+

चिसो मौसममा एलर्जीबाट बच्न छालालाई सुख्खा हुन दिनुहुँदैन : डा. एलिज अर्याल

२०७८ कात्तिक  २६ गते १७:५९ २०७८ कात्तिक २६ गते १७:५९
चिसो मौसममा एलर्जीबाट बच्न छालालाई सुख्खा हुन दिनुहुँदैन : डा. एलिज अर्याल

२६ कात्तिक, काठमाडौं । जाडोयाम शुरु भएसँगै छालासम्बन्धी विभिन्न समस्या देखिन थाल्छन् । यसबेला छाला सुक्खा हुने हुँदा फुट्ने, सुन्निने, रातो हुने, चिलाउने, खस्रो हुने जस्ता समस्या देखिने गर्छन् ।

नेपाल मेडिकल कलेज (एनएमसी)को छाला तथा यौनरोग विभागकी सहप्राध्यापक डा. एलिज अर्याल जाडाे मौसममा छालालाई सधै‌ं नरम बनाइराख्नुपर्ने सुझाव दिन्छिन् । जाडाेयाममा छालाको हेरचाह र सुरक्षाका उपायबारे डा. अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा हुने छालाको एलर्जीबाट बच्नका लागि के गर्न सकिन्छ ?

चिसो मौसममा छालाको एलर्जी हुनेहरुले न्यानो भएर बस्नुपर्छ । बारम्बार साबुन-पानीले हात, मुख, खुट्टा धुनुभएन । सकेसम्म साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ । साबुनको प्रयोग गर्दा पनि माइल्ड सोप अर्थात् मोस्चराइजरयुक्त बेबी सोपको प्रयोग गर्नु राम्रो हुन्छ ।

साबुन प्रयोग गरिसकेपछि तुरुन्तै चिल्लो हुने आफूसँग भएको चिल्लो अर्थात् क्रिम, मोस्चराइजर, तेल, लोसनजस्ता चीज साबुन प्रयोग भएको शरीरको भागमा दल्ने गर्नुपर्छ । कपडाले नढाक्ने भागतिर हत्केला, अनुहार, पैतालातिर पटक-पटक तेल, क्रिम लगाउनुपर्छ । यसले गर्दा छाला सुख्खा भई हुने समस्याबाट बच्न सकिन्छ ।

साबुन-पानीले नछुँदा पनि कतिपयमा सुनिने चिलाउने समस्या देखिन्छ नि ?

त्यो सबै हुने भनेको नै चिल्लोको कमीले हो । हाम्रो छालाको माथिको भाग सुख्खा भइरहेको हुन्छ । त्यसमा घामले भेट्दा पोल्ने, मसिनो घाउ हुने समस्या हुन्छ । यसको मुख्य कारण हावा र घामले हो । जाडो भगाउन घाममा बस्ने गरिन्छ । घाममा बस्दा घाम र हावाले छाला सुख्खा बनाउँछ । सुख्खा भएपछि छाला फुट्छ त्यसमा घाम परेपछि चिलाउने, पोल्ने समस्या भएको हो । त्यसैले छाला नरम, चिल्लो बनाइराख्न क्रिम र तेल लगाउनु जरुरी हुन्छ ।

बजारमा पाइने विभिन्न कम्पनीका लोसन, क्रिम तथा तेलमध्ये कुन बढी प्रभावकारी हुन्छ ?

लोसन, क्रिम, तेल लगाउनुको मुख्य उद्देश्य भनेको छाला नरम बनाउन हो । यी सबै सामग्रीको गुणस्तर अनुसार राम्रो नराम्रो भन्ने हुन्छ । कुनै पनि वस्तुको प्रयोग त्यसको गुणस्तरले फरक पार्ने हो । त्यसैले यही चीज राम्रो हो भन्दा पनि गुणस्तर कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

तर पनि जाडो महिनामा लोसन भन्दा क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । लोसनमा पानीको मात्र अलि बढी हुन्छ । क्रिममा पानीको मात्रा कम हुने भएकोले शरीरलाई लामो समयसम्म नरम बनाउँछ । यी चीज चाहिं हामीले बजारमा गएर किनेर प्रयोग हुने सामग्री हुन् । त्योबाहेक हाम्रो घरमा भइरहने अलिभको तेल, नरिवलको तेल विशुद्घ तोरीको तेल, दूधको तर पनि प्रयोग गर्न सकिन्छ । त्यो पनि भएन भने घ्यू त सबैको घरमा हुन्छ । घ्यूमा थोरै नून राखेर फिट्दा क्रिम जस्तो बन्छ त्यो लगाउन सकिन्छ । शरीरमा यति लगाएपछि नरम कपडा लगाउनुपर्छ ।

चिसो मौसममा हुने छालाको समस्या कपडाको कारण पनि हुन्छ ?

हुन्छ । उलनको कपडाले छाला सुख्खा बनाउँछ त्यसैले उलनको लुगा, टोपी लगाउँदा चिलाउँछ । आजभोलि पाइने धेरै लुगामा पोलिस्टर मिसिएको हुन्छ । यसले पनि छालालाई सुख्खा बनाउँछ । त्यसैले यस्ता कपडा लगाउँदा जहिल्यै पनि भित्रबाट सुतीको लुगा लगाउनुपर्छ । सुतीको टिसर्ट, पाइजामा लगाएर बाहिरबाट उलनको लुगा लगाउँदा राम्रो हुन्छ । सकेसम्म उलनले प्रत्यक्ष छालालाई नछुनु राम्रो हुन्छ ।

छाला सुख्खा हुन नदिन खानामा कत्तिको ध्यान दिनुपर्छ ?

खानामा ध्यान दिनुपर्छ । क्रिम, तेल लगाउने भनेको बाहिरबाट छालालाई चिल्लो बनाउनको लागि हो । भित्रैबाट प्राकृतिक रुपमा छालालाई चिल्लो, नरम बनाइराख्न खानाको महत्वपूर्ण भूमिका हुन्छ । हामीले खाइरहेकोले अपर्याप्त हुने भएकाले ओमेगा (माछाको तेल) खान सकिन्छ । माछा हाम्रो स्वास्थ्यको लागि लाभदायक छ । कम मात्रामा मात्रै माछा खाने प्रचलन भएकाले माछाबाट पाइने भिटामिन, प्रोटिनयुक्त क्याप्सुल पनि पाइन्छ । त्यो पनि खान सकिन्छ । यसले छाला मात्रै नभएर हड्डी तथा जोर्नीलाई पनि राम्रो गर्छ । यसैगरी ओखर, आलस, कटुस, बदामजस्ता खानेकुराले हाम्रो छालालाई प्राकृतिक रुपमा नरम बनाउँछ । माछा नखानेले यी कुरा खान सकिन्छ ।

छालामा कुनै समस्या आए अरुको अनुभव र सुझावको आधारमा आफैं क्रिम लगाउने वा औषधि खाने गरिन्छ, यसो गर्नु कत्तिको ठीक हो ?

सकेसम्म नजिकैको छालासम्बन्धी डाक्टरकहाँ जानु राम्रो । डाक्टरकहाँ नगएपनि आफूलाई आफ्नो छाला कस्तो हो भन्ने त थाहै हुन्छ । आफ्नो छालाको प्रकृति अनुसार उपचार गर्नुपर्छ । अरुको अनुभवमा भर पर्नुहुँदैन । एलोभेरा जसलाई हामी स्थानीय भाषामा घ्यू कुमारी भन्छौं, यो पनि कसैलाई फाप्ने कसैलाई नफाप्ने हुन्छ । त्यसैले आफंैले आफ्नो छालाको प्रकृति अनुसार आफूसँग भएको कोल्ड क्रिम, मोस्चराइजर जसले छालालाई नरम बनाउँछ त्यस्ता चीज प्रयोग गर्नु राम्रो हुन्छ । र, सकेसम्म घामबाट बच्नुपर्छ । घाममा हिँड्दा पनि सन स्क्रिन क्रिम वा सन ब्लक क्रिम लगाउन सकिन्छ । चिल्लो हुने क्रिम लगाइरहनुपर्छ । सुख्खा भएपछि छालामा चाउरीपना पनि आउँछ । चिल्लो भइरह्यो भने चाउरीपना पनि हटेर जान्छ ।

घाममा बस्दा पनि समस्या हुन्छ ?

घाममा सकेसम्म नबस्नु राम्रो हो । किनभने घामले छालाको भित्रको बोसोको तहलाई सुकाएर पातलो बनाउँछ । त्यसले छाला सुख्खा हुने हुन्छ । छालाको समस्या बढी हुन्छ । भिटामिन डीको कमी भएको अवस्थामा घाममा बस्न भनिन्छ । त्यसको लागि पनि सीमित समय मात्रै बस्ने हो । सामान्यतया हामी दिनको केही समय घाममा हिँड्छौं नै त्यसले पूर्ति हुन्छ । लुगा सुकाउँदा, बाटोमा हिँड्दा शरीरमा पर्ने घाम पर्याप्त हुनसक्छ । नभएको अवस्थामा क्याप्सुलहरुको प्रयोग गर्न पनि सकियो । धेरै घाममा एक्पोज हुँदा छालाको अरु समस्या थपिन सक्छ ।

क्रिम किन्दा ध्यान दिनुपर्ने कुराहरु के-के हुन् ?

तपाईंले किनेको सामानमा के-के लेखेको छ त्यो पढेर किन्नुपर्छ । उत्पादन भएको मिति, चलाउन योग्य समय, कहाँ, कुन कम्पनीले उत्पादन गरेको भन्ने बुझेर मात्र किन्नुपर्छ । तपाईंले नबुझ्ने भाषामा वा केही पनि लेखिएका छैनन् भने त्यस्ता सामग्रीहरु नकिन्नु नै उचित हुन्छ ।

उमेर अनुसारको क्रिम लगाउनु जरुरी हुन्छ ?

उमेर अनुसार भन्दा पनि छालाको प्रकृति अनुसार लगाउनुपर्ने हुन्छ । बच्चाहरुको लागि भने फरक क्रिम लगाउनुपर्छ । माइल्ड क्रिम पाइन्छ त्यो लगाइदिन सकिन्छ ।

तर सन स्क्रिन वा सन ब्लक भने उमेर अनुसार लगाउनुपर्छ भन्ने हुँदैन । छालालाई नरम बनाइराख्नका लागि जसले पनि क्रिम लगाउन सकिन्छ । तपाईंको गोरो छाला छ भने यूभीए ५० माथिको लगाउनुपर्छ । डार्क स्किनको हुनुहुन्छ भने ३० देखि माथि ४० सम्मको लगाउन सकिन्छ ।

छाला हेरचाह जाडो मौसम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?