
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनबीच भेटवार्ता भएको छ ।
रक्षा तथा मानव अधिकारसम्बन्धी विषयलाई लिएर जारी तनावबीच दुबै नेताले आइतबार भेटवार्ता गरेका हुन् ।
जी-२० शिखर सम्मेलनका क्रममा बाइडेन र एर्दोगनबीच रोममा भेटवार्ता भएको हो । भेटवार्तामा मावन अधिकार र एफ-१६ लडाकु विमानबारे कुराकानी भएको अलजजिराले जनाएको छ ।
कुराकानीका क्रममा बाइडेनले दुबै मुलुबीच जारी मतभेद प्रभावकारी ढंगले हटाउने इच्छा व्यक्त गरेका थिए । त्यस्तै, उनले एर्दोगानलाई एफ-१६ लडाकु विमानका लागि टर्कीले गरेको अनुरोध अमेरिकी कानुनअनुसार अघि बढाउने पनि बताए ।
बाइडेनले टर्की नेटो गठबन्धनको महत्वपूर्ण सदस्य भएको भन्दै रक्षा साझेदारीप्रति पुन: जोड दिएको समाचारमा उल्लेख छ । तर टर्कीले एस-४०० नामक रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रयोग गर्ने विषय अमेरिकाका लागि चिन्ताको विषय भएको उनको भनाइ थियो ।
अमेरिकाका सांसदले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्न लागेपछि टर्कीलाई एफ-१६ लडाकु विमान बिक्री गर्न नहुने भन्दै विरोध जनाइरहेका छन् ।
प्रतिक्रिया 4