+
+

सी विचारधाराको एक नालिबेली : चिनियाँ इतिहासबाट कति प्रभावित छ ?

बीबीसी बीबीसी
२०७८ कात्तिक ९ गते ९:२२

९ कात्तिक, काठमाडौं । चीन अहिले विश्वशक्ति बनिसकेको छ । केही दशकअघिसम्म चीन विश्वशक्ति बन्ला भनेर कसैले कल्पना गरेका थिएनन् ।उसले कहिलेकाहीँ बाँकी विश्वसँग गरिने पेरिस जलवायु सम्झौता जस्ता सहकार्यबाट शक्ति आर्जन गर्छ ।

कहिलेकाहीँ प्रतिस्पर्धाबाट शक्ति आर्जन हुन्छ र यसको एउटा उदाहरण पश्चिमी ऋणबाट बञ्चित विश्वको ठूलो क्षेत्रमा लगानी भित्र्याएको र ६० भन्दा बढी मुलुकको पूर्वाधार परियोजना सञ्जाल रोड एण्ड एण्ड बेल्ट इनिसियटिभलाई प्रतिस्पर्धाको एउटा उदाहरण मान्न सकिन्छ ।

तर चीनको अधिकांश अभिव्यक्ति आक्रामकदेखिन्छ ।

बेइजिङले कहिले नयाँ अकुस (अष्ट्रेलिया-बेलायत-अमेरिका) सुरक्षा सम्झौतामार्फत् आफूलाई ‘घेराबन्दी’ गर्न खोजेको भन्दै अमेरिकाको निन्दा गर्छ । कहिले कडा राष्ट्रिय सुरक्षा ऐन (नेशनल सेक्युरिटी ल) का कारण हङकङ छाड्न बाध्य मानिसलाई शरण दिएकोमा ‘परिणाम’ भोग्नुपर्ने भन्दै बेलायतलाई चेतावनी दिन्छ भने कहिले ताइवानलाई मूल भूमिमा एकीकरण हुनका लागि तयारी अवस्थामा रहन भन्छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले शीतयुद्धकालका निकै महत्वपूर्ण चिनियाँ नेता माओत्से तुङपछिका आफ्ना पूर्ववर्तीभन्दा सशक्त रूपले विश्व रङ्गमञ्चमा चीनको स्थानदाबी गरेका छन् ।

सीको अभिव्यक्तिमा झल्किने अन्य पक्ष हेर्दा लामो समयदेखि कायम प्राचीन तथा आधुनिक दुवै चिनियाँ परम्परातर्फ उनी फर्किइरहेको र यसैमा आधारित भएको प्रतीत हुन्छ । उनको अभिव्यक्तिमा निम्न पाँच विषयबारम्बार दोहोरिरहन्छन् ।

१. कन्फुसियन जीवनशैली

ताइवानसँगको गहिरिँदो तनावले चीनतर्फ ध्यान केन्द्रित भएको छ र विश्व रङ्गमञ्चमा आफ्नो मुलुकको हैसियतबारे राष्ट्रपति सी जिन पिङको बुझाइ के होला भनेर कतिपयले अनुमान गरिरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक राना मिटर लेख्छन्- विगतबाट यसबारे केही संकेत पाउन सकिन्छ

कन्फुसियसले अघि सारेका वैचारिक मूल्य-मान्यताले चिनियाँ समाजलाई दुई हजार वर्षभन्दा बढी समयसम्ममार्गदर्शन गर्‍यो । यी दार्शनिक(५५१-४७९इ.पू) ले समाजका सबै वर्गलाई समेट्ने परोपकारसहितको एउटा यस्तो नैतिक प्रणाली बसालेका थिए जहाँ मानिसहरूलेउच्च ओहदामा रहेकाले आफूभन्दा तल रहेकाको हेरचार गर्छन् भनेर अपेक्षा गर्न र समाजमा आफ्नो हैसियत थाहा पाउन सक्ने । समयसँगै निकै परिमार्जित गरिएको उक्त वैचारिक प्रणाली सन् १९११ को क्रान्तिसम्म चिनियाँ राजतन्त्रको आधार बन्यो । तर अन्तिम राजा पदच्युत भएपछि कम्युनिस्ट र अन्य’र्‍याडिकल’ले कन्फुसियस र उनको विरासतविरुद्ध उग्र आक्रोश पोखे ।

कम्युनिस्ट माओत्से तुङले आफू शक्तिमा भइन्जेल (१९४९ देखि १९७६ सम्म) परम्परागत चिनियाँ दर्शनप्रति निकै दुश्मनीपूर्ण व्यवहार देखाए । तर ८० को दशकसम्म आउँदा चिनियाँ समाजमा कन्फुसियसको पुनरागमन भइसकेको थियो र कम्युनिस्ट पार्टीले समकालीन चीनलाई पाठ सिकाउने एउटा प्रतिभावान व्यक्तित्वको रूपमा उनको प्रशंसा गर्न थाल्यो ।

यतिबेला चीनले कन्फुसियन दर्शनको प्रमुख विशेषता मानिने’सद्भाव’लाई ‘समाजवादी मूल्य’को रूपमा ग्रहण गरेको छ । र,अर्को कन्फुसियन शब्दावली ‘परोपकार’ ले बाह्य विश्वसँग बेइजिङको सम्बन्ध कसरी तय गर्ला ? भन्ने प्रश्न चिनियाँ अन्तर्राष्ट्रिय सम्बन्धको प्रमुख विषयबन्न पुगेको छ ।

सिङहुवा विश्वविद्यालयका प्राध्यापक याङ सुएटोङले परपीडक अमेरिकी भूमिकाको तुलनामा कसरीचीनले ‘हैकम’को साटो ‘परोपकारी प्राधिकार’को बाटो अवलम्बन गर्नुपर्छ भनेर लेखेका छन् ।

‘साझा भविष्य बोकेको विश्व समुदाय’सम्बन्धी सी जिङफिङको विचारमा परम्परागत दार्शनिक स्वाद पाइन्छ । सीले कुफूस्थित कन्फुसियसको जन्मस्थलको भ्रमण गरेका छन् र सार्वजनिक रूपमै उनका भनाइ उदृत गर्छन् ।

२. अपमानको एक शताब्दी

उन्नाइसौं र बिसौं शताब्दीका ऐतिहासिक लडाइँले चिनियाँ विश्व दृष्टिकोणलाई हालसम्म पनि निकै प्रभावित पारेका छन् ।

उन्नाइसौं शताब्दीको मध्यतिर भएका अफिम युद्धसँगै पश्चिमी व्यापारीहरू बलपूर्वक चीनभित्र प्रवेश गरेका थिए । १८४० देखि १९४० को दशकलाई’अपमानको शताब्दी’ भनेररूपमा स्मरण गरिन्छ । अर्थात् उक्त समय युरोपेली र जापानी आक्रमणअगाडि चिनियाँ कमजोरी देखिएको एउटा लाजमर्दो युग थियो । त्यो अवधिमा चीनले बेलायतलाई हङकङ सुम्पिनु पर्‍यो, उत्तर-पूर्वी मन्चुरियाको भू-भाग जापानलाई सुम्पिनुपर्‍यो र केही पश्चिमी मुलुकलाई सबैखाले कानूनी एवं व्यापारिक प्राधिकार दिनुपर्‍यो । त्यस्तै, युद्धलगत्तै सोभियत संघले मन्चुरिया र सिनजियाङसहितका चिनियाँ क्षेत्रमा प्रभाव जमाउन खोज्यो ।

विगतको यो अनुभवले बाह्य विश्वको नियतप्रति गहिरो आशंका उत्पन्न गराएको छ । सन् २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य बनेपछि चीनको व्यापार विदेशीको नियन्त्रणमा गएको भनेर यसलाई समेत ‘पक्षपातपूर्व सम्झौता’को रूपमा हेरियो । यही भएर चिनियाँकम्युनिस्ट पार्टीलेझट्ट हेर्दा बाहिरी विश्वसँग घुलमेल भएको देखिने यस्तो अवस्था पुन: दोहोरिन नदिने प्रण गरेको छ ।

यसै वर्षको मार्चमा अलास्काको एङकोरेजमा चिनियाँ र अमेरिकी वार्ताकारबीच भएको चर्काचर्कीपूर्ण बहसमा चिनियाँ पक्षले आफ्ना आयोजकलाई ‘घमण्ड र पाखण्ड’को आरोप लगाउँदै अमेरिकी आलोचनाप्रति विरोध जनाएका थिए । बाहिरियाले आफ्नो मुलुकलाई हेप्न सक्छन् र हेप्नेलाई दण्डित गर्न सकिँदैन भन्ने धारणा सीको चीनले रुचाउँदैन ।

३. बिर्सेको सहयोगी

भयानक घटनाले कहिलेकाहीं सकरात्मक सन्देश दिन सक्छन् । पश्चिमी सहयोगीहरू सन् १९४१ मा एशियाली मोर्चामा सामेल हुनुपूर्व नै जापानले चीनमाथि सन् १९३७ मा आक्रमण गरेको थियो र जापानसँग चीन एक्लै लडेको थियो ।एउटा यस्तै सन्देश दोस्रो विश्वयुद्धको उक्त चिनियाँ अवधिबाट पाउन सकिन्छ । उक्त अवधिमा चीनले एक करोडभन्दा बढी जनता गुमायोतर पाँच लाख जापानी फौजलाई आफ्नो मूल भूमिमा प्रवेश गर्नबाट रोकेको थियो । उक्त साहसिक कार्यलाई इतिहासका पाना, चलचित्र र टेलिभिजनमा व्यापक स्मरण/उल्लेख गरिएको छ ।

अहिले चीनले अमेरिका, बेलायत र सोभियत संघ झैं आफूलाई ‘फासीवादविरोधी गठबन्धन’को अंगको रूपमा प्रस्तुत गर्छ । चीनले यसैबाट प्राप्त नैतिकताको आधारमा बाँकी विश्वलाई धुरी राष्ट्र (एक्सिस पावर्स) विरुद्ध विजयी बनेको आफ्नो भूमिका स्मरण गराउँदै आएको छ ।

चीनले माओ कालभर तेस्रो विश्वमा नेतृत्वदायी भूमिका खेलेको (जस्तै, १९५५ को बाङडुङ शिखर सम्मेलन र १९७० को दशकमा पूर्वी अफ्रिकामा निर्मित टानजाम रेलमार्ग जस्ता परियोजना) र सोही ऐतिहासिक भूमिकाका आधारमा हाल गैर-पश्चिमेली विश्वमा नेतृत्व गर्ने हैसियत राख्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वैधता विश्लेषण गर्ने कार्यमा आधुनिक इतिहासलाई एउटा महत्वपूर्ण आधार बनाउँदै आएको छ । तर हाल चीनमाउक्त इतिहासका केही क्षणहरू(विशेषत: १९५८ देखि ६२ को महान अग्रगामी छलाङको विनाशकारी/अनर्थपूर्णआर्थिक नीतिका कारण उत्पन्न डरलाग्दो भोकमरी) त्यति उल्लेख गरिँदैन । र केही आधुनिक लडाइँलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । गत वर्षको तनावपूर्ण अमेरिका-चीन सम्बन्धबीच १९५०-१९५३ को कोरियाली युद्धलाई स्मरण गराउने गरी नयाँ चलचित्र बनेका छन् । चिनियाँहरूले उक्त युद्धलाई ‘अमेरिकाविरुद्ध प्रतिरोधी युद्ध’ को रूपमा स्मरण गर्छन् ।

४. वर्गीय चेत

मार्क्सवाद-लेनिनवादको ऐतिहासिक यात्राले समेत चिनियाँ राजनीतिक सोंचमा गहिरोसँग जरा गाडेको छ र यसले सीको पालामा नयाँ ऊर्जा पाएको छ ।

बिसौं शताब्दीभर माओ लगायतका अन्य महत्वपूर्ण कम्युनिस्ट नेताहरू व्यापक गतिविधिसँगै मार्क्सवादको सैद्धान्तिक बहसमा सहभागी भएका थिए ।

जस्तै,’वर्गीय युद्ध’को अवधारणाका कारण माओको प्रारम्भिक शासनकालमा १० लाख जमिन्दारको हत्या भयो । ‘वर्ग’लाई समाज परिभाषित गर्ने आधार बनाउन नहुने कुराले समर्थन पाइरहेको छ । तर अझै पनि चिनियाँ राजनीतिक भाषामा ‘संघर्ष’, ‘शत्रुता’ र ‘समाजवाद’ भनेको’पुँजीवाद’विरोधी अवधारणा भन्ने सोच हाबी छ ।

पार्टीको सैद्धान्तिक अंग किउसी जस्ता मुख्य जर्नलमा मार्क्सवादी शब्दावली व्यापक प्रयोग गर्दै चिनियाँ समाजको ‘अन्तर्विरोध’बारे नियमित बहस हुने गर्छ ।

सीको चीनले अमेरिकासँगको प्रतिस्पर्धालाई मार्क्सवादीशत्रुताका आधारमा बुझ्न सकिने एउटा लडाइँको रूपमा हेर्छ । समाजका आर्थिक शक्ति र उनीहरूबीचको अन्तर्क्रियाका हकमा समेत यही लागू हुन्छ । अर्थात् अर्थतन्त्र वृद्धिको कठिनाइ र सो वृद्धिलाई उपयुक्त मात्राले हरित राख्ने कार्यलाई अन्तर्विरोधका आधारमा व्याख्या गरिन्छ । शास्त्रीय मार्क्सवाद अनुसार हामी सहमतिको एउटा बिन्दु वा संश्लेषणमा पुग्छौं तर पीडादायक र लामो ‘संघर्ष’ वा शत्रुताबाट नगुज्रिकन यस्तो बिन्दु आउँदैन ।

५. ताइवान

बेइजिङले ताइवानकोअपरिवर्तनीय भविष्यमाथि जोड दिन्छ र यस्तो भविष्यलाई मूल भूमि चीनसँगको एकीकरणको रूपमा व्याख्या गर्छ ।

तर विगत सय वर्षको ताइवानी इतिहासले चिनियाँ राजनीतिमा यसको हैसियत तलमाथि हुँदै आएको देखाउँछ । सन्१८९५ को असफल युद्धपछि जापानलाई ताइबान बुझाउन चीन बाध्य भएको थियो । त्यसपछि आधा दशकसम्म ताइवान जापानको उपनिवेश बन्न पुग्यो । राष्ट्रवादीद्वारायसलाई सन् १९४५ देखि १९४९ सम्म मूलभूमिमा एकीकरण गरिएको थियो । माओले ताइवानलाई एकीकरण गर्ने मौका चुकाएका थिए । अमेरिकाको ट्रुमन प्रशासनले माओलाई यो द्विप गाभ्न दिन सक्थ्यो । तर सन् १९५० मा दक्षिण कोरियामाथि आक्रमण गर्न जनवादी गणतन्त्र चीन उत्तर कोरियालीसँग मिलेपछि कोरियाली युद्ध भड्कियो र ताइवान एकाएक शीतयुद्धको सहयोगी बन्न पुग्यो ।

माओले सन् १९५८ मा ताइवानको तटीय क्षेत्रमा आक्रमण गरे तर त्यसपछि २० वर्षसम्म उक्त क्षेत्रलाई बेवास्ता गरे । सन् १९७९ मा अमेरिका र चीनले पुन: सम्बन्ध स्थापना गरेलगत्तै एक चीन मात्रै हुने भन्दै अनौठो सहमति भयो । तर आधिकारिक गणतन्त्र बेइजिङ वा ताइवानमध्ये कुन हो भन्नेबारे केही सहमति भएन ।

सीले चालिस वर्षपछि चाँडोभन्दा चाँडो ताइवानसँग एकीकरण हुनुपर्ने भनेर जोड दिइरहेका छन् । तर आक्रामक अभिव्यक्ति र हङकङको नियति देखिरहेका र हाल उदारवादी लोकतन्त्रका नागरिक बनिसकेका ताइवानीहरू मूलभूमिसँगको निकट सम्बन्धप्रति थप वैरभाव राख्न थालेका छन् ।

(अक्सफोर्डका प्राध्यापक राना मिटरको पछिल्लो किताब ‘चाइनाज गुड वार:हाउ वर्ल्ड वार सेकेण्ड इज सेपिङअ न्यू नेशनालिजम’का आधारमाबीबीसीद्वारा प्रकाशित लेखलाई अनलाइनखबरले भावानुवाद गरेको ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment