा छ’

‘गुण्डाहरू अहिले नेता बनेर अपराध गरिरहेका छन्’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?