+
+

दोषी हामी जनता कि नेता ?

दिवस खनियाँ दिवस खनियाँ
२०७८ कात्तिक ९ गते १३:२९

कैयौं वर्षदेखि राजनीतिक दलहरूको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्यता अनि एउटै आरोप सुनिन्छ- देशको यो हालतको जिम्मेवार यहाँका नेताहरू हुन् । कार्यकर्ताहरू हुन् । यिनीहरूले नै देश बिगारे ! यो भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन पक्कै सकिंदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलियन’ होइनन् कि जो अचानक प्रकट भएर हामीमाथि शासन गरून् ।

यी त हाम्रै समाजका सह–उत्पादन हुन् । तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन् र तिनीहरूलाई जन्माउने हुर्काउने र मदमस्त हात्ती बनेर मात्तिने आधार प्रकट गर्ने स्वयम् हामी नै हौं । कुनै तेस्रो ग्रहको अदृश्य शक्तिले होइन । दोषी म हो, तपाईं हो र हामी सबै हौं । हाम्रो दुर्भाग्य हामीले नेता त जन्मायौं तर एउटा पनि राजनेता जन्माउन सकेनौं । शासक जन्मायौं तर एउटा पनि कुशल प्रशासक जन्माउन सकेनौं । लुटेरा स्वार्थी नेता मात्रै जन्मायौं । घुम्ने कुर्सीमा जन्मजात तानाशाह भएर कोही जन्मँदैन । तिनीहरूलाई त्यो स्थानमा पुर्‍याउने हामी हौं, मोहनदासलाई गान्धी बनाउने हामी हौं । आखिर दोष तपाईं हाम्रो पनि छ । दुर्गम झुपडीमा जन्मेर सिंहदरबारको कुर्सीमाथि विराजमान गराएर श्री ८ बनाउने पनि हामी नै हौं । टोलटोलमा टोलेराजा जन्माएर पिर्के सलामी दिने पनि हामी नै हौं ।

उनीहरूको झोला बोकेर, चाप्लुसी गरेर, हरेक गल्तीलाई सही भन्दै अन्धभक्त समर्थक भएर तिनीहरूभित्र सुतेको जंगबहादुर जन्माउने पनि हामी नै हौं । हिटलर, मुसोलोनी जन्माउने हामी हौं । सही व्यक्ति, सही स्थान छनोट गर्न नसकेर गलत व्यक्तिहरूलाई सत्तामा पुर्‍याउने अनि बर्बाद गर्‍यो, सखाप गर्‍यो भनेर आँसु बगाउने पनि हामी नै हौं । केवल हामी हौं । दोषी नेताहरू होइनन् ।

प्रमुख दोषी हामी हौं, जसले प्रजातान्त्रिक संस्कारमा व्यक्ति चुन्न पाउने अधिकारको सही प्रयोग गर्न जानेनौं र अनुपयुक्त पात्रलाई अनुपयुक्त स्थानमा चुनेर पठायौं । प्रतिवाद गर्न मन लाग्छ । आफैंलाई चिथोर्न मन लाग्छ । चिच्याएर संसारलाई सुनाउन मन लाग्छ- ‘नेताहरूले बिगारेका होइन देश । तिमीले बिगारेका हौ । मैले बिगारेको हो, हामी सबै मिलेर बिगारेका हौं ।’

अहिले जति नै एकअर्काका दुश्मन भए पनि यी जुधेका नेताहरूबीच कार्यगत एकता हुनेछ । मोलमोलाइ हुनेछ । बगैंचाहरू भाग लगाइनेछन् । हाम्रा सपनाहरूमाथि बार्गेनिङ चल्नेछ । कुनै योजना छैन यी अबुझकीहरूसँग । कुनै सपना देखेका छैनन् यिनीहरूले । केही भिजन बनाएका छैनन् । यी त केवल सपना देखाउन आएका हुन्

कसरी भन्न सक्छौ नेताले बिगार्‍यो देश भनेर ? देश बिगार्ने, भ्रष्टाचार गर्ने, देशको भूगोल बेच्ने दुस्साहस कसरी पैदा भयो नेतामा ? अर्को मुसोलिनी कसरी जन्मियो नेताभित्र ? देशमा कोरोनाले अत्तालिएका बेला मध्यावधिमा जाने दुस्साहस गर्ने नेतालाई पठाउने पनि तपाईं हामी नै हौं । गोयबल्स शैलीका हामीहरूको क्षमताले महात्मा गान्धी कहिल्यै जन्मिन्नन् । हामीले जन्माउने भनेको हिटलर हो र अहिलेसम्म जन्माएका पनि हिटलर नै छौं । कुन नैतिकताले आरोप लगाउँछौं मात्र नेता कार्यकर्तालाई ? र, आफू पानीमाथिको ओभानो बनेर बस्छौ ।

बाँदरको प्रवृत्ति नै भत्काउने र बिगार्ने हो । घर बनाउन बाँदर पठाउने अनि रुने पनि ? भताभुङ्ग पार्‍यो, खत्तम पार्‍यो, रुनु नै थियो किन सुम्पियौ बाँदरलाई आफ्नो सुन्दर घर, सुन्दर बगैंचा अनि साँचिएका सपनाहरू ? हामीले थाहा पाउनुपर्ने हो कि होइन बाँदरले भत्काउँछ भनेर । बाँदरले बिगार्छ किनकि त्यो उसको बानी हो, उसको धर्म हो । त्यस्ता बाँदरहरूलाई आफूमाथि शासन गर्ने अधिकार सुम्पिने बेला मदहोश भएर झूटा आश्वासन, भाषण अनि रक्सी–मासुमा नैतिकता बेच्ने ! अनि पछि कराउने पनि सबै भत्कायो भनेर ?

कागतीको बिरुवा रोप्छौं अनि कराउँछौं आँप किन फलेन भनेर ? सिस्नु रोप्छौं अनि गाली गर्छौं गुलाब किन फुलेन भनेर ? रोप्नुभन्दा पहिले सोचेनौ कि तिमी के रोप्दैछौं ? तिमीलाई थाहा छैन ? जे रोप्यो त्यही फल्छ यो प्रकृतिको नियम हो । गधा पाल्यौं अनि दूधको आशा गर्छौं ? दूध पिउनुथियो त गाई पाल्नुपर्थ्यो, यो कुरासम्म हामीले बुझ्न सकेनौं भने अरुलाई सरापेर हुन्छ ? नेतालाई गाली गरेर हुन्छ ? देश भनेको घर हो । कहिले सोच्यौ घर बनाउने गलत मिस्त्री छनौट गर्दा के हुन्छ ? गलत मिस्त्री छनौट गरेर घरको छानोको जिम्मा दिने अनि त्यही छानो भत्केर अपाहिज हुने, घाइते हुने हाम्रो नियति हो । र, यो नियति हामी वर्षौंदेखि भोगिरहेका छौं । ठोकेरै भन्छु- अझै कैयौं वर्ष भोग्ने पनि छौं, त्यति बेलासम्म जबसम्म हाम्रो चेतनाको दियो बल्दैन । त्यति बेलासम्म जबसम्म हामीभित्र स्वाभिमानी नागरिक जन्मिंदैन ।

कुन इतिहासमा लेखिएको छ हामीलाई अरुले बनाएर दिन्छ भनेर ? जे बनाउनु छ आफैं बनाउनु छ । जे रोप्नु छ आफैं रोप्नु छ र जुन बीउ रोप्यौं त्यसैको फल काट्नु छ । दोषी कुनै सती होइनन् । न त सतीले सरापेको नेपाल खाल्डो नै हो । दोषी तिमी, दोषी म, दोषी हामी हौं । हाम्रो चरित्र दोषी हो । हाम्रो चेतनास्तर दोषी हो । हाम्रो चाकरीबाज अनि शक्ति । सत्ताको ‘जी–हजुरी’ गर्न बेचिएको नैतिकता दोषी हो । नेताहरूलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी ? एकपटक होइन बारम्बार गलत छनौट किन ? एकपटकको धोकाले नचेतेर बारम्बारको धोका किन ?

थाहा छ फोहोर भइसक्यो, गन्हाइ सक्यो तैपनि त्यही बासी सडेगलेको अचारमा झिंगा जस्तै भन्किरहने हामी किन ? कहिलेसम्म ? कहिलेसम्म हामी झोले भनेर बस्ने ? कहिलेसम्म पार्टीका हनुमान छाप भएर जिन्दगी बिताउने ? कहिलेसम्म भ्रष्ट नेताहरूका धूर्त पासाहरूको शकुनि खेल हेरेर रमाउने ? हामीले बुझिसक्यौं यी भ्रष्टहरूबाट देश बन्दैन । फेरि किन यिनै धृतराष्ट्रहरूको जिम्मा लगाउँछौं आफ्ना सपना, रहर र सन्तानका भविष्य ?

दोषी कोही एकजना होइन । दोषी हामी सबै हौं । ज–जसले यी भ्रष्टहरूलाई देश बनाउने जिम्मेवारी दियौं, समर्थक बन्यौं । थाहा थियो यी आफू बन्नेछन् तर देश बन्ने छैन । आफू बाँच्ने छन् तर देश हार्नेछ । आफू जिउने छन् तर हाम्रा सपना मार्ने छन् । आज पनि त्यही देखाए फेरि हाम्रै सपनाहरूको सामूहिक चिहानमा उभिएर फेरि अर्कोपटक हाम्रै घरदैलोमा आउनेछन् भोट माग्न, चुनाव जित्न । धूर्त ओठहरू बाहिर कृत्रिम मुस्कुराहट बोकेर, गुलाफको फूलभित्र छुरा लुकाएर । तैपनि हामी यिनीहरूमाथि नै भरोसा गर्नेछौं । जिम्मेवारी दिनेछौं, आफ्नो रोएको भूतकाल र रुँदै गरेको वर्तमान सजाउन ।

भत्केको हाम्रो छानो अनि चर्केको पार्टी बनाउन । तर फेरि हाम्रो दुर्भाग्य ! नयाँ छानो त कताकता, भएकै छानो झन् भत्काउने छन् । बचेको पेटीमा प्वाल पार्ने छन् । चिथोरेर मार्ने छन् । नेता दोषी होइनन्, हाम्रो सोच दोषी हो । हाम्रो छनौट दोषी हो, हाम्रो मानसिकता दोषी हो । बाजे बराजुको पालादेखि देख्दैछौं कहिल्यै घर बनाएनन् यी आधुनिक नेताले अनि भित्रभित्र बुझेका पनि छौं यिनीहरूको हातबाट हाम्रो सुन्दर घर कहिल्यै बन्दैन पनि । तैपनि फेरि बारम्बार । एक पटक होइन बारम्बार उनीहरूलाई नै अख्तियारनामा दिएर पठाउँछौं । किन ?

फेरि एउटा बाँदरको सपनाभित्र हाम्रो घर बनाउने, हाम्रो जिन्दगीमा सुख समृद्धि ल्याउने सपना देख्छौं । फूलमाला लगाएर पठाउँछौं । अरु धेरै धेरै नेताहरूको ठूलो हुलमा नयाँबानेश्वरतिर तर ऊ सत्ताको सिंहासनमा हराउँछ। मदहोस भएर श्रीपेच लगाएर बस्छ । चिन्दैन हामीहरूलाई । गन्दैन कसैलाई । आफू हिंडेको आँगन बिर्सिन्छ र आफू अडेको जमीन चिन्दैन । आखिर कहिलेसम्म ? कहिलेसम्म यी नेताहरूको विश्वासमा आफ्नो भविष्य तहसनहस गर्ने हामी ? भूतकाल बर्बाद भएको छ ।

वर्तमानको अत्तोपत्तो छैन । भविष्य अन्धकारमय छ फेरि पनि किन विकल्प नखोज्ने हामी ? आजको आवश्यकता भनेको झूटो नारा र उग्र राष्ट्रवाद होइन । खानेपानी हो, स्तरीय विद्यालय हो, बाटोघाटो हो, स्वास्थ्य हो । कसैले अकालमा मर्न नपरोस् । एउटा उचित अस्पताल होस् । हिंड्न लायक सडक र गुड्नलायक आँगन होस् । स्तरीय खानेपानी र शिक्षा होस् ।

मेरो पार्टीको हो, मेरो खानदानी नेता हो । व्यक्ति जस्तो होस् पार्टीले जिते पुग्छ । धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ । हो वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ

यो गन्हाएको राजनीति र भ्रष्टहरूको लुटतन्त्रबाट जोगिन एउटा वैकल्पिक शक्ति चाहिएको छ । अझै जोड दिएर भन्छु- एउटा ‘हिटलर’ चाहिएको छ । ‘मुसोलिनी’ चाहिएको छ। टुँडिखेलमा ठिङ्ग उभिएको जंगबहादुर होइन, रगत लत्पतिएको खुकुरी बोकेर भ्रष्ट अनि विकृति विरुद्ध जाइलाग्ने एउटा भीमदत्त चाहिएको छ । कहिलेसम्म यी गैरजिम्मेवार नेताहरूबाट सुन्दर फूलबारी, यो प्यारो नेपाल लुटाइरहने ? भत्काइरहने ? अनि हामी टुलुटुलु हेरिबस्ने लाचार भएर ? निरीह भएर । भूपि शेरचनले भने जस्तै- हामी आँखा देख्दैनौं । हामी दिमाग भएर पनि दिमाग नभएका मूर्ख हौं । मरुभूमिमा छाडिएका एक हूल भेडा हौं ।

हाम्रो काम भनेको आफ्नै आँखा अगाडि सुन्दर फूलहरू च्यातिएको, रेटिएको, निमोठिएको हेरिरहने आखिर कहिलेसम्म ? यी भत्किएका सडक अनि च्यातिएका रहरहरू हामीलाई गिज्याइरहेछन् । आखिर कहिलेसम्म ? हामी नेपाली जो पर्‍यौं । धेरै बुद्धिमान छौं र पो बारम्बार दूधको चौकीदारी गर्न बिरालोलाई पठाइरहन्छौं । अनि सपना पनि देखिरहन्छौं भोलि यो दूध जमेर दही बन्नेछ अनि त्यो दहीबाट मीठामीठा परिकार बनाएर खानुपर्छ भनेर । भोका कुपोषणले ग्रसित बच्चाहरूलाई पनि खुवाउनुपर्छ भनेर ।

तर दुर्भाग्य त्यो दही कहिल्यै जमेन र लेखेर नै राख्नुहोला यी गैरजिम्मेवार नेताहरूको हातबाट कहिल्यै जम्ने पनि छैन । फेरि एकपटक भन्छु- दुनियाँले सुनोस्, संसारले सुनोस् । यी डाँडाकाडा भीर पखेराले सुनोस् । अहिले नेताहरूको व्यवहारको व्यापक विरोध भएको छ । पछुताएका छन् टोलवासीहरू, धिक्कार्दै छन् आफैंलाई । तर यो पछुतो थोरै हो । यो धिक्काराइको कुनै अर्थ छैन । भोलि फेरि चुनाव हुनेछ, सत्ताको माड खाएर झन् बलियो बांगो भएका यी नेताहरू झर्नेछन् सिंहासनबाट र फेरि चुनाव लड्नेछन् ।

अहिले जति नै एकअर्काका दुश्मन भए पनि यी जुधेका नेताहरूबीच कार्यगत एकता हुनेछ । मोलमोलाइ हुनेछ । बगैंचाहरू भाग लगाइनेछन् । हाम्रा सपनाहरूमाथि बार्गेनिङ चल्नेछ । कुनै योजना छैन यी अबुझकीहरूसँग । कुनै सपना देखेका छैनन् यिनीहरूले । केही भिजन बनाएका छैनन् । यी त केवल सपना देखाउन आएका हुन् । भावना किन्न आएका हुन् । सम्मान थापेर आफूलाई जंगबहादुरको सन्तान सम्झिंदै मच्चिन आएका हुन् । कलाविहीन कलाकार हुन्, कलाकारिता देखाउन आएका हुन् ।

अब ढिलोचाँडो केही समयमा नै फेरि चुन्ने अवसर आउनेछ । अवसर आउनेछ आफ्नो भाग्यविधाता, आफ्नो सुन्दर बगैंचाको चौकीदारको छनौट गर्ने । अब भने केही नयाँ सपना देख्नुपर्छ । केही नयाँ सम्भावनाहरू खोज्नुपर्छ । भावनाले होइन विवेकले चलाउनुपर्छ आफूलाई । यी जुधेका नेताहरूको विरुद्धमा भिजनको आवाज गुन्जिनुपर्छ । सपनाको मार्गचित्र कोर्नुपर्छ । नयाँ सपना देख्नुपर्छ ।

हाम्रा अँधेरा भीरपाखामा पनि बत्ती बल्छ कि ? हाम्रो सुकेको आँखाले पनि सपना देख्छ कि ? हाम्रो हाँसो हराएको उजाड ओठमा पनि लाली छाउँछ कि ? एउटा विश्वास लिएर फुलाउनुपर्छ, आउने बसन्तमा नयाँ पालुवाहरू, नयाँ सपनाहरू र नयाँ सम्भावनाहरू । अब बुझ्नुपर्छ हामीले बाँदरहरू पहिलेभन्दा हट्टाकट्टा भएर आउनेछन् । अब ढेडुहरूको हिंडाइले जमीन थर्किनेछ । सुन्दर बगैंचा लुटेर ढाडिएका नेताहरू झन् ढाडिएर अबको चुनावमा पनि आउनेछन् । फेरि एकपटक सपना बाँड्नेछन् । आश्वासन बेच्नेछन् र फेरि सपनाहरूको हत्या गर्नेछन् । चटक शुरु हुनेछ, कलाकारिता शुरु हुनेछ । फकिनेहरू फकाइनेछन्, बिक्नेहरू किनिनेछन् । आधुनिक भेडाहरूलाई मनपर्ने रक्सी, मासु र पैसाको खोलो बगाइनेछ र स्वाभिमानको आवाज गुन्जाउनेहरूलाई रणनीतिकार षडयन्त्रकारीको आरोप लगाइनेछ । भेडाहरूका आँखा चम्किनेछन् । अरिंगालहरू झम्टिन लागिपर्नेछन् । मुखमा पानी रसाएर बसेका झोलेहरूको दशैं आउनेछ र फेरि हामीलाई सपना देखाइनेछ विकास, समृद्धि, स्वास्थ्य अनि शिक्षाको ।

हामी फेरि पनि यिनै नेताहरूका झूटा सपनामा आफूलाई बेच्नेछौं । किनकि यी नेताहरू त पुराना पो हुन् । यिनीहरू त आफ्नै पो हुन् । मेरा बाजे बराजुले मान्दै आएका। मेरा बाउबाजेको पालादेखि चुनिंदै आएका । हामी आस्थाका राजनीतिप्रति विश्वास लिनेहरू । अहँ ! अरु कोही चाहिन्न अब हामीलाई। नयाँहरूको के भरोसा ? यिनै नेताहरूले बनाउने छन् हाम्रो फूलबारी । सिंगार्ने छन् हाम्रो करेसाबारी । ‘यो नेता त्यो नेता’ भन्नु केही छैन । हामी परिवर्तन हुन चाहन्नौं र परिवर्तन भएको पनि हेर्न सक्दैनौं आफूलाई । चुनावमा जुन मूर्ख उठे पनि हुन्छ । किनकि हामीले कुनै सेवक जिताउनु छैन शासक जिताउनु छ । हाइकमान्डबाट जसलाई खटाइएको छ, त्यसैलाई जिताउनु छ ।

देश बनाउँछु भनेर हिंडेका त्यो हूलमा सम्भावना भएका अनुहार पनि छन् । परिवर्तनका सम्भावना पनि छन् तर हुन्न कदापि हुन्न । हामीले तिनीहरूलाई कदापि छान्नु हुन्न । किनकि ती हाम्रो पार्टीका होइनन् । हाम्रो बाउले जिताएकावाला होइनन् । हाम्रो बाजेले रुचाएका होइनन् । जति नै गन्हाएको किन नहोस् त्यसैलाई चुन्नु छ। जति नै धूर्त किन नहोस् त्यसैलाई छान्नु छ, किनकि त्यो मेरो हो । मेरो पार्टीको हो, मेरो खानदानी नेता हो । व्यक्ति जस्तो होस् पार्टीले जिते पुग्छ । धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ । हो वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ ।

(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment