+
+

‘गुण्डाहरू अहिले नेता बनेर अपराध गरिरहेका छन्’

पुष्कर कार्की, पूर्व एआईजी पुष्कर कार्की, पूर्व एआईजी
२०७८ कात्तिक ८ गते १९:४६
पुष्कर कार्की । फाइल फोटो ।

२०४६ सालपछि आर्थिक कारोबार बढ्यो । उद्योग धन्दा बढे, ठेक्कापट्टा र लेनदेनका गतिविधि बढ्न थाले । क्यासिनो पनि शुरू भयो । आर्थिक कारोबार बढेपछि ऋण उठाइदिने बहानामा गुण्डागर्दी शुरू भएको हो ।

त्यतिवेलाका यस्ता गतिविधिमा संलग्नहरू अहिले कोही सांसद बनेका छन्, कोही व्यापारी र ठेकेदार छन् । पोखरा, भैरहवा, विराटनगर जस्ता शहरैपिच्छे फरकफरक समूहमा त्यस्ता टोली सक्रिय थिए ।

गुण्डागर्दीले जरो गाडिरहेका वेला द्वन्द्वकाल शुरू भयो । द्वन्द्वकालमा गुण्डाहरूलाई पनि थ्रेट नभएको होइन । तर द्वन्द्वमा नेपाल प्रहरीको उनीहरूसम्मको पहुँच साँघुरो बन्यो । सबैभन्दा सानो हतियार बोक्ने नेपाल प्रहरी ‘फ्रन्टलाइन एजेन्सी’ थियो । उसले लडाइँको अग्रमोर्चामा लड्नुपर्ने भयो ।

‘जनरल पुलिसिङ’ भन्दा बाहेकका काममा प्रहरीले ध्यान दिनुपर्ने भयो । त्यो हुँदा गुण्डागर्दीमा संलग्नहरूले झांगिने ठाउँ पाए । शहरी क्षेत्रमा कुनै न कुनै रूपमा प्रहरीले उनीहरूलाई हेरिरहेको हुन्थ्यो । तर, २०५०/५२ सालबाटै उनीहरूले राजनीतिक छहारी लिन पनि शुरू गरे ।

त्यतिवेलाको अवस्था अनि अस्थिर राजनीतिले उनीहरूलाई नेताको ओत लाग्न सहज भयो । अर्कातिर उनीहरूले आफूलाई पनि संगठित गर्न थाले । प्रहरी–प्रशासनतिर पनि कुनै न कुनै रूपमा पहुँच बढाउन थाले ।

प्रहरी–प्रशासनमा पनि थरीथरीका मान्छे थिए । कसैलाई चाँडै पैसा कमाउनु थियो । कसैलाई चाँडै माथि पुग्नुपर्ने थियो । सुनिन्छ, त्यो वेला जुनसुकै पार्टीका राजनीतिज्ञहरू पनि विमानस्थलमा गएका वेला दुई/तीन सय मोटरसाइकलको र्‍याली उनीहरूले गराइदिन्थे । खाना पनि खुवाइदिन्थे, बस्ने प्रबन्ध पनि मिलाइदिन्थे । त्यति भएपछि ऊ दलको राम्रो कार्यकर्ता हुने भइहाल्यो ।

एकातिर द्वन्द्वकालमा ज्यानको खतरा थियो, अर्कातिर उनीहरूलाई चलाएर सरुवामा पछाडि पर्नुभन्दा केही ‘कम्प्रोमाइज’ गरौं भन्ने मनस्थितिमा पनि केही अधिकारीहरू पुगे । फेरि यहीवेला अनौपचारिक बैंकिङ कारोबार मौलायो । चर्को ब्याजमा ऋण लगानी हुन थाल्यो । सुन्छु, त्यो वेला प्रहरी प्रशासनमा संलग्न वा सरकारी कर्मचारीले पनि लगानी गरेका थिए । यसले अपराधलाई बढायो ।

केही अधिकारीलाई फाइदा त भयो होला तर त्यसले गुण्डागर्दीलाई चर्कायो । सुन, सुपारी र रक्तचन्दन तस्करी पनि बढ्यो । देशलाई राजश्व तिरेको छैन, आर्थिक कारोबार चाहिं बढेको बढ्यै गर्‍यो । जग्गाको कारोबार पनि त्यतिकै भयो । करको बाटो छलेर ठेक्कापट्टा पनि बढिरह्यो ।

ठेक्कापट्टामा सिण्डिकेट नै हुनथाल्यो । दुई पक्ष मिलेर ठेक्कामा लाग्न थाले, यसमा सबैले बीचमा गुण्डा चलाएका छन् । कसैले बाटो क्लियर गरिदिने, कसैले स्वार्थ अनुसार ‘सेफ ट्रान्जिट’को काम गरिदिने गर्न थाले । सुनिन्छ, अहिले राजनीतिमा संलग्न काभ्रेका एक जना गुण्डाले त्यो वेला गाडीमा पुलिस नै राखेर पैसा बाँड्दै हिंडेका थिए रे !

पहिले ठेकेदारहरूले पनि प्रतिस्पर्धा गर्ने वेलामा गुण्डाहरूलाई प्रयोग गरे । अर्काको विरुद्धमा प्रयोग गरे । गुण्डाहरू पनि जसले बढी पैसा दिन्छ, त्यतैतिर लाग्न थाले । पछि त उनीहरू सबैका लागि थ्रेट बने ।

गुण्डागर्दी चरमोत्कर्षमा पुग्ने वेलामा समूह–समूह भएर क्षेत्र तोक्न थाले । रेस्टुराँ र हाउजिङमा पैसा लिने मात्र होइन, कसैले घर बनाउँदैछ भने माग्न थालेपछि गुण्डागर्दीको पराकाष्ठा भयो । आमनागरिकले थेग्न नसक्ने अवस्था आयो ।

माओवादी द्वन्द्व समाप्त भएपछि वाईसीएल आयो । लड्न भिड्न तयार तालिम प्राप्त खुँखार जत्था आउँदा अन्य राजनीतिक दलमा लडाकु मनका कार्यकर्ता घटिसकेका थिए । कति द्वन्द्वमा मारिए, कोही घाइते भए । कोही तर्सिएका थिए ।

गुण्डाहरूले पहिले देखिने अपराध गर्थे, अहिले नेता बनेर सफेद अपराध गरिरहेका छन् । अहिले जति पनि राजश्व छली, रक्तचन्दन, सुपारी, दाल, सुन तस्करीका मुद्दा छन्, त्यो रहिरह्यो भने नयाँ गुण्डाहरू थपिने सम्भावना उत्तिकै रहन्छ ।

वाईसीएलले अन्य पार्टीका नेता, कार्यकर्ताहरूलाई जुन किसिमले पेलिरहेको थियो, त्यसलाई काउन्टर गर्न पनि गुण्डाहरूको सहारा लिनुपर्ने अवस्था सिर्जना भयो । फेरि उनीहरू साथमा भए मोटरसाइकल र्‍याली पनि गर्थे, खाना पनि खुवाउँथे, पार्टीको हो भनेर झण्डा पनि हल्लाइहाल्थे । त्यति भएपछि उनीहरूलाई साथमा लिन किन पर्खिनु पर्‍यो र ?

वाईसीएलको काउन्टर गराउने बहानामा नेताहरूले उनीहरूलाई पार्टीमा छिराए । एक/दुई जना राजनीतिमा छिरेपछि अन्य गुण्डाहरूले पनि संरक्षणका लागि राजनीतिक दलको फेरो समात्नुपर्ने रहेछ भन्ने बुझे ।

तर दुई/चार वर्षपछि राजनीतिक दलहरूलाई गुण्डा बोकेर फाइदा नहुने रहेछ भन्ने थाहा भयो । देखावटी रूपमा उनीहरूसँग राम्रो सम्बन्ध भएजस्तो गरे पनि नेताहरूले अनौपचारिक भेटघाटमा प्रहरीसँग गुण्डागर्दीमा संलग्नबारे गुनासो गर्न थाले । कतिपयले मुखै खोलेर ‘धेरै बढ्ता भए, हेर्दिनु पर्‍यो’ सम्म भने ।

लामो समयदेखि सिद्धान्तको राजनीति गरेर आएको व्यक्तिभन्दा गुण्डागर्दी र ठेक्कापट्टाको आडमा पार्टीमा आउने व्यक्तिको प्रभाव धेरै हुन थालेपछि उनीहरूले गुनासो गरेका होलान् । यसरी गुण्डागर्दी विरुद्ध अपरेशन चलाउने माहोल खडा भएको हो ।

त्यसपछि गुण्डागर्दी विरुद्ध प्रहरी प्रशासन र राजनीतिक दल एकठाउँमा भए । एकचोटि उनीहरू विरुद्ध उत्रिएपछि प्रहरीले हामीलाई सिध्याउँछ भन्ने भयो । त्यही सन्देशले अहिलेसम्म पनि काम गरिरहेको छ ।

यस बीचमा पनि विभिन्न गुण्डाहरूलाई ठाउँमा बस्न चेतावनी दिने धेरै प्रयास भएका छन् । चाहे त्यो औपचारिक होस् या अनौपचारिक । प्रहरीले बोलाएर तर्साएका घटना पनि छन् । बीचमा गुण्डाहरूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइयो । तर विडम्बना उनीहरूलाई चोख्याइयो ।

सम्पत्ति शुद्धीकरणको मुद्दा राम्रोसँग नहेरेका कारणले पनि गुण्डाहरूलाई नेताको आवरणमा बस्न सहज भएको छ । फेरि नेताहरूले पनि वाल्मीकिसँग तुलना गर्दै उनीहरूको पक्षमा बोलिरहेका छन् । जसले गुण्डागर्दीमा संलग्नहरूको पक्षमा माहोल बनाएको छ ।

प्रहरीमा काम गरेको मेरो अनुभवले के देखाउँछ भने गुण्डागर्दीमा संलग्न व्यक्तिको छोटो समयमा जीवनशैली फेरिएको छ । जो आठ/दश वर्षअघिसम्म केही पनि थिएनन्, अहिले ३०/३५ लाखको घडी लगाउँछन् । ४/५ करोडको गाडी दुई/तीन वटा फेर्छ । त्यो पैसा कसरी आयो ? वैधानिक तरिकाले त्यो पैसा आएको त होइन । त्यसमा केही न केही अनुसन्धान हुनुपर्छ ।

उनीहरू तत्काल राजनीतिमा आउँदा कसैलाई फाइदा भए पनि भोलिपर्सि त्यसले हुने घाटा नै हो । अहिले आएर तत्काल कानूनी दायरामा छैन भने उसलाई कारबाही नहोला । तर अन्य गतिविधिको हकमा प्रहरी प्रशासन चुप लागेर बसेर हुँदैन । सुध्रिए भनेर बस्ने अवस्था छैन, कुनै न कुनै रूपमा र्‍याडरमा राखिराख्नुपर्छ ।

अर्को पक्ष के छ भने गुण्डागर्दीबाट आएको पैसा लगानी गर्ने विषयमा केही ‘मिडलम्यान’ प्रयोग भएका छन् । वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, प्रदीप बोगटी जस्ता व्यक्तिहरूले गुण्डागर्दीमा संलग्नका पैसाहरू मिटरब्याज र क्यासिनोमा लगानी गरिदिन्थे । यस क्रममा गुण्डागर्दीमा संलग्न र बीचका केही व्यक्तिहरूले स्थानीय तहमा ‘राम्रो सम्बन्ध’ बनाए । अहिले गाउँमा अधिकांश क्रसर, ढुंगा र माटोको व्यापार हेर्नुस्, हरेकमा गुण्डाको लगानी पाउनुहुन्छ ।

तर अहिले ती बीचका लगानीकर्ताहरू पनि आ–आफ्नो व्यवसायमा लागेका छन् । कोही ठेक्कापट्टामा लागे । कोही होटल खोल्न थाले । उनीहरूले आफ्नो सर्कल बनाएका छन् । अर्कातिर गुण्डागर्दीमा प्रहरी कठोर हुन्छ भन्ने देखियो । सबै कानूनी दायरामा आए, कतिले ज्यान पनि गुमाए । नेपाल बाहिर बसेर गर्दा पनि नछाड्ने रहेछ भन्ने भयो ।

अन्तिममा, गुण्डाहरूले पहिले देखिने अपराध गर्थे । अहिले नेता बनेर सफेद अपराध गरिरहेका छन् । अहिले उनीहरू ‘हामीलाई के मुद्दा छ र यो देशको नागरिक हौं’ भन्छन् । उनीहरू ‘हामीले राजनीति गर्न किन नपाउने’ भन्छन् । तर राजनीतिमा उनीहरूको उपस्थितिले गलत सन्देश दिइरहेको छ ।

अर्को कुरा अहिले जति पनि राजश्व छलीका मुद्दा छन्, रक्तचन्दन, सुपारी, दाल, सुन तस्करीका घटना देखिन्छन्, ती रहिरहे भने नयाँ गुण्डाहरू थपिने सम्भावना पनि उत्तिकै रहन्छ ।

(नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?